कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण

माधव अर्याल

पाल्पा — नेपाल–अंग्रेज युद्धका बेला प्रयोग गरिएको पदमार्ग पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोट गढीनजिकै कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरिएको छ । 

कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण

झन्डै १६ लाख लागतमा पाल्पा र रुपन्देहीका सिमानामा सालिक निर्माण भएको हो । तिनाउ गाउँपालिकाको ४ लाख ९० हजार, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५ लाख, बुटवल उपमहानगरपालिकाको ३ लाख ९० हजार साथै गरुडदल गणको मानव स्रोत साधन सहयोगमा सालिक निर्माण भएको हो ।

सालिकको नेपाली सेनाको मध्यपश्चिम पृतनापति उपरथी सुनील श्रेष्ठ, एकीकृत सैनिक तालिम केन्द्र सालझण्डीका शिक्षालय प्रमुख सहायक रथी कृष्ण जीसी, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, २२ नम्बर बाहिनीपति सहायक रथी ललितबहादुर कुँवर, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले अनावरण गरे ।

कलिलै उमेरमा युद्धमा होमिएर नुवाकोट–जितगढी युद्धमा अंग्रेजलाई हराउँदै मुलुकका लागि योगदान गरेका समर सौन्दर्यका नायक थापाको पूर्णकदको सालिक पाल्पामा पहिलो पटक निर्माण भएको तिनाउ गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले कर्णेल थापा प्रशासक, देशभक्त, कुशल रणनीतिकार, दूरदर्शी कमान्डर भएको बताउँदै इतिहासलाई पर्यटनसँग जोडेर आर्थिक विकसमा सहयोग गर्ने बताए ।

उनले छिमेकी पालिकासँग मिलेर पाल्पा–रुपन्देहीका सिमानामा पर्यटकीयस्थल बनाउन सहयोग गर्ने बताए । नुवाकोट गढी क्षेत्रमा भगवतीको मन्दिर निर्माण गर्न तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिकाको १०/१० लाख साझेदारी गर्न यही वर्ष सकिने बताए । ‘बुटवल उपमहानगरले जहिले पनि तिनाउ गाउँपालिकालाई शीरको रुपमा लिएका छौं,’ उनले भने, ‘यस क्षेत्रको इतिहासलाई पर्यटनसँग जोडेर आर्थिक आयआर्जनका कार्यक्रम ल्याउन सहयोग रहन्छ ।’

गरुडदल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले कर्णेल उजिरसिंह थापाले नेपाल–अंग्रेज युद्धको समयमा खेलेको भूमिकाबारे जानकारी गराए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले नुवाकोट एतिहासिक र पर्यटकीय क्षेत्र भएकोले यसको विकासका लागि सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । उनले इतिहास र पुराना संस्कृतिको संरक्षण गर्दै यस क्षेत्रमा पर्यटन विकासका काम गर्ने बताए । गरुड दल गणले नुवाकोटकै भैरव मन्दिरमा जाने सिंढी निर्माणमा सहयोग गरेको सम्झँदै आगामी दिनमा पनि सहकार्यका लागि आग्रह गरे । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले जितगढी र नुवाकोट गढीलाई पर्यटकीय क्षेत्र बनाउन सिंढी, टहलिने वाटिका निर्माणको योजना अघि बढेको बताइन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले राष्ट्रिय गौरवसंग जोडिएका उजीरसिंहको सालिक निर्माणमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । तत्कालीन अवस्थामा उजीरसिंह थापा पाल्पाका बडाहाकिम थिए ।

नेपाल–अङ्ग्रेज युद्धमा बुटवल–पाल्पाको मोर्चा सम्हालेका थिए । अंग्रेज फौजलाई तीव्र चतुर्‍याइँले जित हासिल गरेका हुन् । सानुकाजी अमरसिंह थापाको मृत्यु भएपछि १९ वर्षको उमेरमै उजिरसिंह थापा वि.सं. १८७१ सालमा पाल्पाका बडाहाकिम भएको इतिहास छ । १ हजार २ सय नेपाली फौजलाई कर्णेल उजिरसिंहले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेको इतिहास पढ्न पाइने तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताए ।

प्रकाशित : वैशाख ४, २०८१ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?