कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

पाल्पाको वन कार्यालय परिसरमै भीषण डढेलो 

माधब अर्याल

पाल्पा — पाल्पाको सदरमुकाम तानसेनस्थित डिभिजन वन कार्यालयलाई घेराबन्दी गरेर भीषण डढेलो लागेको छ । तानसेन बजार नजिकैको वनदेवी र होलाङ्दी क्षेत्रमा सोमबार बेलुकीदेखि डढेलो लागेको हो । डढेलो मंगलबार अपरान्हसम्म नियन्त्रणमा आएको छैन ।

पाल्पाको वन कार्यालय परिसरमै भीषण डढेलो 

हावाहुरीका कारण डढेलो नियन्त्रणमा समस्या भएको हो । होलाङ्दीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, धरमपानी क्षेत्रमा रातभर डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । सोमबार बेलुकी नै वन कर्मचारी र स्थानीयले डढेलो लागेको स्थानमा नियन्त्रणमा लिने प्रयास गरेका थिए । देउराली सामुदायिक वन लगायतका क्षेत्रमा बढी डढेलो लागेको छ ।

डिभिजन वन कार्यालय नजिकको जंगलमा यही सिजनमा तीन पटक डढेलो लागिसकेको छ । हावा चल्न भएकाले नियन्त्रणमा लिन नसकिएपछि नगरपालिकाको दमकलले वन कार्यालय, नर्सरी क्षेत्रमा नियन्त्रणमा आएको वन अधिकृत उपेन्द्र अर्यालले जानकारी दिए । पाल्पाको तानसेनस्थित श्रीनगरडाँडा र वनदेवी क्षेत्र सल्लाको जंगल छ । आगो निभाउन भन्दा पनि घर छेउ आएमा जोगाउने प्रयास बाहेक अन्य उपाय नभएको डिभिजन वन कार्यालयले जनाएको छ । पाल्पाका ३० बढी स्थानमा ५ हेक्टर बढी जंगलमा डढेलो लागिसकेको छ ।

पछिल्लो साता खडेरी बढेसँगै सामुदायिक, चुरे र पहाडी जंगलमा डढेलो बढेको वन अधिकृत रामचन्द्र लामाले बताए । यहाँका चुरे क्षेत्रका जंगलमा सातादेखि डढेलो लागेको तिनाउ गाउँपालिका–२, दोभानका राजेश श्रेष्ठले बताए । उनका अनुसार सामुदायिक वन र पहाडी भेगका जंगलमासमेत आगलागी भएका छन् ।

चुरे क्षेत्रका साथै महाभारत क्षेत्रका विभिन्न स्थानमा डढेलो लागेको हो । तराई तर्फवाट आएको आगो घर नजिक आए वाध्यता मात्रै निभाउने नभए नसकिने अवस्था रहेको स्थानीय शेरबहादुर थापाले बताए । खडेरी र हावाहुरीले आगोको लप्काले खतरा ल्याउन सक्ने हुँदा नजिक जान नसकिने अवस्था छ ।


सामुदायिक वनलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएपनि खडेरीको अवस्थाले डढेलो लागेको हो । डढेलोले पुनः उत्पादन नहुने सल्लालाई खासै असर नपरेपनि तर चौडापाते जंगलमा लागेको आगोले भने असर गर्ने वन अधिकृत संयोग बस्नेतले बताए । जंगल भएको स्थानमा घाँस पलाउने र किरा फट्यांग्रा मर्ने भएकोले खासै असर नपरेपनि घना जंगलमा लागेको आगोले समस्या ल्याउने उनले बताए ।

ज्यामिरे, रहवास, गोठादी, दोभान, कचल, मस्याम, बल्ढेङ्गगढी, सत्यवतीको जंगलमा दुईसातादेखि जंगलमा डढेलो लागेको स्थानीयले बताए । जंगलमा गाइचराउन जाने गोठाला, बदमासी गर्ने बालबालिका र चोरी सिकारी गर्ने काठतस्करहरुले जंगलमा आगो लगाइदिने गरेको स्थानीय उपभोक्ता बताउँछन् । डढेलोबाट चुरे क्षेत्रका जंगलमा रहेका अमला, हर्रो, बर्रो, दालचिनी, गानेगुर्जो, पिपला, सिसनी लगायतका बहुमूल्य जडीवुटी समेत नष्ट हुने गरेको छ ।

प्रकाशित : वैशाख ४, २०८१ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?