कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

एकदिने निःशुल्क स्वास्थ्य शिविरका साथ प्रवचन

स्थानीय ४ सय ९० जनाको स्वास्थ्य परीक्षण
थाइल्याण्डकी प्रख्यात बौद्ध विद्वान् ९८ वर्षीया बेरिहनवनाखेट कपिलवस्तुमा
मनोज पौडेल

कपिलवस्तु — यहाँको मधुवन धाममा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरका साथ धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । थाइल्याण्डकी प्रख्यात बौद्ध विद्वान् बेरिहनवनाखेटले विश्वमा बढ्दै गएको हिंसा, अशान्ति र द्वन्द्व बुद्ध शिक्षाबाट मात्रै अन्त्य हुने बताएकी छन् ।

एकदिने निःशुल्क स्वास्थ्य शिविरका साथ प्रवचन

वाणगंगा नगरपालिकास्थित मधुवन धाम वटपा महावन सप्पया महास्थानमा मंगलबार सम्पन्न कार्यक्रममा उनले नेपालबाट उदाएको बुद्ध शिक्षा अनुशरण मात्र गर्न सकियो भने दयामाया, सद्भाव र करुणामैत्रीको भाव उत्पन्न भएर विश्वभर मानवता र कल्याणले प्रश्रय पाउने बताइन् ।

‘संसारमा अहिंसाको अभियान चलाउने शिखर पुरुषलाई जन्म दिने नेपाल हो,’ ९८ वर्षीया बुद्ध धर्माचार्य बेरिहनवनाखेटले भनिन्, ‘त्यही भएर नेपाली माटोको सम्मान गर्न आफूहरू नेपाल आएको र यहाँ आएर बोल्न पाउँदा गर्व लागेको छ ।’

कार्यक्रममा भिक्षु सुमंगलोले विश्व शान्तिको दियो नेपालबाटै उदाएकाले शान्तिकामीहरू नेपाल आउन निकै उत्प्रेरित भइरहेको बताए । यसका लागि सरकार र सरोकारवाला निकायले सहयोगी भूमिका खेल्नु आवश्यक रहेको पनि उनले बताए । बौद्ध विद्वान् बेरिहनवनाखेटको प्रवचन सुन्न उनका अनुयायीहरू थाइल्याण्ड, फ्रान्स, अमेरिका, भियतनाम, कम्बोडिया र लाओसबाट यहाँ आएका थिए ।


प्रवचन स्थलमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो । बौद्ध विद्वान् बेरिहनवनाखेटकै सहयोगमा आयोजित शिविरमा स्थानीय ४ सय ९० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । देवदह मेडिकल कजेलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अजय अधिकारी र नाक, कान, घाँटी रोग विशेषज्ञ थाई डा.श्रीलेक लटफुरुडपिरुनले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा देवदह मेडिकल कजेल, थाई चिकित्सक र मोती स्वास्थ्य चौकीका २१ जना स्वास्थकर्मीको टोली उपचारका लागि खटिएको थियो ।

प्रकाशित : वैशाख ४, २०८१ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?