कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

सुदूरबाट मात्रै वार्षिक १ अर्बको कारोबार
चित्रांग थापा

चौकीडाँडा, कैलाली — बैतडीको सुर्नया गाउँपालिका–८ का भोजबहादुर कुँवर ८ वटा राँगा र भैंसी मिनिट्रकमा ढुवानी गरी मंगलबार बिहानै यहाँको हाटबजार आइपुगे । उनले डडेलधुराको अजयमेरु गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीबाट स्थानीय संकलकहरुमार्फत् किनेर ती राँगाभैँसी  हाटबजार पुर्‍याएका हुन् । ती राँगाभैँसी कटाइ गरेर मासुका लागि काठमाडौंसम्म पुर्‍याउने गरिएको छ ।

सुदूरपश्चिमका राँगाभैँसी काठमाडौंसम्म

‘यसपटक ल्याएका ८ वटा राँगाभैसी बेचेपछि फेरि अर्को खेप ल्याउन १/२ दिनमै पहाडतिर लाग्छु,’ हाटबजारमा ठूला व्यापारीसॅंग मोलतोलमा लागेका कुँवरले भने, 'वर्षौदेखि हाम्रा लागि रोजगारी र व्यापार व्यवसाय जे भने पनि यही काम हो ।'

उनले सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर तथा ७ वटा पहाडी जिल्लामा सयौँ व्यक्ति यही व्यवसायमा रहेको बताए । ‘टाढा गाउँहरुसम्म पुग्नुपर्छ, कसले बिक्री गर्दैछ भन्ने गाउँकै स्थानीयले टेलिफोनबाट खबर गर्छन्, हामी पुग्छौँ मोलतोल गरी किनेर यहाँ पुर्‍याएर बेच्ने गरेका छौँ,' उनले भने, ‘यहाँसम्म आइपुग्दा निकै समय लाग्छ, धेरैजसो गाउँबाट हिॅडाएरै सडकसम्म पुर्‍याएपछि ट्रकबाट यहाँसम्म ल्याउछौँ ।’

सुर्नयाका भोजबहादुर कुँवरले झैँ सुदूरपश्चिमका विभिन्न जिल्लामा सयौँ व्यक्ति राँगाभैँसी संकलन, ढुवानी र किनबेच व्यवसायमा संलग्न छन् । उनीहरुको गाउँदेखि काठमाडौंसम्म संकलन र व्यापारको नेटवर्क नै बनिसकेको छ । कुँवर भन्छन्, ‘गाउँगाउँमा हाम्रा मान्छे छन्, उनीहरु खरिद गर्ने व्यापारीको सम्पर्कमा हुन्छन्, सुरुमा खरिद गर्दा मोलमोलाइ उनीहरु नै गर्छन्, त्यसपछि हामी र चौकीडाँडा पुगेपछि ठूला व्यापारीले किनेर ट्रकमा राखेर काठमाडौँ पुर्‍याउँछन् ।'

१५ वर्षदेखि यही पेशामा संलग्न सुर्नयाकै छिमेकी पाटन नगरपालिका-५ का केशव भट्टराईका अनुसार पहाडी जिल्लाका अधिकांश किसानहरु भैँसी थाकेपछि, बुढो भएपछि र घरखर्चका समस्या परेपछि बिक्री गर्ने गरेका छन् । उनकाअनुसार गाउँघरमा अधिकांश युवा र पुरुषहरु कामको खोजीमा भारततिर जाने, खेतबारीमा अन्नपात नहुने बाँझै भएर घाँसपातको समेत समस्या भएर धमाधम भैँसी, राँगा बेच्ने गरेको पाइएको छ ।

औषधि उपचार गर्दा र पढाइ खर्चको जाहो गर्नसमेत अफ्टेरो परेकाहरुले राँगा भैँसी बेच्ने गरेका व्यापारीहरुले बताए । कतिपय ठाउँमा पाल्नका लागि हो भने बेच्छु, काट्नका लागि बेच्दिनँ भन्दा भन्दै पाल्नकै लागि हो भनेर पनि झुक्याएर संकलकहरुले किन्ने गरेको पाइएको छ ।

‘तौलेर कति किलो तौलको छ भनेर राँगाभैँसीको किनबेच हुँदैन,' भट्टराईले भने, ‘उमरे, स्वास्थ्य अवस्था, निरोगी भएको अवस्थाका आधारमा मोलतोल गरी खरिद बिक्री हुने गरेको छ ।’ उनका अनुसार ३० हजारदेखि ६० हजार मुल्यसम्ममा खरिद बिक्री हुने गरेको छ । 'मिहिनेत, दौडधुप बढी गर्नुपर्छ, आम्दानी त खासै धेरै हुदैन,' उनले थपे ।

सुदूरबाट मात्रै वार्षिक १ अर्बको कारोबार

कैलालीको गोदावरी नगरपालिका-३ मा रहेको चौकीडाँडामा रहेको हाटबजारमा बाह्रैमहिना रातदिन राँगाभैँसीको कारोबार हुने गरेको छ । कञ्चनपुर र कैलाली जोड्ने पूर्व-पश्चिम राजमार्ग किनारको महिला सामुदायिक वनको १ बिघा बढी जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरिएको छ । जन सामुदायिक पशु तथा कृषि विकास केन्द्र नेपाल नामक संस्था दर्ता गरी संस्थाको मातहत रहने गरी २०६२ मा स्थापना भएपनि २०६७ सालदेखि वैधानिक रुपमा हाटबजार सञ्चालनमा आएको व्यवस्थापक बालकृष्ण भट्टराईले बताए ।

‘विगतको कोरोना कालमा हाटबजारको कारोबार केही घटेकोमा हाल बढ्दै गएको छ,’ व्यवस्थापक भट्टराईले भने, ‘पाँच जना चौकीडाँडाका स्थानीय समेत नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र बर्दियाका गरी १५ जना व्यापारीहरु यहाँबाट खरिद गरेको राँगाभैँसी काठमाडौँ पुर्‍याइ मासुका लागि बिक्री गर्दै आएका छन् ।’

उनकाअनुसार सुदूरपश्चिममा रांगाभैँसीको कारोबार हुने एकमात्र चौकीडाँडाको हाटबजारबाट वार्षिक १ अर्बको कारोबार हुने गरेको छ । ‘वर्षभरि १८/१९ हजार राँगाभैँसी काठमाडौँ जान्छ, काठमाडौं उपत्यकाका तीनै सहरमा कटाइ गरेर मासुको आपुर्ति हुने गरेको छ,’ उनले भने, ‘पहाडबाट ल्याएर कैलालीको हाटबजारमा न्युनतम ३० हजार मुल्यमा खरिद गरेको राँगा वा भैसी काडमाडौं पुगेपछि ३५/४० हजारमा बिक्री हुन्छ, धेरै मुनाफा छैन, ढुवानीलगायतको खर्च बढी छ ।’

काठमाडौंको कालीमाटी, डल्लु, बौद्ध, पाटनमा बढी माग र बिक्री हुने गरेको व्यवस्थापक भट्टराई बताउँछन । रांगाभैँसीको शारीरिक आकारअनुरुप बिक्री मुल्य पनि बढी हुने गरेको छ । ‘एउटा ट्रकमा २० वटासम्म ठूलो राँगाभैँसी ढुवानी हुने गरेको छ, काठमाडौं पुग्न कम्तिमा ७२ घण्टा लाग्छ,' ट्रकसॅंगै काठमाडौं जाने, लोड अनलोड गर्ने र बाटोमा राँगाभैँसीको हेरबिचार गर्ने समुहका एकजना कामदार वीरगञ्जका इव्राहिम भन्छन्, ‘हामी दिउॅसो जादैनौँ, गर्मी हुन्छ, राति मात्र ट्रक चलाउने हो, दिउॅसो चरन र पानीको व्यवस्था भएको ठाउॅमा ट्रकबाट राँगाभैँसी झारेर सुस्ताउन दिने पानी दिने, पराल ख्वाएर साॅझ परेपछि मात्रै अगाडि बढ्छौँ, यसरी एक ट्रिपमा काठमाडौंसम्म आउजाउ गर्दा ७ दिनसम्म लाग्ने गरेको छ ।’ १ ट्रकको भाडा काठमाडौंसम्म पुर्‍याउन एक लाख रुपैयाँसम्म पर्ने गरेको छ ।

व्यवस्थापक भट्टराईका अनुसार काठमाडौंमा ३४० देखि ३५० प्रति केजीमा रांगाभैँसीको मासु बिक्री हुने गरेको छ । कहिलेकाँही काठमाडौंसँगै माग आएमा पोखरा र नेपालगञ्जमा पनि पठाइने गरिएको भट्टराईले बताए । उनले यहाँको चौकीडाॅडाजस्तो राॅंगाभैसी संकलन गरी किनबेच हुने ठाउॅ कैलालीको टिकापुर, बाँकेको रम्भापुर, बर्दियाको गुलरिया, बाराको जितपुर, सकुवा लगायत रहेको उनले जानकारी दिए ।

राँगाभैँसीसॅगै तिनका पाडापाडी पनि किसानहरुले बेच्ने गरेका छन् । पाडापाडी स्थानीयबासीले किनेर पाल्ने गरेको हाटबजारका सञ्चालकहरु बताउँछन् । यहाँको हाटबजारले पनि पाडापाडी पाल्ने योजना बनाएको व्यवस्थापक भट्टराईले बताए । पाडापाडी सबैभन्दा बढी माग बर्दिया र नेपालगञ्जबाट हुने गरेको उनले बताए । चौकीडाँडामा २४ सैँ घण्टा हाटबजार सञ्चालन हुन्छ । यो पशुचौपायको खरिद बिक्रीको प्रमुख केन्द्र नै हो ।

प्रकाशित : वैशाख १३, २०८१ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?