कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

शिक्षकलाई पदस्थापनमा रोक

भवानी भट्ट

कञ्चनपुर — स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी हाजिर हुन नदिएर फिर्ता पठाउने गरेको घटना बेलाबेला सुनिन्छन् । कर्मचारी मात्रै होइन, अब शिक्षक पनि हाजिर हुनबाट रोकिएका छन् । यहाँको बेलडाँडी गाउँपालिकाले हालै नियुक्ति लिएका शिक्षकलाई हाजिर हुन नदिएको हो ।

शिक्षकलाई पदस्थापनमा रोक

शिक्षक सेवा आयोगको ०७९/८० को विज्ञापनमा प्राथमिक तहको शिक्षकमा पास भएका तिन जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरले नियुक्ति दिएर बेलडाडी गाउँपालिकामा पठायो । तर बेलडाडी गाउँपालिकाले भने एउटालाई मात्रै पदस्थापन गर्न सक्ने भन्दै उनीहरुको निवेदन नै दर्त्ता गरिदिएन ।

भीमदत्त नगरपालिका–९ का खेमराज भट्ट, वडा ५ का मोनिका चन्द र वडा २ का नन्दा चन्दलाई शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले चैत २६ मा नियुक्ति दिएर उनीहरुको रोजाइ अनुसार बेलडाडीमा पठाएको थियो । तीनै जनाले सोही दिन पदस्थापनका लागि गाउँपालिकामा निवेदन पनि दिए । सोही दिन गाउँपालिकाले एक जनालाई मात्रै पदस्थापन गर्न सकिने भन्दै इकाईमा पत्र पठायो ।

चैत २६ मै बसेको गाउँ कार्यपालिकाको वैठकले योग्यताक्रम १४ की मोनिका चन्दलाई सरस्वती मावि झरनासागरमा पदस्थापन गर्ने र अन्य दुई जनालाई इकाईमै फिर्ता पठाउने निर्णय गरेको छ । ‘चैतमै नियुक्ति पाएर अझै हाजिर हुन सकेका छैनौं,’ भट्टले भने, ‘पास नहुदासम्म बेरोजगारीको तनाब, अहिले हाजिर हुन पाएर तनाब ।’

उक्त विज्ञापनमा कञ्चनपुरका लागि ३२ जनाले पास गरेका थिए । जसमध्ये २९ जनाको पदस्थापन भइसकेको छ । तीन जनाको हालसम्म पदस्थापन हुन सकेको छैन । हाजिर हुन नदिइएका शिक्षकहरु बेलडाडी गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय कार्यालय धाइरहेका छन् ।

शिक्षक सेवा पास भएकाहरुलाई योग्यताक्रम अनुसार सुरुमा शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तह छान्ने अवसर दिन्छ । त्यसपछि स्थानीय तहले पनि योग्यताक्रम अनुसार विद्यालय छान्न दिनुपर्छ । तर अहिले पदस्थापन गरिएकी चन्दले आफुले विद्यालय छान्न नपाएको भन्दै हाजिर हुन मानेकी छैनन् । ‘मैले विद्यालय छान्न पाउनुपर्थ्यो, तर त्यस्तो नभएर पालिकाले सिधै विद्यालयमा खटायो,’ उनले भनिन्, ‘यो मलाई ठिक लागेन ।’ उनले दरबन्दी खाली भएका विद्यालय मध्ये आफुले छान्न पाउनुपर्ने बताइन् । उनी ३ वर्षे बालक बोकेर जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय कार्यालय र शिक्षा विकास तथा समन्वय ईकाईमा धाइरहेकी छिन् ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका शाखा अधिकृत राजेन्द्र भट्टले विज्ञापन खोल्दा एउटा दरबन्दी मात्रै खाली भएका कारण अन्य दरबन्दीमा शिक्षकलाई हाजिर गराउन नसकिने पत्र आएको बताए ।

‘त्यतिबेला एक दरबन्दी मात्रै खाली थियो, त्यसमा मात्रै पदस्थापन गर्न सकिन्छ,’ गाउँपालिकाले पठाएको पत्रबारे जानकारी दिदै भट्टले भने, ‘तर त्यसपछि पनि बेला बेलामा गरि प्राथमिक तहमा २ वटा दरबन्दी खाली भएका छन् ।’ त्यहि खाली दरबन्दीका लागि इकाईले पठाएको विवरणको आधारमा आयोगले विज्ञापन खोलेको उनले बताए ।

खाली दरबन्दीमा पहाडी जिल्लाबाट शिक्षक सरुवाका लागि सहमति दिइसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले बताए । उनका अनुसार विज्ञापन खुल्दा गणना नभएको दरबन्दीमा स्थायी शिक्षक पठाइका कारण समस्या भएको हो । ‘हामीले सरुवा सहमति दिइसकेका छौं, फेरि गणना नै नभएको दरबन्दीमा किन शिक्षक पठाइयो ?’ उनले भने ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ देखि अन्तर जिल्ला सरुवा रोकेको इकाई कार्यालयले जनाएको छ । बेलडाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले शिक्षक दरबन्दी खाली भए पनि कार्यपालिकाले निर्णय गरेका कारण हाजिर गराउन सक्ने अवस्था नरहेको बताए । ‘दरबन्दी खाली छ, अहिले आएका शिक्षक अटाउन सक्ने ठाउँ छ,’ उनले भने, ‘तर कार्यपालिकाले नै निर्णय गरिसकेपछि पदस्थापन गराउन सकिदैन ।’

प्रकाशित : वैशाख १५, २०८१ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?