कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई 

माधव अर्याल

पाल्पा — अन्तरपालिकास्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधि पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाले हात पारेको छ ।

अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई 

दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवअन्तर्गत भएको अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा सोझो सेटमा स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो ।

बेस्ट अफ फाइभमा खेलाइएको फाइनलमा तीन सेट नै बौदीकालीले जितेको थियो । उसले २५–२२, २५–१८ र २५–१४ अंक सहित जित निकालेको हो । फाइनल जितेको बौदीकालीले १ लाख ३० हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडल पाएको छ । उपविजेता बनेको चापाकोटले ८० हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल पाएको छ ।

निस्दी गाउँपालिका–४, मित्यालको झ्याल्टुङ्ग खेल मैदानमा भएको प्रतियोगितामा तनहुँको घिरिङ गाउँपालिका तेस्रो भयो । उसले निस्दी गाउँपालिका पाल्पालाई २५–१३, २५–२२ र २८–२६ को सोझो सेटमा पछि पारेको हो । तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल पाएको छ । विजयी तथा उपविजयी खेलाडीलाई प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, गाउँपालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, लेखा अधिकृत सरोज काफ्ले, निस्दी गाउँपालिकास्तरीय युवा तथा खेलकुद समितिका अध्यक्ष उमेश गाहालगायतले नगद, ट्रफी, प्रमाणपत्र, मेडल वितरण गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाइकर बौदीकालीका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीकै दानबहादुर गाहा, उत्कृष्ट डिफेन्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोट नगरपालिकाका विवश थापा र उत्कृष्ट कोच बौदीकालीकै सञ्जित सिंजाली भए । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी ६ समूहको सहभागिता थियो ।

प्रकाशित : वैशाख ४, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?