आज संसद्अगाडि प्रदर्शन

प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायले शुक्रबार संसद् भवनअगाडि प्रदर्शनको तयारी गरेका छन् । महासंघले प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ताका लागि दबाब दिन शुक्रबार १२ बजे संसद् भवन नयाँ बानेश्वर अगाडि उपस्थित हुन पत्रकारलगायत सरोकारवाला सबैमा आह्वान गरेको छ । पत्रकारलाई आफ्नो सञ्चार सामानसहित उपस्थित हुन भनेको छ । 

प्रदेश २ मा पनि उस्तै सञ्चार विधेयक, समाचार लेख्दा १ करोड

प्रदेश २ को सरकारले प्रदेशसभामा बिहीबार दर्ता गरेको सञ्चार ऐन विधेयकमा पनि प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच पुर्‍याउने खालको समाचार सम्प्रेषण गरेमा १ करोडसम्म जरिवाना गरिने प्रावधान राखेको छ ।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको उनले बताए ।

मिडिया काउन्सिल विधेयकमा आयोगको आपत्ति

प्रेस स्वतन्त्रतालाई नै अप्ठ्यारो पार्ने गरी मिडिया काउन्सिल विधेयक सरकारले ल्याएकोमा मानव अधिकार आयोगले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ टोलीसँगको भेटमा मंगलबार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले अभिव्यक्ति स्वतन्त्रता सँगसँगै मानव अधिकार रक्षाका लागि चुनौती खडा भएको बताएका छन् । उनले प्रेस स्वतन्त्रताको विषय गम्भीर रहेको उल्लेख गदर्ैै यसमा अध्ययन गरेर आयोगले आधिकारिक धारणा लिने बताए ।

'प्रेससम्बन्धी विधेयकमाथि पर्याप्त छलफल गराउँछौं'

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले प्रेससम्बन्धी विधेयकहरूमा संसदमा पर्याप्त छलफल गराउने बताएका छन् । सरकार नियन्त्रित मिडिया काउन्सिल गठनलगायत प्रावधान राखेर ल्याइएको विधेयकबारे सोमबार पत्रकार महासंघको टोलीको ज्ञापनपत्र बुझ्दै उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पत्रकार महासंघले भन्यो, 'मिडिया काउन्सिल विधेयक फिर्ता लेऊ'

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गरेको छ । महासंघले सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने निष्कर्ष निकालेको छ । 

मिडियामाथि अंकुश लगाउने विधेयक तत्काल फिर्ता गर्नुपर्ने महतको भनाइ

कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले मिडियामाथि अंकुश लगाउने उद्देश्यले प्रतिनिधिसभामा लगिएको विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् । कांग्रेसको जागरण अभियानका क्रममा सिरहामा खटिएका नेता महतले भने, 'पत्रकारिता जगतलाई थर्काउने, धम्क्याउने र तह लगाउन खोज्ने यो विधेयकलाई प्रतिनिधिसभाबाट तुरुन्त फिर्ता गर्नुपर्छ ।'