कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्तारुढ पाँच दलको संकल्प : नागरिक एपबाटै सबै सेवा

काठमाडौँ — सबै प्रकारका सार्वजनिक सेवा उपलब्ध गराउने गरी अब नागरिक एपलाई थप सुदृढ बनाउने विषय पनि सत्ता गठबन्धनले साझा संकल्पमा उल्लेख गरेको छ । मंगलबार सार्वजनिक भएको सत्तारुढ पाँच राजनीतिक दलको  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा सरकारी कार्यालयपिच्छे नागरिकतालगायत कागजात पटक-पटक बुझाउनुपर्ने झन्झट हटाउन नागरिक एपमार्फत सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको हो ।

सत्तारुढ पाँच दलको संकल्प : नागरिक एपबाटै सबै सेवा

हाल नागरिक एपमा ३० भन्दा बढी सेवा र सुविधा उपलब्ध छन् । सरकारले नागरिकतलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने भन्दै २०७७ माघमा नागरिक एप सार्वजनिक गरेको थियो । हालसम्म ८ लाख प्रयोगकर्ताले नागरिक एप प्रयोग गर्ने गरेको वेबसाइटमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय परिचयपत्रलाई पनि प्रचलनमा ल्याउने भनिएको छ । सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली समेत लागू गर्ने उल्लेख छ । ‘छरितो सेवा प्रवाहसँगै सुशासन’ शीर्षकमा ‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पुर्‍याउने दिगो प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त्त गरिएको छ ।

साथै, इन्टरनेट लगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा समावेश छ । ‘डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने,’ सो कार्यक्रममा भनिएको छ, ‘सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने ।’ डाटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने र साइबर सुरक्षा सुनिश्चित गर्ने ।’

प्रकाशित : चैत्र ६, २०८० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?