कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्षघातपछि मस्तिष्कमा यन्त्र जडान गरिएका पहिलो बिरामीले अनलाइन चेस खेलेको दाबी

काठमाडौँ — इलन मस्कको ब्रेन-चिप कम्पनी न्युरालिंकले आफ्नो पहिलो बिरामीले शल्यक्रिया गरी मस्तिष्कमा राखिएको यन्त्र प्रयोग गरेर कम्प्युटरमा कर्सर चलाएको सार्वजनिक गरेको छ ।

पक्षघातपछि मस्तिष्कमा यन्त्र जडान गरिएका पहिलो बिरामीले अनलाइन चेस खेलेको दाबी

सामाजिक सञ्जाल एक्समा नौ मिनेटको लाइभस्ट्रिममा, काँधमुनि पक्षघात भएका नोल्यान्ड अर्बागले अनलाइन चेस खेल्नको लागि कर्सर प्रयोग गरिरहेको देखाएको थियो । अर्बागको ड्राइभिङ गर्दा दुर्घटनामा परेपछि काँधमुनि पक्षाघात भएको थियो । उनमा गत जनवरीमा चिप प्रत्यारोपण गरिएको थियो ।

मस्कको ब्रेन-चिप कम्पनीको लक्ष्य स्‍नायुसम्बन्धी जटिल समस्या भएका बिरामीहरूको मस्तिष्कमा चिप जडान गरेर त्यसलाई कम्प्युटरसँग जोड्नु रहेको छ ।

'शल्यक्रिया एकदम सजिलो थियो,' अर्बागले आफ्नो प्रस्तुतिकरणको क्रममा भने । अर्बागलेका अनुसार उनको मस्तिष्कमा जडान गरिएको यन्त्रको मद्दतले भिडियो गेम सिभिलाइजेसन चार पनि खेलेका थिए । उनको भनाइमा न्यूरालिंककै कारणले उनले लगातार ८ घण्टा गेम खेल्न सकेका थिए । यद्यपि अर्बागले नयाँ प्रविधि पूर्णरुपमा ठीक नभइसकेको र केही समस्याहरू सामना गरेको पनि बताए ।

न्यूरालिंकको यन्त्र, एक पाउन्ड सिक्काको जति ठूलो छ भने त्यसमा जडान भएका माइक्रोस्कोपिक तारहरू मस्तिष्कको न्यूरोन गतिविधि पढ्न सक्छ । त्यसलाई वायरलेस माध्यमबाट प्रापक यन्त्रमा पठाउन सक्छ । कम्पनीले सुरुमा सुँगुरहरूमा पनि परीक्षण गरेको थियो भने पछि बाँदरहरूले त्यसैको सहयोगमा भिडियो गेम पोङको आधारभूत संस्करण खेल्न सकेको दाबी गरेको थियो । न्यूरालिंकलाई अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले मे २०२३ मा मानिसमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो ।

न्यूरालिंकबाहेक स्विट्जरल्यान्डको लुसेनमा रहेको इकोले पोलिटेक्निक फेडेरेलले पनि पक्षघात भएका गर्ट-जान ओस्कमको मस्तिष्क र मेरुदण्डमा विद्युतीय यन्त्र जडान गरेका थिए । जसको साहयतामा उनलाई सोचेरै मात्र पनि हिँड्न सफल बनाएको छ । उनमा प्रत्यारोपण गरेको यन्त्रले वायरलेस रूपमा उनको खुट्टासम्म उनले सोचेको कुरा सञ्चार गर्दछ । यस सफलताको विवरणहरू गत वर्ष समीक्षा गरिएको नेचर जर्नलमा प्रकाशित भएका थिए ।

मानव मस्तिष्क लगभग ८ अर्ब ६ करोड न्यूरोन्सको घर हो । स्नायु कोशिकाहरू एकअर्कासँग विद्युतीय तरंगको माध्ययमबाट जोडिएका हुन्छन् । वैज्ञानिकहरूले ती केही संकेतहरू पत्ता लगाउन सक्ने उपकरणहरू विकास गरेका छन् । त्यस्ता यन्त्रहरू कि त टोपीका रुपमा छन् भने केहीलाई मस्तिष्कभित्र नै शल्यक्रिया गरेर जडान गर्ने गरिन्छ ।

ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) को रूपमा चिनिने यस प्रविधिको विकासमा अहिले लाखौं डलर खर्च भइरहेको छ ।

प्रकाशित : चैत्र ८, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?