कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जस्ता औंला त्यस्तै सारङ्गी

‘सारङ्गीलाई वादकको औंलाअनुसार बनाउन सकियो भने गज्जब हुन्छ । मोटा औंला र पातला औंलाले बजाउँदा धुनमा फरक पर्छ । जापानी र चिनियाँका औंला पातला हुन्छन् । जर्मनहरुका मोटा । तारको मोटाइ त्यहीअनुसार बनाएर पठाउँदा बेस हुन्छ ।’

काठमाडौँ — सारङ्गीको औसत लम्बाइ एकदेखि डेढ हातसम्म हुन्छ । झलकमान गन्धर्व, जंगबहादुर गन्धर्व, तीर्थबहादुर गन्धर्वहरूले बजाउने सारङ्गी यस्तै लम्बाइका थिए ।

जस्ता औंला त्यस्तै सारङ्गी

तथापि, भेगअनुसार यिनको लम्बाइ, आकार र प्रकार फरक हुने गर्छ । त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयमा भने छिर्नासाथ बडेमाको सारङ्गी देखिन्छ । यसकै छेउमा पुन्टे सारङ्गी पनि हुन्छ । यी दुई बाजा संग्रहालयका आकर्षणमध्येमा पर्छन् ।

अहिले यिनै ठूला–साना जोडी सारङ्गीलाई द्वारबाट हटाएर हलभित्र सानसित राखिएको छ । यिनको सामुन्ने पलेंटी कसेर बसेका संगीतका विद्यार्थी र गुरुहरू आ–आफ्ना सारङ्गी रेट्न थाल्छन् । सिक्ने, सिकाउने काम बिहान झिसमिसेदेखि राति १० बजेसम्म चल्छ । यहाँ चैत १ देखि सारङ्गी सप्ताह मनाइँदै छ । संग्रहालय र सडक संगीत, सारङ्गी समूहले गन्र्धव कला तथा संस्कृति संगठनको सहयोगमा सप्ताह आयोजना गरेको हो । नेपाल सरकारको संस्कृति मन्त्रालय यसको प्रवद्र्धक रहेको छ ।

फरक–फरक बनोटका विभिन्न भेगमा पाइने सारङ्गीहरू सङ्ग्रहालयको सभाकक्षमा झुन्ड्याइएका छन् । संग्रहालयका अनुसार नेपालमा १५ थरी सारङ्गी पाइन्छन् । पहिले यिनमा बाख्रीको आन्द्रालाई तारका रूपमा प्रयोग गरिन्थ्यो भने घोडाको पुच्छरले रेट्ने चलन थियो । अहिले नाइलनको डोरी जडान गर्ने गरिएको छ । गन्धर्व समुदाय मात्र नभएर अन्यले पनि अचेल यो बाजा बजाउन थालेका छन् । लोकसँगै आधुनिक गीतहरूमा यसको धुन सुन्न पाइन्छ ।

‘रेटेर बजाइने यो तार बाजाको स्वर अलि चर्को हुन्छ,’ संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले भने, ‘यसलाई बेस चाहिन्छ । आधुनिक गीतमा प्रयोग गर्दा अन्य बाजाको बेसमा सारङ्गी बजाइन्छ । त्यसले संगीतमा माधुर्य थपिदिन्छ । यो ठूलो सारङ्गीचाहिँ बेससहितको छ । यसलाई अर्को बाजाको साथ चाहिँदैन ।’ ७ फिट ३ इन्च लामो उक्त सारङ्गी चार–पाँच गीतमा बजाएको उनले बताए । गोरखाका पदम गन्धर्वसहितको समूहले यो बाजा बनाएका थिए जसको डिजाइनर कँडेल स्वयं हुन् ।

डिजाइनरले यसमा केही त्रुटि फेला पारेका छन् । भने, ‘घोडी–नाभि अनि सुन्दरी–मुरर्राबीचको दूरी मिलिरहेको छैन । छालाको मोटाइ र तारको गेज नाप्न जानिएनछ । सप्ताहपछि संगीतकर्मीसँग सल्लाह गरेर परिमार्जन गर्ने सोच छ ।’ नेपालमा लोक बाजासम्बन्धी अनुसन्धान नहुने भएकाले पहिले नै यसबारे पर्याप्त जानकारी बटुल्न नसकेको उनको भनाइ थियो ।

कँडेलले सात इन्चको फुच्चे सारङ्गी र ७ फिटको ठूलो सारङ्गी आजभन्दा १४/१५ वर्षअघि बनाएका थिए । यी विश्वकै साना र ठूला सारङ्गी पनि हुन् ।

सारङ्गीलाई वादकको औंला अनुसार बनाउन सकियो भने गज्जब हुने कँडेलको अनुभव छ । मोटा औंला र पातला औंलाले बजाउँदा फरक पर्ने उनले बताए । ‘हाम्रा सारङ्गी विदेशमा पनि निर्यात हुन्छन्,’ उनले भने, ‘जापानी र चिनियाँका औंला पातला हुन्छन् । जर्मनहरूका मोटा । तारको मोटाइ त्यही अनुसार बनाएर पठाउँदा बेस हुन्छ ।’

दोब्बर विद्यार्थी
२०६५ मा पहिलो सारङ्गी सप्ताह आयोजना गरिएको थियो । त्यो बेला सप्ताहमा सारङ्गी सिक्न कमै मान्छे आए । दोस्रोमा १०/१२ जनाले भाग लिए । यसपालि चाहिँ सिक्नेको संख्या दोब्बर छ । ‘पाँच/सात जना आउलान् भन्ठानेकी थिएँ,’ सप्ताहकी संयोजक एवं ललितकला क्याम्पसकी लेक्चरर (शिक्षिका भन्नु रे) मिनु वाइबाले भनिन्, ‘सारङ्गी अपुग भइरहेको छ । हाम्रो लक्ष्य विद्यार्थी संख्या बढाउनु होइन, साधना गर्नु हो ।’

सप्ताहमा भाग लिएका अघिल्लो वर्षका विद्यार्थीहरूले पनि आआफ्नै ठाउँमा यो उत्सव मनाइरहेका छन् । कँडेलका अनुसार १५ देशमा सारङ्गी सप्ताह जारी छ । ‘उहाँहरूलाई यहाँ निम्त्याउन सकिएन,’ कँडेलले भने, ‘जहाँ छौ, त्यहीँबाट बजाऊ भनेका छौं ।’ देशकै २०/२५ वटा जिल्लामा पनि चैत १ देखि १६८ घण्टासम्म अविच्छिन्न सारङ्गीवादनमा साथ दिनेहरू रहेको कँडेलले बताए ।

‘कुनै मौलिक बाजा सिक्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो,’ सप्ताह हेर्न आएका ओम भण्डारीले भने, ‘सारङ्गी बजाउने रहर लाग्यो । तर, भरपर्दो सिक्ने ठाउँ भेटिनँ ।’ अहिलेसम्मका तीनवटै सप्ताहमा भाग लिएका उनी थोरबहुत बजाउन सक्ने भएका छन् ।

‘गाह्रो हुँदो रहेछ,’ उनले भने, ‘सुर मिलाएर बजाउन धेरै मिहिनेत गर्नुपर्छ ।’ यस्ता महोत्सवले बाजा जगेर्नामा सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

इमाडोलकी २१ वर्षे शशिका राईचाहिँ पहिले गितार बजाउँथिन् । तीन महिनाअघि संग्रहालयमा सारङ्गीवादनको कक्षा लिएपछि उनलाई यसमा रस बसेछ । यसपालि सिकिछाड्ने अठोटसाथ सप्ताहमा आइरहेकी छन् । ‘म ललितकलामा संगीत पढदै छु’, उनले भनिन्, ‘गायकलाई वाद्यवादनको ज्ञान हुनुपर्छ भन्ने लाग्यो । गितार सिकेँ । तर, लोकबाजा झनै काम लाग्छजस्तो लागेर यहाँ आएकी हुँ ।’

सात दिनमा सबैभन्दा बढी घण्टा सारङ्गी बजाउनेलाई सङ्ग्रहालयले अध्ययनवृत्ति पनि दिने गरेको छ ।

प्रकाशित : चैत्र ५, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?