कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“मिहिनेत गर्दै गएपछि सिकिन्छ”

काठमाडौँ — आफूपछिका साथीभाइले भकाभक गीत निकालिसक्दा पनि नेपाल आइडल विजेता बुद्ध लामा चुप थिए ।

“मिहिनेत गर्दै गएपछि सिकिन्छ”

आयोजकले उपहार नदिएको भन्नेबारे चाहिँ उनीसम्बन्धी समाचार आइरहको थियो । तर, बुद्धले यही आइतबार आफ्नो पहिलो गजल सार्वजनिक गरेका छन् । भिडियोसहित आएको ‘तिमी साथ भएपछि...’ ले चौबीस घण्टाभित्रै युटयुबमा ३ लाख भ्युज कटाइसकेको छ ।

बुद्धले सुरेश वाग्लेको रचना र हरि लम्सालको संगीतमा आवाज दिएका हुन् । यसमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । भिडियोमा निर्देशक अर्जुन अधिकारीले पल शाह र आँचल शर्मालाई खेलाएका छन् । म्युजिक भिडियोलाई लिएर तीन हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । ‘आलोचकहरूले पनि हेरे होलान् रियल आइडलको गीत,’ नरेश श्रेष्ठ लेख्छन्, ‘गतिलो जवाफ दियो है बुद्ध भाइले ।’

यसअघि आइडलका फस्ट रनरअप निशान भट्टराईले ‘कोरेर मीठा भावहरू...’ बोलको गीत निकालेका थिए । सेकेन्ड रनरअप प्रताप दासले ‘लेखेँ एउटा गीत...’, ‘प्रेमको बिन्ती...’, ‘मलाई किन किन...’, लगायत गीत बाहिर ल्याएका छन् । ‘लिलीबिली’ र ‘अनुराग’ फिल्मका लागि क्रमश: ‘इज इट अ लभ..’ र ‘तिम्रो स्वरमा...’ पनि गाइभ्याए । यीमध्ये सबैको म्युजिक भिडियो बनेको छैन । ‘प्रतापको आलापको बिगेस्ट फयान हुँ म,’ रायन खत्री नामक युटयुब प्रयोगर्ताले यस्तो कमेन्ट छोडेका छन् ।

टप फाइभबाट बाहिरिएका सागर आलेको ‘पल्लाघरकी कान्छी नानी...’ राम्रै चल्यो । युटयुबमा यसको भ्युज साढे ९ लाख पुगेको छ भने झन्डै ४ हजार फिडब्याक आएका छन् । उनले ‘असारे महिना...’ बोलको सालैजो भाका र ‘मलाई किन...’ बोलको प्रेम गीत पनि भिडियोसहित निकालिसकेका छन् । प्रमिला राईले ‘कान्छा हौ...’ सार्वजनिक गरेको पाँच महिना भइसक्यो भने विद्या तिवारीले त आइडल चलिरहेकै बेला (उनी बाहिरिएपछि) ‘हेलो हाई...’ बोलको गीत श्रोतामाझ ल्याएकी थिइन् ।

सुजाता पाण्डे, मेनुका पौडेल, सुरज थापा, उल्सन श्रेष्ठ, सन्ध्या जोशी, मनोज थापा मगरलगायतले पनि आ–आफ्ना गीत निकालिरहेका छन् । टप फोमा पुगेकी सुजाताले ‘कोही भन्छ...’ बोलको गीत निकालेकी छन् । मेनुकाले केही अघि ‘यति धेरै माया...’, ‘दिलको घाउ...’ जस्ता गीत सार्वजनिक गरेकी थिइन् । केन्जल मेहर श्रेष्ठका चाहिँ कभर सङ मात्र सुन्न पाइन्छ । लियो सेयरको ‘आई लभ यु मोर दयान आई क्यान से...’, बेन ई किङको ‘स्टयान्ड बाई मी...’ को केन्जल–कभर भर्सन युटयुबमा छ ।

यी सबै नियालिरहेका आइडलका निर्णायक एवं संगीतकार न्हयू बज्राचार्यले सबैको प्रयास राम्रो भएको बताए । ‘अहिले मूल्यांकन गरिहाल्ने बेला भएको छैन,’ उनले भने, ‘तैपनि मलाई राम्रो लागिरहेको छ । यो ठाउँमा पुग्न जति मिहिनेत गरे अब झनै गर्नुपर्छ । मिहिनेत गर्दै गएपछि सिकिन्छ ।’ निरन्तरता, अभ्यास र प्रयोगले गायन कलालाई निर्खार्दै लैजानेको न्हयूको भनाइ छ ।

आइडलका सहभागी सबैले आ–आफ्नै निर्णयले काम गरेको देख्दा न्हयू खुसी छन् । ‘उनीहरूलाई अरूको सल्लाह चाहिँदैन,’ उनले भने, ‘आफैं निर्णय लिन सक्नु राम्रो हो । यिनको सङ च्वाइस पनि ठीकै भइरहेको छ । सन्ध्या, मनोज, उल्सन सबैले राम्रो गरिरहेका छन् ।’ न्हयूले बुद्धको गीत भने सुन्न नपाएको बताए ।

नेपाल आइडलको टप ५ मा परेकाहरूका गीत
बुद्ध लामा – तिमी साथ...
निशान भट्टराई – कोरेर मीठा...
प्रताप दास – प्रेमको बिन्ती...
सुजाता पाण्डे – कोही भन्छ...
सागर आले – पल्लाघरकी...

प्रकाशित : चैत्र ६, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?