कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा जयमाया

नयाँ दिल्लीमा आयोजित आठौं थिएटर ओलम्पिकमा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ नाटक मञ्चन गरिँदै ।
सुशील पौडेल

नयाँ दिल्ली — भारतको राजधानीस्थित राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) मा जारी आठौं थिएटर ओलम्पिकमा नेपालको आरोहण समूहको नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ एनएसडीकै कमानी हलमा मञ्चन गरिएको छ ।

दिल्लीमा जयमाया

बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपालीभाषीको भोगाइलाई लेखक इन्द्रबहादुर राईले सोही शीर्षकमा कथा लेखेका थिए । निर्देशक सुनील पोखरेलले उक्त कथालाई नाट्य रूपान्तरण गरेका हुन् । जयमायाको केन्द्रीय भूमिकामा निशा शर्मा छन् । साथै विपिन कार्की, सरिता गिरी, प्रवीण खतिवडा, रेनुका कार्की, राजेश रेग्मी, राज न्यौपाने, सुमित तामाङ, किरण श्रेष्ठ, चाँदनी शाही, सुरज तमु, सब्बु गुरुङ, मौसम खडका, सञ्जीवप्रताप मल्ल, सुजन कार्की, दीपेन्द्र शाही, भावना थापा र आलोक थामीले पनि अभिनय गरेका छन् ।

‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ सँगै मञ्चन भएका अन्य दुई नाटक ‘सत्याग्रह’ र ‘चेखव की दुनियाँ’ का निर्देशक अर्जुनदेव चारण र रन्जित कपुरले ‘मिट टु डिरेक्सन’ सेसनमा सुनीलको नाटकको समीक्षात्मक प्रशंसा गरेका थिए । ‘नाटकले एकदमै भावुक बनायो । नाटकपछि पनि लामो समय मस्तिष्कमा बारम्बार घोचिरह्यो,’ भारतीय कला समीक्षक संगम पाण्डेले ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ बारे भने, ‘पहिलो पटक नेपाली जीवनलाई पूराका पूरा आफ्नै परिवेश, द्वन्द्व र संगीतका साथ देख्न पायौं । र, यी सबैको जुन समायोजन गरिएको थियो, त्यो तारिफयोग्य छ ।’ समीक्षक पाण्डेले नाटकमा क्राउड सिन भएर पनि क्राउड नलाग्ने बताउँदै यस्तो कसरी सम्भव भयो भनी जिज्ञासा राखेका थिए ।

निर्देशक पोखरेलले भने आफू केही समयदेखि नाटक मञ्चनमा कलाकारलाई पूर्ण अधिकार दिन थालेको प्रसंग उठाउँदै थपे, ‘यो एक कथामा आधारित भए पनि पात्र र घटनाहरू थपघट गरिएको छ । मैले घटना र चरित्रलाई एक गरेपछि बाँकी काम कलाकारलाई नै छोडिदिएको हुँ । मैले त केवल सम्पादन मात्रै गरेको हुँ । सबै चरित्र कलाकार आफैंले खोजेर तिनका लागि संवाद पनि स्वयंले तयार पारेका हुन् ।’ पोखरेलले तर्क गर्दै भने, ‘एक जनाको दिमाग सधैं पूरा हुँदैन । त्यसमा २२, २५ जनाको दिमाग लाग्यो भने कैयन् राम्रा सोच जन्मिन्छन् । आजकल मलाई यसो गर्न मन पर्छ ।’

समीक्षक पाण्डेले नाटकका हरेक कलाकारले आ–आफ्ना पात्रलाई अति धेरै विश्वसनीय बनाएको टिप्पणी गर्दै त्यो कलाकार त्यही चरित्रका लागि नै बनेको भान पार्न सक्नु खुबी भएको बताए । निर्देशकले नाटकमा क्लासिकल लाइभ म्युजिकको प्रयोग गरेका छन् । उनको कदमलाई समीक्षकले सही माने । पाण्डेले भने, ‘नाटकमा जुन क्लासिकल संगीतको प्रयोग गरिएको छ, अझ खासगरी आलाप पूरा अडिटोरियममा भरिएको थियो । हाम्रो भित्र पनि भरिरहेको थियो ।’ निर्देशक पोखरेलले नेपाली नाटकमा पहिलो पटक क्लासिकल म्युजिकको प्रयोग भएको बताउँदै यसमा समेत इम्प्रोभाइजेसन गरेको जानकारी दिए । नाटकमा उत्सवकुमार बुढाथोकी र विश्वराज काफ्लेको संगीत छ । त्यसैगरी प्रकाशमा निर्देशकलाई प्रवीण खतिवडाले साथ दिएका हुन् भने मञ्च डिजाइन अनुप बरालले गरेका हुन् ।

निर्देशकसँगको साक्षात्कारमा आफ्नो नाटक नेपालमा एक महिना मञ्चन भइसकेको जानकारी दिँदा अन्य आश्चर्यमा परे । पोखरेलले थपिदिए, ‘हो त एक महिना त आरामले चल्छ ।’ यति भन्दै गर्दा दर्शकदीर्घाबाट लामो ताली बजेको थियो । सुनील पोखरेलले एनएसडीबाटै सन् १९८७ मा स्नातक गरेका हुन् । माघ ५ देखि भारतका १७ सहर हुँदै एनएसडीसम्म चैत २५ सम्म चल्ने थिएटर ओलम्पिकमा यतिबेला झन्डै चार सय ५० नाटक मञ्चनका लागि छनोट भएका छन् ।

प्रकाशित : चैत्र १२, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?