कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“हात्ती सोचेर मुसो”

काठमाडौँ — ‘हात्ती सोचेर, मुसो बनाउँछु ।’ कलाकार राजन काफ्लेले यसो भनिरहँदा छेउका साथीहरू हाँस्न थाले । कुरा गम्भीर नै थियो । तर, धेरैले रमाइलो माने । राजन भने मूर्तिकारको चुनौतीलाई व्यंग्य गर्दै थिए ।

“हात्ती सोचेर मुसो”

बबरमहलस्थित आर्ट काउन्सिलमा उनीलगायत थुप्रै नेपाली र विदेशी कलाकारका मूर्ति यति बेला प्रदर्शनमा छन् । उनी चित्रकारसँगै मूर्तिकार पनि हुन् । उनी स्थानाभावकै कारण आफूले सोचेजस्तो ठूलो मूर्ति परिकल्पना मात्रै गर्छन् । बनाउँदा भने सानै मूर्ति बनाउँछन्, डमीजस्तै । ‘घरमा राख्ने ठाउँ छैन,’ उनले भने, ‘खासै बिक्री पनि हुँदैन ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागले बुधबारदेखि ‘एन इनसाइट’ थिममा अन्तर्राष्ट्रिय मूर्ति प्रदर्शनी गरेको हो । प्रदर्शनीमा नेपालसँगै चीन, दक्षिण कोरिया, भारत, लिथुआनिया, थाइल्यान्ड, मलेसिया गरी ८ देशका ५३ कलाकारको सहभागिता छ ।

राजनले प्रदर्शनीमा ‘द ड्रप’ थिममा मूर्ति राखेका छन् । तीन वर्षअघि बनाएका ठूला मूर्ति यत्तिकै थन्काउन बाध्य मूर्तिकार विशाल सारु मगरका सिर्जना पनि छन् । काठमाडांैमा डेरा बस्दै आएका विशालले भने, ‘प्रदर्शनी गर्दा खर्च मात्रै हुन्छ । सुरक्षितसँग राख्ने ठाउँ छैन । अब घरै (इलाम) फर्केर ग्यालरी बनाई आफ्ना मूर्तिहरू राख्नुपर्ला ।’

मूर्ति बिकाउनुभन्दा पनि व्यवस्थित गर्ने चुनौतीमा छन् मूर्तिकारहरू । कला समीक्षक मुकेश मल्लले राज्यबाटै मूर्तिकलाको व्यवस्थापन सम्भव हुने उल्लेख गर्दै सुझाए, ‘महानगरपालिकाको संयोजनमा पार्क, मण्डला र घरहरूमा मूर्ति सजाउन सकिन्छ । यसका लागि जनचेतना बढाउनुपर्छ ।’ प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले अस्थायी रूपमा आर्ट म्युजियम बनाउन लागेको खुलाउँदै थपिन्, ‘यो नै पर्याप्त हैन तर प्रिफयाब म्युजियम बनाउँदै छौँ ।’

आर्ट काउन्सिलको पहिलो तलामा गरिएको प्रदर्शनीमा स्थानाभावकै कारण धेरै ठूला मूर्ति राखिएका छैनन् । हिम्मत नेम्वाङले कमजोर बुद्ध आकृतिले कमलको भारी टाउकामा उठाएको मूर्ति बनाएका छन् । चीनका पेङ याङको ‘ग्रिन कपर’ थिममा चार बालकको मूर्ति छ । दुई बालक किताब पढदै र खेल्दै छन् भने दुई बालकले युद्धको पोसाक लगाएर अघि बढदै गरेको देखिन्छ । यसले नयाँ पुस्ताको प्रवृत्ति कस्तो हुँदै छ भन्ने भाव दर्साउँछ । भारतका मूर्तिकार राजीव नयनले आल्मुनियमका माध्यमबाट वृद्धको मुहार आकृति बनाएका छन् ।

प्रदर्शनी एक सातासम्म चल्नेछ ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?