कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुसी कहाँ छ ? क्यानभासमा

हरेक शनिबार मेरै लागि हो । किनकि यो दिन म चित्र सिक्दै गरेकी हुन्छु ।

काठमाडौँ — इन्जिनियरिङ पेसामा नाम र दामको कमी छैन । शिल्पा कोइराला भविष्य उज्यालो देखेर यसैमा लागेकी थिइन् । भरपुर मिहिनेत गरेर इन्जिनियर त भइन्, तर मनमा आनन्द भने मिलेन ।

खुसी कहाँ छ ? क्यानभासमा

स्कुल पढदादेखि नै चित्रकलाबारे उनको चासो थियो । परिवार र समाजका कारण उनले चाहना लुकाउनुपर्‍यो । यद्यपि चित्र र रंगसँगको साइनो उनको मनमा सधैं रही नै रहयो ।

जागिरे जीवन । व्यस्त दैनिकीले शिल्पालाई मेसिन जस्तै बनाएको रहेछ । आनन्दको अनुभूति गर्न आफ्नै चाहनाको काम गर्नुपर्ने उनले बुझिन् । सधैं समाज र परिवारको भनाइमा सहमति जनाउँदै आएकी उनले यति बेला भने आफ्नै मनको कुरा सुन्दै छिन् । कुची र क्यानभास उनको मनको प्रतिविम्ब झल्काउने ऐना बनेको छ यति बेला । जति बेला निराश हुन्छिन्, तिनै रंगले उनी मनका भाव क्यानभासमा पोत्छिन् । मध्यवानेश्वर बस्ने २५ वर्षीया उनी शनिबार र सार्वजनिक बिदाका बेला चित्र सिक्ने गर्छिन् । ‘हरेक शनिबार मेरै लागि हो,’ उनी भन्छिन्, ‘किनकि यो दिन म चित्र सिक्दै गरेकी हुन्छु ।’

गरिरहेका काम सबै व्यक्तिले आफ्नै खुसीका लागि गर्छन् भन्ने छैन । समयभन्दा हाम्रो समाज पुरातन छ । खुलेर व्यक्तित्व विकास गर्ने वातावरणमा कहाँ न कहीँ भाँजो आइहाल्छ । अधिकांश युवा अझै पनि समाज र परिवारको खुसीका लागि आफ्नो मन मारिरहेका छन् । जोरपाटीका २९ वर्षे किशोर ज्योति भन्छन्, ‘मैले पनि चित्रसँगै प्रेम गरेको छु ।’

किशोर खासमा कमर्सका विद्यार्थी हुन् । एसएलसीमा धेरै अंक ल्याउनेले मानविकी संकाय रोज्नु समय खेर फाल्नु हो भन्ने गलत धारणा उनको मस्तिष्कमा कसैले रोपिदियो, उनी सिकार भए । स्नातकोत्तर गरिसकेका किशोर अहिले आफैंलाई प्रश्न गर्छन्, ‘के म खुसी छु ?’ शैक्षिक योग्यतामा अब्बल ठहरिए पनि उनी खुसी रहेनन् । त्यसपछि मनले रोजेको बाटोतिरै लागे ।

चित्रकला सिक्दै किशोर विभिन्न सामूहिक कला प्रदर्शनीमा समेत सहभागी हुन थाले । यसले उनको काममा परिपक्वता र मनमा आत्मविश्वासको बढोत्तरी गरायो । रंगसँग खेल्न थालेपछि उनको सोच्ने तरिका भिन्न हुन थाल्यो । ‘हरेक कुरा पोएट्रिक शैलीमा सोचिँदो रहेछ,’ उनले भने, ‘रंगको भावमा आफूलाई पस्किने प्रयास गरिरहेको छु । रंगको भाषा सिक्दै छु ।’

बालाजुकी २६ वर्षीया निशा गैरेको शैक्षिक पृष्ठभूमि चाहिँ म्यानेजमेन्ट हो । स्नातकोत्तर सकेपछि उनले कहिल्यै जागिरे जीवन बिताउने सोच पालिनन् । उनी आफूलाई जागिर खाने व्यक्ति नभएको ठान्छिन् । कसैको मातहतमा काम गर्नु उनलाई बन्धनझैं लाग्छ । स्वतन्त्र र मनमौजी काम गर्नका लागि उनलाई चित्रकला नै उपयुक्त लाग्यो । आफ्नै बहिनीको कलाप्रेम देखेर उनी प्रभावित थिइन् । त्यसैले उनी पनि जागिर खान छोडेर चित्रकला सिक्दै छिन् । ‘चित्रकलाको कख भनेकै रेखा रहेछ,’ उनी भन्छिन्, ‘अनि धैर्य ।’ कहिलेकाहीं दिमाग ‘हयाङ’ हुँदा ‘आउट’ गर्ने औषधिका रूपमा पनि उनी चित्र सिर्जना गर्छिन् । रंगले मस्तिष्क थेरापी गरिरहेको अनुभूति उनले गरेकी छन् उनले ।

गोंगबुकी निरु गिरीले बिजनेसमा स्नातक गरेकी छन् । तर, उनको पनि लुकेको चाहना चित्रकार बन्ने रहेछ । त्यो चाहना साकार पार्न उनी बल्ल लागेकी छन् । आईएनजीओको जागिरपछिको फुर्सद उनी कलामै खर्चिने गर्छिन् । भर्खरै एक महिनाको सिकाइमा उनले चित्रको महत्त्व र भविष्य बुझ्दै छिन् । क्यानभासले कहिल्यै यस्तो चित्र बनाऊ, उस्तो बनाऊ भनेर निर्देशन गर्दैन । मनमा जे लाग्छ उही उतारिन्छ । त्यसैले निरु क्यानभासमा नि:स्वार्थ मित्रता पाएको बताउँछिन् ।

काभ्रेका सेन्ट नाङसल पेन तामाङको चाहना चित्रकलामै विद्यावारिधि गर्ने सोच छ । जागिरे बन्दै चित्रकलामा समेत करिअर खोज्दै गरेका सेन्ट नाङसलले थाङका चित्रबारे स्वाध्ययन गरे । पछिल्लो समय थाङका चित्रकलाको मौलिकता नक्कलमा मात्रै सीमित रहेको उनको खोजीले बताउँछ । तैपनि उनी अध्ययन–अनुसन्धानसँगै चित्रकार बनेर यसैबाट व्यवसायी हुने योजनामा छन् ।

चित्रकार बन्ने सपना बुनेका यी तन्नेरीहरूलाई चित्रकार रोशन प्रधानले सिकाउँदै आएका छन् । उनी चित्र सिकाउनुभन्दा पहिले विद्यार्थीका गुण, इच्छा र कल्पना क्षमताको जाँच गर्छन् ।

‘चित्रकला अरूभन्दा बेग्लै हुन्छ,’ उनी भन्छन्, ‘यहाँ कल्पना र भावनाको पढाइ हुन्छ, जसलाई रंगबाट अभिव्यक्त गरिन्छ ।’

प्रकाशित : जेष्ठ २२, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?