१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

विवेक बने डान्स च्याम्पियन

काठमाडौँ — विवेक थापामगर ‘एसईई डान्स च्याम्पियनसिप’ का विजेता भएका छन् । राजधानीमा शनिबार आयोजित ग्रान्ड फिनालेमा उनले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विवेक बने डान्स च्याम्पियन

पुरस्कारस्वरूप उनले ५० हजार रुपैयाँसहित विभिन्न कलेजमा शैक्षिक छात्रवृत्ति र राष्ट्रिय नाचघरमा नृत्यसम्बन्धी छात्रवृत्ति पाएका छन् । बुटवल घर भएका विवेकले हिपहप शैलीमा नृत्य प्रस्तुत गरेका थिए ।

वज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रवेश खड्का फस्ट रनरअप र सुदिच्छा दाहाल सेकेन्ड रनरअप भए । उनीहरूले क्रमश: ३० हजार र २० हजार रुपैयाँसहित छात्रवृत्ति पाएका छन् ।

साथै १६ प्रतियोगीमध्ये टप फाइभ छनोट गरिएको थियो, जसमा सरिता सिग्देल, स्वस्तिमा बस्नेत, सुदिच्छा, प्रवेश र विवेक परेका थिए । यिनै पाँचमध्ये विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप छानिएको थियो । टप फाइभमा पर्नेले विभिन्न कलेजमा पूर्ण छात्रवृत्ति पाउने भएका छन् ।

त्यस्तै, समृद्धि पाण्डेले डिसिप्लिन अवार्ड, सुदिच्छाले बेस्ट कोरियोग्राफी, अनुजराज शाक्यले बेस्ट स्किल र दीपिका तामाङले बेस्ट पर्फमेन्स अवार्ड पाए । वरिष्ठ गीतकार यादव खरेलले पुरस्कृत सबैलाई अवार्ड प्रदान गरेका थिए ।

आयोजक संस्थाका महेश गोदारले नृत्य विधालाई शिक्षासँग जोड्ने संस्कृतिको विकास नभएको भन्दै यसको अर्थ र महत्त्व बुझाउन प्रतियोगिता गरेको बताए । ‘नाच्नु कला मात्रै नभई शिक्षा पनि हो,’ उनले भने, ‘भर्खरै एसईई दिएर बसेका विद्यार्थीले यो विधामा करिअर बनाउन सक्छन् ।’ उनका अनुसार प्रतियोगितामा देशभरका ५ सय विद्यार्थीले आवेदन दिएका थिए, तीमध्ये ३१ जनाको मेगा अडिसन लिइएको थियो ।

प्रकाशित : असार २५, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?