जोगाउँदै कर्णालीका भाका

कृष्णप्रसाद गौतम

सुर्खेत — गलीमा लाउने गली ठुमरा कानैमा लाउने सुनको भमरा पाउमा लाउने पाउजु बजाउँदै शिरफूल लाएर सिउँदो सजाउँदै उडी गई पुतला नबोली गैगै मायाजालमा...

६ वर्षअघि तिलक परियारले गाएको यो सिंगारु गीतले मध्यपश्चिम क्षेत्रमा राम्रै श्रोता पायो । उनको लोकप्रियता पनि बढ्यो । त्यसबेला सातामा चार वटासम्म कन्सर्ट भ्याउँथे । यसबाट हौसिएका उनले त्यसपछि ‘रिम्ना दोभान’ झयाउरे गीत र ‘तोरी हरियो’ टप्पा गीत ल्याए । यी दुई गीत पनि पश्चिम पहाडमा लोकप्रिय बने । अहिले उनको परिचय नै लोपोन्मुख भाका जोगाउने सर्जकको रूपमा स्थापित भएको छ ।

तिलकले अहिलेको कर्णाली प्रदेशमा लोप हुँदै गएका पुराना भाकालाई नयाँ शब्दमा ढालेर गीत गाउने गरेका छन् । उनले पैस्यारु गीत ‘बासमती चावल’ का साथै टप्पा भाका ‘क्या राम्री रैछौ’ र ‘सुन हजुर’ ल्याएका छन्, जुन सुर्खेत, दैलेख, रुकुम र सल्यानमा निकै रुचाइएका छन् । दुई वर्षअघि उनले गाएको यो टप्पा पनि पश्चिम क्षेत्रमा चल्यो :

Yamaha

सगालैको बारीमा तोरी हरियो
लाग्दैन बाँडुली माया मरियो...

लोकसंगीत आधुनिकीकरण भइरहेका बेला उनी पुराना लोकभाकाको संरक्षणमा किन लागे त ?
‘पश्चिम पहाडको पहिचान बोकेका टप्पा, सिंगारु, पैस्यारु लगायतका गीतलाई संरक्षण गर्न जरुरी छ,’ २९ वर्षे गायकले भने, ‘त्यसैले वर्षमा एउटा एल्बम लोपोन्मुख भाकाकै ल्याउने गरेको छु । पछिल्लो समय चाडपर्व र मेलामा बाहेक अन्त पुराना भाका सुन्न पाइँदैन ।’

‘दु:ख पाइछौ रे’ गीत हुँदै २०६५ मा लोकसंगीतमा प्रवेश गरेका तिलकले भावी सन्ततिका लागि समेत मौलिक पहिचानको जगेर्ना गर्नुपर्ने बताए । आफ्ना गीतले केही हदसम्म परम्परागत कला–संस्कृतिलाई जोगाउन मद्दत पुर्‍याएको उनको भनाइ छ ।

Esewa Pasal

प्रकाशित : श्रावण ११, २०७५ ०८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बोस्टनमा गुन्जिइन् अञ्जु

कान्तिपुर संवाददाता

काठमाडौँ — गायिका अञ्जु पन्तले अमेरिकामा पहिलो पल्ट एकल साँझ गरेकी छन् । बोस्टनको आर्लिंग्टनस्थित रिजेन्ट थिएटरमा हालै आयोजित ‘अञ्जु पन्त सुमधुर सन्ध्या’ मा उनले लोकप्रिय गीतहरूमार्फत श्रोतालाई मनोरञ्जन दिइन् ।

आफ्नो तेस्रो एकल गायन साँझका रूपमा आयोजित कन्सर्टमा अञ्जुले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व–पश्चिम रेल’, ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘तिमी रोएको पल’, ‘दिल यो मेरो दिल’, ‘कहाँ थियौ तिमी’ सुनाइन् । ‘कसले चोयो मेरो मन’, ‘चरी चट्ट परी भुरुरु,’ ‘पीरमा पनि हाँस्न सक्छे एउटी छोरी मान्छे’, ‘जिन्दगी यो फूलैफूलको’, ‘मैले तिमीलाई चाहेर पनि’ लगायत दुई दर्जन गीत गाएर उनले दर्शकश्रोतालाई घरी भावुक त घरी रौसे बनाएको कन्सर्ट संयोजक गजलकार सुरेश वाग्लेले जानकारी दिए ।

नेपाली श्रोताको बाक्लो उपस्थितिमाझ अञ्जुलाई सारंगीमा श्याम नेपाली, तबलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्ज्वल धौभडेल, किबोर्डमा अनुप भण्डारी, गितारमा शैलेन्द्र सिंह, गितारमा सुशील घिमिरे र मादलमा अनुभव थपलियाले साथ दिएका थिए । युगल गायनमा अञ्जुलाई प्रवीन परियारले सघाएका थिए ।

अमेरिकामा पहिलो गायन साँझ गरेकी अञ्जुलाई आयोजक हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्षसमेत रहेका वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणि आचार्यले सम्मानसमेत गरेका थिए ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT