कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाकुपटासी बुन्ने छैनन्, किन्ने छन्

‘धान रोप्ने र काट्ने समयमा यो काम गर्न मानिस आउँदैनन् । रेगुलर बुन्न सक्ने अवस्था छैन । पहिले बुन्न आउने मानिसको पनि उमेर ढल्कँदै गएको र नयाँ पिँढीले यो बुन्ने सीप नसिकेकोले यो समस्या आएको हो ।’
‘अहिले फ्रक, मेक्सी डिजाइनमा हाकुपटासीको प्रयोग भएर फेसनेबल हुने क्रम बढेको छ । यसले लोकप्रियता पाएजस्तै यो बुन्ने सीपले भने लोकप्रियता पाउन नसकेकै हो ।’
सुनीता साखकर्मी

भक्तपुर — हाकुपटासी अर्थात् कालो फरिया । नेवार समुदायको मौलिक पोसाक हो यो । कुनै बेला उपत्यकाका हरेक घरमा हाकुपटासी बुन्ने एउटा घरबुना तान हुने गर्थ्याे । उपत्यकाका घुम्दा हाकुपटासी लगाएका महिलाहरू टन्नै भेटिन्थे । आफूले लगाउने लुगा आफैं बुन्दै नेवार समुदायको कैयौं पुस्ता हुर्कियो ।

हाकुपटासी बुन्ने छैनन्, किन्ने छन्

तर अहिले तानमा हाकुपटासी बुन्नेहरूको संख्या हातमा गन्न सकिने अवस्थामा पुगेको छ भने उपत्यकाका नेवार बस्ती डुल्ने हो भने हाकुपटासी लगाएका महिलाहरू फाट्टफुट्ट मात्रै देखिन्छन् । अहिले हाकुपटासी चाडपर्वमा सीमित भएको छ ।

भक्तपर लिवालीका हाकुपटासी व्यवसायी ६४ वर्षे बुद्धिसागर प्रजापतीका अनुसार अहिले भक्तपुरमा हाकुपटासी बुन्ने एक दर्जन घर पनि भेट्न मुस्किल छ । उनको पुख्र्यौली पेसा माटोको भाँडो बनाउने थियो । सानैदेखि उनी बुवासँग माटोका भाँडो बनाउँदै हुर्किए । तर मन भने दिदी र आमाले हाकुपटासी बुन्ने गरेको तानतिरै थियो । बेलाबेलामा बुवाका आँखा छलेर दिदीसँग हाकुपटासी बुन्न पुग्थे । त्यही बेलामा भाँडा बनाउन माटोको अभाव हुन थाल्यो । त्यसपछि बुद्धिले भाँडा बनाउने पेसा छोडेर हाकुपटासी बुन्न तिर लागे । मागहरूको ओइरो लाग्न थालेपछि उनले घरमा भएको दुई तानलाई बढाएर उनले १९ वटा तान पुर्‍याएर उद्योग नै सुरु गरे । तर अहिले यो पेसा पनि संकटमा पर्दै गएको उनले अनुभव गरेका छन् ।

‘माटो पाइन छोडेपछि तानमै कपडा बुन्नु राम्रो हुन्छ भन्ने लाग्यो । माग पनि टन्नै हुन्थ्यो,’ बुद्धिले भने, ‘तर अहिले धेरै माग छैन बजारबाट । बुन्ने मान्छेको पनि खडेरी नै लागेको छ । पैसा दिन्छु भन्दा ’नि बुन्ने मान्छे पाउन छाडयो ।’ उनले तानमा कपडा बुन्न थालेपछि सुरुमा सबैले ‘केटीले गर्ने काम गर्न थाल्यो भनेर धेरैले जिस्काएको’ उनले सम्झिए । तर उनले पर्वाह गरेनन् । परिवार पाल्नको लागि जुन काम गरे’नि हुन्छ भन्ने सोचले उनलाई हौस्यायो । उनको चार जना दाजुभाइमध्ये कसैले पनि माटोको पेसा गर्दैनन् । माहिला भाइ शिक्षक, साइला घर बनाउँछन् भने कान्छा हाइड्रोपावरमा ठेक्कापट्टाको काम गर्छन् ।

बुद्धिले भने, ‘माटोको काममा सुक्खा लागेपछि विकल्प खोज्नु थियो । त्यही बेला हाकुपटासीको माग अन्यत्र पनि एकदमै बढ्यो । हाकुपटासी बुनेर परिवार पाल्न सजिलो भयो । तर अहिले यो पेसामा पनि बिस्तारै सुक्खा लाग्दै छ ।’ अहिले हाकुपटासीको माग एकदमै कम भएको र तान बुन्न आउने मानिस पनि नपाउने समस्या उनलाई छ ।

अहिले बुद्धिको कारखानामा भएको १९ वटा तानमध्ये एउटा तानमा मात्रै हाकुपटासी बुन्ने गरिन्छ । कुनै बेला वर्षको ८/१० लाखसम्म कमाइ हुने गरेकोमा अहिले वर्षको डेढ लाख कमाउन पनि मुस्किल हुने गरेको उनले सुनाए ।


‘यो व्यवसाय पनि पाँच महिना बन्द हुन्छ । धान रोप्ने र काट्ने समयमा यो पेसा गर्न मानिस आउँदैनन् । अहिले बुन्ने मान्छे नआएकोले त्यही एउटा तान पनि खाली छ । रेगुलर बुन्न सक्ने अवस्था छैन । पहिले बुन्न आउने मानिसको पनि उमेर ढल्कँदै गएको र नयाँ पिँढीले यो बुन्ने सीप नसिकेकोले यो समस्या आएको हो,’ उनले सुनाउँदै गए । उनी र उनको श्रीमती धागो मिलाइदिने, तान जडान गरिदिने काम गर्छन् ।

देशविदेशसम्म निर्यात गरेका उनले अहिले भने केही पसलहरू मात्रै आफ्नो ग्राहक बनेको अनुभव सुनाए । अहिले नेपाली र नेवार कपडा बजारमा चल्ती भएको छैन । साडी छोडेर सटपाइन्ट, टिसर्टहरू लगाउने चलन आएकोले पनि यस्तो भएको उनलाई लाग्छ । हाकुपटासीसहित त्यसकै सेटमा हुने पटुका, चोलोको कपडा, च्यादर, पछयौराहरू पनि उनकोमा बुन्ने गरेका छन् । अहिले बजारमा आएको सिफनको साडी र मेसिनमा बुनेको हाकुपटासीले यसको बजार खोसेको उनले सुनाए । ‘हामीले हातले बुनेको हाकुपटासीले मेसिनमा बुनेकोसँग प्रतिस्पर्धा गर्नै सक्दैन,’ उनले भने, ‘हातले बुन्दा समय पनि लाग्छ र धेरै समयमा थोरै हाकुपटासी तयार हुन्छ ।’

बुद्धिले हाकुपटासी बुन्ने धागो पहिले बुटवलबाट ल्याउने गरे पनि अहिले भने भारतबाट आयात हुने गरेको बताए । भारतबाट ल्याएको सेतो धागोमा कालो, रातो, हरियो रंग भने रञ्जितकार समुदायलाई भर्न दिन्छन् । रंगाएको धागोबाट हाकुपटासी बुन्ने तरिका उनले बताउँदै गए, ‘पहिले धागोलाई फेलुमा राखेर बबिन वा लट्टाईमा भरिन्छ ।

धागो बेरिएको सयवटा लट्टाईलाई ‘लट्टाई घर’ मा राखेर त्यसलाई वार्पिङमा घुमाइन्छ र त्यसबाट काँइयोमा भरेर तानको बेलनमा भरिन्छ । बेरिएको बेलनबाट धागो निकालेर तानमा हालिन्छ । र फेरि त्यो धागोलाई तानको काँइयोमा हालेर मात्रै बुन्नको लागि तयार हुन्छ । यो काम पहिलो पटक हेर्दा निकै झ्याउ लाग्ने देखिए तापनि यसमा पोख्त भइसकेपछि भने आनन्ददायी कुरा बन्ने बुद्धिले दाबी गरे । उनले भने, ‘सिक्न सुरुसुरुको एक/दुई महिना कठिन लाग्छ तर पछि रमाइलो लाग्दै जान्छ ।’


भक्तपुरमा रञ्जितकार समुदायको काम हाकुपटासी बुन्ने धागोमा रंग लगाउनु हो । नागपोखरी पुग्दा निरु रञ्जितकार सेतो धागोमा रातो र कालो रंग लगाएर सुकाउँदै थिइन् । हाकुपटासी बुन्नेहरूले उनकोमा सेतो धागो लैजाने गर्छन् र उनको परिवार त्यसमा रंग लगाउने गर्छन् । पुस्तौँदेखि उनको परिवार यही काम गरेर जीविकोपार्जन गरिरहेका छन् । ‘पहिले प्राकृतिक रंगहरू लगाउने गरेको सुने पनि अहिले हामीले बजारमा पाइने पोकाका रंगहरू नै प्रयोग गर्छाैँ,’ उनले रंग लगाउने तरिकासमेत भनिन्, ‘सुतीको धागोमा सरफ, कालो रंग र पानी मिसाएर दुई/तीन घण्टासम्म मज्जाले पकाउनुपर्छ । नत्र रंग गाढा बस्दैन । रातो र हरियोलाई चाहिँ चिसो पानीमा आधा घण्टासम्म भिजाउनुपर्छ ।’ यसरी उनको परिवारले महिनामा ३० देखि ४० हजार कमाउने गरेका छन् । तर अहिले भने रंग लगाउन ल्याउनेमा धेरै कमी आएको उनीहरूलाई लाग्छ ।

१५ वर्षको उमेरमा इनाचोबाट त्रिपुरासुन्दरीको खिंछें टोलमा विवाह गरेर आएकी हीरा दनेखुले अहिले पनि घरमा हाकुपटासीको पसल नै राखेकी छन् । ४५ वर्षीया उनले बुनेको हाकुपटासीको कन्टयाक्टको भरमा पाटनमा निर्यात गर्ने गरेकी छन् । तर अहिले उनीसँग भएको तानमा पनि उनले हाकुपटासी नभई बुट्टेदार चौबन्दी चोलोको कपडा बुनिरहेकी छन् । ‘हाकुपटासी धेरै स्टकमा छ,’ उनले भनिन्, ‘त्यो नसकुन्जेल बुन्दिनँ भनेर बसेको छु ।’

बिहेअघि नै इनाचोमा बस्दा उनकी आमाले उनलाई हाकुपटासी बुन्न सिकाएकी थिइन् । विद्यालय जान नपाउने समयमा आमासँग दिनभरि हाकुपटासी बुनेर दिन कटाउँथिन् । बिहेपछि भने उनले अरूको पसलमा ज्याला गरेर हाकुपटासी बुन्ने काम गर्न थालिन् । तर पछि दिक्क लाग्न थालेपछि उनले छोडेर आफ्नै व्यवसाय सुरु गरिन् । उनको घरमा एउटा तान छ र एक्लै बुनिराख्छिन् । उनले ज्यालामा काम गर्दा विभिन्न बुट्टाहरू राखेर काम गर्नुपथ्र्याे । त्यही कारणले उनलाई अहिले बुट्टा हालेर चोलोको कपडा बुन्न आउँछ । पहिले उनी हाकुपटासी नै लगाउँथिन् तर एक दशकदेखि भने कुर्ता सुरुवाल लगाउने गरेकी हुन् ।

यो पेसाबाट धेरै कमाइ भने नहुने उनले सुनाइन् । ‘यो काम गरेर फाइदा छैन । मनको सन्तोषका लागि बुन्ने गरेको हो, १० हजार कमाउन दुई महिना काम गर्नुपर्छ,’ उनले भनिन्, ‘आफ्नै घरमा राखेकोले सजिलो भएको छ । कोठा भाडामा लिएर गर्नुपर्‍यो भने गाह्रो हुन्छ । यो पेसा गरेर घरखर्च चलाउन गाह्रो छ ।’

क्वालिटीको १२ हाते हाकुपटासी एक दिनमा एउटा बुनिसक्ने उनले बताइन् । उनकोमा चार क्वालिटीका हाकुपटासी पाइन्छन् । पहिलो नम्बरको पन्ध्र सय, दोस्रो नम्बरको बाह्र सय, तेस्रो नम्बरको नौ सय पचास र चौथो नम्बरको आठ सय पचास । उनकोमा पाटन, थैव, कीर्तिपुरलगायत ठाउँबाट हाकुपटासी लिन आउँछन् । उनी हाकुपटासीको साथसाथै चौबन्दी चोलो, मले गाचा, नागबेली श्रीपक्षेचु, जनी पनि बुन्छिन् । उनकोमा सेटकै २१ सय देखि पैतीस सयसम्म पर्छ ।


संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवार समाजमा कामकाजी महिलाहरूले लगाउने पोसाक हो हाकुपटासी । उनका अनुसार पहिले नेवार समुदायको श्रेष्ठ वर्गले आयातीत नै पहिरन लगाउने गरेका थिए । तर मध्यम वर्गीय र निम्नवर्गको किनेर लगाउने हैसियत थिएन । त्यसैले उनीहरू आफैंले घरमा तानमा बुनेको लुगा लगाउने गर्थे । पछि यही नै नेवारहरूको पहिचान बनेको उनले दाबी गरे ।

उनका अनुसार पहिले घरमै बुनिन्थ्यो । घरघरमा तान हुन्थ्यो । दसैंको नवमीको दिनमा नेवारहरूले तानपूजा भनेर कामको लागि प्रयोग गर्ने औजारहरूदेखि लिएर कपडा बुन्ने तानहरू पनि पूजा गर्ने चलन थियो । पहिलेपहिलेको गल्लीहरू सिधा, लामा गल्ली हुनुको कारण पनि यही हाकुपटासी नै रहेको उनले बताए । भने, ‘गल्लीहरू लामो घागो बनाउने काममा प्रयोग हुन्थे । बाँसको निगालो राखेर प्रत्येक ठाउँमा तीनवटा घागो बेर्ने चलन थियो । तर अहिले यो सबै कुरा इतिहास भयो ।’

उनका अनुसार नेवार समुदायमा पूरै कालो र पूरै सेतोले राम्रो संकेत गर्दैन । तर कालो फरियामा रातो बोर्डर राखेपछि भने यही सौभाग्यको चिह्न मानिन्छ । ‘यो बाक्लो हुन्छ तर काम गर्दा पनि लगाउन गाह्रो हुन्न,’ उनले भने, ‘सबैभन्दा राम्रो कुरा यो कपडा ऋतुसँग पनि सामन्जस्य छ । यसले गर्मीमा शीतलता दिन्छ भने जाडोमा न्यानो दिन्छ । वर्षभरि नै लगाउँदा पनि यसले कुनै असर गर्दैन । साना बच्चालाई घाममा राख्दा हाकुपटासीले नै छोपेर राख्ने चलन थियो । सुत्केरीको शरीरलाई राम्रो गर्छ यसले ।’

अहिले बजारमा पाइने सिफनको वा अन्य कपडाबाट हाकुपटासीजस्तै देखिने फरियामा यो सुविधा छैन । अहिलेको युवा पुस्ताले सांस्कृतिक युवतीहरूले फेसनका रूपमा भए पनि बचाइराखेकोमा भने उनलाई खुसी लाग्छ । दिनहुँ नलगाए पनि चाडपर्वमा लगाउनुपर्छ भन्ने चेतना पलाएको छ । उनले भने, ‘अहिले फ्रक, मेक्सी डिजाइनमा हाकुपटासीको प्रयोग भएर फेसनेबल हुने क्रम बढेको छ । यसले लोकप्रियता पाएजस्तै यो बुन्ने सीपले भने लोकप्रियता पाउन नसकेकै हो ।’

प्रकाशित : भाद्र २, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?