कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा सांगीतिक यात्रा

यो मौसममा कसैको अहित नहोस् भन्ने कामना गर्दै पनि गुँला: पर्व मनाउने गरिन्छ ।सुजनविलास बज्राचार्य संस्कृतिविद्

काठमाडौँ — तपाईंको बसोबास भित्री काठमाडौंमा छ भने अचेल मीठो धूनसँगै बिहानीको सुरुवात गर्न सकिन्छ । यो धुन साँच्चै कति मीठो हुन्छ भने यसले बिहानको समयलाई नै ताजा र फुर्तिलो बनाउने गर्छ ।

एउटा सांगीतिक यात्रा

अघिल्लो सातादेखि नेवार समुदायमा महिनादिने गुँला: पर्व चलिरहेको छ र टोलटोलबाट बाजागाजासहित हरेक दिन सबेरै स्वयम्भूको यात्रा गर्ने परम्परा छ । ‘यसलाई गुँला: बाजं भनिन्छ,’ संस्कृतिविद् सुजनविलास बज्राचार्य भन्छन्, ‘खासमा यो यस्तो लोक संस्कृति हो, जुन हजारौं वर्ष पुरानो त छ नै, यसले काठमाडौं उपत्यकाको धार्मिक सम्बन्धको अनुपम उदाहरण पनि प्रस्ट पार्छ ।’

सबैभन्दा पहिले गुँला: बाजाभन्दा फरक बाजाको चर्चा गरौं ।

त्यो हो– न्यकु । यो राँगा अथवा अरू कुनै जनावरको सिङबाट बनेको हुन्छ । यसलाई फुक्दा विशेष स्वर निस्कने गर्छ । गुँलाका बेला यही न्यकु बजाइन्छ र यो काम अरू कसैले होइन, स्वयम्भू चैत्यको छेउछाउ बसोबास गर्ने बुद्धाचार्यहरू गर्ने गर्छन् । सबेरै साना उमेरका बुद्धाचार्यहरू न्यकु फुक्दै स्वयम्भूको खुडकिलो चढ्ने गर्छन् । यो काम एक वर्षभित्र निधन भएका आफन्तको सम्झनामा गरिन्छ ।

आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको नाम टिपाउने काम हुन्छ र न्यकु फुक्ने काम उनीहरूकै सम्झनामा हुन्छ । ‘यो विशिष्ट परम्परा हो र अहिलेसम्म पनि यो जीवन्त छ । न्यकुबारे केही लेख लेखिए पनि यसबारे लामो विस्तृत अनुसन्धान हुन बाँकी छ,’ संस्कृतिविद् बज्राचार्य भन्छन् ।

न्यकुबाट निस्कने आवाज पनि फरक र नौलो प्रकारको हुन्छ । अचेल यसको सबैभन्दा राम्रो पक्ष यसमा युवा पुस्ता आकर्षित हुनु हो, त्यसमा पनि युवतीहरू ।

गुँला: अर्थात् नेपाल संवत्को नवौं महिना । बज्राचार्यका अनुसार, बौद्ध परम्परामा यसको छुट्टै महत्त्व छ । यो त्यही महिना हो, जब गौतम बुद्धले वर्षाबास बिताएका थिए । यसकै सम्झनामा पनि गुँला: मनाइने गर्छ । ‘यो थेरवादी परम्पराअनुसार हो,’ बज्राचार्य भन्छन्, ‘उपत्यकाको विशिष्ट परम्पराअनुसार यो महिनामा धेरै पानी पर्ने, बाढीपहिरो आउने र धेरै क्षति पुर्‍याउने हुँदा यस्तो नहोस् भन्ने कामना गर्दै पनि गुँला: मनाउने गरिन्छ ।’

लोकसंगीत विज्ञ पवित्रा कस:का अनुसार प्राकृतिक प्रकोप कम होस् भनेर गरिएको कामना पनि हो यो । बौद्ध धर्मालम्बी नेवारहरू गुँला: पर्वभरि स्वयम्भू चैत्य घुम्ने क्रममा पवित्र ग्रन्थ पाठ गर्ने र परम्परागत बाजा बजाउने गर्छन् । काठमाडौंका बौद्ध धर्मालम्बी बढी स्वयम्भू जाने गर्छन् भने ललितपुरका धर्मावलम्बी पुलचोकको चैत्यमा जाने गर्छन् । स्वयम्भू जानेहरूमा गुँला: बाजा बजाउन विभिन्न समूह सहभागी हुन्छन् र यो समूह संस्थागत टोल समूह पनि हुन सक्छ अथवा जातिगत समूह । पूरा महिना बनाइने गुँला बाजाको तयारी एक महिनाअगाडिदेखि गर्नुपर्छ ।

कस:का अनुसार, गुँला: बाजा बजाउने विधि र प्रक्रिया भने फरकफरक हुन सक्छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?