कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

सहरमा बंगलादेशी स्वर

काठमाडौँ — बंगलादेशको राजशाही विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ शास्त्रीय गायक डा. असित रोय र डा. पदमनी दे अहिले नेपालमा छन् । उनीहरू यहाँका वाद्यवादकसँग मिलेर विभिन्न रागहरूको प्रस्तुति दिइरहेका छन् । 

सहरमा बंगलादेशी स्वर

बिहीबार पद्मकन्या क्याम्पसमा शास्त्रीय संगीतको प्रस्तुतिसहितको कार्याशालामा सहभागी भएका उनीहरू शुक्रबार जमलस्थित सांस्कृतिक संस्थान (नाचघर) मा देखापरे । शास्त्रीय संगीतका बहुआयाम र त्यसमा पनि विशेषत: गायनका विविध शैलीबारे उनीहरूले गाएरै जानकारी दिए । कतिपय कुरा भने प्रा.डा. रोयले मौखिक बताए ।

त्रिभुवन विश्वविद्यालय, ललितकला क्याम्पस, सिर्जना कलेज अफ फाइन आर्टस्, पद्मकन्या क्याम्पसका संगीत शिक्षक एवं विद्यार्थीसँगै अन्य सुरकर्मीमाझ उनीहरूले बिहान ११ देखि दिउँसो दुई बजेसम्म प्रस्तुति दिएका थिए । रोयले राग विलासखानीमा पण्डित नान प्रकाश घोषको कम्पोजिसनमार्फत गायन प्रारम्भ गरे । ‘यो ख्याल गायन थियो,’ उनले भने, ‘मैले यसमा विभिन्न लय देखाउन खोजेको थिएँ ।’

उनीपछि डा. देले ‘उठ, जाग मुसाफिर...’ बोलको भजन सुनाइन् । एउटै रागलाई पनि अलग तरिकाले प्रस्तुत गर्न सकिने गायक रोयको भनाइ थियो । अलंकारहरूको प्रयोगले रागलाई नौलो रूप दिन सक्ने बताए । ‘तर, कतिपय राग निश्चित गीतका लागि बनाइएका छन्,’ उनले भने, ‘धु्रपदमा दरबारी राग सुहाउँछ । तर, केही राग सबै गीतमा फिट हुन्छन् ।’

गायिका देले राग खमाजमा ठुमरी सुनाएपछि डा. रोयले भैरवी रागमा साद्रा प्रस्तुत गरे । नेपालमा प्रचलनमा नहरेको साद्रा गायन शैलीबारे कार्यक्रममा जिज्ञासा राखिएको थियो । ‘यो झप तालमा गाइन्छ,’ उनले जिज्ञासा मेटाउन चाहे, ‘तबला र तानपुरामा गाइने साद्रा उत्तर भारतीय शास्त्रीय संगीतको एउटा भोकल विधा हो ।’ कार्यक्रममा उनलाई भोकल कल्चर (गायन संस्कृति) बारे पनि प्रश्न राखिएको थियो ।

‘स्वरलाई कहिले पनि जबरजस्ती गर्नु हुँदैन,’ रोयले भने, ‘स्वाभाविक ढंगले गाउनुपर्छ । सबै मान्छेको अनुहार फरक भएझैं स्वर पनि व्यक्तिपिच्छे अलग हुन्छ । ठूलो क्यान्भासमा चित्र कोर्दा ठूलो आकार र सानो क्यान्भासमा सानो बनेझैं स्वर पनि व्यक्तिअनुसार मोटो, पातलो, ठूलो वा सानो हुन सक्छ । अभ्यास गरेर माझ्ने हो । तर, कुनै जोडबल गर्नु हुँदैन ।’

ध्रुपद केन्द्रित डगर घरानाका अनुयायी गायक रोयले भारत उपमहादेशको शास्त्रीय संगीत ‘अनौठो चिज’ भएको बताए । राग भैरवीमा गजल सुनाएपछि उनले नेपालमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको अभिव्यक्ति दिए । समारोहमा बंगलादेशी गायकद्वयलाई शिला दत्तले तानपुरा र मनोज गौतमले तबलामा साथ दिएका थिए ।

गायक रोयले स्वरमण्डल बजाउँदै प्रस्तुति दिए ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?