क्वाँटी अर्थात् तातो झोल

पहिलेका मानिसलाई वैज्ञानिक तथ्य थाहा थिएन तर पनि उनीहरूलाई खानेकुरा ब्यालेन्स गरेर भने खान आउँथ्यो, ऋतु अनुसारका खानेकुरा खान आउँथ्यो ।
सुनीता साखकर्मी

भक्तपुर — क्वाँटी अर्थात् तातो झोल । जनैपूर्णिमा अर्थात् गुन्हीपुन्हीको दिन नेवार समुदायमा विभिन्न थरीका नौ गेडागुडीको टुसा उमारी क्वाँटी पकाएर खाने चलन छ । सानो–ठूलो केराउ, मास, मुगी, मस्याङ, बोडी, भटमास, बकुल्ला, चनालगायत नौ थरीका गेडागुडी मिसाएर क्वाँटी बनाउने गरिन्छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवार समुदायमा नागपञ्चमीपछि चिसो सुरु भएको विश्वास गरिन्छ । यो समयमा पानी पर्ने र त्यसका कारणले बालकदेखि वृद्धसम्मलाई रुघाखोकी, श्वासप्रश्वासमा समस्या भई धेरै मानिसको मृत्युसमेत हुने गरेपछि क्वाँटी खाने परम्परा सुरु भएको उनी बताउँछन् ।

‘क्वाँटी खाने चलन कसले चलायो भन्ने यकिन छैन,’ उनले भने, ‘तर रोगले आफन्तको मृत्यु हुन थालेपछि भने पुर्खाहरूले यसलाई रोकथाम गर्ने उपाय खोज्दा क्वाँटी पत्ता लगाएको देखिन्छ ।’

Yamaha

धौभडेलका अनुसार, नेवार समुदायभित्र पनि हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमा र गाईजात्राको दिन अनि बौद्ध धर्मावलम्बीहरूले पञ्चदानका बेला क्वाँटी खान्छन् । कुनै घरबाट गाईजात्राको दिन गाई निकालिन्छ भने कसैले चाहिँ ‘घिन्ताङ घिसी’ खेल्ने, बाजा बजाउने र आफन्तजनलाई क्वाँटी बनाएर खुवाउने गछन् ।

नेवार पात्रो अनुसार भदौ नवौँ महिना हो । त्यसैले यो महिना ‘गुन्ही पुन्ही’ भनेर नौ दिन जात्रा मनाउने, नौ थरीका गेडागुडी खाने र नौ थरीका लुगा लगाउने चलन रहेको धौभडेलले बताए । पानी पर्ने मौसम भएकाले घरको ढुकुटीमा राखिएका खानेकुराहरू ओसिने वा ढुसी पर्ने हुँदा यसको सदुपयोगका लागि पनि क्वाँटी बनाएर खाने चलन रहेको उनले दाबी गरे । क्वाँटी मात्रै नभई उपत्यकामा चामल, तिल, कुश, जौ र जल पञ्चगव्य राखी पोको पारेर हातमा ब्राह्मणले पञ्चरंगी डोरा बाँधिदिने चलन पनि छ । यो दिन बाँधेको डोरो तिहारमा लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन पनि छ ।

‘जीवित खाना’
गेडागुडीको टुसा उमारेर खाइने भएकाले डा. अरुणा उप्रेतीका अनुसार क्वाँटी ‘जीवित खाना’ हो । ‘गेडागुडी पानीमा भिजाई कपडाले छोपेर राखेपछि त्यसमा टुसा उम्रिन्छ । यसरी उमार्ने प्रोसेसले गेडागुडीमा भएका भिटामिन र प्रोटिनहरू २० देखि ३० प्रतिशतसम्म पनि बढ्छन्,’ उनले भनिन्, ‘गेडागुडीलाई छुट्टाछुट्टै पकाउनुभन्दा पनि एकै ठाउँमा राखेर पकाउँदा ती भिटामिन र प्रोटिनहरू एकअर्कामा सर्न पाउँछन् ।’ मासु नखानेहरूका लागि पनि यो परिकार एकदमै फाइदाजनक हुने उनको ठहर छ । गेडागुडी बोक्रासमेत राखेर पकाइने हुँदा यसमा भएको रेसादार पदार्थले कब्जियत हुन नदिने उनले बताइन् ।

नेवार समुदायमा आजदेखि जाडो लाग्यो भन्ने विचार भएकाले क्वाँटीले तातो गराउँछ भन्ने जनविश्वास छ । क्वाँटीमा राखिने चनामा प्रोटिन र भटमासमा क्याल्सियम हुने भएकाले यसले बढ्दो उमेरका बालबालिका, भर्खर बिरामीबाट उठेकालाई समेत फाइदा पुग्ने डा. उप्रेतीले बताइन् । उनका अनुसार, यो संस्कृति नेवार समुदायमा मात्रै नभई सुदूरपश्चिममा पनि छ । सुदूरपश्चिममा गौरा पर्वका बेला बिडौरा बनाएर खाने गरिन्छ । गेडागुडीकै टुसा उमारेर बनाउने गरिन्छ ।

‘पहिलेका मानिसलाई वैज्ञानिक तथ्य थाहा थिएन तर पनि उनीहरूलाई खानेकुरा ब्यालेन्स गरेर भने खान आउँथ्यो, ऋतु अनुसारका खानेकुरा खान आउँथ्यो,’ उनले भनिन्, ‘म पनि हप्तामा एकदुई चोटि क्वाँटी खान्छु र अरूले पनि खानुपर्छ भन्ने सल्लाह दिन्छु । म हरेक दिन मेथी उमारेर पनि खाने गर्छु । मेथीमा आइरन हुने भएकाले यसले स्वास्थ्यमा राम्रो गर्छ ।’

टुसा उमारेर लिटो
डा. उप्रेतीले अफ्रिकी मुलुक इथियोपिया जाँदाको अनुभव सुनाउँदै बच्चाहरूलाई खुवाउने लिटो पनि टुसा उमारेकै गेडागुडीबाट बनाउँदा राम्रो हुने बताइन् । तर नेपालमा लिटो बनाउन पनि विभिन्न गेडागुडीलाई टुसा उमार्ने चलन छैन ।

‘मैले इथियोपिया जाँदा त्यहाँ बच्चाहरूलाई कुपोषणबाट बचाउनका लागि गेडागुडीको टुसा उमारेर त्यसलाई पिनेर लिटो बनाउने गरेको थाहा पाएँ,’ उनले भनिन्, ‘हामी पनि त्यस्तै गर्न सक्छौं । यसले हाम्रा बच्चाहरू पनि स्वस्थ हुन्छन् ।’ त्यसरी बनाएको पिठोलाई रोटीका रूपमा, दालका रूपमा, अन्डासँग अम्लेटका रूपमा पनि खान सकिने उनले जनाइन् ।

घाँसदेखि ज्वानोसम्म
भक्तपुरमा पकाइने क्वाँटीमा ज्वानो फुराउने गरिन्छ भने पाटनमा ज्वानोको सट्टा ललिचा घाँस राखेर पकाउने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए । क्वाँटीलाई पुर्खाले रोगव्याधिबाट बच्न र बचाउने अभ्यासको क्रममा पत्ता लगाएको औषधि मान्छन् उनी । ज्वानो फुराउने सन्दर्भमा नेवार समुदायमा एउटा कथन पनि छ– क्वाँटीमा ज्वानो फुराउँदा लामखुट्टेको सुँड पनि डढ्छ र अब त्यसले टोक्न सक्दैन ।

पाटनबासी संस्कृतिविद् कीर्तिकिरण जोशीका अनुसार, अहिले क्वाँटीमा ललिचा घाँस मिसाएर खाने परम्परामा कमी आएको छ । क्वाँटी भने अहिले पनि धेरै खाइन्छ । पाटनमा जनैपूर्णिमादेखि एक महिनासम्म पनि क्वाँटी खाने चलन रहेको उनले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र ११, २०७५ ०८:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गाईजात्रामा जे नभई हुन्न

‘गाई जस्तोसुकै बनाए पनि त्यसमा साँपाख्व र न्हेपन्चा भने राख्नैपर्छ ।’
सुनीता साखकर्मी

भक्तपुर — मप्यारी नापित शोकमा छिन् । भक्तपुरको याछेँकी उनले गत साउन २१ मा ३८ वर्षेे भदा गुमाइन् । शोक मनाउने फुर्सद भने पाएकी छैनन् उनले । नजिकिँदै गरेको साँपारु अर्थात् गाईजात्रामा दिवंगत भदाको गाई बनाउन आवश्यक सामग्री जुटाउन उनी व्यस्त छिन् ।

गाई बनाउन नभई नहुने साँपाख्व र न्हेपन्चा किन्न उनी केही दिनअघि याछेँकै चेतकुमारी चित्रकारकहाँ पुगिन् ।

‘साँपाख्व’ भनेको गाईको अनुहार हो भने ‘न्हेपन्चा’ भनेको यसको कान । नेवार समुदायमा वर्षभरि दिवंगत आफन्तहरूको नाममा गाई बनाएर नगर परिक्रमा गर्ने बेला यी सामग्री चाहिन्छन् । यिनै सामान किन्न रामप्यारी चेतकुमारीकहाँ पुगेकी हुन् । भदा गुमाएको पीडा आलो भएकाले रामप्यारीले ठूलो गाई नबनाई आठवर्षे नातिनीलाई नगर परिक्रमा गराउने सोच बनाएकी छन् । यसरी गाई बन्ने नातिनीको टाउकामा साँपाख्व टाँसी दुईपट्टि न्हेपन्चा राख्ने उनको योजना छ ।

‘गाईजात्रामा सबैभन्दा महत्त्वपूर्ण नै यिनै हुन्,’ रामप्यारीले भनिन्, ‘अरू छुट्यो भने केही हुन्न, यी त छुट्नै हुन्न । पछि कामको चटारोमा बिर्सिएला भनेर पहिले नै लिन आ’को ।’ ६५ वर्षीया चेतकुमारी चित्रकार एक महिनायता, बिहान घरधन्दा सकेपछि साँपाख्व, न्हेपन्चा र ध्वजा बनाउन थाल्छिन् । गाईको अनुहार प्रिन्ट गरिएको कागजमा रंग दल्दै साँपाख्व बनाउँछिन् भने लामो आकारमा काटिएको कागजमा चार किसिमका रंग दली धागो र बाँसको सहायताले फूलजस्तै न्हेपन्चा बनाउने गर्छिन् ।

‘न्हेपन्चा बनाउन चारथरीका रंगहरू तहतह गरी लगाउनुपर्छ । एउटा रंग सुकेपछि मात्रै त्यसमा अर्काे लगाउनुपर्छ, नत्र लतपतिने हुन्छ । सबै सुकिसकेपछि बाँसमा मिलाएर बाँधेर फूल बनाउने र पछि चन्द्रसूर्य अकिंत ध्वजा टाँस्नुपर्छ,’ उनले भनिन्, ‘हेर्दा सजिलो भए पनि काम झन्झटिलो छ । एक सेट तयार गर्न दुई–तीन घण्टा लाग्छ । कमाइ भने त्यसअनुसारको हुन्न ।’

चेतकुमारीले यो बनाउने सीप ससुराबाट पाएकी हुन् । चार दशकदेखि यो काम गर्दै आएकी छन् उनी । अहिले उनको परिवारमा उनले र उनकी दिदीले मात्रै यो काम गर्छन् । उनीहरू नागपञ्चमीमा नागका फोटा, गाईजात्राका बेला साँपाख्व र न्हेपन्चा, इन्द्रजात्रामा पुल किसी, तीजका लागि गणेश, त्यसपछि विश्वकर्मा, लक्ष्मी, भगवती लगायतका चित्र बनाउने गर्छन् । अहिले यी पूजा सामग्री मेसिनबाट छापिने हुनाले अर्डर कम आउने गरेको चेतकुमारीका छोरा राजेशले बताए ।

‘बच्चा बेलामा पनि म आमालाई सघाउने गर्थें,’ उनले भने, ‘स्कुलबाट आएपछि रंग लगाउने काम गर्नुपथ्र्यो । पहिले चित्रकारहरूले मात्रै बनाउँथे, अहिले अन्य जातका मानिसले समेत बनाउन थाले । आठ/नौ वटा पसलमा हजारौँको संख्यामा बिक्री हुने गरेकोमा अहिले एक/दुई सय सेट मात्रै बिक्री हुन्छ । त्यसैले आमाहरूले मात्रै गर्नुहुन्छ । संस्कृति बचाउनुपर्छ भन्ने सोच हुनेहरू मात्रै यस्ता हाते सामग्री खोज्दै आउँछन् ।’

चेतकुमारीका अनुसार, ती चित्रमा दल्ने रंग भारतबाट आयात गरिन्छ । रंगमा तातोपानी र सडेस (गम) मा मिसाएर कागजमा दल्ने गरिन्छ । न्हेपन्चा र ध्वजा बनाउनका लागि उनीहरूले बाँस पनि किनेर ल्याउनुपर्छ । बाँसलाई सुकाएर टुक्रा पारेर काट्नुपर्छ । अनि रंगाएको कागजलाई फूल जसरी नफुस्किने गरी बाध्नुपर्छ । हरेक वर्ष भाइटीका सकिएसँगै यो कामको सिजन पनि सकिन्छ । अनि उनी पति पूर्णबहादुरलाई मखुन्डो बनाउने काममा सघाउँछिन् ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार, साँपारु नेवारहरूको मृत्यु संस्कारसँग जोडिएको पर्व हो । वर्षभरि दिवंगत मानिसको नाममा गाई बनाएर भाद्र कृष्ण प्रतिपदाको दिन नगर परिक्रमा गर्ने चलन छ । तीन किसिमका गाई बनाउन मिल्ने उनी बताउँछन् ।

साँपाख्व र न्हेपन्चा तयार गर्दै चेतकुमारी चित्रकार ।

ताहा साँ, बाछा लुकेगु र डोकोसाँ । ताहा साँ लामालामा बाँसमा जनी कपडाहरू बेरेर त्यसमाथि परालको सिङ, चमर, छाता राखेर चार/पाँच जनाले बोक्न मिल्ने लामो बनाइन्छ । यस्तो गाई भक्तपुरमा मात्रै बनाइन्छ र यसको अगाडि घिङटाङ घुसी नाचिन्छ ।

बाच्छा लुकेगुमा बालबालिकालाई राम, सीता, लक्ष्मण, हनुमान, पाँच पाण्डव, महादेव–पार्वती, विष्णु–लक्ष्मी लगायत बनाएर नगर परिक्रमा गराउने चलन छ । कतैकतै भने बाच्छीलाई नै पनि सिंगारेर डोर्‍याउने चलन छ । त्यस्तै डोको साँमा चाहिँ एउटा डोकोमा कपडाले बेरेर सिंगारेपछि नगर परिक्रमा गराउने प्रचलन छ ।

‘गाई जस्तोसुकै बनाए पनि त्यसमा साँपाख्व र न्हेपन्चा भने राख्नैपर्छ,’ धौभडेलले भने ।

गाईजात्राको सुरुवातमा मतैक्य छैन
तत्कालीन कान्तिपुर (काठमाडाैं) का राजा प्रताप मल्लले कान्छा छोराको निधनपछि भावविह्वल रानीको पीडा कम गर्न गाई निकाल्ने उर्दी दिएको कथन छ । तर यो सत्य अपुरो रहेको धौभडेलको भनाइ छ ।

गाईजात्रा कहीँ भक्तपुरका राजा जगत्प्रकाश मल्लले सुरु गरेको त कतै पाटनका राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको उल्लेख छ । ‘यी तीनै राजाभन्दा तीन सय वर्षअघि नै भक्तपुरका राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपाल राज वंशावलीमा गाईजात्रालाई ‘साँयात’ अर्थात् ‘गाईयात्रा’ भनेर उल्लेख गरेको भेटिन्छ,’ उनले भने, ‘जसले गर्दा यी पछिल्ला तिनै राजा सम्बन्धी दाबी झूटो ठहरिन जान्छ । त्यसैले साँपारुको सन्दर्भमा इतिहासका पानाहरू अपुरा छन् ।’

यसको अर्थ जयस्थिति मल्लले नै गाईजात्रा सुरु गरेको भन्ने पनि होइन । धौभडेलको भनाइमा, जयस्थिति मल्ल इतिहासप्रति सचेत थिए । त्यसैले उनले आफूभन्दा सयौं वर्ष पहिले चलेको रीतिरिवाजबारे समेत गोपाल राज वंशावलीमा लेखाएका छन् । त्यसमा गाईजात्राबारे पनि उल्लेख छ ।

‘तर साँपारुको चलन कसले चलायो भन्नेबारे स्पष्ट धारणा छैन । मृत्यु संस्कार लगायत सोह्र संस्कारको राम्रोसँग व्यवस्था भएकोले गाईजात्राको सुरुवात लिच्छवीकालमै भएको भन्न सकिन्छ,’ धौभडेलले भने ।

गाई कि साँढे ?
गाईजात्रामा राखिने भनिएको साँपाख्वमा देखिने अनुहार गाईको जस्तो नभई दाह्रा निस्केको र सिङ भएको साँढे जस्तो देखिन्छ । धौभडेलका अनुसार, गाईजात्रामा घुमाइने स्वरूप साँढेको हो । यो नेवार समुदायमा आफन्तको मृत्युपछि ११औं दिनमा गर्नुपर्ने वृषोत्सर्ग संस्कारसँग जोडिएको धौभडेलले बताए ।

‘लिच्छवीकाल र मल्लकालमा वृषोत्सर्ग संस्कारका रूपमा दिवंगत व्यक्तिको नाममा साँढेलाई डामेर छोड्ने चलन थियो । मृत्युवरण गरेका व्यक्तिको नाममा साँढे छोड्दा बेवारिसे साँढेहरूको संख्या धेरै भएपछि यो चलन परिमार्जन गर्दै ढुंगाको साँढे बनाएर छोड्ने चलन आयो,’ उनले भने, ‘पछि यो पनि एकदमै गाह्रो भएकोले चित्रकारले कागजमा साँढेको चित्र बनाएर राखिने परम्पार सुरु भयो । यी सबैको उद्देश्य भनेको कसको मृत्यु भयो भन्ने थाहा दिनु थियो । त्यसैले मृतकको जीवनशैली झल्किने चित्र बनाइन्थ्यो ।’ विभिन्न तन्त्रमा नेवार समुदायका मानिस दिवंगत भएको वर्षदिनभित्र गाईजात्रामा साँपाख्व राखी गाई नगरमा घुमाए वृषोत्सर्ग गरेकै मानिने भनेर लेखेको पाइएपछि साँपाख्वको चलन आएको धौभडेलले सुनाए ।

आधुनिकता र पौराणिकताको फ्युजन
पहिले चित्रकारले रंगको प्रयोग गरेर दिवंगत मानिसको स्वरूपअनुसार साँपाख्व, दुइटा न्हेपन्चा र ध्वजा बनाउने गर्थे । धौभडेलको भनाइमा अहिले फोटो खिच्ने प्रविधि आए पनि साँपाख्व र न्हेपन्चा राख्ने चलन उस्तै छ । उनले भने, ‘अहिले ताहा साँमा दिवंगत मानिसको जीवनशैली झल्किने फोटाका साथै साँपाख्व र न्हेपन्चासमेत राख्ने गरिएको छ । अहिलेको साँपारुमा आधुनिकता र परम्परागत संस्कारको फ्युजन देख्न सकिन्छ ।’

प्रकाशित : भाद्र ९, २०७५ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT