भावुक बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्मचारीहरूले बिदाइको स्टेज बनाउँदा संयोगले संगीत नाटय प्रज्ञा प्रतिष्ठानको ढोका थुन्नुपरेको थियो ।

बन्द ढोकाबाहिर कुर्सीमा लस्करै बसेका प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजित बाँस्कोटा, सदस्यसचिव गणेश रसिक र प्राज्ञहरू भावुक थिए । ‘आज हाम्रो चारवर्षे कार्यकालको अन्तिम दिन,’ ढोका बाहिरै उभिएर सरुभक्तले भने, ‘मन ढक्क त फुलेका छ तर म रुनचाहिँ सक्दिनँ । किनभने यो पवित्र थलोमा हामी पदभारबिना पनि पछि आइरहनुपर्छ ।’

यसपछि सरुभक्तले उपकुलपति शम्भुजिततिर पुलुक्क हेरे, जसले भर्खरै ओसिलो अनुहार बनाएर बिदाइ मन्तव्य दिएका थिए । शम्भुजितकै अपोजिट बसेकी थिइन्, प्राज्ञ उन्ननि बोहरा शिला, उनले पनि बोल्ने क्रममा स्वर लर्बराएकी थिइन् ।

Yamaha

‘यो त एउटा सेलिब्रेसन हो, यस्तो बेला मन अमिलो किन बनाउने ?,’ सरुभक्तले फेरि दृढता व्यक्त गरे, ‘हामी निश्चित अवधिका लागि आएका हौं, समय सकेपछि स्वाभाविक रूपमा जानुपर्छ । भोलि जोसुकै आए पनि हाम्रै क्षेत्रका व्यक्तित्व आउने हुन् । पदभारमुक्त भए पनि हामीले उहाँहरूलाई सघाउनुपर्ने हुन्छ ।’ उनले बोल्दै गर्दा प्रतिष्ठानका ४४ जना कर्मचारीबीच सान्नाटा छायो ।

यसपछि उनले वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई सरलीकृत भाषामा सुनाउँदै आफ्नो चारवर्षे कार्यकाललाई जोडे । ‘मन नपर्ने मान्छेसित बस्दा एक घण्टा पनि एक जुगजस्तो लाग्छ, मन पर्नेसित बस्दा एक जुग पनि एक दिनजस्तो लाग्छ,’ उनले भने, ‘हामीलाई चाहिँ एक दिनजस्तो नै लागेको छ ।’

सरकारले चार वर्ष अगाडि तीनवटा प्रज्ञा प्रतिष्ठानमा गरेको चारवर्षे नियुक्तिको मंगलबार अन्तिम दिन थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो अन्तिम कार्यक्रम गरेको भोलिपल्ट मंगलबार संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले पनि कर्मचारीमाझ बिदाइ खाएका हुन् ।

कुलपति सरुभक्तले चारवर्षे कार्यकालको समीक्षा गर्दै भने, ‘हामीले यो चारवर्षमा दर्जनभन्दा बढी नाटय महोत्सव, त्यत्तिकै संख्यामा संगीत र नृत्य महोत्सव अनि दुई दर्जनभन्दा बढी अनुसन्धानमूलक पुस्तकहरू निकाल्यौं । मुलुकको संघीय संरचनालाई स्वागत गर्दै पहिलोपटक हामीले नै प्रादेशिक कार्यक्रमहरू गरेका हौं । अहिले सातवटै प्रदेशका लोकनृत्य, नाटक र संगीतका अनुसन्धानमूलक कार्य सम्पन्न भएर तीन हजार पेज बराबरको पुस्तक निकालेका छौं ।’

लोपोन्मुख चेपाङ जातिदेखि मुस्ताङको थकाली समुदायसम्मको लोकवार्तामाथि काम भएको उल्लेख गर्दै उनले विशेष गरी प्रतिष्ठानबाट दुई प्रकृतिका कार्य सम्पन्न भएको बताए । ‘प्राचीनकाल, मध्यकालदेखि अहिलेसम्मका कला, संगीत र नाटय क्षेत्रको अनुसन्धान तथा अभिलेखीकरण र तिनको प्रदर्शनी, यी दुई प्रकृतिमा हामीले काम गर्‍यौं,’ उनले भने, ‘यसबाहेक वरिष्ठ स्रष्टाहरूको प्रोफाइल र डकुमेन्ट्री निर्माणका काम भएका छन् ।’

सरुभक्तले अग्रज स्रष्टाहरू फत्तेमान राजभण्डारी, रुबी जोशी, दिलमाया खाती, मीरा राणा, योगेश वैद्य, कुमार बस्नेत, तारादेवी र रत्नदास प्रकाशका भिडियो प्रोफाइल तयार भएका र संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, धार्मु नाच लगायतका डकुमेन्ट्री पनि बनाइएका छन् ।

संगीत र नाटय क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका १८ जना अग्रज स्रष्टाहरूलाई चारवर्षे अवधिभित्रै प्रज्ञा पुरस्कार दिइएको राष्ट्रिय बालगीत सम्मेलन, होरी महोत्सवजस्ता मौलिक प्रकृतिका कार्यक्रमहरूसमेत सम्पन्न भएको उनले जनाए । प्राज्ञहरू रमेशरञ्जन झा, पुष्कर गुरुङ, माधव प्रधान, उदय श्रेष्ठ, उन्ननि बोहरा शिला लगायतले पनि आआफ्ना विभागले गरेको कामबारे प्रस्टयाए । ‘गर्न नसकेको एउटा कामचाहिँ थाती रहयो,’ सरुभक्तले भने, ‘हाम्रै कार्यकालमा प्रतिष्ठानको भवन बनाउन खोजेका थियौं, सरकारले जग्गा पनि उपलब्ध गराएको हो, तर मुद्दा परेका कारण त्यो सम्भव भएन ।’

प्रतिष्ठानलाई भवनका लागि सरकारले ललितकला प्रज्ञा प्रतष्ठिानको स्वामित्वमा रहेको नक्साल सीता भवन परिसरको जग्गा उपलब्ध गराएको थियो, त्यसमा ललितकलाले मुद्दा हाल्यो ।

यो मुद्दाकै कारण विवाद बढ्दै गएपछि भवन बन्न नसकेको हो । ‘सरकारले सुरुमै नाटय संगीतलाई पाखामा पार्‍यो,’ सरुभक्तले भने, ‘प्रकृतिकै हिसाबले प्रदर्शनकारी प्रतिष्ठान भएको हुनाले हालको प्रज्ञा भवन संगीत(नाटयको भागमा पर्नुपथ्र्यो,’ उनले भने, ‘तर सुरुमै अम्बर (गुरुङ) दाइको पालामा यो प्रतिष्ठानलाई सरकारले स्वयम्भूको एकान्तवासमा पठायो । र, अहिलेसम्म पनि प्रतिष्ठानको आफ्नै भवन मृगतृष्णाजस्तै बन्न गयो ।’ बिदा भएर पोखरा (घर) फर्किने अघिल्लो दिन सरुभक्तले केही गुनासा पनि पोखे । ‘कला, साहित्य, रंगमञ्चजस्तो क्षेत्रमा सरकारको लगानी एकदमै सानो भयो,’ उनले भने, ‘कहिले मर्जको कुरा आयो, कहिले के । चीनको डान्स एकेडेमी एक्लैको पनि सयौं रोपनी क्षेत्रमा विशाल योजनासहितको संरचना र कार्यक्रमहरू देख्दा हामी छक्क परेका थियौं ।

हाम्रोमा सरकारी तवरबाट साहित्य, कला र गीत संगीतलाई गहिरो रूपमा बुझ्ने काम भएको छैन ।’ अहिले तीनवटै एकेडेमी जोडेर एउटै बनाउने हल्लाले स्रष्टाहरूको मनोबल कमजोर बनेको दाबी गर्दै उनले सरकार त्यो दिशामा अघि बढे दीर्घकालीन रूपमा त्यसको असर ठूलो भोग्नुपर्ने औंल्याए । बिदाइ समारोह गरेको संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान कर्मचारी संघका अध्यक्ष हिलारीबन्धु भुजेलले चारवर्षे कार्यकाल कुनै पनि बाधाअडचनबिना सम्पन्न भएको बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिञ्जालीको मीरा बाई

कान्तिपुर संवाददाता

लेखनाथ — १५ औं शताब्दीकी मिथकीय पात्र हुन् मीरा बाई । भारतमा उनको भिन्न स्थान छ । उनकै कथालाई सामान्यीकरण गरेर दीपक सिञ्जालीले उपन्यास ‘मीरा’ लेखेका छन् ।

आख्यानकार भुवनहरि सिग्देलले पोखरामा उपन्यासको लोकार्पण गरे ।

उनले ‘मीरा’ मा दर्शनको पाटो सशक्त रहेको बताए । उपन्यासकारको भाषिक कला नयाँ खालको देखिएको भन्दै उनले अझै सजग भएर अघि बढ्न सुझाव दिए । कृतिको समीक्षा गर्दै पत्रकार दीपक सापकोटाले उपन्यासको फयाक्ट्रीबाट उत्पादितमध्ये ‘मीरा’ ले सम्भावनाको संकेत गरेको टिप्पणी गरे ।

‘मीरा बाई र सिञ्जालीको उपान्यासकी पात्र मीराको बीचमा तालमेलचाहिँ छैन,’ सापकोटाले भने, ‘मानिस बाँचिरहेको समाजमा भइरहेका अनेक घटना र परिघटनाले उद्वेलित मीरा गहिरो आत्ममन्थनमा पुग्न खोजेकी छन् ।’ समीक्षक उपेन्द्र पौडेलले ‘मीरा’ सरल नभई जटिल प्रेमकथा भएको बताए । परम्परागत समाजले पचाउन नसक्ने विषयमा उपन्यास लेख्ने साहस दीपकले गरेको उनको भनाइ थियो ।

सिञ्जालीले संघर्ष गरेर पनि मानिस बाँचिरहेको हुन्छ भन्ने उपन्यासमा देखाउन खोजेको प्रस्टयाए । ‘हाडनाता सम्बन्धजस्ता कुरालाई पञ्चभलाद्मी बसेर मिलाउने सामाजिक न्याय व्यवस्था ठीक होइन भन्ने देखाउने प्रयास छ’, उनले भने, ‘प्रेम, सामाजिक न्यायलगायत विषयमाथि उपन्यास केन्द्रित छ ।’

आख्यानकार गनेस पौडेलले दीपकको उपन्यास परिपक्व देखिएको भन्दै स्थापित लेखक हुन सक्ने क्षमता दीपक सिञ्जालीमा भएको दाबी गरे । पोखरेली युवा सांस्कृतिक परिवारले उपन्यास लोकार्पण को चाँजोपाँजो मिलाएको हो ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्