कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्फमिङ आर्टबाट बलात्कारको विरोध

काठमाडौँ — जोडी बालिकाहरू । उनीहरू खुसी छन् । आफ्नै संसारमा मस्त । खेल्छन्, कुद्छन्, पढ्छन्, हँसिमजाक गर्छन् । रमाइलो छ उनीहरूको जिन्दगी । तर एक्कासि उनीहरू गलत नियतको सिकार बन्छन्, पलभरमै उनीहरूको इज्जत, खुसी सबै लुटिन्छ ।

पर्फमिङ आर्टबाट बलात्कारको विरोध

उनीहरू बलात्कृत हुन्छन् । भित्ताभरि झुन्डिएका बुद्धहरू यो दृश्य केवल हेरिरहन्छन्, नि:शब्द ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भुइँतल्लामा शनिबार यस्तै दृश्य देखियो । इआर्टस नेपालले सुरु गरेको हिमालयन आर्ट फेस्टिभलको अन्तिम दिन एक्टर्स स्टुडियो मुलुकमा भइरहेको बलात्कारको घटनालाई प्रमुख विषय बनाएर पर्फमिङ आर्ट प्रस्तुत गर्‍यो, जसमा चार बालिकालाई बलात्कारपछि अनुसन्धानमा राखिएको र त्यहीँ पुरिएकोसम्म पनि देखाइएको थियो ।

अँध्यारो थिएटरमा सामान्य लाइटको माध्यमबाट देखाइएको उक्त आर्टले दर्शकलाई भावुक बनाए । महिलामाथि हुने पटक पटकको यौनशोषण र समाजले त्यसमाथि गर्ने व्यवहारलाई मुख्य रूपमा प्रस्तुत गरिएको थियो । बलात्कार जस्तो सेन्सेटिभ इस्युलाई प्रस्तुत गर्न निर्देशकले गतिलो तरिका अपनाएको देखिन्थ्यो ।

कलाकारहरूको हाउभाउ र अभिनयलाई साउन्डले पनि पूर्ण समर्थन गर्दै थियो ।

‘रेप मेसिन’ नाम दिइएको उक्त आर्ट निर्देशन गरेका हुन्, सुरज मल्लले । अहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण र त्यसपछि अन्य बलात्कारका घटनाहरू निरन्तर रूपमा मिडियामा आइरहेकाले यही विषय छानेको सुरज बताउँछन् । बलात्कारका घटनाहरू धेरै नै भएपछि उनी सरकारलाई सार्वजनिक चिठी लेख्ने सोचमा थिए । ‘तर पछि त्योभन्दा नि सडक नाटकहरू गरेर जनतालाई सचेत बनाऊँ भन्ने भयो,’ उनले भने । उनले शीर्षक ‘रेप मेसिन’ राख्नुको अर्थसमेत खुलाए । भने, ‘बलात्कारको घटनाहरू पनि मेसिनमा उत्पादन भएजसरी निरन्तर उत्पादन भइरहेको छ । मिडियाबाट हरेक दिन नयाँनयाँ बलात्कारका घटना सुनिन्छन् । त्यसैले शीर्षक पनि ‘रेप मेसिन’ राखेको हो ।’

रंगकर्मी अनुप बरालका अनुसार कलाकर्म गर्ने मान्छे समाजप्रति जवाफदेही बन्नुपर्छ । हरेक दिन आमा, छोरी, श्रीमती बलात्कारको सिकार भइरहेको उल्लेख गर्दै उनले भने, ‘ती घटनाको अनुसन्धान निष्कर्षमा पुग्दैन । पर्खेर मात्रै भएन, त्यसैले हामीले आफ्नो तर्फबाट केही गर्नुपर्छ ।’ पर्फमिङ आर्टको अन्तिममा अभिनेत्री दिया मास्के र कलाकारहरूले दर्शकलाई चकलेट बाँडेका थिए । अनुपका अनुसार त्यसमा उनीहरूले बलात्कारसम्बन्धी नारा लेखेर राखिएको थियो । उनले भने, ‘हामी बलात्कारका घटना कम होस् भन्ने चाहन्छौँ ।’

प्रकाशित : भाद्र ३१, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?