कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वीलचियरमा थाङ्का

सुनीता साखकर्मी

काठमाडौँ — ङवाङ छिरिङ शेर्पा ट्रेकिङ गाइड बन्न चाहन्थे । सोलुखुम्बुमा जन्मेका उनका आँखाभरि हिमाली सौन्दर्य भरिएको थियो । तर, भनिन्छ नि– जीवनमा संयोगको ठूलो भूमिका हुन्छ । उनको सन्दर्भमा पनि संयोग नै बलियो बनिदियो ।३५ वर्षे ङवाङ अचेल थाङ्का कलाकारका रूपमा चिनिन्छन् ।

ह्वीलचियरमा थाङ्का

१० वर्षजति अघि रूखबाट लडेपछि उनको बाटो मोडिएको हो । त्यति बेला उनको मेरुदण्डमा चोट लाग्यो । हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे । कम्मरमुनिको भाग नचल्ने भयो । त्यसले दिएको मानसिक तोड केही समयसम्म रहे पनि हिम्मत बलियो हुँदै आयो । बसेर गर्न सकिने के काम गर्ने होला भन्दा धेरैपछि मस्तिष्कमा थाङ्का कला झिलिक्क भयो । यस सम्बन्धी कौशल सिके र यसैमा कुशल भए । कतिसम्म भने, अहिले उनी आफैँ थाङ्का कलाको गुरु बनेका छन् ।

‘थाङ्का कलामा दु:खद घटनाका चोटहरूलाई पनि पुर्ने शक्ति हुँदो रैछ,’ जोरपाटीमा मंगलबार भेटिएका ङवाङले भने ।ह्वील चियरको सहारामा बस्नुपर्ने भएपछि ङवाङ केही समय कम्प्युटर चलाउने र मैनबत्ती बनाउने कामतिर पनि लागे । त्यसमा उनको मन अडिएन । त्यसपछि साथीहरूमार्फत थाङ्का कला सिक्ने अवसरबारे थाहा पाए । बौद्धमार्गी भएकाले घरतिर थाङ्का देखेकै थिए, तर बनाएका थिएनन् ।‘पहिलो पटक त सक्दिनँ कि जस्तो लागेको थियो,’ उनले भने, ‘पछि चित्रमै मन भुल्यो । चोटहरू पनि बिर्संदै गएँ ।’बोधिसत्त्व इन एक्सन संस्थाको सहयोगमा उनले थाङ्काको ६ वर्षे कोर्स गरे । अहिले उनी त्यहीँ शिक्षकका रूपमा कार्यरत छन् । परिवार थाङ्काकै कमाइमा सुखी छ ।


जुना शाही

कञ्चनपुरकी जुना शाहीलाई पनि थाङ्काले नयाँ जीवन दिएको छ । उनको पनि कथा ङवाङकै जस्तो छ । १६ वर्षअघि आँप टिप्न रूख चढेकी थिइन् । होसमा आउँदा उनको मेरुदण्ड काम नलाग्ने भएको थियो । झन्डै ११ वर्षसम्म एउटै कोठामा बस्न बाध्य भइन् ।एक दिन गाउँकै दिदीले जुनालाई काठमाडौं ल्याइन् र थाङ्का लेख्ने थलोमा पुर्‍याइदिइन् । अहिले थाङ्का उनको जीवनको अभिन्न अंग बनिसकेको छ । अवसरसहितको कलाकारिता । सुरुमा सानो आकाश बनाउन मात्रै पनि एक महिना लागेको उनी सुनाइन् । अहिले ठूलो थाङ्का पनि चार महिनामा तयार पार्छिन् ।थाङ्कामा धैर्य चाहिन्छ । काभ्रेका तेमालका अर्जुन तामाङ यसै भन्छन् । २४ वर्षे अर्जुनले एउटा थाङ्का लेख्न थालेको एक वर्षभन्दा बढी भयो, ‘तर सकिएको छैन’ ।

थाङ्का र ध्यान
शान्त ठाउँमा गएर एकाग्र हुनु मात्रै ध्यान हैन । ङवाङका अनुसार थाङ्का चित्र हेरेरै पनि ध्यान गर्न सकिन्छ । थाङ्कामा बुद्धको शरीर रंग्याउन प्रयोग गरिने विभिन्न रंगले ध्यान गराउन मद्दत गर्ने उनको अनुभव छ । ङवाङका अनुसार बौद्ध दर्शनका पुस्तकहरूमा कुन रंगको बुद्धको अर्थ के हुन्छ भनेर लेखिएको हुन्छ । त्यस्ता पुस्तक पढेकाहरूले राम्रो थाङ्का बनाउन सक्ने उनको दाबी छ ।‘पुस्तकमा कुन बुद्धको रंग र अर्थ कस्तो हुन्छ भनेर लेखिएको हुन्छ,’ उनले भने, ‘त्यो पढेर त्यही रंगको बुद्ध थाङ्का उतार्नुपर्छ । त्यस्ता चित्र हेरेर मेडिटेसन गर्दा शरीरमा फाइदा हुन्छ ।’



ङवाङ छिरिङ शेर्पा


ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ एवं थाङ्का कलाकार निमा ग्याम्जो बल लामाका अनुसार थाङ्का लेख्ने प्रक्रिया आफैंमा ध्यान जस्तै हो । ‘थाङ्का लेख्दै गर्दा मनभित्र आउने एकाग्रता र शान्त भावले कलाकार स्वयंलाई पनि आनन्दित तुल्याउँछ, मनभित्र कहिल्यै नराकात्मक भाव आउँदैन,’ उनले भने, ‘त्यसैले थाङ्का लेखन आफंैमा ध्यान प्रक्रिया हो ।’ निमाकै मतमा सहमत छन् । थाङ्का चित्रकार अर्जुन तामाङ । चित्र कोर्दै गर्दा फोकस्ड भएर काम गर्नुपर्ने भएकोले मनमा नराम्रा विचार र तनाव नहुने उनको अनुभव छ । चित्र बनाउँदा गरिने कलर कम्बिनेसनले आँखालाई पनि शीतलता प्रदान गर्छ ।

भिक्षुहरूले बौद्ध ज्ञानलाई चित्रको माध्यमबाट प्रचार गर्ने क्रममा थाङ्का चित्र जन्मिएको विश्वास गरिन्छ । निर्वतमान प्राज्ञ निमाका अनुसार बुद्धकै पालामा लुम्बिनी र मगधका राजाबीच चित्र आदानप्रदान भएको इतिहास छ । आठौं शताब्दीमा पद्मसम्भव भारतबाट तिब्बतमा सामे गुम्बा बनाउन गएको समयपछि यो व्यवस्थित रूपमा फैलिएको पाइन्छ ।

‘त्यसपछि थाङ्का कला महायानी बौद्ध सम्प्रदायको संस्कृतिको अभिन्न अंग नै बन्यो,’ उनले सुनाए, ‘अहिले त बजार भ्यालुले थाङ्कालाई अन्तर्राष्ट्रिय बनाइदियो ।’उनका अनुसार नेपालमा तामाङ, शेर्पा, गुरुङ, नेवारलगायतका बौद्धमार्गी समुदायको संस्कृति थाङ्का पौभाबाट प्रभावित छ । महायानी बौद्धमार्गीहरूको जन्म, न्वारन, विवाहदेखि मृत्यु संस्कारसम्ममा थाङ्का चित्रको प्रयोग हुन्छ । अहिले गुम्बा मात्र नभई आधुनिक होटल र घरहरूमा पनि शोभा र सजावटका रूपमा थाङ्का राख्ने चलन बढेको छ । उपहारस्वरूप थाङ्का दिने परम्परा त छँदै छ ।

ङवाङका अनुसार बजारमा अहिले थुप्रै प्रकारका थाङ्का पाइन्छन् । नेपाली थाङ्का्, तिब्बतियन थाङ्का, नेवारी पौभा, एब्लिकेट थाङ्का । स्केचअनुसार नै कपडामा विभिन्न थरीको रंग लगाएर कटिङ गर्दै सियो र धागोले सिउँदै जानुलाई एब्लिकेट भनिन्छ । अन्यमा कपडाबाट क्यानभास बनाइन्छ । पहिलेपहिले थाङ्कामा गल्ती कोरियो भने पाप लाग्छ भन्ने जनविश्वास पनि रहिआएको ङवाङ बताउँछन् । बौद्ध मान्यताअनुसार बुद्धको थाङ्का घरमा राख्दा शान्ति र समृद्धि पाउने, स्वस्थ र भयरहित हुने, परिवारको लामो आयु हुने विश्वास गरिन्छ ।

के सक्कली के नक्कली
पहिले पहिले थाङ्का जोसुकैले बनाउन सक्दैनथे । आध्यात्मिक गुरुहरूले उच्च ज्ञान प्राप्त गरेपछि मात्रै थाङ्का बनाउँथे । ङवाङका अनुसार त्यसरी बनाइने थाङ्कामा धेरै वर्षको मिहिनेत लाग्ने भएकाले राम्रो हुन्थ्यो । अहिले यो व्यावसायिक बनेको छ । सीप सिकेर जोकोहीले पनि व्यावसायिक ग्यालरी खोल्न सक्छन् । रोजगारीको ठूलो माध्यम पनि बनेको छ थाङ्का । निमाका अनुसार चीन, जापान, भुटान, भारतदेखि युरोप र अमेरिकासम्म अहिले यसको ठूलो व्यावसायिक बजार छ । नेपालमै पनि ठूलो मात्रामा थाङ्का खपत हुन्छ । ‘ठयाक्कै भन्न सकिने डाटा नभए पनि यो क्षेत्रमा हजारौंले रोजगारी पाएको अनुमान छ,’ उनले भने, ‘नेपाली कलाको गौरवशाली पहिचान पनि हो यो ।’

ङवाङका अनुसार अहिले तीव्र बजारीकरणका कारण अहिले बजारमा नक्कली थाङ्काहरू पनि पाइन थालेका छन् । कपडामा चित्र प्रिन्ट गरेर, फोटोकपी गरेर नक्कली थाङ्का बनाएर बेच्नेहरू थुप्रै छन् । ‘क्यानभास र कपडामै प्रिन्ट गरेपछि ओरिजिनलजस्तै देखिन्छ, जुन ओरिजिनलभन्दा निकै कम पैसामै बेचिन्छ,’ उनले भने, ‘यसले गर्दा ओरिजिनल थाङ्काको बजारमा असर परेको छ । रियल काम गर्ने आर्टिस्टहरू ओझेलमा पर्ने खतरा बढदै छ ।’

चित्रकार जुना शाहीका अनुसार थाङ्का बनाउन सेतो सुतीको कपडा प्रयोग गरिन्छ । सेतो कपडामा चिल्लो बनाउन विशेष माटोको माड लगाउने गरिन्छ । दुई पटक माड लगाएर चिल्लो बनाइसकेपछि थाङ्का कोर्न योग्य हुन्छ । एउटा थाङ्का कोर्न डेढ महिनादेखि वर्षौं पनि लाग्न सक्छ । ‘यस्तोमा नक्कली थाङ्काले बजार बिगार्ने काम गरिरहेको छ,’ ङवाङले भने ।

ग्राहक विदेशी
बोधिसत्त्व इन एक्सनका प्रबन्ध निर्देशक गोकर्ण ढुंगानाका अनुसार बजारमा थाङ्काको माग धेरै छ । थाङ्का नेपाली सान र मान भए पनि यसको ग्राहक भने धेरै विदेशी हुने गरेको उनले सुनाए । बोधिसत्त्वको थाङ्का सोरुम जोरपाटीमै पनि छ भने ,ठमेलको छाया कम्प्लेक्सको दोस्रो तल्लामा समेत थाङ्काहरू राख्ने गरेका छन् । धार्मिक प्रयोजन र केहीले सजाउनबाहेक अन्यले थाङ्का नकिन्ने उनी बताउँछन् । नेपालीहरू थाङ्का हेर्न आउँछन् तर किन्दैनन् ।‘थाङ्का किन्ने ग्राहक विदेशी नै हुन्छन्, बाहिरै बेच्छौँ,’ उनले भने । चार वर्षअगाडि स्थापित बोधिसत्त्वले शारीरिक अपांगता भएकाहरूलाई ६ वर्षे नि:शुल्क थाङ्का कोर्स दिँदै आएको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?