कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांस्कृतिक दूरी घटाउन अनुवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र चीनबीचको ऐतिहासिक एवं राजनीतिक सम्बन्ध लामै छ । भाषिक कठिनाइका कारण भने दुई देशबीच सांस्कृतिक दूरी अपेक्षित रूपमा घट्न सकेको छैन ।

सांस्कृतिक दूरी घटाउन अनुवाद

यस्तो दूरी हटाउन अनुवाद साहित्यले काम गर्ने दुई मुलुकका विज्ञहरूले औंल्याएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत रहेको चिनियाँ संस्कृति तथा अनुवाद अध्ययन सहयोग केन्द्रले राजधानीमा मंगलबार सुरु गरेको ‘काठमान्डु फोरम’ मा दुई मुलुकको संस्कृति प्रवद्र्धनबारे बहस चलेको हो ।

फोरममा नेपालका तर्फबाट समालोचक महेश पौडयाल र चिनियाँ अनुवादक तथा साहित्यकार छु बायोफिङ र सु युनले नेपाली र चिनियाँ दुवै भाषामा पोख्त अनुवादकहरूको खाँचो रहेको औंल्याए ।

व्यक्तिगत अनुवाद र निजी प्रकाशन गृहहरूका आफ्नै सीमा हुने भएकोले सरकारी तवरबाटै अनुवाद साहित्य प्रकाशनमा ल्याउनुपर्नेमा पौडयालले जोड दिए । भने, ‘दुई देशबीच संस्थागत सहकार्यसँगै एक अर्काका प्रतिनिधि साहित्यिक कृति अनुवादमा समेत जोड दिनुपर्छ । यसले सांस्कृतिक दूरी हटाउन मद्दत गर्छ ।’

चीनका पुराना सभ्यताबारे नेपाल बेखबर रहेको भए पनि आधुनिक चीनबारे भने नेपालीहरू जानकार रहेको हुन सक्ने चिनियाँ साहित्यकार छु बायोफिङले बताए । ‘चीनमा अहिले तीव्र विकास भइरहेको छ,’ उनले भने, ‘समकालीन चीनलाई बुझ्नका लागि समकालीन चिनियाँ कृतिहरूको अध्ययन गर्नु जरुरी छ ।’

कार्यपत्र प्रस्तुतिका क्रममा सी युनले चिनियाँ भाषाका कृति नेपालीमा थुप्रै अनुवाद भइरहेको तर नेपाली भाषाका कृति चिनियाँ भाषामा कमै अनुवाद भएको बताए । भने, ‘मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, दौलतविक्रम विष्टको ‘सुतला’ पाएँ, तर अन्य खासै भेटिनँ ।’

दुईदिने सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्दै नेपाल र चीन प्राचीन ज्ञान, दर्शन र सभ्यतामा धनी रहेको बताए ।

वाङ्मय शताब्दीपुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीले पाँचौं शताब्दीमा चिनियाँ फाहियान र हुयन साङ बौद्ध दर्शन अध्ययनका लागि भारतको बाटो हुँदै नेपालका लुम्बिनीलगायत क्षेत्रको भ्रमणमा आएपछि दुई देशबीच सम्बन्ध शुरु भएको र छैटौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीले चिनियाँ राजकुमार स्रङचङ गम्पोसँग विवाह गरेपछि सम्बन्ध अझ प्रगाढ भएको बताए । ‘त्यसैबेला नेपाली बौद्ध दर्शनविद् बुद्धभद्रले चीनमा गएर संस्कृतका ग्रन्थ चिनियाँ भाषामा अनुवाद गरेपछि बौद्धधर्मको प्रभाव बढेको मानिन्छ’, उनले भने ।

साहित्यिक एवं सांस्कृतिक सम्बन्ध विस्तारका लागि चीनसित संस्थागत सहकार्य गरेर अनुवादको कार्य अगाडि बढाइरहेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनाए ।

प्रकाशित : कार्तिक १४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?