कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरीकरणको बाटोमा बुर्तिबाङ

प्रकाश बराल

बागलुङ — सदरमुकामदेखि ९३ किमि पश्चिमको बुर्तिबाङ बजार पुग्न पाँच वर्षअघिसम्म दुई दिन लाग्थ्यो । कृषि सडकको ट्रयाक खुलेपछि हिउँदमा एक दिनमा पुगिने बुर्तिबाङ मध्यपहाडी लोकमार्गको १० सहरी बस्ती व्यवस्थित गर्ने अभियानले जुर्मुराएको छ ।

सहरीकरणको बाटोमा बुर्तिबाङ

लोकमार्गले बुर्तिबाङसम्म सडक फराकिलो बनाइसकेको छ । आगामी वर्षभित्र सडक कालोपत्रे हुने तयारी छ । कालोपत्रे भएपछि सदरमुकामबाट यात्रावधि ५ घण्टामा छोट्टिनेछ । सडक सञ्जालले सजिलो पार्दै लगेपछि बुर्तिबाङमा आर्थिक क्रियाकलाप बढ्दो छ ।


‘ढोरपाटन जाने प्रवेशद्वार भएकाले केही होटल मात्र चल्थे, घोडा खच्चरको गोबरले दुर्गन्धित थियो,’ स्थानीय चिन्तामणि शर्माले भने, ‘अहिले सदरमुकाम बागलुङमा भन्दा ठूला होटलदेखि विभिन्न व्यवसाय, खेलकुद र पर्यटकको केन्द्रजस्तो भइसकेको छ ।’


झन्डै ३० हजार जनसंख्या रहेको बुर्तिबाङलाई स्थानीय तहको निर्वाचनमा नगरपालिका घोषणा गरियो । अहिले जिल्लाको दु्रत आर्थिक उन्नतिको केन्द्रका रूपमा विकास हुन थालेको छ । तमानखोला, निसीखोला र भुजीखोलाको संगममा अवस्थित बुर्तिबाङ जलस्रोतको धनी छ ।


ठूला आयोजना निर्माण गर्न सके बुर्तिबाङले केही समयमै थप उचाइ लिने नगर प्रमुख देवकुमार नेपाली बताउँछन् । उत्तरगंगा सर्भे भएको आयोजना हो भने अन्यको अध्ययन सुरु भएको छ ।


राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमार्फत व्यवस्थित र स्मार्ट सिटी बनाउने अभियान सुरु भइसकेको छ । त्यसका लागि साना सहरी आयोजना सञ्चालनमा आएको छ ।


सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत आयोजनामा २० अर्बको बजेट खर्चने योजना बनेको डिभिजन प्रमुख प्रकाश अर्यालले बताए । उनले भने ‘यो योजनाले कम्तीमा १ लाख जनसंख्यालाई व्यवस्थित सहरमा राख्ने लक्ष्य राखेको हो ।’ त्यसका लागि सडक, खानेपानी, विद्युत्, उद्योग, व्यवसाय सञ्चालन हुनुपर्ने बाध्यात्मक व्यवस्था छ ।


जिल्लास्तरका हरेक कार्यालयको सेवा केन्द्र रहेको बुर्तिबाङमा ढोरपाटन नगरपालिकाको अधिकांश विषयगत शाखा स्थापना भएका छन् । इन्टरनेटको सुविधा बढाउन नगरपालिकाले पनि पहल गरेको छ । सरकारी र निजी क्षेत्रका बैंकहरू पुगेका छन् । जिल्लाको निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको बजार सेन्टर तथा रुकुम, रोल्पा, प्यूठान र डोल्पासम्मको व्यापारिक केन्द्र पनि बुर्तिबाङ बनिरहेको छ । मध्यपहाडी लोकमार्गका कारण बुर्तिबाङबाट काठमाडौं, पोखरा र बुटवलतर्फ नियमित सवारी चल्छन् भने पश्चिमतर्फ रुकुमका लागि बस छुट्न सुरु भएको छ ।


नमुना सहर बनिसक्दा सयौं युवाले स्थानीय तहमै रोजगारी पाउने व्यवस्था पनि बन्ने आयोजना प्रमुख प्रवीण अधिकारीको भनाइ छ । स्थानीय उत्पादन, बजारीकरण, पर्यटनको विकास र कृषिको व्यवसायीकरणमार्फत सहरी क्षेत्रमा युवा रोजगारी बढ्ने कार्यक्रम बनाइन लागेको उनले बताए । ‘खानेपानी, बसपार्क, अन्य घुम्ने पार्कलगायतको व्यवस्थापन गर्ने कार्यक्रम योजनामा समावेश छ,’ उनले भने, ‘छिट्टै ढल निकास, सरसफाइसमेत पुगेको व्यवस्थित सहर बन्दै छ ।’


आयोजनामार्फत १ हजार रोपनी जमिन खरिद गर्ने, त्यहाँ व्यवस्थित बस्ती विकासको नमुना र काम गर्ने योजना बनेको अधिकारीले बताए । यसका लागि नगर विकासले सय रोपनी जमिन खरिद गरिसकेको छ । बसपार्क अतिक्रमणले आयोजनाको काममा केही ढिलाइ भने भएको छ । ‘हामीले सूचना प्रकाशित गरेर घरटहरा भत्काउने योजना ल्याएका छौं,’ प्रमुख अधिकारीले भने, ‘एक लाख जनसंख्यालाई व्यवस्थित सहरमा बसाल्ने गरी काम गरिरहेका छौं ।’ नगरपालिका र परियोजनाको क्षेत्राधिकार विवादले केही काम ढिलाइ भएको उनले बताए ।


धेरै अघि नै साँघुरा सडक बनेकाले एकै पटक चाहेजस्तो काम गर्न नसकेको नगर विकास समिति अध्यक्ष मेषलाल शर्माको गुनासो छ । उनले भने, ‘व्यवस्थित सहर सबैको आवश्यकता हो, हामी नगरपालिकाको सहकार्यमा काम गर्छौं ।’ नगरपालिकाले भने आयोजनालाई आफ्नै मातहतमा सञ्चालन गर्न खोज्दा केही समय विवाद पनि भएको थियो ।


‘राष्ट्रिय गौरवको आयोजनाभित्रको समिति भएकाले हामीले छिट्टै उपलब्धि गरेर देखाउँछौं,’ अध्यक्ष शर्मा भन्छन् ‘कानुनी जटिलताले केही काम सोचेजस्तो भएको छैन ।’ नगरपालिकाले पूरै क्षेत्रमा र समितिले बजार व्यवस्थितको काम गर्ने उनले बताए । नगरभित्र भवन निर्माणसंहिता पालना गराउने, पूर्वपश्चिम बस सञ्चालन, गुणस्तीय होटल र स्वच्छ पानी खुवाउनेलगायतका कामलाई पनि आयोजनाले तीव्रता दिने शर्माको दाबी छ ।

प्रकाशित : माघ ७, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?