कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारोबारमा २० कम्पनीको ५२ प्रतिशत

काठमाडौँ — यो साता १ सय ७० कम्पनीका सेयर कारोबार भयो । तीमध्ये सक्रिय २० कम्पनीले कुल कारोबारको करिब साढे ५३ प्रतिशत हिस्सा ओगटेका छन् । साताभर व्यापारमा आएका कम्पनीको कारोबार संख्या (कति पटक कारोबार भयो) का आधारमा सक्रिय र निष्क्रिय कम्पनीका रूपमा वर्गीकरण गरिन्छ । यो साता कारोबारका आधारमा अघि रहेको प्रमुख २० कम्पनीहरूको कारोबार हिस्सा कुल कारोबारमा ५३.६० प्रतिशत छ । 

कारोबारमा २० कम्पनीको ५२ प्रतिशत

कुल कारोबारमा बाँकी १ सय ५० कम्पनीको हिस्सा ४६.४ प्रतिशत मात्र छ । साताभर कुल १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३५.९८ प्रतिशत कम हो ।


यो साता सानीमामाई हाइड्रोपावर सबैभन्दा सक्रिय कम्पनी बनेको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कामना सेवा विकास बैंक, हिमालयन पावर पार्टनर, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र नेपाल ग्रामीण विकास बैंक प्रमुख १० सक्रिय कम्पनीभित्र परेका छन् । सक्रिय २० भित्र पर्ने अन्य कम्पनीहरूमा क्रमश: लक्ष्मी बैंक, एभरेस्ट इन्स्योरेन्स, सिटिजन्स बैंक, सेन्चुरी कमर्सियल बैंक, फरवार्ड कमिन्युटी माइक्रोफाइनान्स, सानिमा बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक र चिलिमे हाइड्रोपावर कम्पनी छन् ।


साताभर १२ हजार ७ सय २८ कारोबारबाट २४ लाख ६१ हजार ६ सय कित्ता सेयर खरिद–बिक्री भए । गत साता १७ हजार ३ सय ९३ व्यापारबाट १ सय ७४ कम्पनीका ४१ लाख ५ हजार २ सय १० कित्ता सेयर किनबेच भएका थिए । उक्त कारोबारबाट १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ परिचालन भएको थियो । यो साता सेयर कारोबार मापक नेप्से परिसूचक ३३.७७ अंकले घटयो । साताको पहिलो दिनको तुलनामा २४.५८ अंकले घटेको देखिन्छ । आइतबार १ हजार ४ सय ३१.१० अंकमा रहेको नेप्से बुधबार १ हजार ४ सय ६.५२ मा झरेको छ । विगतका साताहरूमा कुल कारोबारमा सबैभन्दा बढी हिस्सा बैंकिङ र बिमा समूहले ओगट्दै आएको थिए । यो साता बिमा कम्पनीलाई उछिन्दै जलविद्युत् समूह अघि पुगेको छ । साप्ताहिक कुल कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहको हिस्सा ३३.३५ प्रतिशत छ ।

गत साताको तुलनामा कारोबार हिस्सा कम हो । गत साता यो समूहको कारोबार हिस्सा ३५.३२ प्रतिशत थियो । जलविद्युत् समूहको हिस्सा २३.३७ प्रतिशत छ । गत साता यो समूहको कारोबार हिस्सा साढे १० प्रतिशत थियो ।


बिमा समूहको हिस्सा घटेर तेस्रो स्थानमा झरेको छ । साताको कारोबारमा बिमा समूहको हिस्सा १९.२४ प्रतिशत छ । यसैगरी, लघुवित्त समूहको ९.०१, विकास बैंकको ५.८९, ‘अन्य’ को हिस्सा २.३४ र संस्थापक सेयरको कारोबार हिस्सा ३.४ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।


साप्ताहिक कारोबारमा सबै समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । सबै समूहको परिसूचक ऋणात्मक रहेकाले सेयर लगानीकर्ताको सम्पत्ति खुम्चएिको हो । साताभरको कारोबारमा बिमा कम्पनीहरूका सेयरधनीको सम्पत्ति सबैभन्दा बढी १ सय ८७.१९ अंकले घटयो । यसैगरी, जलविद्युत् समूहको परिसूचक ५९.८८, विकास बैंक ४३.९७, होटल ३९.०६, बैकिङ २८.२७ र ‘अन्य’ १६.२४ अंकले ऋणात्मक रहे । सो अवधिमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.३४ अंकले घटयो ।


यो साता कारोबार रकम (१९ करोड ८ लाख १० हजार रुपैयाँ) का आधारमा सानीमामाई हाइड्रोपावर अग्रस्थानमा छ । कारोबार भएको सेयर संख्या (४ लाख ४७ हजार कित्ता) र कारोबार संख्या (१ हजार १ सय ८४ वटा) का आधारमा पनि सानीमामाई हाइड्रोपावर नै सबैभन्दा अघि रहेको नेप्सेले जनाएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ३ दिन खुला रह्यो । विगतमा जस्तो यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै कारोबार भएन ।

प्रकाशित : माघ ७, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?