कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारको लापरबाहीले भेरी पुल अलपत्र

निर्माण सुरु भएको ५ वर्षसम्म जग पनि बनेन 
भीमबहादुर सिंह

जाजरकोट — मध्यपहाडी लोकमार्गअन्तर्गत पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीको पुल निर्माण सुरु भएको ५ वर्षसम्म अलपत्र परेको छ । 

ठेकेदारको लापरबाहीले भेरी पुल अलपत्र

पुलको जग निर्माणसमेत अहिलेसम्म पूरा भएको छैन । पुल निर्माणमा ढिलाइ हुँदा लोकमार्गको रुकुम–जाजरकोट खण्ड पनि अधुरै छ । निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको हो । मध्यपहाडी लोकमार्गअन्तर्गतको चौरजहारी कुदुस्थित भेरी नदी पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोटबासी सडक सञ्जाल जोडिनबट वञ्चित छन् ।


दुवै जिल्लाका स्थानीय आवतजावत लागि झोलुङ्गेपुलको भरमा छन् । समयमा पुल निर्माण नहुँदा लोकमार्गको स्तरोन्नति गर्ने कार्यमा समेत बाधा पुगेको छ । त्यस्तै पुल निर्माण अलपत्र पर्दा चौरजहारीमा नयाँ सहर निर्माण आयोजनाको काम पनि प्रभावित बनेको छ ।


सल्लीबजार–चौरजहारी कच्ची तथा अप्ठ्यारो सडक हुँदा र जाजरकोटसँग सडक सञ्जालले जोडिन नसक्दा आयोजनाको काम प्रभावित भएको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताए ।

छिटोछरितो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटक–पटक अनुरोध गरे पनि व्यवसायीले अटेरी गरेको उनले बताए । निर्माण थालिएको तीन वर्षमा कार्य सम्पन्न गरिसक्नुपर्ने पुल ५ वर्ष बित्दा पनि जगै निर्माण हुन नसक्नु दु:खद भएको शर्मा बताउँछन् । चालु आर्थिक वर्षमा पनि पुल निर्माणमा ढिलासुस्ती गरे स्थानीय सरकारले व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने उनले बताए ।


सडक विभागको डिजाइनअनुसार कार्यस्थलमा कार्य गर्ने वातावरण नहुँदा पुल निर्माणमा ढिलाइ भएको व्यवसायी राजु श्रेष्ठले बताए ।


पुल निर्माणका क्रममै २ वर्षपछि रिडिजाइन गर्नुपर्ने अवस्था आउँदा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । ‘पुरानो डिजाइनअनुसार पिलर तथा स्टिल पार्ट भएको पुल निर्माण गर्नुपर्ने थियो । नदीको बहाव डाइभर्सन गर्न नसकिने भएपछि पिलर निर्माण रद्द गरेर लठ्ठावाला सस्पेन्सन ब्रिज बनाउने नयाँ डिजाइन बनेको छ,’ उनले भने । सडक विभागकै कारण पुल निर्माण ढिलाइ भएको उनले बताए । विभागले कार्य क्षेत्रमा नपुगेरै हचुवा डिजाइन गर्दा दोस्रो डिजाइन बनाउनुपरेको उनले बताए । नयाँ डिजाइन आइसकेकाले अबको २ वर्षमा पुल निर्माण सम्पन्न हुने श्रेष्ठले बताए ।


व्यवसायीले निर्धारित समयमा पुल निर्माण गर्न नसकेको डिभिजन इन्जिनियर शुभराज न्यौपानेले बताए । दोस्रो पटक म्याद थप्दासमेत पुल निर्माणको कामअघि बढ्न नसकेको उल्लेख गर्दै उनले पुल निर्माणका लागि व्यवसायीलाई पटकपटक ताकेता गरिएको जनाए । चौरजहारी–कुदुस्थित भेरी नदीमा एक सय मिटर लम्बाइको पुल १५ करोडको लागतमा निर्माणको जिम्मा बााईपी कन्स्ट्रक्सन काठमाडौंले लिएको न्यौपानेले बताए ।


पुलको निर्माण म्याद आगामी असार मसान्तसम्म मात्र रहेको उनको भनाइ छ । भेरी नदीको पुल मात्र हैन, लोकमार्गअन्तर्गत कुदुदेखि दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागारलगायत खोला तथा खोल्सामा पुल निर्माण अलपत्र परेको पाइएको छ । मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना दाङलगायत पक्षको लापरबाहीले पुल निर्माण अलपत्र परेका हुन् ।


आयोजनाले जाजरकोट खण्डको निर्माणमा १ अरब बढी खर्च गरे पनि ट्रयाक खोल्ने, पुल निर्माण लगाएत कार्य पूरा हुन सकेका छैनन् ।

प्रकाशित : माघ ७, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?