कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब ‘भेज मिट’

कान्तिपुर संवाददाता

काठमाडौँ — मासुजस्तै स्वाद तर मासु हैन । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा एसिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा भेजफेस्टमा शाकाहारीहरू छक्क परे ।

अब ‘भेज मिट’

उनीहरूले ‘शाकाहारी मासु’ सँगै भटमासको दूध–दहीसमेत चाखे । हालै सम्पन्न फेस्टिभलमा सागपात र गेडागुडीबाट बनेको ‘भेज मिट’ प्रति धेरैको चासो थियो । ‘मासु र यसको स्वाद छुट्याउनै गार्‍हो हुँदो रहेछ,’ मासुजस्तै देखिने ‘मिट चिल्ली’ खाँदै इन्द्र अधिकारीले भने, ‘खसीको मासु खाएको जस्तो पो भयो ।’ काठमाडौं कपनका ३७ वर्षे अधिकारी शाकाहारी बनेको झन्डै एक दशक भयो । मासुजस्तै स्वादको परिकार चाख्दा उनी सुरुमा केही झस्के पनि । ‘मासु नै हो कि भनेर झस्केको नि,’ उनले भने, ‘मासु सेवन स्वास्थ्यलाई राम्रो हुँदैन भन्ने लागेपछि छोडेको ९ वर्ष भयो ।’

उनकै छेउ थिइन् शाकाहारी अभिन्यताहरूको एउटा टोली । पशुलाई माया गर्ने तर मासु छाड्न नसक्नेका लागि यस्तो भेजमिट उत्तम विकल्प हुन सक्ने शाकाहारी अभियन्ता शोभा शाक्यले बताइन् । यस्तो ‘मासु’ राजधानीको खिचापोखरीस्थित टिफिन ब्रेक क्याफेले आफ्नो स्टलमा राखेको थियो । रेस्टुरेन्टका कुक प्रेम श्रेष्ठले यस्ता मासुलाई छोइला र ‘चिल्ली’ का रूपमा प्रयोग गर्न सकिने बताए । उनका अनुसार यस्तो भेजमिट भारतबाट झिकाइएको हो । ‘सम्भवत : नेपालमै पहिलो पल्ट हुन सक्छ,’ उनले भने ।

भेजफेस्टको अर्काे स्टलमा भटमासबाट बनेको दूध, चिया र भटमासकै दहीसमेत उपलब्ध थियो । बौद्धस्थित लभिङ हार्ट रेस्टुरेन्टले यस्तो परिकार उपलब्ध गराएको थियो । ‘हर्माेन खुवाइएका गाईवस्तुका दूध र मासुको विकल्प यस्ता परिकार हुन सक्छन्,’ रेस्टुरेन्ट सञ्चालक शक्ति योञ्जनले भने, ‘यी खानेकुरा पूर्ण सुरक्षित, पोसिला र स्वस्थ पनि छन् ।’ लामो समयदेखि भेज अभियन्ताको रूपमा लागिपरेका वीरबल तामाङलाई ‘सद्गुरु’ नामक स्टलमा भेटिए । यो स्टलमा ‘फिस बार्बिक्यु, भेज फिस फ्राई’ लगायतका परिकार थिए । ‘नाम मात्रै ‘माछामासु’ हो नि, सबै भेजमिट हुन् यी,’ वीरबल भन्दै थिए, ‘सबै परिकार पूर्ण शाकाहारी । मासु छाड्न चाहनेहरूले आफूले खाइरहेको स्वादको विकल्पमा यस्ता परिकार छान्न सक्छन् ।’ उनको तर्क थियो, ‘जति धेरै विकल्प उपलब्ध हुन्छन्, उति नै धेरै मांसाहारी शाकाहारी बन्नेछन्, ।’ आइतबार सम्पन्न दुईदिने फेस्टिभल मुलुकमै पहिलो हो ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?