'वान–डे मान्यताको टयागबाहेक खासै केही फरक पाइनँ': ज्ञानेन्द्र मल्ल, उपकप्तान 

विनोद पाण्डे

काठमाडौँ — नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, जो १२ वर्षदेखि टोलीमा छन् । नेपालले गत साता एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै वान–डे अन्तर्राष्ट्रिय क्रिकेटको ढोका उघार्दा यिनै ज्ञानेन्द्रले पहिलो खेलमा अर्धशतक बनाएका थिए । जुन नेपाली क्रिकेटको एउटा इतिहास भएको छ ।

तस्बिरः इलिट जोशी


उनै ज्ञानेन्द्रसँग नेपालले सुरु गरेको वान–डे अन्तर्राष्ट्रिय यात्रा, आफ्नो अर्धशतक, फर्किएको फर्म र नेपाली क्रिकेटबारे कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानी :

Yamaha


वान–डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दा र क्याप पाउँदाको क्षण कस्तो रह्यो?

सबै उत्साही थिए। नेदरल्यान्ड्स जानुअघि लर्डसमा पनि खेल्न पाएकाले टोलीभित्र छुट्टै उत्साह थियो। नेदरल्यान्ड्ससँग पहिला पनि खेलिरहेका थियौं, खेलिरहँदा खासै त्यस्तो केही अनुभव त भएन। यसपालि खेलिसकेपछि भने नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेलेको टोली सदस्य हुनु पाउँदाको खुसी अर्कै थियो। पहिला हाम्रोमा खासै त्यस्तो क्याप लगाइदिने परम्परा त थिएन। तर त्यो अविस्मरणीय क्षण हो। आफ्नो देशको प्रतिनिधित्व गर्दै त्यो वान–डे अन्तर्राष्ट्रिय खेलेको क्याप लगाउनु ठूलो विषय हो। हाम्रोमा पनि त्यो संस्कारको सुरुआत भएको छ। त्यसमा पनि उपकप्तानको हैसियतमा मलाई २ नम्बर लेखिएको क्याप दिइएको थियो, यो मेरो जीवनको एउटा हाइलाइट्स नै हो।

वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु र नपाउनुमा फरक के हो जस्तो लाग्यो?

मैले केही फरक पाइनँ। खाली ट्यागमात्र पाएँ। मैदान त्यही थियो, भौतिक पूर्वाधार त्यही थियो। अझ पनि त्यही पीडाले सबैलाई पिरोलिरहेको छ। हाम्रो क्याम्प राम्रोसँग सञ्चालन हुन सकेको छैन। अझै धेरै विषय छन्। वान–डे अन्तर्राष्ट्रिय मान्यता त पायौं तर त्यो खेलेर मात्र पाइराख्ने होइन। खेलेर वान–डे मान्यता ल्यायौं, त्यसको पछाडि पक्ष हेर्न जरुरी छ। युरोप जानुअघि अभ्यास गर्दा पानी पर्दा निकै समस्या परेको थियो। इन्डोरको हालत पनि त्यस्तै छ, व्यवस्थित छैन। जिम आफ्नो छैन। मैदानको अवस्था त्यस्तै छ। वान–डे मान्यताको टयागबाहेक मैले खासै केही फरक पाइनँ। यो विषय हामीले आईसीसीलाई व्यक्तिगत रुपमा भन्न जान मिल्दैन। प्रशिक्षक, कप्तान वा कसैको माध्यमबाट भनाइ राख्दा ‘अहिलेलाई यही हो, क्यान बन्न लागिसकेको छ, क्यान बनिसकेपछि सबै समाधान हुन्छ’ भन्ने जवाफ आउँछ। समाधान कहिले हुने त्यो चाहिँ थाहा छैन। नेपालमा आधिकारिक निर्णय लिने स्थिति कसैको छैन।

नेपालले पहिलोपल्ट वान–डे खेलेको त्यसमा पनि ब्याटिङमा स्ट्राइक आफैले राखेको त्यो क्षणलाई कसरी सम्झनुहुन्छ?

पिच फास्ट बलिङमैत्री थियो। लक्ष्य थियो १ सय ९० रन। विकेटमा जाँदा कम्तीमा १०–१२ ओभर नयाँ बल खेल्नुपर्छ भनेर मैले र अनिलकुमार (शाह) ले सल्लाह गरेका थियौं। उनीहरूको देव्रेहाते स्पिनर चाइनाम्यान रिप्पोनबाहेक अरु राम्रा बलियो बलर छैनन् भनेका थियौं। लक्ष्य ठूलो थिएन, कन्डिसनले गर्दा मात्र अलिकति अप्ठयारो भएको थियो। कप्तान र उपकप्तान लगालग बलमा आउट हुँदा नै खेल बिग्रिए जस्तो लाग्छ। त्यो कन्डिसनमा सेट पनि भइसकेकाले मैले अझ जिम्मेवारी लिनुपथ्र्यो जस्तो लाग्छ। कुनै पनि साझेदारी लामो भएन, त्यसमा दुर्भाग्य शरद (भेषावकर) पनि घाइते हुनपुगे। लक्ष्य सजिलो पनि हुनसक्थ्यो, राम्रैसँग जित्न सक्थ्यौं। हामी आफैंले कमजोर खेलेर हार्न पुगेका हौं। अर्धशतक बनाएपछि खेल आफैं मजाले सिध्याउँछु जस्तो लागेको थियो। पारस र म सँगै ब्याटिङ गर्दा लक्ष्य पनि त्यही थियो। अर्को १२–१५ ओभर ब्याटिङ गर्ने र खेल ३० ओभरसम्म लिएर जाने।

नेपालको क्रिकेट यो स्तरमा आइपुग्दा मानसिक रूपमा फिट हुन कतिको जरुरी छ लाग्छ?
क्रिकेटमा जस्तोसुकै स्तरमा खेल्न पनि मानसिक रूपमा बलियो हुनैपर्छ। माथिल्लो स्तरमा यो झन् जरुरी छ। टेस्ट क्रिकेटमै राम्रो टेक्निक हुँदाहुँदै पनि कति खेलाडी मानसिक रूपमा आफूलाई ठीक नराख्दा करिअरकै बीचमा संन्यासमा बाध्य लिन बाध्य भएका धेरै उदाहरण अस्ट्रलिया र इंग्ल्यान्डको क्रिकेटमा देखेका छौं। यो उनीहरूले स्विकार्छन्। त्यसमध्येका एक इंग्ल्यान्डका जोनाथन ट्रोटले एमसीसीबाट हामीसँग लर्डसमा खेलेका थिए। एउटा खेलाडी जुनसुकै खेलमा पनि मेन्टली टफ हुनैपर्छ, क्रिकेटमा विशेष हुनुपर्छ।

युरोप भ्रमणअघि तपाईं विगतलाई हेर्दा राम्रो लयमा हुनुहुन्थेन। त्यस हिसाबमा तपाईंमाथि यसपालि राम्रो प्रदर्शन गर्नैपर्छ भन्ने दबाब कतिको थियो?

राष्ट्रबाट खेल्नु भनौं नेपालबाट खेल्नु दबाब नै हो, किनभने प्रदर्शन देखाउनुपर्ने हुन्छ। सबैले राम्रो खेल्छ भनेर आस गरिरहेका हुन्छन्। एउटा वरिष्ठ खेलाडी भएकाले मबाट धेरै आस गरेका पनि हुनसक्छन्। ब्याटिङ भएन भनेर धेरैले आलोचना गरिराखेका हुन्छन्। त्यसमा राम्रो गर्नुपर्ने छुट्टै खालको दबाब हुन्छ। त्यसो भयो भन्दैमा दबिने होइन, त्यो दबाबले एउटा फुर्ति दिन्छ। सकारात्मक सोचाइले हेर्दा कसैले समर्थन गरिरहेको त छ भन्ने हुन्छ। हामीलाई धेरैले फलो गरिरहेका हुन्छन्, हामीले गर्नुपर्छ जिताउनुपर्छ भन्ने हुन्छ। क्रिकेटमा सधैं एकैनास हुँदैन। शतक हानेको भोलिपल्ट अर्को शतक लाग्दैन। आज शून्यमा आउट भयो भने भोलि शून्यमै आउट हुन्छ भन्ने निश्चित हुँदैन। हरेक दिन नयाँ हुन्छ, त्यसमा सकारात्मक सोच लिनु जरुरी हुन्छ।

नेपाली टिमबाट खेल्नु नै दबाब हो भन्ने भनाइ टोलीका प्राय: सबैले बोलिरहेका हुन्छन्। नेपाली टिमको थेगो नै हो यो?

अँ..अँ.अँ.अँ.. (हाँस्दै)। सबैको चाहिँ थाहा भएन। मलाई चाहिँ जिम्मेवारी अनुभव हुन्छ। त्यो जिम्मेवारी हो, त्यसलाई यसरी लिन सकिन्छ। दबाबभन्दा पनि जिम्मेवार हुने विषय हो।

लर्डसमा एमसीसीसँग खेल्दा तपाईंले दुई सुन्दर बाउन्ड्री हान्नुभएको थियो। त्यो शटमा तपाईंको छुट्टै क्लास देखियो। त्यसले पनि तपाईंलाई नेदरल्यान्ड्समा दबाबमुक्त बनाउन सजिलो गरेको हो?
दबाबमुक्त नै भन्ने हुँदैन। तर नम्बर आउनु एकदमै जरुरी छ। क्रिकेटमा महत्त्व राख्ने भनेकै नम्बर हो। कहिलेकाहीं कसरी खेल्नुहुन्छ भन्दा पनि कसरी बनेको रनले तपाईंको आत्मविश्वास बढ्न सक्छ। लर्डसमा मैले प्रहार गरेका ती शट वा त्यो बाउन्ड्रीहरू भन्दा पनि हुनसक्छ त्यसभन्दा अघिको अभ्यास खेलमा जसरी मैले खेलेको थिएँ, रन बनाएको थिएँ त्यसले पनि फरक पारेको थियो। किनभने नम्बर पछाडि हुँदाको आत्मविश्वास अर्कै हुन्छ। प्रत्येक दिन फरक हुन्छ। कहिलेकाहीं नम्बरको गणना हुँदैन।

अरु बेला सधैं अभ्यास खेलमा राम्रो खेल्नुहुन्थ्यो, तर प्रमुख प्रतियोगितामा तपाईंले प्रदर्शन दिन सक्नुहुन्थेन। यसपालि अभ्यास खेलमा मात्र अर्धशतक बनाएकाले महत्त्वपूर्ण खेलमा राम्रो खेल्नु भएको हो?

जुनसुकै म्याचमा पनि म स्थिति हेरेर नै खेल्छु। मान्छेले हेर्ने तरिका फरक हुनसक्छ। अभ्यास खेलमा आएर कसैले अन्डरआर्म बलिङ गरेर लौ चौका हान्, छक्का हान् भनेर भन्ने होइन। त्यहाँ पनि रन हान्नैपर्छ। रन हान्न सकेन भने पनि हाम्रो मानसिकता कस्तो छ भने अभ्यास खेल र एउटा क्लबसँग पनि रन बनाएन भन्ने चलन छ। रन हान्यो भने पनि एकदमै झुर बलर थियो होला, मैले शतक हान्ने खालको टिम थियो होला भन्छन्। वान–डे मान्यता त हामी भयौं तर त्योअनुसारको हाम्रो मानसिकता कहिले आउने त। खेलाडीले त एउटा स्टाटस पायो। हाम्रो अप्रोच चाहिँ कहिले परिवर्तन हुने भन्ने विषय पनि महत्त्वपूर्ण छ।

तपाईं एउटा स्टाइलिस ब्याट्सम्यान, फर्ममा नभएको समयमा आफ्नो खेल्ने शैली परिवर्तन गरौं लाग्थ्यो कि लाग्थेन। वा प्रशिक्षकले नै केही परिवर्तन गर्दा राम्रो हुन्छ भनेर भन्नुभएन?

कहिलेकाहिं मैले खेल्ने शटमा प्राविधिक त्रृटि पनि हुनसक्छ। हामीले खेल्ने कन्डिसन प्राय: फरक हुन्छ। नेपालमा खेल्दा एउटा टेक्निक हुन्छ। एसियाली महाद्वीपको स्पिन ट्रयाकमा खेल्दा एउटा टेक्निक हुन्छ। फास्ट विकेटमा कसरी खेल्ने, सिमिङ विकेटमा कसरी खेल्ने यो सबै विषयको गाइडेन्स राम्रो हिसाबमा भइरहनुपर्छ। हामीमा त्यो खाले अनुभव हुँदैन। अहिले बल्ल हामी विभिन्न देशमा गएर खेल्न लाग्यौं। युरोपसहित अफ्रिका सबैको अनुभव हुन लाग्यो। त्यो भन्दा अगाडि हामी एसियाली महाद्वीप बाहिर खासै कतै जादैनथ्यौं। त्यसले गर्दा त्यो ठाउँमा गएर खेल्ने कसरी भनेर हामीसँग एक्सपोजर नै हुँदैनथ्यो। रन नहान्दा त्यस्तो लाग्छ। मलाई यो शुट नगरेको हो कि, मेरो शैलीमा परिवर्तन गर्नुपर्ने हो कि। क्रिकेटमा जहिले पनि सुधार भन्ने हुन्छ। कन्डिसन नै फरक भएपछि आफूलाई पनि त्यहीअनुसार ढाल्नुपर्छ।

नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल त्यसमै तपाईंले अर्धशतक बनाउनुभयो, यसलाई कहाँ राख्नुहुन्छ आफ्नो इनिङ्सहरूमा?

राम्रो इनिङ्सभन्दा पनि ठीकै स्कोर गरेको हो। अझ पनि सन्तुष्ट किन छैन भने नेदरल्यान्ड्ससँगको त्यो पहिलो वान–डे खेल हामीले सजिलै जित्न सक्थ्यौं। मैले अझ राम्रो गर्न सक्थे, टिमलाई नै जिताएर आउन सक्थे होला। कम्तिमा नेपाललाई सुरक्षित स्कोरमा लैजान सक्थे होला। त्यो गर्न नसकेकाले अलिकति निराश छु। बरु दोस्रो खेलमा नेपालले जित्दा, १ रनले होस् टिमले जित्दा रमाइलो लाग्छ।

नेपालले नेदरल्यान्ड्ससँगको दोस्रो वान–डे अन्तर्राष्ट्रिय खेल जितेपछिको महोल कस्तो थियो?

निकै रमाइलो थियो। हामीले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल जितेको हौं। नम्बर र रेकर्ड जहिले पनि त्यही भएर महत्त्व हुन्छ। दोस्रो खेलमै पहिलो जित हात पारेकाले खुसी हुनुपर्ने कारण थियो। खेल्न त अझ धेरै खेल्न बाँकी नै छ। तर पहिलो जित विशेष नै हुन्छ। त्यसमा त्यहा आउनुभएका दर्शक कोही जर्मनीबाट, कोही कहाँबाट त्यसले पनि त्यो जितलाई विशेष बनाएको थियो। विशेष यसकारण त्यो जित उहाँहरूसँग साट्न पाइएको थियो।

नेपालले अन्तिम ओभर फाल्नु अगाडि तपाईंको कप्तान पारस खड्कासँग कस्तो खाले सल्लाह भएको थियो?

त्यो भन्दा अगाडि देखि नै अन्तिम ओभर बलिङ कसलाई लगाउने भनेर हाम्रा कुराकानी भइरहेको थियो। अन्तिम ओभर अगाडि पनि पारस वा ललितसिंह भण्डारीले फाल्ने भनेर छलफल भएको थियो। मैले पारसलाई तिमी नै फाल भनेर सुझाव दिएको थिएँ। पारस भनेको धेरै राम्रो लिडर हो। ६ रन कसरी रोक्ने हो भन्ने थियो। १ विकेटमात्र बाँकी हँुदा रोक्छौं जस्तो पनि लागेको थियो, एउटा राम्रो बल आवश्यक थियो। त्यो सोचेर बलिङ गरिरहेका थियौं। खेल चाहिँ सोचेभन्दा धेरै क्लोज गयो।

अन्तिम बललाई कसरी सम्झनुहुन्छ?

एक रन रोक्न सक्छौं जस्तो लागेको थियो। सबै फिल्डर नजिक राखेका थियौं। मलाई चाहिँ उनीहरूले टयाप एन्ड रन गर्छ जस्तो लागेको थियो। पारसले जहाँसम्म मलाई योर्कर फाल्छ जस्तो लागेको थियो। अनि त्यही अगाडिबाट टयाप एन्ड रन गर्ने चान्स हुन्छ भनेर हामी नजिक बसेर फिल्डिङ गरिरहेका थियौं, त्यसैले रनआउट हुने सम्भावना छ भनेर चाहिँ लागिरहेको थियो। पारस अरुभन्दा स्मार्ट नै छ। एउटा बेल्स झरिसकेकाले उसले अरु जोखिम नलिकन स्टम्प नै उखाल्ने निर्णय गरेको हो। जित्नलाई त्यही विकल्पमात्र जस्तै थियो।

Esewa Pasal

प्रकाशित : श्रावण २४, २०७५ १५:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

रासस/एएफपी

ब्युनस आयर्स — अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । 

यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो ।

उक्त विधेयक पारित हुँदा खुशी भएका यहाँका महिलाहरु बिहीबारको सिनेटको मतदानपछि भने निराश हुन पुगेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उता, इसाई समुदायका सर्वोच्च गुरु पोप फ्रान्सिस जन्मेको यस देशमा गर्भपतन गराउन पाउने भनी ल्याइएको यस कानुन पारित हुन नसकेपछि भने अधिकांशमा खुशियाली छाएको बताइएको छ ।

एकजना अधिकारीकाअनुसार उक्त विधेयकको विपक्षमा ३८ जना सिनेटरले मतदान गरेका थिए भने यसको पक्षमा मतदान गर्ने सिनेटर ३१ जना थिए । मतदानको क्रममा ४ जना सिनेटर अनुपस्थित थिए ।

उक्त विधेयकमा महिलाले चाहेमा आफ्नै निर्णयबाट गर्भ रहेको बढीमा १४ हप्तासम्मको भ्रूण पतन गराउन पाउने प्रावधान रहेको थियो । यहाँका नागरिकले भने यस प्रावधानको विरोध गरेका थिए ।

महिलालाई गर्भपतनको अधिकार दिनुपर्छ भन्ने महिला अधिकारकर्मीहरुले भने सिनेटको यस निर्णयको विरोध गरेका छन् । उनीहरुले पनि जुलुशहरुमार्फत विरोध प्रदर्शन गरेका छन् ।

यस कानुनका पक्षधर महिलाहरु हरियो पछ्यौरी ओढेर विभिन्न सडकमा विरोधमा निस्किएका थिए । उनीहरुले आँशु झारेका दृश्यहरु पनि टेलिभिजनमा देखाइएको थियो ।

केही प्रदर्शनकारीले भने सडकमै प्रहरीतर्फ ढुङ्गामुढा गरेका थिए । उनीहरु गर्भपतनको कानुनका पक्षधर थिए । उनीहरुले सिनेटले राम्रो काम नगरेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : श्रावण २४, २०७५ १४:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT