‘एमाले कहिल्यै पहिचानविरोधी हैन’
इलाम — पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ ।
१२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावीमा मैदानमा होमिएका छन् ।एमालेबाट उनै दिवंगत नेता नेम्बाङका छोरा समेत रहेका सुहाङ नेम्बाङ उम्मेदवार बनेका छन् । बुवाको पदचाप पछ्याउँदै सक्रिय राजनीतिमा आएका सुहाङ नेम्बाङसँग कान्तिपुरका पर्वत पोर्तेलले गरेको कुराकानी :
तपाईंका चुनावी एजेन्डा के छन् ?
एजेन्टा धेरै छन् । एजेन्डाबिना जनताका घरदैलोमा जाने कुरा पनि भएन । खासगरी स्वास्थ्य र शिक्षाको पहुँच बढी भन्दा बढी कसरी जनतासम्म पुर्याउने भन्ने मुख्य एजेन्डा छ । इलामको विकासमा २५ वर्ष देखि बुवाले योगदान पुर्याउनु भएको जगजाहेरै छ । उहाँको योगदानमा थप योगदानका लागि म आएको छु । बाटोघाटो धेरै बने तर, अहिलेसम्म विविध कारणले पूर्ण नभएको मैले पाएको छु, मैले जितेर सांसद बने भने ती अधुरा विकास निर्माणको काम पुरा गर्नेछु ।
तपाईं किन राजनीतिमा आउनु भयो ?
अहिलेको आवश्यकता र परिस्थिति नै मेरो राजनीतिको आधार हो । बुवाको इच्छा पनि मलाई राजनीतिमै ल्याउने थियो । उहाँको इच्छासँगै समग्र पार्टीको चाहनाले राजनीतिमा आएँ । पार्टीले तत्कालै मौका पनि दिएको छ । बुवाको आकांक्षा र पार्टी दिएको ठूलो अवसरलाई भरपुर सदुपयोग गर्ने योजनामा छु ।
यसपटक विरासत जोगिएला ?
नयाँ पुराना शक्तिहरु प्रतिष्पर्धामा हुनुहुन्छ । युवा साथीहरु पनि हुनुहुन्छ । तर जनताले किन हो किन मलाई नै रोज्लान् जस्तो लागेको छ । मत माग्दै गाउँ गाउँ घुम्ने क्रममा मतदाताको मायाले मेरो जित निश्चित जस्तै देखिन्छ ।
एमालेलाई पहिचान विरोधी पार्टी भनिरहेका छन् । यस्तोबेला पहिचानवादीको मत पाउने आशा कत्तिको छ ?
एमाले कहिल्यै पनि पहिचानविरोधी हैन । एमालेविरुद्ध ठूलो भ्रम फैलाउने काम भएको छ । एमालेले सँधै आदिवासी, जनजातिका हक अधिकार सुनिश्चित गर्ने काम गर्दै आएकै छ । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति बनाउने मुख्य जिम्मेवारी कसले निर्वाह गर्यो ? त्यो एमालेले गरेको हैन र ? खासमा मतदातालाई सबै थाहा छ । एमाले पहिचानविरोधी हो कि पक्षधर हो भन्ने कुरा । अब मतदाता आवश्यक हल्लाकोपछि लाग्नेवाला छैनन् । पहिचानवादी मत एमालेकै पोल्टामा आउने पक्का छ । एमाले सबै जातजाति, भाषाभाषीको पहिचान र संस्कृति विकास र प्रवर्द्धनमा सँधै सक्रिय छ ।
परिवारवाद कुरा पनि आएका छन् नि ?
यो विशेष परिस्थितिमा भएको चुनाव हो । म जनताको समक्ष पुग्नैपर्छ । एजेन्डा राख्नैपर्छ । उहाँले मेरो एजेन्डा मन पराएपछि बल्ल म अनुमोदित भएँ भने सांसद बन्ने हो । नेकपा एमालेले मलाई छान्नु अघि विभिन्न चरण पुरा गरेको छ । जिल्ला तहदेखि नै मेरो पक्षमा निर्णय भएको हो । त्यसैले परिवारवादको भाष्य अहिलेको परिस्थितिमा मिल्दैन । यो कुरा मतदाताले बझिसक्नु भएको छ ।