कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाचघरमा आर्ट फेयर

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई कोलाजमा बाँडिएको एउटा तस्बिर भित्तामा टाँसिएको छ । झट्ट हेर्दा सेल्फी खिच्न नजान्नेले खिचेजस्तो लाग्छ । माथिल्लो कोलाजमा पुरुषको नाक र झुस्स दाह्री मात्रै अलिकति देखिन्छ भने तल्लो तस्बिरमा आधा चन्द्रमा आकारको पेट र देखिन्छ, पेटको आकृतिबाहिर थोरै निस्किएका दुई खुट्टाका दस औंलाहरू । 

नाचघरमा आर्ट फेयर

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा जारी ‘काठमान्डु आर्ट फेयर’ मा आर्टुडियोले फोटोग्राफीअन्तर्गत राखेको कर्मा छिरिङ गुरुङको तस्बिर हो यो । ‘आई एम (पर्फेक्ट) मी’ शीर्षकमा राखिएको तस्बिरमार्फत गुरुङले आफ्नै कहानी बताउन खोजेका छन् । अलिक मोटो देखिने गुरुङको पेट बढ्न थालेपछि साथीहरूले ‘पेटको कारण आफ्नो खुट्टा आफंैले पनि देख्दैन होला’ भन्दै जिस्काउन थालेपछि यस्तो तस्बिर सिर्जना भएको आर्टुडियोका कैलाश के श्रेष्ठले जनाए । आफ्नो शरीरका बारेमा अरूले टीकाटिप्पणी गर्दा हुने अनुभूतिलाई फोटोमा उतारेको उनले जनाए । ‘अहिले सेल्फीको जमाना छ तर सेल्फीमा पनि उहाँको प्रेजेन्टेसनको शैली युनिक लाग्यो,’ उनले भने, ‘त्यसैले हामीले प्रदर्शनीमा उहाँको सिर्जनालाई स्थान दिएका हौँ ।’

प्रदर्शनीमा यस्तो प्रकृतिका थुप्रै सिर्जनाहरू छन् । कैलाशकै ‘शरीर’, क्रिसा ताम्राकारको ‘ट्ेरसिङ द लाइन्स’, पवन जोशीको ‘क्विन अफ क्विन्स’, दीपा श्रेष्ठको ‘साउन्ड अफ साइलेन्स’, श्रीजय श्रेष्ठको ‘बिइङ सेन’, महेन्द्र खड्काको ‘पिंक मेरोरिज’, अग्रानी ठकुरी झाको ‘अब्जरभेसन विथ नो टाइटल’ र रुपेशमान सिंहका तस्बिरहरू निकै रोचक लाग्छन् । कैलाशले आफ्नै शरीरका विभिन्न भागलाई अमूर्त शैलीमा प्रस्तुत गरेका छन् भने क्रिसाका तस्बिरले जीवनमा आउने परिवर्तनलाई सहर्ष स्वीकार गर्नुपर्ने सन्देश दिन खोजेको छ । श्रीजयका तस्बिरहरूले चाहिँ फ्रस्टेसनबाट मुक्त भएको सत्य कथा देख्न सकिन्छ । पवनले नेपालमा छाता ओढ्ने शैलीमाथि अध्ययन गरेको फाइन्डिङलाई तस्बिरमा उतारेका छन् । उनका सिर्जनामा महिला सुपेरियर भएको देखाइएको छ ।

तस्बिरहरूमार्फत भिजुअल आर्ट देखाउन खोजेको कैलाशले जनाए । ‘फोटोग्राफी पनि आर्टको एउटा पावरफुल मिडियम हो,’ उनले भने, ‘फोटोमार्फत कुनै जानकारी दिने वा केही देखाउने मात्र नभई पर्सनल आइडिया पनि प्रस्तुत गर्न सकिन्छ भनेर देखाउन खोजेका हौँ । फोटोले पनि प्रश्न सोध्नका साथै डिबेट गर्न सक्छ भनेर देखाउन खोजेको हौँ ।’ प्रदर्शनीमा प्राय: मोबाइलले खिचेका तस्बिरहरूको प्रयोग गरिएका छन् । ‘क्यामेरा हैन, आइडिया बिग हुनुपर्छ,’ कैलाशले भने । प्रदर्शनीमा आएका नेपाली कलाकारहरूको पोट्रेट तस्बिरहरू खिचेर त्यसलाई आर्काइभसमेत गर्नका लागि उनीहरूले प्रदर्शन स्थलमै स्टुडियोसमेत स्थापना गरेका छन् ।

तस्बिरहरूबाहेक हस्तकला अन्तर्गत छाली आर्ट, स्टोन आर्ट, मड आर्टलगायत वाटरकलर पेन्टिङ, मिथिला पेन्टिङ, परम्परागत पेन्टिङ, प्रिन्ट मेकिङ गरेर एक सय चालीसभन्दा बढी कलाकृति प्रदर्शनीमा छन् । रियालिस्टिक, एब्स्ट्रयाक, सेमी एब्स्ट्रयाकलगायत कलाहरू देख्न सकिन्छ । अन्तर्राष्ट्रिय जलरंग सोसाइटीका भीम श्रेष्ठ, एनबी गुरुङ, डिराज पाल्पाली, लालकाजी लामालगायतका झन्डै २५ वटा वाटरकलर पेन्टिङहरू पनि राखिएका छन् । पर्फमेन्स आर्ट, बुक स्टल, आर्ट मटेरियल स्टलहरू पनि राखिएका छन् । नेपाली कलालाई आम मानिससम्म पुर्‍याउन र नेपाली कलाकारको आयस्तर बढाउने उद्देश्यले प्रदर्शनी थालिएको ललितकला मञ्चका अध्यक्ष लालकाजी लामाले जनाए । प्रदर्शनीमा राखिएका कलाहरूबीच प्रतिस्पर्धासमेत गराएको पनि उनले जनाए । युवाहरूका लागि भने प्रिन्ट मेकिङ र वुड कटिङको तालिम पनि सुरु गरेको उनले जनाए ।

प्रदर्शनी आउँदो सोमबारसम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?