२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

नेपालमा लगानीको अध्ययन संयन्त्र बनाउन कतार तयार 

कतारमा कार्यरत नेपालीको अमिरद्वारा उच्च प्रंशसा
होम कार्की

काठमाडौँ — कतारले नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न एक संयुक्त संयन्त्र बनाउन कतार तयार भएको छ ।

नेपालमा लगानीको अध्ययन संयन्त्र बनाउन कतार तयार 

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल बीच सोल्टी होटलमा भएको वार्तामा नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउन कतार तयार भएको हो ।

प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री दाहाल र अमिर तमिमबीच एकदमै सौहार्दपूर्ण, हार्दिक र आत्मिय भेटघाट र वार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धीमा लगानीका क्षेत्रहरु लागनी गर्न आग्रह गरेका छन् ।

‘कतारको लगानी गर्न सक्ने हैसियत बिस्तार हुँदै गइरहेको छ । नेपालमा पनि लगानी क्षेत्रहरु विकास र विस्तार भइरहेका छन् । निकट भविश्यमा हामी लगानी सम्मेलन गर्दै गइरहेका छौं । त्यसमा कतारको तर्फबाट महत्त्वपूर्ण सहभागिता र लगानी गर्न आग्रह गर्छ,’ प्रधानमन्त्रीको भनाई उद्धत गर्दै सापकोटाले भने,‘त्यसमा मुख्य भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी क्षेत्र रहेका छन् ।’

अमिर तमिमले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । उनले नेपालमा लगानीको सम्भाव्यता अध्ययन गरी छलफल गर्न दुवै देशले एउटा संयन्त्र बनाउने बताए ।

‘कतार र नेपालको दुवै तर्फबाट संयन्त्र बनाउने समझदारी बनेको छ । सम्भाव्य क्षेत्रको अध्ययन र छलफल गर्नको लागि संयन्त्रले काम गर्नेछ,’ सापकोटाको भनाई छ ।

प्रधानमन्त्री दाहालले नेपालमा हवाई सम्पर्क बढाउन पोखरा र भैहरवामा जहाज पठाउन गरेका प्रस्तावमा पनि अमिर सकारात्मक भएका छन् ।

प्रधानमन्त्री दाहालले विश्वमा देखिएको द्वन्द्व शान्तिपूर्ण ढंगबाट समाधान निकाल्नको लागि कतारले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै हमास र इजरायलको द्वन्द्वको क्रममा बन्धक बनाइएका नेपाली नागरीक विपिन जोशीको रिहाई गर्न कतारको ध्यानाकर्षण गराए ।

भेटवार्तामा कतारमा कार्यरत नेपालीको विषयमा पनि छलफल भएको सापकोटाले बताए । अमिर समक्ष प्रधानमन्त्री दाहालले मर्यादित श्रम सिर्जना र श्रम सहकार्यलाई समयसापेक्ष र नयाँ ढंगले सोच्नुपर्ने बताउँदै कतारमा काम गर्न गएका नेपालीले आफ्नो परिवार र देशको अर्थतन्त्रमा योगदान पुर्‍याएको बताए ।

कतारी अमिरले पनि कतारमा कार्यरत नेपालीको उच्च प्रशंसा गर्दै कतारको विकासमा पुर्‍याएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘नेपाली कामदारको दक्षता अभिवृद्धि गर्नको लागि कतार सघाउन तयार छ,’ अमिरले भने ।

प्रकाशित : वैशाख १२, २०८१ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?