कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीद्वारा अफिम नष्ट

भीमबहादुर सिंह

जाजरकोट — प्रहरीले नलगाड नगरपालिका–१३ को कटेरे र रूपलगायत बस्तीमा लगाइएको अवैध लागूऔषध अफिम खेती नष्ट गरेको छ । १५ रोपनी पाखोबारीमा लगाइएको अफिम नष्ट गरेको हो ।

प्रहरीद्वारा अफिम नष्ट

इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको टोलीले गत शुक्रबार र शनिबार गरी दुई दिन लगाएर लागूऔषधको खेती नष्ट गरेको हो । अफिम खेती गरिएको क्षेत्र सदरमुकामदेखि ३२ कोस पूर्वमा रहेको छ ।

भौगोलिक विकटता र प्रहरी प्रशासन नपुग्ने ठाउँमा उक्त खेती व्यावसायिक रूपमै हुने गरेको
छ । विशेष अभियानअन्तर्गत अवैध अफिम खेती नष्ट गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए ।

५/६ जना किसानको पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको उनको भनाइ छ । दुर्गम गाउँमा अफिम खेती गर्ने गरेको र अफिम निकाल्ने समय पनि भएको भन्ने विशेष सुराकीका आधारमा प्रहरी टोलीले उक्त खेती नष्ट गरेको जनाएको छ ।

गत वर्ष प्रहरीले ६० रोपनीमा लगाएको अफिम खेती मात्र नष्ट गरेको थियो । कानुनी व्यवस्थाबारेजानकारी नहुँदा र कम मिहिनेतमा मनग्य आम्दानी हुने भएपछि अफिम खेती मौलाएको स्थानीय रामबहादुर विकले बताए । उनका अनुसार हिउँदे सिजनमा एक रोपनी पाखोमा लगाएको गहुँखेतीबाट पाँच हजार पनि आम्दानी नहुने तर अफिमबाट कम्तीमा ८० हजार आम्दानी हुने भएपछि किसानको त्यसतर्फ आकर्षण बढेको छ ।

धेरै आम्दानीको आसमा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाइएको छ । एक रोपनी पाखोमा लगाएको खेतीबाट १ किलो अफिम उत्पादन हुने अनुमान गरिएको प्रनाउ सिंहले बताए ।

‘लागूऔषध कारोबारीले १ किलो अफिमको बारीमै पुगेर १ लाख बढी मूल्य दिने गरेका रहेछन्,’ उनले भने । त्यस्तै कारोबारीले लुकिछिपी अफिम खेती र अफिम संकलन गर्ने तरिकाबारे प्रशिक्षण पनि दिने गरेको खुलासा भएको तर कारोबारी फेला नपरेको उनले बताए ।

आगामी दिनमा अफिम खेती नगर्ने सर्तमा उक्त खेतीमा संलग्न कृषकलाई पहिलोपटक चेतावनी मात्र दिइएको छ । उनका अनुसार अर्को वर्ष पनि यो खेती गर्ने किसानलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।

नलगाड नगरपालिका १३ का स्थानीय बासिन्दासँग लागूऔषध उत्पादन, बिक्री वितरण, सेवनको असर, सजाय तथा कानुनी व्यवस्था लगायत विषयमा जनचेतनामूलक छलफल कार्यक्रमसमेत सञ्चालन गरेको प्रनाउ सिंहको भनाइ छ । जनचेतना कार्यक्रमपछि अधिकांशले अवैध लागूऔषधको खेती नगर्ने प्रतिबद्धता जनाएको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २१, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?