कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैदेशिक रोजगारले स्वदेशमा सिर्जना गरेका अवसर

अमृता कुमारी

राम्रो काम र दामको खोजीमा एउटा नेपालीलाई परदेश डाकेको वैदेशिक रोजगारले अर्का नेपालीका लागि स्वदेशमै अवसर सिर्जना गरिदिएको छ |

वैदेशिक रोजगार हामी धेरैजसो नेपालीका लागि रहरको विषय होइन | स्वदेशमै काम गर्ने र राम्रो दाम कमाउने इच्छा कसलाई पो नहोला र ? तर राम्रो काम र दामको अभावमा हरेक वर्ष लाखौं नेपालीहरू वैदेशिक रोजगारको यात्रा तय गर्न बाध्य छन् | यद्यपि सरकारले यसको विकल्पको रुपमा विभिन्न योजनाहरू अगाडि ल्याउँदै गरेपनि आउँदा केही वर्षसम्म नेपालीहरूले वैदेशिक रोजगारको यात्रा गर्ने सिलसिला भने थामिएला जस्तो देखिँदैन |

वैदेशिक रोजगारको मुख्य उद्देश्य भनेकै आर्थिक उपार्जन गर्नु हो | जसबाट रोजगारमा जाने कामदारले आफू र आफूमाथि आश्रित परिवारका सदस्यहरूको आधारभूत आवश्यकताहरू परिपूर्ति गर्दछन् | त्यस्तै वैदेशिक रोजगारको एउटा राम्रो पक्ष भनेको आर्थिक स्थितिमा सुधार आउँछ भन्ने हो | जसका कारणले सफल वैदेशिक रोजगारमा गएका घरपरिवारको जीवनशैली फेरिएको छ | अर्थात् राम्रो खानु, राम्रो लाउनु, केटाकेटीलाई राम्रो स्कुलमा पढाउनु जस्ता कुरा त्यही रोजगारीको उपलब्धि हो | यी यस्ता उपलब्धि न त कसैले कसैलाई सुनाउनुपर्छ, न त देखाउनु नै पर्छ | तर के वैदेशिक रोजगारका यी यस्ता उपलब्धि वैदेशिक रोजगारमा गएका परिवारलाई मात्र भएको छ त ? त्यसबाट प्रत्यक्ष/अप्रत्यक्ष अवसर रोजगारमा नगएका परिवारलाई वा भनौं स्वदेशमै रहेका अर्का नेपालीलाई अनि सिंगो राष्ट्रलाई पनि त भएको छ | यस कुरालाई बुँदागत रूपमा प्रष्ट पार्न चाहन्छु |

नेपालको अर्थतन्त्रमा अवसर

नेपालमा ठूलो मात्रामा भित्रिने रेमिटेन्स र त्यसले नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा पुर्याएको योगदानले पनि वैदेशिक रोगजार नेपाली अर्थतन्त्रको एउटा अभिन्न अंग जस्तै भइसकेको छ | यो कुरा विभिन्न अध्ययनले पनि देखाएका छन् | २०७५ जेठमा प्रकाशित नेपाल राष्ट्र बैंकको एउटा अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७३/७४ मा नेपालले प्राप्त गरेको कूल विदेशी मुद्रामा रेमिटेन्स आप्रवाहको हिस्सा करिब ५४ प्रतिशत छ भनी उल्लेख गरेको छ | नेपालमा उक्त आ.व. मा साढे ६ अर्ब अमेरिकी डलर भन्दा बढी रेमिटेन्स भित्रिएको छ | जसलाई नेपालको कूल गार्हस्थ उत्पादनको अनुपातसँग तुलना गर्दा एक चौथाईभन्दा बढी (२६.३२ प्रतिशत) हुन आउँछ |

वैदेशिक रोजगारबाट रेमिटेन्स प्राप्तिसँगै रोजगारीमा गएका धेरैजसो घरपरिवारको आम्दानी बढ्नाले त्यसबाट नेपालको गरिबी दर घटाउनमा पनि योगदान गरेको छ | सन् १९९५/९६ देखि २०१०/११ बीचको १५ वर्षको अवधिमा नेपालको गरिबी दर ४२ प्रतिशतबाट २५ प्रतिशतमा झर्नुमा रेमिटेन्स पनि एउटा प्रमुख कारक तत्व हो भनी मान्न सकिन्छ | त्यसैले नेपालको अर्थतन्त्र केही हदसम्म उकास्नमा वैदेशिक रोजगार अवसर जस्तै भएको छ |

श्रम बजारमा अवसर श्रमिकको उच्च मागसँगै ज्यालामा बढोत्तरी

वैदेशिक रोजगारका कारण श्रम बजारमा मजदूर अभाव रहेको छ | कामदार अभाव हुँदा विशेषगरी कृषि तथा निर्माण क्षेत्रमा उनीहरूको माग सँगसँगै ज्याला पनि पहिलेको तुलनामा वृद्धि भएको छ | स्वदेशमै रहेका श्रमिकका लागि यो अवसरको कुरा हो | कामदार अभावमा छिमेकी मुलुकबाट पनि नेपालमा कामदारहरू आउने गरेका छन् |

दैनिक उपभोग्य सामग्री लगायत निर्माण (सामग्री) व्यवसायमा अवसर

वैदेशिक रोजगारबाट भित्रिने रेमिटेन्सको मुख्य अंश घरपरिवारमा दैनिक उपभोग्य सामग्री लगायत घरजग्गामा खर्च हुने गरेको विभिन्न अध्ययनबाट देखिन्छ | धेरैजसो घरधुरीमा देखिने जस्तापाता र सिमेन्ट ढलानका छानोमा रेमिटेन्सको महत्त्वपूर्ण भूमिका रहेको छ | त्यसैले ती क्षेत्रमा बढ्दो व्यापार व्यवसायबाट पनि अवसरको संकेत देखिन्छ |

वैदेशिक रोजगार एजेन्टलाई अवसर

वैदेशिक रोजगारमा जाने धेरैजसो कामदार एजेन्टहरूको माध्यमबाट वैदेशिक रोजगार व्यवसायी कम्पनीहरू (म्यानपावर कम्पनी) को सम्पर्कमा आउँछन् वा उनीहरूकै माध्यमबाट गन्तव्यसम्म पुग्छन् | तत्कालीन श्रम तथा रोजगार मन्त्रालयद्वारा प्रकाशित वैदेशिक रोजगारका लागि श्रम आप्रवासन नेपालको स्थिति प्रतिवेदन २०७२/७३-२०७३/७४ ले हाल म्यानपावर कम्पनीका ७३३ दर्ता भएका एजेन्ट छन् भन्ने आँकडा देखाएको छ | दर्ता नभएका एजेन्ट त हजारौंको संख्यामा होलान् भनी अनुमान लगाउन सकिन्छ | कतिपय कामदार तिनै एजेन्टको विश्वासमा परी गन्तव्य मुलुक पुग्दा नेपालमा भने अनुसारको काम र दाम नपाएर बिचल्लीमा पनि पर्ने गरेका छन् | केही एजेन्टले वैदेशिक रोजगारको नाममा कामदारलाई ठगी गर्ने र आयआर्जन गर्ने आफ्नो पेशा नै बनाइसकेका छन् | आ.व. २०६९/७० देखि २०७३/७४ को अवधिमा ४,६२७ जना एजेन्ट वा अन्यका विरुद्धमा वैदेशिक रोजगार विभागमा परेको उजुरीले पनि वैदेशिक रोजगारमा हुने ठगी, जालसाजीलाई पुष्टि गरेको छ | जसलाई निरुत्साहित गर्नुपर्ने टड्कारो आवश्यकता छ |

साहु/महाजनलाई अवसर

कामदार वैदेशिक रोजगारमा जाँदा सित्तैमा जाने कुरा त भएन | यद्यपि वैदेशिक रोजगारमा जाने नेपालीहरूको हितमा हुने गरी नेपाल सरकारले २०७२ जेठ २६ गते फ्रि भिसा तथा फ्रि टिकट नीति अन्तर्गत मलेसिया तथा खाडी मुलुक (साउदी अरेबिया, कतार, यूएई, कुवेत, ओमान र बहराइन) गरी सात गन्तव्य राष्ट्रहरूमा रोजगारीको लागि जाँदा भिसा र आतेजाते हवाई टिकट वापतको खर्च रोजगारदाताले व्योहोर्नुपर्ने र रोजगारदाताले सेवा शुल्क प्रदान नगरेको अवस्थामा मात्र नेपालका वैदेशिक रोजगार व्यवसायी कम्पनीहरू (म्यानपावर कम्पनी) ले कामदार पठाएवापत सेवा शुल्कका रुपमा कामदारबाट अधिकतम रू. १० हजार लिन सक्ने प्रावधान घोषणा गर्यो | तर त्यसको विपरीत आजको दिनसम्म पनि कामदारहरू तोकिएको भन्दा पनि अधिकतम शुल्क बुझाएर वैदेशिक रोजगारमा जान बाध्य छन् | चौधौं योजना (२०७३/७४-२०७५/७६) मा वैदेशिक रोजगारमा जान चाहनेहरूलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण व्यवस्था गर्ने कार्यक्रम रहेपनि ती संस्थाहरूबाट सहुलियत रुपमा कर्जा नपाउँदा वा झन्झटिलो कागजी प्रक्रियाका कारण रोजगारमा जाने प्रायःजसो कामदारले रोजगारमा जाँदा लाग्ने सम्पूर्ण खर्चको जोहो चर्को ब्याजदरमा स्थानीय साहु/महाजनबाट गर्ने गर्छन् | अवसरको लाभ त जसले पनि लिन चाहन्छ | त्यो भनेको स्थानीय साहु/महाजनले आफूसँग रहेको पैसा स्थानीयमा लगानी गरेका हुन् वा भनौं एक किसिमले अवसर नै पाएका हुन् |

वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम दिने, स्वास्थ्य परीक्षण गर्ने संस्थालाई अवसर

आर्थिक सर्वेक्षण २०७४/७५ मा उल्लेख भएको तथ्यांक अनुसार २०७४ फागुन महिनासम्ममा देशभरी ११४० वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीहरू (म्यानपावर कम्पनी) क्रियाशील रहेका छन् | वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालिम दिने संस्था १५८ वटा रहेका छन् | काठमाडौं उपत्यकाभित्र मात्र सो संख्या ११६ रहेको छ | साथै रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या २३४ पुगेको छ | यसका अतिरिक्त श्रम तथा रोजगार मन्त्रालयको स्थिति प्रतिवेदन २०७२/७३-२०७३/७४ को तथ्यांक हेर्ने हो भने घरेलु कामदारको रुपमा जाने कामदारलाई तालिम दिनको लागि १५ वटा संस्थाहरू हाल संचालनमा रहेका छन् | ती सबै संस्थाबाट धेरथोर जेजतिले अवसर पाएका छन् उनीहरूले पाएको अवसरमा पनि त्यही वैदेशिक रोजगारले योगदान गरेको छ भन्नेमा दुईमत छैन होला |

होटेल व्यवसायको क्षेत्रमा अवसर

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उपदफा (१) ले वैदेशिक रोजगारको लागि कामदार पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ | अब नेपालको राजधानी काठमाडौं बाहेक देशका अन्य स्थानबाट गन्तव्य मुलुकका लागि उड्ने विकल्प नभएको कारणले कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उड्नुपर्छ र स्वदेश फर्कदा पनि त्यहीँ अवतरण गर्नुपर्छ | त्यस्तै प्रायःजसो कामदारले वैदेशिक रोजगारको विभिन्न प्रक्रियाहरू (श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, बीमा, अभिमुखीकरण तालिम आदि) पूरा गर्ने क्रममा काठमाडौंका होटेल तथा लजहरूमा गास र बासको व्यवस्था मिलाएका हुन्छन् | त्यसका अतिरिक्त गन्तव्य मुलुक उड्ने दिनको एक दिन अघिदेखि नै धेरैजसो कामदारको काठमाडौं बसाइँ हुन्छ | यसकारण काठमाडौंमा रहेका कतिपय होटेल र लजका लागि यो अवसर हो |

यातायात क्षेत्रमा अवसर

पछिल्ला केही वर्षका तथ्यांकले वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट दैनिक लगभग १५०० जना कामदार बाहिरिने गरेको देखाउँछ | कामदार गन्तव्य मुलुक उड्नका लागि स्थानीय गाउँघरबाट काठमाडौं आउन र रोजगारबाट फर्किए पश्चात् काठमाडौंबाट घर पुग्न अनि रोजगारका विभिन्न प्रक्रिया पूरा गर्ने क्रममा ओहोरदोहोर गर्न यातायातका विभिन्न साधनहरू प्रयोग गर्दा त्यसबाट यातायात क्षेत्रमा पनि अवसर सिर्जना भएको छ |

शिक्षा, स्वास्थ्य, बीमा, वित्तीय आदि क्षेत्रमा अवसर

वैदेशिक रोजगारमा रहेका कतिपय घरपरिवारका सदस्यहरू केटाकेटीको उज्ज्वल भविष्य तथा उनीहरूलाई राम्रो स्कुल पढाउन सहरबजार बस्ने गरेका छन् | गाउँघरमै पनि बोर्डिंग स्कुलहरू खुल्ने क्रम बढ्दो छ | साथै स्वास्थ्य संस्था (मेडिकल हल, क्लिनिक आदि) को संख्या पनि बढ्दो गतिमा छ | यसका अतिरिक्त वैदेशिक रोजगार बीमा, बैंकिंग, मनि ट्रान्सफर, सूचना तथा संचार आदि जस्ता विभिन्न क्षेत्रमा पनि वैदेशिक रोजगारले अवसर प्रदान गरेको छ |

अध्ययन-अनुसन्धानको क्षेत्रमा अवसर

वैदेशिक रोजगार नेपालको सन्दर्भमा जल्दोबल्दो विषय हो | विगत एक दशकमा विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा अध्ययनकर्ताहरूबाट यस क्षेत्रमा धेरै अध्ययन-अनुसन्धान भएका छन् र हालसम्म पनि भइ नै रहेका छन् | वैदेशिक रोजगार सम्बन्धी अध्ययन-अनुसन्धानमा आबद्ध हुन र त्यससम्बन्धमा कलम चलाउन पाउनु पनि वैदेशिक रोजगारले दिएको एउटा अवसर हो |

निष्कर्ष

वैदेशिक रोजगारले रोजगारमा जाने कामदार लगायत स्वदेशमा पनि यति धेरै क्षेत्रमा अवसर दिएको छ | वैदेशिक रोजगार निरुत्साहित हुँदै जाँदा आगामी दिनहरूमा यसबाट प्राप्त अवसरका प्रत्येक क्षेत्रमा प्रभाव पर्ने सम्भावना देखिन्छ | तथापि अन्य विकल्पहरूको माध्यमबाट ती प्रभावहरूको निराकरण पनि अवश्य नै गरिन्छ होला | जेहोस् अहिलेसम्मको स्थितिलाई मध्यनजर गर्दै समग्रमा के भन्न सकिन्छ भने यसको अर्थ यो होइन कि हामीले वैदेशिक रोजगारलाई बढावा दिनुपर्छ | साथै यसबाट स्वदेशमा प्राप्त भएका अवसरलाई सम्पूर्ण नेपालीको हकमा सामान्यीकरण गर्न मिल्छ भन्नु पनि मेरो तात्पर्य होइन | तरपनि जेजति क्षेत्रमा र जेजति नेपालीलाई यसबाट अवसर मिलेको छ त्यसलाई नकार्न भने सकिँदैन |

प्रकाशित : आश्विन २१, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?