कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरस्कारको होड र इटहरी गोल्डकप

राजु घिसिङ

इटहरी — मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबलले फेरि ठूलो प्रतियोगिताको रूप लिएको छ । सहिद स्मारक ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ क्लब सहभागी इटहरी गोल्डकप शनिबार सुरु हुँदै छ ।

पुरस्कारको होड र इटहरी गोल्डकप

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सुरुमा मोफसलको नकआउट प्रतियोगिताकै सर्वाधिक १२ लाख रुपैयाँ पुरस्कार इटहरी गोल्डकप च्याम्पियनलाई दिइने बताए । यसअघि ११ लाख घोषणा गरिएको थियो तर खप्तड गोल्डकपमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दिइएपछि इटहरीमा विजेता पुरस्कार वृद्धि गरिएको हो ।

खप्तड गोल्डकपको तेस्रो संस्करण विजेतालाई २१ लाख दिइने आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले यसैपालि घोषणा गरिसकेको छ । उक्त पुरस्कारलाई पनि उछिन्ने होडमा इटहरी उभिएको देखियो । ‘अर्को वर्षको इटहरी गोल्डकप विजेतालाई २५ लाख पुरस्कार दिने घोषणा गर्छु । गोल्डकपको संरक्षकत्व राखेपले गर्दै छ । त्यसैले उक्त पुरस्कारको व्यवस्था राखेपले गर्नेछ,’ गृहनगरको प्रतियोगिताबारे राखेपका सदस्य–सचिव विष्टले शुक्रबार बताए ।

२० वर्षयता निरन्तर आयोजित धरानको बुढासुब्बा गोल्डकपको पुरस्कार इटहरी गोल्डकपको तुलनामा झन्डै आधामात्र रहेकोबारे विष्टले भने, ‘पहिला आयोजकले यति पुरस्कार दिन्छौं भनी योजना प्रस्ताव, योजना ल्याउनुपर्छ, जुन धरान फुटबल क्लबले अहिलेसम्म ल्याएको छैन । तैपनि राखेपले ५ लाख सहयोग गरेको छ र पहिलाको तुलनामा त्यो पनि ठूलै सहयोग हो । उसले योजना ल्यायो भने ठूलै पुरस्कार राशिको व्यवस्था राखेपले गरिदिन्छ ।’

‘पुरस्कारको पनि प्रतिस्पर्धा त हुन्छ नै तर यो फुटबललाई व्यावसायिक बनाउनकै लागि गरिएको हो । मेरै कार्यकालमा १ करोड रुपैयाँ विजेताले पुरस्कार पाउने प्रतियोगिता गर्नुपर्छ भन्ने चाहन्छु । एक प्रदेश एक ठूला गोल्डकप सञ्चालन भएको चाहन्छु,’ राखेप सदस्यसचिव विष्टले भने । इटहरी गोल्डकपका लागि यसपालि राखेपले २५ लाख दिइने पनि उनले बताए । ६३ लाख खर्च हुने अनुमान गरिएको गोल्डकपलाई मुख्य प्रायोजक एसियन थाई फुड्सले १५ लाख उपलब्ध गराउने जनाएको छ ।

राष्ट्रिय टिमका पूर्व फरवार्ड सुरेन्द्र तामाङको उदयसँगै इटहरीको फुटबलले उचाइ लिएको थियो । इटहरीकै ठूलो प्रतियोगिताका रूपमा हृदयेन्द्र गोल्डकप दुईपल्ट आयोजना गरिएको थियो । जनता स्कुलको मैदानमा भएको प्रतियोगिताको उपाधि २०५९ सालमा आर्मी र ०६० मा फ्रेन्ड्स क्लबले जितेका थिए । तत्कालीन युवराज पारसका छोरा हृदयेन्द्रको नाममा आयोजित गोल्डकपले त्यसपछि निरन्तरता पाएन ।

त्यसैले नयाँ रूपमा राष्ट्रिय जागृति क्लबले इटहरी गोल्डकप २०६१ सालमा सुरु गर्‍यो । पहिलो संस्करणमा कुमार थापाप्रेरित मनाङ मस्र्याङदी च्याम्पियन भएको थियो । ठूला प्रतियोगिताले इटहरीमा फेरि निरन्तरता पाएन । र, २०६२ मा सुरु गरिएको पूर्वाञ्चलस्तरीय दानबहादुर फुयाल स्मृति गोल्डकप नै इटहरीको ठूलो प्रतियोगिता बन्यो । दानबहादुर समृतिको पाँच संस्करण आयोजना भएपछि फेरि इटहरी गोल्डकपलाई २०६९ मा सञ्चालन गरिएको थियो । फेरि आयोजना हँुदा इटहरी गोल्डकप क्षेत्रीय प्रतियोगितामै सीमित बन्यो ।

वास्तवमा ठूला प्रायोजक र सहयोगीको अभावमा इटहरी गोल्डकप खुम्चिएको थियो । यो फेरि २०६९ सालमा सञ्चालन भएपछि गत वर्षसम्म क्षेत्रीय प्रतियोगिताका रूपमा बर्सेनि आयोजना गरिएको थियो । गत वर्षको विजेता काँकडभिट्टा ट्रेनिङ सेन्टरले २ लाख हात पारेको थियो । यसपालि स्तर वृद्धिसँगै च्याम्पियन हुनेले १२ लाख पाउने भएको छ । उपविजेताको भागमा ५ लाख पर्नेछ । विधागत उत्कृष्ट खेलाडीले २०–२० हजार, म्यान अफ द म्याचले १०–१० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँसहित ४२ इन्चको एलईडी टीभी पाउने आयोजक राष्ट्रिय जागृति क्ल्बका अध्यक्ष सन्जीव ढुंगानाले बताए ।

विगतमा इटहरी गोल्डकपको ६ र दानबहादुर स्मृतिको ५ संस्करण आयोजना गरिएको थियो । त्यसलाई समग्रमा हिसाब गर्दै एमालेका स्वर्गीय नेता मदन भण्डारीको स्मृति जोडिएको यसपालिको इटहरी गोल्डकपलाई १२ औं संस्करणका रूपमा आयोजना गरिरहेको सुनसरी जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष केशव कार्कीले बताए । गोल्डकपमा थ्रीस्टार, मनाङ मस्र्याङ्दी, एपीएफ, आर्मी, झापा ११, भुटानको ड्रुक युनाइटेड, कोलकाताको गरिफा स्पोर्टिङ र आयोजक राष्ट्रिय जागृति गरी आठ टिमले नकआउटका आधारमा माघ ११ सम्म प्रतिस्पर्धा गर्नेछन् ।


थ्रीस्टारविरुद्ध एपीएफ

गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो दिन ललितपुरको थ्रीस्टार र एपीएफबीच प्रतिस्पर्धा हुँदै छ ।

एएफसी कपको प्ले–अफमा एन्फाले टिम दर्ता नगरेपछि खेल्ने अवसर नपाएकोमा क्षतिपूर्ति माग्दै फुटबल गतिविधिबाट अलग रहेको थ्रीस्टार धनगढीमा सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपबाट मैदानमा फर्किएको थियो । तर उसको पुनरागमनको यात्रा दोस्रो चरणमा रोकिएको थियो । धनगढीमा एपीएफ भने फाइनलमा आर्मीसँग टाइब्रेकरमा हारेको थियो । त्यसैले स्टार खेलाडीले भरिएको थ्रीस्टार र एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : माघ ६, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?