कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाडल अघि बढ्दै

एएफपी

मेलबर्न — नम्बर एक राफेल नाडलले २८ औं वरीयताका दामिर झुम्हुरलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा स्थान पक्का गरेका छन् । स्पेनिस नाडलले कुर्कुच्चाको चोटका कारण उच्च फर्ममा नरहे पनि दुई घण्टा नबित्दै झुम्हुरलाई ६–१, ६–३, ६–१ को सोझो सेटमा हराए । उनले क्वाटरफाइनलमा स्थान बनाउन आइतबार २४ औं वरीयताका अर्जेन्टिनी डिएगो स्वार्जम्यानको सामना गर्नेछन् ।

नाडल अघि बढ्दै

नाडलसँगै तेस्रो वरीयताका ग्रिगोर डिमिट्रोभले पनि प्रतियोगितामा जितको सिलसिला कायम राखे । चौथो सेटसम्म पुगेको खेलमा बुल्गेरियाका डिमिट्रोभले रसियाली आन्द्रे रुब्लेभलाई ६–३, ४–६, ६–४, ६–४ ले पराजित गरे । उनले अन्तिम १६ को खेलमा घरेलु प्रतिद्वन्द्वी निक किर्गिओसको सामना गर्नेछन् । किर्गिओसले फ्रान्सेली भेट्रान जो विल्फ्रिड सोंगालाई चार सेटमा पराजित गरे । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु समर्थकको साथ पाएका किर्गिओस ७–६ (७/५), ४–६, ७–६ (८/६), ७–६ (७/५) ले विजयी रहे ।

महिलातर्फ डेनमार्ककी क्यारोलिन वोज्निआकी अगाडि बढ्दा फ्रेन्च ओपन विजेता जेलेना ओस्टापेन्को भने पराजित भइन् । वोज्नियाकीले ३० औं वरीयताकी डच खेलाडी किकी बर्टेन्सलाई ६–४, ६–३ ले पराजित गरिन् । यता ओस्टापेन्को भने इस्टोनियाकी एनेट कोन्टाभेटसँग ६–३, ६–१, ६–३ ले पराजित भइन् । प्रतियोगिताकै कान्छी खेलाडी मार्टा कोस्ट्युक पनि आफ्नै देशकी एलिना स्वितोलिनासँग सोझो सेटमा पराजित हुँदै बाहिरिइन् । युक्रेनी खेलाडीको भिडन्तमा स्वितोलिनाले ६–२, ६–२ को जित दर्ता गर्दै अन्तिम १६ मा प्रवेश गरिन् । उनले अब चेक गणतन्त्रकी डेनिसा अल्र्टोभाको सामना गर्नेछिन् । अल्र्टोभाले माग्डा लिनेटलाई ६–१, ६–४ ले हराइन् । ८१ औं वरीयताकी पेट्रा मार्टिच र बेल्जियमकी एलिस मर्टेन्सले पनि अन्तिम १६ को यात्रा तय गरे ।

प्रकाशित : माघ ६, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?