कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट गोल्डकपमा १० टिम

विराटनगर — फ्लडलाइटमा सञ्चालन हुने विराट गोल्डकप फुटबलको पाँचांै संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विराट गोल्डकपमा १० टिम

आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी चैत १७ देखि हुने प्रतियोगितामा स्वदेशी सात र विदेशी तीन टिम सहभागी हुने जानकारी दियो । प्रत्येक खेल साँझ ६ बजे सुरु हुनेछ । झन्डै आठ बजे सकिने खेल सञ्चालनका लागि आवश्यक फ्लडलाइटको व्यवस्था भइसकेको आयोजकले बताएको छ ।

आयोजक समितिका अध्यक्ष नवीन रिजालका अनुसार प्रतियोगितामा मनाङ–मस्र्याङ्दी, पुलिस, एपीएफ, आर्मी, थ्रीस्टार, झापा–११ र मोरङ–११ स्वदेशी टिम हुनेछन् । थिम्पु फुटबल क्लब, बंगलादेश स्पोर्टिङ क्लबको सहभागी हुने निश्चित भएको जनाएको छ । त्यस्तै, भारतको सिक्किम युनाइटेड र मोहम्मडन स्पोर्टिङ क्लबमध्ये एक टिमले पनि विराट गोल्डकप खेल्ने रिजालले बताए ।

प्रतियोगिता सञ्चालन गर्न विभिन्न २६ उपसमिति गठन गरिएको छ । प्रतियोगिताको कुल २८ लाख ५० हजार रुपैयाँ भएको बताइएको छ । विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ पाउनेछन् । म्याचको म्यान अफ द म्याचले १० हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्स, व्यवस्थापक, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको अध्यक्ष रिजालले बताए ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ३ लाख रुपैयाँ खर्च हुनेछ । टिकट बिक्रीबाट ४० लाख र प्रायोजकबाट ६३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा मारुती सिमेन्ट र रमपम चाउचाउले १०–१० लाख रुपैयाँ दिने बताइएको छ ।

यो विराटनगरमा २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा सञ्चालन हुँदै आएको थियो । त्यसैलाई २०६७ सालमा विराट गोल्डकपमा रूपान्तरण गर्दै पहिलो संस्करण २०६९ मा सञ्चालन भएको थियो । दुई वर्षअघि भएको पछिल्लो संस्करणमा झापालाई हराएर पुलिस च्याम्पियन भएको थियो । त्यसबेला विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाएका थिए ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?