कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियाली राष्ट्रपतिले भने– ‘उत्तरसँग वार्ता गर्न तयार छु’

सोल — दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दुई कोरियाबीचको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति कार्यालय ब्लु हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । 

दक्षिण कोरियाली राष्ट्रपतिले भने– ‘उत्तरसँग वार्ता गर्न तयार छु’

‘कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्था तथा सम्बन्धमा सुधार हुन्छ भने हामी भेटघाट र वार्ता गर्न तयार छौं, त्यसका लागि म खुला नै छु,’ उनले भने ।

मुनले दुई कोरियाबीचको वार्ताको ‘क्रेडिट’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जाने पनि बताएका छन् । वार्ताका लागि अमेरिकी नेतृत्वको प्रतिबन्ध र दबाबले भूमिका खेलेको उनले बताए ।

गत वर्ष राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएको शुभकामना सन्देशमा पनि सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए ।

उनले अहिले नै दुई कोरियाबीच उच्च तहमा वार्ता गरी आवश्यक सम्बन्ध सुधारका साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि प्रयास गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

दुई कोरियाबीच दक्षिण कोरियामा वार्ता सुरु भएको एक दिनपछि राष्ट्रपति मुनको यो धारणा आएको हो । लामो समयदेखि नै शत्रुतापूर्ण सम्बन्ध रहेका दुई कोरियाबीच दुई वर्षपछि मंगलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो ।

यो वार्तापछि वातावरण निर्माण भएकाले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा मुनले जोड दिएका हुन् । मंगलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडी र प्रतिनिधि पठाउने जनाएको छ । आफ्नो टोलीमा खेलाडी, कलाकार, पत्रकार, सरकारी अधिकारीहरू र चियरलिडर्स सामेल गर्ने उत्तर कोरियाले जनाएको छ ।

वार्ता शीतकालीन ओलम्पिकका विषयमा केन्द्रित थियो । त्यस क्रममा दक्षिणले ओलम्पिकको उद्घाटन समारोहमा दुवै कोरियाले संयुक्त मार्चपास गर्ने प्रस्ताव

गरेको छ । सन् २००६ को शीतकालीन ओलम्पिकमा पनि दुवै कोरियाले मार्चपास गरेका थिए । यस्तै, कोरियाली युद्धका कारण अलग भएका परिवारबीच पुनर्मिलन गर्नुपर्ने र सैनिक मुद्दा तथा आणविक कार्यक्रमसम्बन्धी वार्ता पुन: सुरु गर्न दक्षिण कोरियाले प्रस्ताव गरे पनि कुनै निर्णय भएको छैन । उत्तर कोरियाली वार्ता प्रतिनिधिले यस विषयमा आफूहरूले कुनै निर्णय दिन नसक्ने बताएका थिए ।

दक्षिण कोरियाले राष्ट्रसंघसँगको समन्वयमा केही प्रतिबन्धहरू अस्थायी रूपमा फुकुवा गर्नेबारे सोच्ने पनि जनाएको छ ।

प्रकाशित : पुस २७, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?