कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीलाई किन जैविक क्षेत्र बनाउने ?

उन्नत कृषि प्रविधिसहित जैविक खेती स्थानीय तहमा रोजगारी र आम्दानी बढाउने एक मात्र विकल्प हो ।

काठमाडौँ — विगत तीन दशकदेखि कर्णाली क्षेत्रलाई ‘खाद्यान्न अभाव क्षेत्र’ भन्दै उच्च तहका कर्मचारी र राजनीतिज्ञका चाखमा विश्व खाद्य संगठन र नेपाल खाद्य संस्थानले कामका लागि खाद्यान्न र अनुदानमा चामल वितरण गर्दै आएका छन् । यस्तो कार्यले एकातिर कर्णाली क्षेत्रलाई निरन्तर परनिर्भर बनाउँदै, हीनताबोध र कुण्ठा बढाउँदै लगेको छ भने अर्कोतर्फ समुदायस्तरसम्मै कर्णालीमा खेतीपाती गरेर जीविका चलाउन सम्भव छैन भन्ने सामाजिक मनोविज्ञान विकास गराएको छ ।

कर्णालीलाई किन जैविक क्षेत्र बनाउने ?

यस्तो हुनुमा मुख्यत: कर्णाली क्षेत्रको खाद्य विविधता, महत्त्वपूर्ण कृषि पर्यावरण एवं स्थानीय विशेषताका आधारमा कृषि विकासका प्रयत्नहरू गर्नुभन्दा काठमाडौंमा तयार पारिने खाद्य तथा कृषि विकास योजना बाँड्ने मानसिकता हावी हुनु हो । यो मानसिकता नफेरी कर्णालीको खाद्य तथा कृषि फेर्न सम्भव छैन ।

साथै, हिजोआज जलवायु परिवर्तनले यस क्षेत्रको खेती प्रणालीलाई तहसनहस बनाउँदै लगेको छ । कृषि क्षेत्रमा यसले निम्त्याएका गम्भीर संकटहरू क्रमश: देखा पर्दै छन् । खडेरी निरन्तर बढ्दो छ । तापक्रम र वर्षाको अनिश्चितताले धेरैजसो ठाउँमा बिउ उम्रिनेदेखि बिरुवा हुर्किने, फुल्ने, फल्ने र दाना लाग्ने कुरामा नकारात्मक असर परेको छ । यसको असर पशुपन्छी र जडीबुटी उत्पादनमा समेत व्यापक छ । समयमै यी असरलाई सम्बोधन गर्न सक्षम खेती प्रणाली अपनाउन नसके यस क्षेत्रको खेतीपाती सदाका लागि लोपसमेत हुन सक्छ ।


पर्यावरणीय विशेषता

कर्णाली शुष्क/अर्धशुष्क कृषि प्रदेश हो । यस क्षेत्रलाई शुष्क कृषि क्षेत्र भन्न सकिन्छ । कर्णाली पानीढलोभित्रको क्षेत्र नेपालको अरू क्षेत्रभन्दा बिल्कुलै फरक छ । हुन त कर्णाली क्षेत्रभित्रका स्थानीय जैविक विशेषतामा समेत धेरै विविधता छन् । यी सूक्ष्म जैविक क्षेत्रको आधारमा गरिने खेतीपातीका सवालको सम्बोधन गर्न स्थानीय तहमै उपयुक्त योजनाको खाका बनाउनुपर्नेछ ।

कर्णाली क्षेत्रमा पाटन, मध्यभाग र बेंसी तीन तह छन् । यी क्षेत्रमा ऋतुअनुसार फरकफरक खेती प्रणाली हुन्छ । स्थानीय कृषकले यसअनुसार नै खेतीपाती तथा बस्तुभाउ व्यवस्थापन गरेका छन् र उनीहरूले आफ्नो जीवनशैली यसैमा ढालेका छन् । खेती गर्न किसानहरूले तीनै ठाउँमा घर तथा खेती गर्न सघाउने संरचना बनाएका छन् । विडम्बना, हाम्रो देशको कृषि योजनाले यस्तो छुट्टै विशेषता भएको कर्णालीको सम्पूर्ण क्षेत्रलाई नै फरक कृषि क्षेत्रका रूपमा हेर्न सकेको छैन ।

कर्णाली क्षेत्रको पर्यावरण, माटो र हावापानी नेपालको अन्य क्षेत्रभन्दा निकै भिन्न र विविध छ । यस्तो उच्च शुष्क क्षेत्रमा उष्ण आद्र क्षेत्रमा भन्दा २–३ गुना कम वाष्पीकरण हुन्छ जसले गर्दा पानी निकै कम पर्छ । पाटन भेगमा पानीभन्दा हिउँ पर्ने गर्छ । सामान्यतया पानी या हिउँ पर्ने अवधि निकै छोटो हुन्छ । समथर शुष्क/अर्धशुष्क क्षेत्रहरूमा जैविक पदार्थ धेरै कम हुन्छ । उचाइमा चरन क्षेत्रहरू भएका र पशुहरूको उधौली–उभौली गरिने हुनाले प्रशस्त पशुजन्य मल उपलब्ध हुन्छ । यसले त्यस्ता ठाउँमा अन्य शुष्क क्षेत्रमा जस्तो माटोको बाहिरी पोषण तत्त्व आवश्यक पर्दैन । पशु र वनस्पति एकअर्काले परस्पर समृद्ध गर्ने गरेको हुन्छ ।

यस्तो ठन्डा शुष्क क्षेत्रमा आद्र क्षेत्रमा जस्तो रोगकीराको समस्या पनि धेरै हुँदैन । यी हिमाली भेगमा पाइने खाद्यपदार्थमा तुलनात्मक रूपमा धेरै पोषण तत्त्व पाइन्छ । साथै अधिकांश खाद्यबालीमा औषधिजन्य गुणसमेत हुन्छ । यस क्षेत्रमा भण्डारण सहजै हुन्छ किनकि तातो र आद्र क्षेत्रमा जस्तो छिटो सड्ने गल्ने समस्या कम हुन्छ ।


रसायनरहित कर्णाली किन ?

यस क्षेत्रमा रसायन र विषादीको प्रयोग आवश्यक छैन । रसायन प्रयोग गर्ने खेती प्रणालीमा धेरै पानी चाहिन्छ । रासायनिक कृषिको कुरा गर्नासाथ सबैतिर सिँचाइको कुरा आउँछ । यस क्षेत्रको माटो खुकुलो हुनाले थोरै पानीमै बाली लगाउनुपर्छ । धेरै पानीले माटो बगाएर लैजान्छ । यी क्षेत्रमा ठूला सिँचाइ कुला माटोको स्थिरताका लागि पनि आवश्यक हुन्न । त्यसो त अहिलेकै अवस्थामा अधिकांश ठाउँमा सिँचाइ पुर्‍याउन सम्भव छैन । त्यसैगरी, यस क्षेत्रमा लाग्ने रोगकीरा नियन्त्रणका लागि घातक रासायनिक विषादीको जरुरत पर्दैन । किसानहरूले आफैंले तयार गर्न सक्ने जैविक विषादीले अधिकांश रोगकीरा नियन्त्रण गर्न सकिन्छ ।

अहिलेसम्म कर्णालीमा पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिँदैन भन्ने मान्यता छ । कति अवस्थामा खाद्यान्नको बुझाइ चामलमा मात्र सीमित भएर पनि यसो भनिएको हो । यो मानसिकता फेर्न जरुरी छ । साथै, कर्णालीमा भएका परम्परागत बाली विशेषगरी अन्नको उत्पादन बढाउनुपर्छ । एकातिर, यी पोषणयुक्त अन्नबाली यहाँको परिस्थितिमा खेती गर्न उपयुक्त छन् भने अर्कातिर पोषणयुक्त तथा औषधिजन्य यी अन्नबाली आधुनिक जीवनका लागि वरदान नै हुन् । कर्णालीले कृषिको उत्पादनमा अन्नभन्दा बाहिर पनि जोड दिन जरुरी छ । अर्को शुष्क क्षेत्रको ठूलो अवसर भनेको फलफूल खेती हो । अन्जिर, रूख बदाम, ओखरजस्ता सुकेर खाइने फलहरूको खेती कर्णालीको महत्त्वपूर्ण अवसर हो ।

यहाँका सम्भावनाहरूको विश्लेषण गरी अवसर र विशेषताअनुसारको दीर्घकालीन कृषिको दृष्टिकोण निर्माण गर्न जरुरी छ । कर्णालीमा शुष्क कृषि क्षेत्रको विशेषता आत्मसात् नगरेको कृषि रणनीति र योजना कार्यान्वयवन सम्भव हुन्न । यसरी हेर्दा, कर्णालीको परम्परागत खेती प्रणालीलाई उन्नत बनाउँदै, खेतीपाती, बस्तुभाउ, वनस्रोत र जडीबुटीको एकीकृत व्यवस्थापन, खानेकुरामा आत्मनिर्भर र तुलनात्मक लाभका कृषिउपजको व्यावसायिक प्रवद्र्धन गर्ने दृष्टिकोणको विकल्प छैन । यसका लागि कणालीमा शुष्क कृषि अध्ययन र अनुसन्धान गर्ने छुट्टै संस्था जरुरी छ । यसले मात्र कर्णाली विशेषताका स्थानीय बाली तथा बस्तुभाउको बीजवृद्धि र स्तरोन्नति गर्न र किसानलाई कृषि प्रविधि पुर्‍याउन सहयोग पुग्छ ।

सँगै, जैविक कृषिबारे भ्रम हटाउनु उत्तिकै जरुरी छ । भन्ने गरिन्छ— जैविक खेती गरेर उत्पादन बढाउन सकिँदैन, यस्तो कृषि व्यावसायिक हुँदैन, यसले अर्थतन्त्र चलायमान बनाउन सक्दैन, यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । यो मानव श्रममा आधारित छ । त्यसैले यसको उत्पादन लागत नै बढी छ । जैविक तरिकाबाट रोगकीरा नियन्त्रण गर्नै सकिँदैन । यस्तो खेतीपातीबाट आउने उत्पादन राम्रा देखिँदैनन्, त्यसैले बजार छैन । यस्तो आधुनिक जमानामा अब गोठेमल, कम्पोस्ट, विषादी बनाएर को बस्छ ? यस्ता अधिकांश भ्रम व्यापारिक कृषि गरी नाफा कमाउने बहुराष्ट्रिय कम्पनीले चलाएको हल्लामा आधारित छन् । जैविक खेतीबारे हाम्रो समाजमा फैलिएका यस्ता भ्रम चिर्न अध्ययन र अभ्यासबाट मात्र सम्भव छ । विडम्बना, यो दुवै गर्ने प्रेरणा न त हाम्रो कृषि शिक्षाले दिन्छ न सामाजिक नेतृत्वले ।

जैविक खेती प्रणाली रासायनिकभन्दा उत्पादनशील छ । रासायनिकबाट जैविक बनाउने संक्रमणकालीन अवधिबाहेक जैविक खेती प्रणाली रासायनिकभन्दा कम खर्चिलो हुन्छ । यो खेती प्रणालीले दीर्घकालीन रूपमा रासायनिक उत्पादनसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । खनिजस्रोतबाहेकका ऊर्जा र स्थानीय स्रोतको दिगो परिचालनबाट स्थानीयतामा उपयुक्त कृषि प्रविधि प्रयोग गरिने हुँदा उत्पादन लागत कम नै हुन्छ । ९० प्रतिशत रोगकीरा जैविक तरिकाबाट नियन्त्रण गर्न सकिन्छ । माटोमा पोषण नपुग्दासम्म र अहिलेको वर्णशंकर बिउको प्रयोग भैरहँदासम्म कृषिउपजको गुणस्तरमा भने समस्या देखिने हो । तर पूर्ण जैविक प्रक्रियामा यस्तो समस्या देखिएको छैन । आम मानिसमा विकासे राम्रो भन्ने चेतनाले घर गरेको छ । यो नै भ्रम सिर्जना गर्ने आधार हो । जैविक खेतीअन्तर्गत उन्नत कृषि प्रविधि प्रयोग गरी कृषि कर्मलाई सरल र कृषि पेसालाई मर्यादित बनाउन सकिन्छ । यो स्थानीय तहमा रोजगारी र आम्दानी बढाउने एक मात्र विकल्प पनि हो । यी कुरालाई आफू बुझ्नु र अरूलाई बुझाउँदै कर्णालीलाई जैविक क्षेत्र बनाउनु नै यसको पहिचानसहित समृद्धितर्फको यात्रा तय गर्नु हो ।

प्रकाशित : पुस ३०, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?