कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनोरोगका मननीय तथ्य

मनोरोगीले नियोजित रूपमा अरूलाई हानिनोक्सानी पुर्‍याउने सम्भावना कम हुन्छ।
डा. धनरत्न शाक्य

काठमाडौँ — माजमा मानसिक समस्यालाई लिएर भ्रामक, हानिकारक र नकारात्मक सोच र धारणा व्याप्त छन्। मानसिक भनेपछि जुनसुकै रोगलाई पनि उस्तै आँखाले हेर्ने चलन छ। मानसिक समस्यालाई रहस्यमय, सन्त्रासपूर्ण वा नकारात्मक रूपमा चित्रण गरिन्छ।

अक्सर चलचित्र र आमसञ्चारमा अफवाहपूर्ण हिसाबले मानसिक रोगीलाई देखाइन्छ। उनीहरूको अनपेक्षित स्वभाव, खतरनाक व्यवहार र अस्वीकार्य पक्षहरूलाई मात्र औंल्याएर यसबारे भ्रम बढाउने काम हुन्छ। यसमा परिलक्षित सेवासुविधा र प्रदायकको कमी छ। यस्तो परिस्थितिमा हामी सबैले यसबारे वैज्ञानिक र तथ्यपरक जानकारी लिन र मनन गर्न आवश्यक छ।


मनोरोग अति थोरै मानिसलाई मात्र हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ। वास्तवमा, चारमध्ये एकजनालाई कुनै पनि समय र चारमध्ये दुई जना जतिको जीवनको कुनै समयमा मनोसामाजिक समस्या हुने गर्छ। बहिरंग विभागका झन्डै २५ प्रतिशत र अन्तरंग सेवाका ४० प्रतिशत बिरामीमा कुनै न कुनै मानसिक समस्या हुने गर्छ। मनोरोग मानव जातिलाई सताउने प्रमुख रोगका रूपमा बढ्दै गएको देखिन्छ।


मन बलियो राखे आफू, आफन्त कसैलाई यस्तो हुँदैन भन्ने भ्रम देखिन्छ। मनोरोग कुनै पनि उमेर, लिंग, धर्म, पेसा, जाति, वर्ग वा शैक्षिक स्तरका मान्छेलाई लाग्न सक्छ। कुनै मनोरोग समाजको कुनै वर्ग वा स्तरका मानिसमा बढी देखिन्छ भने कुनै रोग अर्को। सम्हाल्नै नसकिने कडा र प्रस्टखालका भर्ती नै गर्नुपर्नेभन्दा भित्रभित्रै बेचैन, दु:खी वा पीडा बोध हुने, कडा समस्याले धेरै ग्रसित हुने गर्छन्। कुनै पनि समुदायमा कुनै पनि समयमा सयमा १० देखि १५ मानिसलाई कुनै न कुनै मानसिक रोग लागेको देखिन्छ, एक दुई प्रतिशतलाई अति गम्भीर खालको मनोरोग हुने गर्छ।


मानव मस्तिष्कको मूलत: असर परेको भाग र कार्यअनुसार थरीथरी मनोरोग हुने गर्छन्। हालसम्म ४–५ सय थरीका मनोरोग उल्लेख भएको पाइन्छ। स्किजोफ्रेनिया, उदासीन मनोरोग, उन्माद, चिन्ता लाग्ने मनोरोग, मद्य तथा लागूपदार्थको दुव्र्यसन, सुस्त मनस्थिति, छारेरोग, मनोगत यौन, निद्रा वा भोकसम्बन्धी समस्या केही प्रमुख मनोरोग हुन्।


मनोरोगीहरू विभिन्न लक्षणसहितका रोगी हुन्। लक्षणहरू इच्छाशक्तिको कमीले मात्र हुने वा उनीहरूको वशमा हँुदैन। मनोरोगीहरू हिंस्रक, हिंसात्मक वा आपराधिक हुन्छन् भनी डर, त्रास, हेय र हेलाको दृष्टि रहेको पाइन्छ। वास्तवमा, एक स्वस्थ सामान्य मान्छेको तुलनामा मनोरोगीबाट यस्तो अपराध हुने सम्भावना अझ कम हुन्छ। मनोरोगीले नियोजित रूपमा हानिनोक्सानी पुर्‍याउने सम्भावना अझ कम हुन्छ। उनीहरू बरु भित्रभित्रै पीडित हुने हँुदा आफैंलाई हानि पुर्‍याउने डर हुन्छ।


कतिपय मानसिक रोगमा शारीरिक लक्षण हावी भइदिन्छन्। लामो समयदेखि जाँचपडताल र उपचार गरे पनि रोग पत्ता नलागेका र ठीक नभएका धेरै खालका शारीरिक समस्या, जस्तै: सास फुल्ने, मुटु ढुकढुक हुने, वाकवाकी लाग्ने, पेट ढुस्स फुल्ने, पखाला चलिरहने, हातखुट्टा झमझम हुने, चिलाउने, चिसो हुने, घाँटी खसखसाउने, सुक्ने, भारी हुनेलगायत भोक, निद्रा, यौन क्षमता, दिसापिसाब, मासिक धर्म आदिमा गडबडी हुन सक्छ। यस्तो अवस्थामा सम्बन्धित चिकित्सकलाई देखाएर शारीरिक रोग नभएको वा त्यसले नभएको निश्चित भएपछि मनोचिकित्सकलाई देखाउन आनाकानी गर्नु हँुदैन।


मानसिक लक्षणहरू देखिएका बेलामा त्यस्तो कुनै पिरचिन्ता नभएको वा लक्षणहरू पिरचिन्ताका कारण मात्र भएकाले आवश्यक उपचार नकार्नेहरू कम हुँदैनन्। वास्तवमा, मनोरोगमा तनावले ठूलो भूमिका खेल्ने गर्छ तर सबै रोगीमा प्रस्ट रूपमा तनाव हुनैपर्छ भन्ने चाहिँ छैन। त्यस्तै, तनाव भए पनि नभए पनि लक्षणहरू लामो समय अनियन्त्रित र समस्याजनक हिसाबले पैदा भएको स्थितिमा उपचारतिर लाग्नुपर्छ। साथमा, तनाव व्यवस्थापन पनि हुनुपर्छ।


मनोरोग विविध कारणले हुन्छ र ती कारणको निदान र सम्बोधन आवश्यक हुन्छ। कुनै व्यक्तिविशेषमा यही हो भनी औंल्याउन सकिने कारण हुँदैन, यद्यपि त्यो वंशानुगत, मगजको वा अरू शारीरिक रोग, स्नायु रसायनको गडबडीजस्ता जैविक, तनाव, गलत सिकाइ वा व्यक्तित्वको समस्याजस्ता मनोवैज्ञानिक र कलह, झगडा, बिछोड, द्वन्द्वात्मक सम्बन्ध, हिंसा, विभेद, अस्वस्थ यौन आचरण, अभावजस्ता सामाजिक कारणबाटै सिर्जित हुन्छन्। व्यक्तिविशेषमा लागू हुने निर्दिष्ट कारकतत्त्व पहिल्याएर त्यसको उचित सम्बोधन गर्नुपर्ने हुन्छ।

सबैजसो मानसिक रोगहरूको उपचार सम्भव छ। हामीकहाँ पनि सबैजसो ठूला सहर र अरू ठाउँमा मानसिक सेवा उपलब्ध हुँदै गएको छ। मनोरोग समयमा पहिचान भएन भने रोग छिपिएर उपचार कठिन हुने, एउटा दबाइले नपुग्ने, रोग उल्टिरहनेजस्ता समस्या थपिने गर्छन्। सिक्ने र वृत्तिविकास गर्ने समयमा यस्तो बिमारी भए दूरगामी असर पर्न सक्छ। उपचार विधिअन्तर्गत औषधि, मनोसामाजिक तरिकालगायत बिजुलीको सेक आदि पर्छन्।


बिरामीका लक्षणहरू, तिनको गम्भीरता, असर, सम्भावित कारकतत्त्व, उपलब्धता, बिरामीको सामाजिक, आर्थिक स्थिति आदिलाई ध्यानमा राखेर उपयुक्त दबाइलगायत अरू उपचार विधि चयन गरिन्छ। अहिलेको अवस्थामा लक्षण कम गर्ने मात्र होइन, रोगै निको बनाउने प्रभावकारी, सुरक्षित र भरपर्दा दबाइ पनि उपलब्ध हुँदै गएको छ।


मनोरोग लागेपछि व्यक्ति सामान्य जीवन बिताउन सक्तैनन्, ठीक हुँदैन भन्ने धेरैलाई चिन्ता हुन्छ। एकदुई प्रतिशतबाहेक अन्य मनोरोगी उपचार गरेपछि ठीक हुन्छन्, ती १–२ प्रतिशत रोगीमा पनि उचित उपचारले केही न केही हदसम्म सुधार हुन्छ। उपयुक्त पुन:स्थापनबाट मनोरोगीहरूले पनि सामाजिक जनजीवनको अभिन्न अंगका रूपमा आआफ्नो भूमिका निर्वाह गर्न सक्छन्।

प्रकाशित : माघ १३, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?