कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् चोरी रोक्ने तत्परता

सम्पादकीय

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी रोक्न उपत्यकामा सञ्चालन गरिरहेको अभियान सराहनीय छ । विद्युत्को माग धान्नै मुस्किल परिरहेका बेला विद्युत् चुहावटको मात्रा पनि उल्लेख्य देखिएपछि प्राधिकरणले ‘हुकिङ’ हटाउने तथा छापा मारेर पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ ।

लामो समयसम्म महसुल नतिर्ने ठूला उपभोक्ताको लाइन पनि धमाधम काटिँदै छ । प्राधिकरणले

खासगरी ललितपुरमा संगठित चोरी नियन्त्रणमा नसघाए सम्बन्धित क्षेत्रमै लाइन काटिदिने (ब्ल्याक आउट) चेतावनी पनि दिएको छ । यो अभियान सफल भए सयौं उपभोक्ता प्राधिकरणको आधिकारिक ग्राहक बन्ने र महसुल संकलन वृद्धि हुने देखिन्छ ।

अहिले मुलुकभित्रकै उत्पादनले माग धान्न नसकेपछि भारतबाट समेत करिब साढे चार सय मेगावाट विद्युत् आपूर्ति गरेर ग्राहकलाई वितरण गरिएको छ । यति गर्दा पनि कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था छ । अर्कातिर प्राधिकरणले बेलैमा ध्यान पुर्‍याउन नसक्दा चुहावट पनि व्यापक मात्रामै छ । पछिल्लो समय भने प्राधिकरणले चुहावट नियन्त्रण गर्न पहल गरिरहेको देखिन्छ । प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा २५.७९ प्रतिशत चुहावट रहेकामा गएको वर्ष २२.९ मा झरेको छ । तर प्राधिकरणले आफ्नो प्रगति देखाउन चुहावट कम हुँदै गएको देखाउने गरेको आशंकामा वास्तविक चुहावट योभन्दा बढी रहेको अनुमान गरिन्छ । अहिले भने प्राधिकरणले २० प्रतिशतमा झार्ने लक्ष्यका साथ आक्रामक अभियान सञ्चालन गरिरहेको छ । प्राधिकरणको प्रणालीबाट १५ प्रतिशत हाराहारी प्राविधिक चुहावट भए पनि बाँकी चोरीबाट हुने गरेको हो ।

उपभोक्ताले विद्युत् वितरण लाइनबाट हुकिङ गरेर, मिटर नराखेर, राखेका मिटर उल्टो पारेर, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिएर विद्युत् चोरी गर्ने गरेका छन् । महसुल बुझाउनु नपर्ने भएपछि खपत पनि लापरबाहीपूर्ण ढंगले हुन्छ । सहरको भित्री भागमा संगठित र प्राधिकरणको नियमित निगरानी नभएको क्षेत्रमा व्यक्तिगत रूपमा विद्युत् चोरी देखिन्छ । विद्युत् चोरीको यो समस्या वर्षौंदेखिको हो तर नियन्त्रणका लागि प्रभावकारी कदम सञ्चालन हुन सकेको थिएन । चोरीका कारण प्राधिकरणले ललितपुर जिल्लामा मात्रै वार्षिक करिब ५० करोड रुपैयाँ महसुल गुमाउनुपरेको छ । पछिल्लो समय भने प्राधिकरण खासगरी ललितपुर र भक्तपुरमा अभियानकै रूपमा जुटेपछि सकारात्मक परिणाम आउन थालेको देखिन्छ । अहिले प्राधिकरणले कतिपय ठाउँमा छापा मारेरै चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्ने तथा जरिवाना तिराउने गरिरहेको छ । कतिपय ठूला ग्राहकले अटेर गरी महसुल बुझाउने गरेका थिएनन् । अभियान सुरु भएपछि ललितपुरमा मात्र ३ सय ७८ ठूला ग्राहकको लाइन काटिएको छ । यो अभियानमा ठूलो चुनौती भने संगठित चोरीको थियो । प्राधिकरणले एक साताअघि संगठित चोरी भइरहेको क्षेत्रमा चोरी हटाउन १५ दिनको समय दिँदै सहयोग नगरे ‘ब्ल्याक आउट’ गरिदिने चेतावनी दिएको छ । प्राधिकरणको आग्रहअनुरूप सम्बन्धित क्षेत्रका बासिन्दाले ब्ल्याक आउट हुने अवस्था आउनुअघि नै चोरी हटाउनुुपर्छ र मिटर जडान प्रक्रियामा अघि बढ्नुपर्छ ।

विद्युत् प्रयोग गरेपछि राज्यलाई त्यसको महसुल नियमित बुझाउनु नागरिकको कर्तव्य हो । हुकिङ गरेर, प्राविधिक गडबडी गरेर सित्तैमा बिद्युत् उपभोग गर्नु भनेको राज्यविरुद्ध ठगी हो । हुकिङ गर्नु आफैंमा जोखिमपूर्ण पनि छ । विद्युत् चोरी नियन्त्रण प्रभावकारी बनाउन हुकिङ हटाएर, मिटरको गडबडी सुधारेर मात्र पुग्दैन, चोरी/ठगी गर्नेलाई कारबाही पनि गर्नुपर्छ । कतिपय ठाउँमा प्राधिकरणकै कर्मचारीको मिलेमतोमा चोरी भएको पनि हुन सक्छ । त्यस्तो पाइए कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । प्राधिकरणले पनि विद्युत् लाइन विस्तार तथा मर्मत, मिटर वितरणजस्ता सेवा पनि छिटोछरितो ढंगले प्रवाह गर्नुपर्छ । चोरी नियन्त्रण लागि निरन्तर निगरानी गर्नुपर्छ ।

प्रकाशित : माघ २४, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?