कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलामा मिर्गौलासम्बन्धी जोखिम 

डा. पुकारचन्द्र श्रेष्ठ

काठमाडौँ — प्रत्येक वर्ष मार्च महिनाको दोश्रो बिहीबार विभीन्न नाराका साथ विश्व मिर्गौला दिवस मनाईन्छ । यसको मुख्य उद्घेश्य विश्वभरीका मानिसहरुमा शरीर स्वस्थ राख्नको लागि मिर्गौला कति महत्वपूर्ण छ भन्ने बुझाउनका साथै मिर्गौला रोगको रोकथाम वा रोग लाग्ने गति कम गराउनु हो ।

महिलामा मिर्गौलासम्बन्धी जोखिम 



दिर्घकालीन मिर्गौलाको रोगले संसारभरी करीब १० प्रतिशत जनसंख्या आक्रान्त बनाउने गर्दछ । यो संसार भरि मृत्यु हुने प्रमुख २० वटा कारण मध्ये एक हो । विश्वभरका करोडौं मानिसहरु मिर्गौला सम्बन्धि दीर्घ रोगबाट पीडित भएका छन् । जसबाट कुनै पनि उमेर, लिङ्ग, जातजातीहरु अछुतो छैनन् । प्रत्येक वर्ष विश्व मिर्गौला दिवस ठोस नाराको साथ मनाईने हुँदा निश्चित समुह वा विषयमा जानकारी गराउने प्रयास गरिएको हुन्छ ।


यसपाली विश्व मिर्गौला दिवस र अन्तर्राष्ट्रिय नारी दिवस एकै दिन परेको हुँदा यसपटकको विश्व मिर्गौला दिवसको नाराले महिला स्वास्थ्य र विशेष गरी उनीहरुको मिर्गौला स्वास्थ्य सम्बन्धि विशेष ध्यान दिन खोजेको बुझिन्छ । विश्वमा ५० प्रतिशत जनसंख्या महिलाहरुले ओगटेको छ र उनीहरुले समाज, परिवार तथा राष्ट्रको लागि महत्वपुर्ण योगदान पुर्‍याउने गरेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको पहुँचमा लैङ्गिक भेदभाव विश्वभरी नै छ र अझै पनि त्यत्तिकै मात्रामा विद्यमान रहेको पाईन्छ ।


पिसाब तथा मिर्गौलाको संक्रमण महिलामा ज्यादा पाईन्छ । पिसाबको संक्रमणका कारण मात्र बर्षेनी १ करोड भन्दा बढी पटक स्वास्थ्य संस्था धाउनु पर्ने बाध्यता छ । शुरुकै अवस्थामा उपचार नगरेमा संक्रमण फैलिंदै मिर्गौला सम्म पुगेर गम्भीर अवस्था निम्त्याउन सक्दछ । पिसाब तथा मिर्गौलाको संक्रमण गर्भावस्थामा अरु बढी खतरा हुन सक्दछ ।


महिलाहरुमा बढी दीर्घकालीन मिर्गौलाको रोग

शरिरको बनावट आदि कारणले महिलाहरुको स्वास्थ्य फरक किसिमको हुन्छ । गर्भधारण गर्ने उमेरका महिलाहरुमा पुरुषहरुमा भन्दा फरक किसिमको मिर्गौलाका समस्याहरु देखा पर्ने गर्दछ ।


दीर्घकालीन मिर्गौलाको रोगबाट पीडित महिलाहरुलाई परिवार नियोजनको खाने चक्की ‘पिल्स’ खान निरुत्साहित गरिन्छ किनकि ‘पिल्स’ ले उच्च रक्तचाप अझ बढाउने र अनावश्यक तवरले रगत जमाउने खतरा बढाई मिर्गौला रोगलाई अरु गम्भीर बनाउन सक्दछ ।


मिर्गौलाको दीर्घरोग भएका महिलाहरु गर्भवती हुँदा थप समस्याहरु आउन सक्दछ जसले आमा र बच्चा दुवैलाई खतरा हुन सक्दछ । दीर्घ रोगबाट पीडित नभएका महिलाहरु समेत गर्भवतीको अवस्थामा र प्रसवको समयमा ‘ईक्लाम्प्सिया’ तथा अन्य समस्याका कारण उच्च रक्तचाप र मिर्गौलामा थप समस्या पैदा गर्न सक्दछ । तसर्थ गर्भवती महिलाहरुमा शुरुदेखि नियमित स्वास्थ्य परीक्षण गर्नु अनिवार्य छ । ‘इक्लाम्प्सिया’ र उच्च रक्तचापले मिर्गौला ‘फेल’ गराउन र मिर्गौलाको दीर्घकालीन रोग निम्त्याउन सक्दछ ।


आफ्नै शरीरलाई आक्रमण गर्ने कतिपय ‘अटोईम्युन’ रोगहरुले बच्चा जन्माउने उमेरका महिलाहरुमा ज्यादा आक्रमण गर्ने गर्दछ र भ्रुणमा गम्भीर असर पार्न सक्दछ । कुनै पनि तहको दीर्घकालीन मिर्गौला रोगीहरुमा गर्भावस्थाको समय प्रतिकुल असर पर्ने गर्दछ र बच्चा जन्मे पछि पनि रोगको गम्भीरतामा अझ वृद्घि हुने गर्दछ जसले गर्दा दीर्घकालीन मिर्गौलाका रोगीहरुमा गर्भधारण गर्ने कि नगर्ने तथा गर्भ रहेमा गर्भ जारी राख्ने कि नराख्ने भन्ने नैतिक प्रश्न खडा हुन्छ ।


महिलाहरुमा डायलासिस गर्दा समेत फरक खालको जटिलता आउने गर्दछ । नेपालमा प्रत्यारोपण गराईएकाहरुको तथ्यांक हेर्ने हो भने अधिकांश (७० प्रतिशत) मिर्गौला दाताहरु महिलाहरु छन् भने मिर्गौला ग्रहण गर्नेहरु अधिकांश (८० प्रतिशत) पुरुषहरु छन् । श्रीमान स्वस्थ रहेमात्र मेरो जीवनको अर्थ रहन्छ भन्ने समर्पणको भाव देखाउने श्रीमतीहरु, छोराको लागि सदैव मिर्गौला दानदिन तयार हुने आमाहरु तथा बुवालाई जसरी पनि बचाउन चाहने छोरीहरु सहजै आफ्नो दुई मध्ये एक मिर्गौला दान दिई मिर्गौला ‘फेल’ भएका आफ्ना पुरुष नातेदारलाई बचाउन तम्तयार हुन्छन् । यसको विपरित पुरुषहरु आफ्नो महिला नोतदारको मिर्गौला फेल भएमा आफ्नो मिर्गौला दान दिएर बचाउन खोजेको उदहारण अत्यन्तै कम पाईन्छ ।


स्थापनाको ५ वर्ष मै भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र) ले देशमा मिर्गौला रोगको रोकथाम, उपचार र मिर्गौला ‘फेल’ भएकाहरुका लागि अत्याधिक संख्यामा डायलासिस सेवा र प्रत्यारोपण सेवा उपलव्ध गराउँदै आएको छ ।


शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानको अग्रणी भुमिका तथा देशका अग्रज समाजसेवी, राजनितिज्ञ, कलाकार तथा पत्रकार आदि सबैको सहयोगमा नेपाल सरकारले अंगदान तथा प्रत्यारोपण कानूनमा व्यापक सुधार गरी उदार ऐन र नियमावली लागू गरिसकेको अवस्था छ ।


अब स्वस्थ व्यक्तिले अंगदान गर्न परे आफ्नो नातेदारको दायरामा व्यापक फराकिलो बनाइएको छ भने आफ्नो नातेदार भित्र प्राविधीक रुपले म्याच नभएको अवस्थामा दुई परिवारबीच साटासाट गरेर पनि मिर्गौला प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ । यसै शिलशीलामा यस केन्द्रमा १७ जोडीबाट ३४ जनाको मृगौला प्रत्यारोपण भइसकेको छ ।


सबैभन्दा महत्वपूर्ण कुरा देशमा प्रत्येक वर्ष सवारी दुर्घटनाबाट हुने मष्तिस्क मृत्युबाट प्राप्त हुन सक्ने विभीन्न अंगहरुको सही उपयोग गरी प्रत्यारोपण गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्दछ । गत आर्थिक वर्षमा २०७३/७४ मा सडक दुर्घटनामा २,११५ जनाको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र वर्षेनी १,००० जनाको मष्तिस्क मृत्यु हुने अनुमान छ । १ जना मष्तिस्क मृत्यु भएको व्यक्तिबाट २ मिर्गाैला, २ फोक्सो, १ कलेजो, १ मुटु, १ प्यांक्रियाज, १ सानो आन्द्रा लगायत ८ महत्वपूर्ण अंगहरु प्रत्यारोपाण गरी ८ जनाको ज्यानबचाउन सकिन्छ ।


जलाएर खरानी भएर जाने वा गाडेर खेर जाने यी अंगहरु दान दिंदा प्रत्यारोपितको शरीरमा ती अंगहरु बाँची राख्ने र ‘अंग फेल’ भएका व्यक्तिहरुलाई पनि अरु स्वस्थ व्यक्ति सरह बचाउन सक्ने जस्तो पवित्र कार्यमा हामी सबै आजै देखि सम्मिलित हुनु उचित हुन्छ । मष्तिस्क मृत्यु भएका व्यक्तिबाट प्राप्तहुने अङ्ग प्रत्यारोपण व्यवस्थापन गर्नको लागी नेपाल सरकारले शहीदधर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्दलाई ऐनमार्फतनै समन्वय इकाइको जिम्मा दिएको छ ।


तसर्थ कुनै पनि अस्पतालमा मष्तिस्क मृत्यु भएमा उक्त केन्द्रलाई अनिवार्य सुचना गर्नु पर्दछ र तत्पस्चात मात्र मष्तिस्क मृत्यूबाट हुने अङ्ग प्रत्यारोपण कार्य सहज रुपले अगाडी बढ्न सक्दछ । मष्तिस्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला वितरणमा नेपालको प्रत्यारोपाण कानून संसार मै महिला मैत्री बनाइएको छ ।


साधारणतया बढी पर्खाईमा बसेका र राम्रो म्याच भएकाहरुलाई मष्तिस्क मृत्यु भएकोबाट प्राप्त मिर्गौला पाउने गरी प्राथमिकताक्रम तोकिएको हुन्छ भने हाम्रो देशमा यसरी प्राप्त मिर्गौला वितरणमा महिलाहरुले ३ नम्बर र पुरुष रोगीलाई १ नम्बर पाउने व्यवस्था गरी महिलाहरुलाई अत्याधिक प्राथमिकतामा राखिएको छ ।


स्वस्थ व्यक्तिबाट हुने मिर्गौला दानमा आफन्तहरुले पुरुषहरुलाई एक तर्फी रुपमा दिने तथ्यांक भएको हुँदा मष्तिस्क मृत्युबाट प्राप्त अंग महिलाहरुले बढी पाउने व्यवस्था मिलाईएको हो । युसअघि मानब अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानको संयुक्त प्रयासमा महिलालाई आफ्नो पुरुष नातेदारले मिर्गाैलादान दिएको खण्डमा प्रोत्साहान स्वरुप पिडित परिवारलाइ रु. ५०००० दिने व्यवस्था गरेको थियो । अङ्गदान र प्रत्यारोपण कार्यमा ब्यापक वजचेतना अभिबृद्धि गर्नु हामि सबैको कर्तब्य हो ।


मिर्गौला रोगको प्रकोप जुन किसिमले बढीरहेको छ, तुलनात्मकरुपमा उपचार सेवा बढ्न सकेको छैन । सरकारले अहिले प्रत्येक अंचल अस्पतालमा डायलासिस सेवा उपलव्ध गराउने प्रयास गरिरहेको छ जसलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सक्रियतापुर्वक सघाईरहेको छ ।

मिर्गौला फेल हुँदा आवश्यक पर्ने अत्यन्तै महंगो डायलासिस र मिर्गौला प्रत्यारोपण सेवा नेपाल जस्तो कम विकसित मुलुकमा पूर्णतया नि:शुल्क गरिएको छ । वार्षिक करिब ३०,००० सेसन डायलाईसिस तथा १५० देखि २०० जनासम्म मिर्गौला प्रत्यारोपण गर्ने गरेको यस केन्द्रले विगत ५ वर्षको अवधीमा ९७ प्रतिसत सफलताका साथ ४१० जनाको मिर्गौला प्रत्यारोपण र २ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।


देशको ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न सके अधिकांश मिर्गौला फेल भएका दाजुभाई, दिदीबहिनीहरुले बाँच्ने मौका पाउँदथे । यसको लागि यस प्रत्यारोपण केन्द्र सरकारलाई सघाउन तत्पर छ ताकि कोही पनि नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले मिर्गौला फेल भई उपचार नपाएको कारण मृत्यु वरण गर्न नपरोस् । महिलाको स्वास्थ्य राम्रो रहेमा मात्र पुरा परिवार स्वस्थ रहन्छ र राष्टलाई समृद्ध बनाउन मद्धत पुग्दछ ।


(लेखक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठान संग आवद्ध छन्)


[email protected]


प्रकाशित : फाल्गुन २४, २०७४ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?