बच्चालाई अनुशासित कसरी बनाउने ?

डा. दिनेश धरेल

काठमाडौँ — तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ भन्ने सुन्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ ?

कहिले खान नमानेर, कुनै चिज मागेर र अझ कहिले त अरू बच्चासँंग झगडा गरेर दिक्क बनाएको बेला उसलाई अनुशासनमा राख्न तपाईंले अनेक उपाय लगाउने गर्नुभएकै होला । बच्चाले भनेको किन मान्दैन भन्ने सोच्नुभएको छ ?

एक–दुई वर्षसम्म बच्चा तपाईंसंँग निर्भर हुने गथ्र्याे । उमेर बढ्दै गएपछि उसको आफ्नोपन बढ्दै जान्छ, अनि स्वतन्त्रतामा आनन्दित र अझ बढी सुरक्षित महसुस गर्न थाल्छ । केही हदसम्म उसमा विद्रोही भावना पनि आइसकेको हुन्छ । अझ महत्त्वपूर्ण कुरा त ऊ आफ्नो संवेगलाई नियन्त्रण गर्न बल्ल सिक्न थालेको हुन्छ । त्यसका लागि समय लाग्छ र निरन्तर अभ्यास पनि चाहिन्छ । बच्चाले भनेको नमान्दा हामीलाई रिस उठ्न सक्छ । कहिलेकाहीं त हामी रिस नियन्त्रण गर्न सक्दैनौं र बच्चालाई सजाय दिन्छौं । यो राम्रो हैन भन्ने हामीलाई थाहा छ । के गर्न सक्छौं त यस्ता जिद्दी बच्चालाई ?

Yamaha

अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैंलाई नियन्त्रणमा राख्न सिक्नु हो ।

पहिलो कुरा त हामीले यस्तो किन भएको हो भन्ने बुझ्नुपर्‍यो । उदाहरणका लागि बच्चालाई खाना खान बोलाउनुभयो, तर ऊ आउनै मान्दैन । जबर्जस्ती तानेर वा गाली गरेर ल्याउनुभयो भने ऊ रुन्छ । एक पटक आफूलाई उसको ठाउँमा राखेर हेर्नुस् त । ऊ खेलिरहेको छ र उसलाई त्यो कुरा मन परिरहेको छ । तपाईं ऊ खेलिरहेको ठाउँमा गएर माया गरेर अँगालो मार्नुस् र भन्नुस् कि ‘तिमीलाई खेल्न मज्जा आइरहेको मलाई थाहा छ, तर खाना तयार छ, सेलाउँछ, पहिला खान खाऊ अनि खेल्ने, बरु म पनि सँंगै खेल्छु ।’ यसो गर्दा उसले खेल्न नपाउनुको कारण तपाईंलाई ठान्दैन । बरु तपाईं उसको पक्षमा हुनुहुन्छ भन्ने सोच्छ । उसलाई नरिसाइकनै खेल्न छुटाउनुहोस् र खाना खाने टेबलमा भने अवश्य ल्याउनुहोस् ।


दोस्रो तरिका भनेको कुनै पनि कुराको निश्चित सीमा तोकिदिनु हो । बच्चालाई कुन कुरा गर्नुपर्छ र कुन कुरा कुनै हालतमा गर्नुहुन्न भन्ने थाहा दिनुपर्छ । वास्तवमा उनीहरूलाइ यस्तो सीमारेखा तोकिदिएको मन पनि पर्छ । उदाहरणका लागि सडकमा बाटो काट्दा उसले तपाईंको हात समात्नैपर्छ भन्नुहोस् । उसको साथीले खेलौना खोसिदियो भने पिटेर लिने हैन, मेरो खेलौना देऊ भनेर मागेर लिनपर्छ भन्नुहोस् । उसको एकदमै मनपर्ने खेलौना उसलाई जतिखेर पनि चाहिन्छ भने खास–खास बेलामात्र लिन पाउने नियम बनाएर पालना गराउनुहोस्, नकि रिसाएर खोसिदिने ।

कहिलेकाहीं उनीहरूलाई सीमा तोकिदिए वा नियम बनाए अनुसार पालना गराउन सकिँदैन । यस्तो बेला कुनै समाधान खोज्नुपर्छ । जस्तै– तपाईंको चार वर्षको छोरोले एक वर्षकी छोरीलाई जति गरे पनि पिट्न छोडेन । सम्भवत: ऊ बहिनीको कारण आफूले आमाको समय नपाएर बहिनीलाई पिट्दैछ होला । उसलाई बहिनीलाई खुवाउने वा कपडा लगाइदिने काममा आफूसंँगै संलग्न गराउन सक्नुहुन्छ । अनि सकेसम्म उसका लागि पनि विशेष समय निकाल्नुपर्ने हुन्छ ।

बच्चालाई अनुशासनमा राख्ने अर्को तरिका भनेको राम्रो व्यवहारलाई प्रोत्साहन गर्नु हो । तपाईंले उसले नराम्रो गरेको बेलामात्र समात्ने नगरेर केही राम्रो गरेको कुरा याद गरेर त्यसका लागि स्याबासी दिने गर्नुभएको छ भने उसले राम्रो बानीलाई अंँगाल्न थाल्छ । जस्तो कि उसले साथीलाई केही कुरा दिइरहेको देख्नुभयो भने यसरी नै मिलेर खेल्नुपर्छ है भन्नुस् । ऊ खेलौना साटासाट गर्न झन् खुसी हुनथाल्छ । त्यस्तै बच्चाले कुनै गल्ती गरेको बेला ऊ आफै नराम्रो मानिरहेको हुन्छ । यस्तो बेला उसलाई तुरुन्तै गाली नगर्नुस् । बरु शान्त भएर रिस उठेको बेला के गर्नुपर्छ भन्ने उदाहरण देखाउनुहोस् । सजाय दिँदा केही बेरका लागि डराएर पनि उसले राम्रो गरेजस्तो देखाउला वा नराम्रो नगर्ला । तर बच्चाले मनपरेर वा आफूलाई खुसी लाग्ने भएकोले कुनै कुरा गर्छ भने त्यो दिगो हुन्छ । हाम्रो प्रयास बच्चालाई सकारात्मक व्यवहार प्रोत्साहन गर्नेतिरै केन्द्रित हुनुपर्छ ।

जब हामी बच्चालाई आफै केही कुरा रोज्ने वा आफ्नो इच्छाले कुनै राम्रो काम गर्ने अवसर दिन्छौं, उसले आफ्नो नियन्त्रित वातावरणमा केही आफ्नोपन वा स्वतन्त्रता महसुस गर्न पाउँछ । जस्तै– बच्चाले कोठाभित्रै बल खेलेर टिभी भएतिर हान्दैछ भने कोठामा बल नखेल भन्नुको सट्टा बाहिर गएर एकछिन सँंगै खेलिदिनुस् । अनि उसले बल खेल्न बाहिर जानुपर्छ भन्ने सिक्छ । कहिलेकाहीं उसलाई जित्न पनि छोडिदिनुपर्छ । जस्तो कि कुनै दिन उसले रातो ट्राउजरसंँग निलो धर्का भएको सेतो टिसर्ट नै लगाउन झगडा गर्दैछ भने लगाउन दिनुहोस् । कुन कुरामा कडाइ गर्ने र कुन कुरा स्वतन्त्र छोडिदिने भन्ने विचार गर्नुपर्छ ।

अनुशासन सिकाउँदै गर्दा बच्चाको उमेर र उसको क्षमता सधंै मनन गर्नुपर्छ । बच्चालाई कुनै सीप सिक्न समय लाग्छ र तपाईंको अलिकति मिहिनेत पनि । जथाभावी दिसापिसाब गर्‍यो भनेर रिसाउनु वा गाली गर्नुभन्दा उसलाई सही समयमा सही तरिकाले ट्वाइलेट जान अभ्यस्त गराउनुपर्छ । तपाईंले बच्चाले भनेको मानेन भन्ने सोचेको कुरा कतै उसले सिकेकै पो छैन कि ? अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैलाई नियन्त्रणमा राख्न सिक्नु हो । फेरि बच्चाको समय र हाम्रो समय एउटै हैन । उसले सोच्ने तरिका र हामीले सोच्ने तरिका पनि एउटै नहुन सक्छ । उसलाई समय दिनुपर्छ, माया गरेर ढाडस दिँदै सिकाउनुपर्छ र जिद्दी गर्दैमा सबै कुरा पाइन्छ भन्ने सोचाइ आउनबाट पनि बचाउनुपर्छ ।

प्रकाशित : चैत्र ९, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कांग्रेस नवजीवनको मार्गचित्र

रामचन्द्र पौडेल

काठमाडौँ — नेपाली कांग्रेस अब करिब ५ वर्षका लागि सत्ता बाहिर पुगेको छ । प्रतिपक्षमा रहेर कांग्रेसले देश, जनता र लोकतन्त्रका लागि के गर्नेछ, के गर्नुपर्छ ? कसरी चल्छ ? आजको मूल सवाल यही हो ।

कांग्रेसले हालैका निर्वाचनमा भोगेको अनुभव र परिणामका कारण आफैभित्र खोज्नुपर्छ । संघीय संसदका दुवै सदन, ७ वटै प्रदेशसभा र अधिकांश स्थानीय तहमा नेपाली कांग्रेस अत्यन्त न्यून उपस्थितिमा पुगेको छ । अर्कोतिर हाम्रो प्रतिपक्ष दुई तिहाइ बढी संख्या ओगटेर देशका संवैधानिक निकाय, प्रशासन यन्त्र तथा सामाजिक संघ/संस्थाउपर नियन्त्रण कायम गरी संविधानलाई समेत आफू अनुकूल प्रयोग गर्नसक्ने अवस्थामा पुगेको छ । त्यस्तो परिस्थितिमा हाम्रो साथमा अब बाँकी के छ ?

केवल नेपाली जनताको भरोसा । जनतालाई आफ्नो पक्षमा पार्न तिनको मन जितेर जनतालाई प्रभाव पारी शक्ति सञ्चय गर्दै अघि बढ्नु बाहेक हामीसँग अरू उपाय बाँकी छैन । हामीप्रति जनतामा आकर्षण र जनविश्वास आर्जन गर्न कांग्रेसले कस्तो छवि, कस्तो आचरण, कस्तो नैतिक चरित्र प्रदर्शन गर्नुपर्छ ? वर्तमान विकर्षणको अवस्थाबाट आकर्षणको अवस्था कसरी पैदा गर्ने ? मैले तह्रौं महाधिवेशन उद्घाटनमै भनेको छु– राजनीतिलाई सम्मानित विषय कसरी बनाउने ? राजनीतिप्रति जनताको वितृष्णा कसरी हटाउने ?

राजनीतिलाई सम्मानित तुल्याउन राजनीतिक दलहरूको क्रियाकलाप र आचरण जनताले श्रद्धा गर्ने खालका हुनुपर्छ । नेपाली कांग्रेस जनताको आशाको केन्द्र बन्न कांग्रेसलाई आफ्नो राजनीतिक आस्थामा, आफ्नो संस्कारमा, आफ्नो संस्कृति र मूल्य–मान्यतामा हिंँडाउने काम हामीले गर्नुपर्छ । कांग्रेस आफ्नो धर्मबाट विचलित भए यसलाई आफ्नै आचरणमा हिँडाउनुपर्छ । नेपाली कांग्रेसको संस्कृति भनेको लोकतान्त्रिक संस्कृति हो । लोकतान्त्रिक संस्कृति मूलत: अहिंसाको दर्शनमा अडेको हुन्छ । अहिंसाको दर्शनले मान्छेको हृदय परिवर्तन गर्ने र पक्षमा ल्याउने कुरालाई मान्यता दिन्छ । हृदय परिवर्तन भौतिक शक्तिका आधारमा हैन, नैतिक शक्तिका आधारमा सेवा र सत्कर्म अनि सदाचारका आधारमा गर्न सकिन्छ ।

नेपाली कांग्रेसको सिद्धान्तले सधैं सफलता प्राप्त गर्ने तर कांग्रेस भने चुनावमा पराजित किन हुने ? कांग्रेसको सिद्धान्त र नेपालको राजनीतिमा यसको योगदान, यसको व्यापक जनाधार तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको विश्वसनीयताका आधारमा यसले एकछत्र विजय हासिल गर्न किन सकेन ? किन सकेन भने जनताले कांग्रेस भनेर यसको सिद्धान्त, आदर्श र इतिहासलाई भन्दा हामी नेता/कार्यकर्ताको आचरण र व्यवहार प्रत्यक्ष देखिरहेका हुन्छन् । हामीलाई हेरेर जनताले कांग्रेसको मूल्याङ्कन गर्छन् । त्यसैले धर्मछाडा कांग्रेस हुनुभएन, आफ्नो संस्कार, संस्कृति र आचरण विमुख हुनुभएन । कांग्रेस सुधारिएर अगाडि बढ्न, जनताको विश्वास हासिल गर्न आफ्नो आचरण सुधार गर्ने, सुध्रिन नसक्नेलाई किनारा लगाएर अघि बढ्नुको कुनै विकल्प छैन । कांग्रेसमा जनसेवी र सदाचारी कार्यकर्ता नभएको हैन, गाउँ–गाउँमा छन् । तर तिनीहरू क्रमश: पछाडि पारिँदैछन् । पैसा र बाहुबलको प्रभाव बढ्दैछ ।

इतिहासको नेतृत्व गरेको कांग्रेसलाई वर्तमान मात्र होइन, नेपाली राजनीतिक भविष्यको समेत मार्गदर्शन गर्नसक्ने शक्ति बनाउन तत्कालै पार्टीको घोषित उद्देश्य प्राप्त गर्नेगरी चुनावी घोषणापत्रका प्रतिबद्धता पूरा गर्न, जनताका दैनिकीमा सरोकार स्थापना गर्न पार्टीले विस्तृत कार्ययोजनासाथ क्रियाशील हुन आवश्यक छ । अब कोरा कुरा, कल्पना र साँगुरो हृदयले मात्र पार्टीले पूर्ण गति पाउने छैन । त्यसका लागि कुन काम पार्टीको कुन निकाय, समिति, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाले गर्ने, कहिलेसम्म गर्ने, ती उद्देश्य पूरा गर्न कस्ता क्रियाकलाप गर्ने, अपेक्षित परिणाम के प्राप्त गर्ने ? योजना कार्यान्वयनमा मुख्य जिम्मेवार र सहायक जिम्मेवार निकाय कुन–कुन रहने भनी स्पष्ट किटानी गरी विस्तृत कार्ययोजना बनाउनुपर्छ । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक बुद्धिजीवीलाई पार्टीभित्र ‘उपयुक्त व्यक्ति, उपयुक्त जिम्मेवारी’का आधारमा सबैलाई समेटेर उक्त कार्ययोजना कार्यान्वयन गरी कांग्रेसलाई सशक्त बनाएर पुन: नेपाली राजनीतिको मूलशक्ति बनाउन सकिएन भने देशमा लोकतन्त्र कमजोर हुनेछ । कांग्रेसको इतिहास अप्ठेरोमा पर्नेछ । युवा र आम जनताले कांग्रेस र प्रजातन्त्रप्रति राखेका भरोसा भताभुङ्ग हुनेछन् । तत्कालीन र दीर्घकालीन रूपमा पार्टीले सम्पन्न गर्ने विस्तृत कार्ययोजना नबनेसम्मका लागि तत्काल निम्न सन्दर्भ र कार्यमा पार्टीले विशेष ध्यान दिनुपर्छ ।

  • यो अवधिमा कांग्रेसले दुइटा कुरा मुख्य रूपमा सँगसँगै गर्नु पर्नेछ । एउटा, सत्तालाई ठिकसँग चल्न दबाब दिने र अर्को आफैलाई सुधार गरेर ठिक बाटोबाट दृढतापूर्वक अगाडि बढ्ने ।
  • देशमा राजनीतिक व्यवस्थाको टुङ्गो लागिसकेको र संघीयतामा गइसकेको सन्दर्भमा, अब समृद्धिको यात्रामा अगाडि बढ्न पार्टीले दबाबकारी समूहको भूमिका खेल्नेमात्र हैन, आफ्नै हैसियत र पहुँचको आधारमा आर्थिक, सामाजिक क्षेत्रमा योगदान दिँदै जाने । आफूले जितेका स्थानीय तहमा स्रोत परिचालन कसरी भएको छ ? लक्षित वर्ग कति लाभान्वित भए, योजनाबाट खुद कति भौतिक लक्ष्य पूरा भयो ? किन काम हुन सकेनन् ? जस्ता विषयमा जनतासँग नजिकको अन्तरक्रियात्मक सम्बन्ध राख्ने । साथै अन्य स्थानीय तहमा कसरी काम भइरहेका छन् भनी जनाताई सुसूचित गराउने ।
  • हिंसा र हतियारले हैन, विचारले देश चलाउने दर्शनको पक्षमा जनमत निर्माण गर्न हरदम प्रयत्नशील रहने । तर्क र विवेकको आधारमा समाज सञ्चालन हुने संस्कृतिको विकास गर्ने ।
  • प्रजातान्त्रिक समाजवादीको उद्देश्य सत्ता प्राप्ति र सत्ता परिवर्तन मात्र होइन । समाज बदल्ने र युग अनुसारको निर्माण गर्ने पनि हो । राज्यको संरचनात्मक स्वरूपमात्र बदल्ने होइन, राज्यको चरित्र बदल्ने हो । राज्यको पुन:संरचना भनेको भौगोलिक, प्रशासनिक स्वरूपको पुन:संरचना मात्र हैन, राज्यको चरित्रको पुन:संरचनाको अर्थमा हामीले लिनुपर्छ ।
  • राज्यको केन्द्रीकृत चरित्र, शासक चरित्र, दमनकारी चरित्र, पक्षपाती चरित्र, एकात्मक चरित्रको सट्टा विकेन्द्रित चरित्र, सेवक चरित्र, न्यायिक चरित्र, निष्पक्ष र समदर्शी चरित्र तथा बहुलवादी चरित्र निर्माण गराउन हामीले प्रयत्न गर्नुपर्छ । अथरोटोरियन (पूर्ण अधिकारवादी) चरित्रको सट्टा लोकतान्त्रिक चरित्र निर्माण गराउन कांग्रेसले सम्पूर्ण शक्ति लगाउनुपर्छ ।

वाम गठबन्धनका चुनौती
अहिलेका सत्ताधारीहरू हिजोका आफ्ना सबै प्रतिबद्धता र मान्यतालाई धरौटी राखेर पनि जसरी हुन्छ, दुई तिहाइ बढी बहुमत जुटाउनतिर लागेको देखियो । किन खोजिँदैछ, दुई तिहाइ मत ? आरामदायी बहुमत छँदै थयो । यसमा सर्वसत्तावादको गन्ध आउँछ । अहिलेको सत्ता गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक ? कुन अभिष्टका लागि यसो गरिएको छ ? सर्वसत्तावादको छनक देखिएको छ । दुई तिहाइको खोजी भनेको सहज रूपले सत्ता चलाउने उपायको खोजीमात्र नभई संविधान र संवैधानिक निकायलाई आफू अनुकूल प्रयोग गर्ने र चलाउने अभिलाषाको द्योतक हुनसक्ने सम्भावनाप्रति कांग्रेस सजग हुनुपर्छ ।

हालै केही स्वतन्त्र हैसियतमा हुनुपर्ने विभिन्न निकायलाई प्रधानमन्त्री मातहत लगिएको छ । यस्तो केन्द्रीयताले स्वतन्त्र निकायलाई कमजोर बनाउनेछ । यसमा पूर्ण सत्ताको अभिलाषा प्रस्ट देखिन्छ । यहाँनेर एउटा भनाइ पनि छ, ‘सत्ताले मानिसलाई भ्रष्ट बनाउँछ, पूर्ण सत्ताले सम्पूर्ण रूपमै भ्रष्ट बनाउँछ ।’ वर्तमान सत्तात्यतै जान खोजेको त हैन ? कांग्रेसले यो प्रवृत्तिबाट देशलाई जोगाउने नैतिक शक्ति राख्नुपर्छ । पक्षपात एमालेको चरित्र हो । यो सरकारले राज्यमा पक्षपातको सुरुवात गरिसकेको छ । योजना निर्माण, राज्यको साधनस्रोत वितरण, विकास अभियान, न्याय सम्पादन, प्रशासन लगायत हर क्षेत्रमा पक्षपातपूर्ण बोलाबालाको सुरुवात भएको छ । कांग्रेस लगायत आफू इतरकालाई कतै ढिम्किन नदेऊ भनेर यो सरकारले घोर पक्षपात गर्नेछ । त्यस्तो पक्षपात विरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनु पर्नेछ । समानता विरोधी चरित्र परास्त गर्न आम जनताको साथमा कांग्रेस रहनुपर्छ ।

केन्द्रीकरण वामपन्थी धर्म र नीति हो । यो सरकारले संविधानले प्रदेश र स्थानीय तहलाई दिएका अधिकारहरूसमेत केन्द्रमै खिचेर आर्थिक स्रोत र प्रशासनिक शक्तिको स्वेच्छाचारी प्रयोग गर्ने छनक देखाएको छ । त्यस विरुद्ध कांग्रेसले स्थानीय तह तथा जनातालाई सुसूचित गर्दै सशक्त बनाउन वैचारिक आन्दोलन उठाउनुपर्छ । तल्लोभन्दा तल्लो तहमा रहेका जनताका अधिकार, सुविधा र सशक्तीकरणका लागि क्रियाशील रहनुपर्छ । यिनले सम्पूर्ण राज्य संयन्त्र कब्जा गर्नेमात्र हैन, सम्पूर्ण सामाजिक सयन्त्र नै नियन्त्रणमा राख्ने प्रयास गर्नेछन्, त्यस निम्ति राज्यका स्रोत र साधनको दुरुपयोग गर्नेछन् । त्यस विरुद्ध सजग भएर सक्रियता बढाएर जनताको सङ्घर्षलाई पार्टीले साथ दिनुपर्छ । नारामा समानताको सबभन्दा चर्को नारा लगाउँदै आएका तर आफ्नो दलका कार्यकर्ताको मात्र भरणपोषण गर्दै राज्यमा ‘नयाँ वर्ग’को हालीमुहाली गराउने काम यो सत्ताले गर्नेछ । त्यस विरुद्ध प्रबल जनमत निर्माण गरेर जनतालाई जगाउने र साथमा लिने काम कांग्रेसजनले गर्नुपर्नेछ ।

हाम्रो पालामा भएका उपलब्धि
खास गरिकन २०४७ सालको राजनीतिक परिवर्तनको अगुवाइपश्चात नेपाली कांग्रेसले न केवल आर्थिक उदारीकरणको जग हाल्यो, ग्रामीण विकासको जग बसाल्दै स्वास्थ्य, शिक्षा, खानेपानी, गरिबी निवारण, पर्यावरणीय सुरक्षाको साथै भौतिक पूर्वाधार बाटा–घाटा तथा सञ्चार माध्यमको निर्माण र प्रबद्र्धन गर्ने कामसमेत गर्‍यो । आज विदेशी तथा स्वदेशीय तथ्याङ्कहरूले प्रस्ट पारेका छन् कि नेपालले उल्लेखित क्षेत्रहरूमा सकारात्मक उपलब्धि हासिल गर्न सफलता प्राप्त गरेको छ । वर्तमान नेपालको साक्षरता प्रतिशत उल्लेख्य रूपमा बढेको छ । जनसंख्याको एकातिर मृत्यु उमेर बढेको छ भने अर्कोतर्फ ‘युवा जनसंख्या’को प्रतिशत इष्र्यालाग्दो ढंगले बढेको छ । त्यस्तै शिक्षाको क्षेत्रमा पनि देशले फड्को मारेको छ ।

तर विकासका साथसाथै देशमा चुनौतीहरू पनि देखापरेका छन् । विकासको ‘बाइप्रडक्ट’का रूपमा आएका चुनौतीलाई कांग्रेसले सम्बोधन गर्न ठोस योजना प्रस्तुत गर्नु आवश्यक रहेको छ । यिनै सन्दर्भमा वर्तमान नेपालमा रणनीतिक निकायहरू जस्तै– न्यायालय, सुरक्षा निकाय, भ्रष्टाचार नियन्त्रण निकाय तथा कर्मचारी यी सबै यात राजनीतिकृत भएका छन् वा भावनाहीन अवस्थामा छन् । यिनीहरूको सुधार अति आवश्यक रहेको छ र त्यसका लागि संकल्प सहितको घोषणा गर्नुपर्छ ।

पार्टी भित्रका चुनौती
भ्रातृ संस्थाहरूको निर्माण कुन उद्देश्य र औचित्यको आधारमा भएको हो, त्यही अनुरुप चल्नेगरी तिनको पुन:संरचना गरी क्रियाशील गराउनुपर्छ । पार्टीले गत निर्वाचनहरू र पार्टी अधिवेशनहरूमा जारी गरेका घोषणा अनुरूप कार्यक्रम लागू गर्दै जानुपर्छ । लागू गर्न सरकारलाई दबाब दिने र जनतालाई भन्ने हाम्रो धारणा हो । स्थानीय तह र प्रदेश तहका कामकारबाही, बजेट परिचालन, विकास निर्माण सञ्चालनका हर पहलुमा स्थानीय
पार्टी कार्यकर्ता सचेत र सजग रही खबरदारी गर्न सक्रिय हुुनुपर्छ । जनतालाई सचेत गराउने र आवश्यकता अनुसार सङ्घर्ष गर्नुपर्छ ।

सत्ता गठबन्धनका पार्टीबीच एकीकरणको घोषणा भइसकेपछि पनि त्यसलाई औपचारिक नगरेको बहाना बनाएर अलग–अलग पार्टीका व्यक्ति रहनुपर्ने संवैधानिक निकायमा दुवै आफ्नै मान्छे राख्ने प्रपञ्चको विरोध र भण्डाफोर गर्नुपर्छ । यस्तै, संविधानले प्रदान गरेका मौलिक अधिकार तथा अन्य अधिकार जनताले उपयोग गर्न पाए, पाएनन् निरन्तर लेखाजोखा गनुपर्छ।

अब के गर्ने ?
पार्टीलाई ‘सेन्टर राइट’ झुकावबाट ‘केन्द्रमा’ वा ‘मध्यमार्ग’मा राख्नुपर्छ । मध्यमार्ग हाम्रो मूलधर्म हो । पार्टीका कार्यकर्तालाई मिलाई मूल्याङ्कनको आधारमा सञ्चालन गर्दै नयाँलाई क्षमता र औचित्य तथा पुरानालाई त्यागको आधारमा निरन्तरताको अवसर प्रदान गर्नुपर्छ। कांग्रेसलाई नवजीवन दिन अठोट गरेर अघि बढ्नुपर्छ ।

यस्तै, पार्टीको महासमिति बोलाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुरूप नयाँ विधान पारित गरी त्यो संरचना अनुसार पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौधौं महाधिवेशनमा तुरुन्तै जानुपर्छ । पार्टीमा सही नेतृत्व विकास गर्न कांग्रेसलाई कांग्रेसकै रूपमा राख्न सही क्रियाशील कार्यकर्ताको सूची तयार गरी निश्चित मापदण्ड अपनाएर मात्र तिनीहरूलाई क्रियाशील सदस्यता फर्म भर्न र नवीकरण गर्न लगाउनुपर्छ ।

नेपाली समाज र नेपालको प्रजातान्त्रीकरण र त्यसलाई सम्बद्र्धन गर्ने अभियानका लागि टोल–टोलसम्म प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट एकताको परिणाम नेपाल एकात्मकतावाद र सर्वसत्तावादतिर उन्मुख हुँदैछ । यो प्रवृत्तिको सामना गर्नु कांग्रेसको मुख्य जिम्मेवारी हो । अतितमुखी हैन, भविष्यमुखी कांग्रेस हुनुपर्छ ।

समाजवादीको स्वर्ग भविष्यमा हुन्छ भनेर त्यस अनुरुपका क्रियाकलापमा जनताबीच आश्वस्त बनाउनुपर्छ । यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रमा कांग्रेस कस्तो हुने, कम्युनिष्ट एकताले निर्माण गरेको परिस्थितिमा कांग्रेस कसरी अगाडि बढ्ने, कांग्रेसजनमा नयाँ जाँगर भर्न के गर्ने, काम गर्ने कांग्रेस कसरी बनाउने, कांग्रेसलाई काम गरेस् कसरी बनाउने भन्ने विषयमा बहस हुनुपर्छ। केन्द्रीय समितिदेखि वडा र टोल समितिसम्म अकर्मण्यता छ । बैठकसम्म बस्दैनन् । एउटा पनि नयाँ मानिसलाई कांग्रेसमा आकर्षित गर्ने र पार्टीको सङ्ख्या र समर्थक बढाउने काममा कोही लागेको देखिन्न । कांग्रेसमा जाँगर भरेर जनतामाझ कसरी पुर्‍याउने भन्नेमा केन्द्रित हुनुपर्छ।

कांग्रेसका सबै तहमा विशेष पाठ्यक्रमसहित निरन्तर प्रशिक्षण र अन्तरक्रिया चलिरहन नितान्त आवश्यक छ । पार्टीका तलदेखि माथिसम्मका सबै सदस्यलाई कामको जिम्मा दिनुपर्छ । कार्यसमितिका सदस्यलाई केही न केही कार्यकारी जिम्मा दिनुपर्छ । काम नगर्नेलाई सचेत गराउनुपर्छ । अनुशासन, क्रियाशीलता एवं पार्टीको नीति र आदर्शप्रति प्रतिबद्धता कांग्रेस बन्न अनिवार्य सर्त हुन् । कांग्रेसले भ्रष्टाचारको कडा विरोध गर्ने सामथ्र्य राख्नुपर्छ । सुशासनको खोजीमा जनताको साथ लिएर अघि बढ्नुपर्छ । कम्युनिष्टको चरित्र नै केन्द्रीकरणको हुन्छ । कांग्रेसले केन्द्रीकरणको विरोध र स्थानीय तह तथा प्रदेश तहमा संविधानले दिएका अधिकार सहीसलामत पुर्‍याउन हर्दम आवाज दिइरहनुपर्छ । अनुशासनहीनता र अकर्मण्यताको अन्त्य गर्नुपर्छ ।


कांग्रेसजनले जनताको स्वार्थसंँग आफूलाई गाँस्न र हर सुख–दु:खमा जनतालाई सहयोग गर्न अग्रसर रहनुपर्छ । विकासमुखी, विपन्नमुखी र जनमुखी संगठन निर्माण गर्नुपर्छ । कांग्रेसले निमुखालाई न्याय र विपन्नलाई आयको समाजवादी आदर्शका लागि हमेशा प्रयत्नशील र सङ्घर्षशील रहनुपर्छ । पार्टी सहरमुखीभन्दा गाउँमुखी हुनुपर्छ । कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जाशक्तिको विकास गराएर गाउँमै बसौं–बसौं बनाउन सदैव प्रयत्नशील रहनुपर्छ । जुन क्षेत्रको नेतृत्व लिने हो, नियमित रूपमा त्यहीं खट्नुपर्छ ।

यस्तै, गाउँ–गाउँमा सहकारी संस्था, वन उपभोक्ता समिति र जल उपयोग र भू–उपयोग समिति, नदी नियन्त्रण समिति, टोल सुधार समिति, सामाजिक सुधार समिति खोलेर समाज र जनताको सेवामा क्रियाशील रहनुपर्छ । यतिन्जेल हाम्रा साथीहरूले गाउँ–गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार निर्माणमा अग्रसरता लिएका छन् । अब हाम्रा साथीहरू गाउँमा आम्दानी र रोजगारी बढाउनेतर्फ क्रियाशील रहनुपर्छ । हाम्रो आजको नारा नै ‘कर्मशील कांग्रेस’ हुनुपर्छ ।

राजनीतिक नियुक्ति र संवैधानिक नियुक्तिमा राजनीतीकरण र पार्टीकरणको विरोध गर्नुपर्छ र सम्बन्धित विज्ञलाई प्राथमिकता दिन दबाब दिनुपर्छ । आफूभित्र मात्र तानतुन र जोड–घटाउको नेतृत्वबाट यस्ता चुनौतीको सामना सम्भव छैन । यसका लागि स्वच्छ र उच्च नैतिक नेतृत्वको खाँचो पर्छ । उच्च मनोबलविना कम्युनिष्ट शक्तिलाई कडा चुनौती दिन सकिन्न । कांग्रेसजनले बेलैमा यो कुरा बुझ्नु जरुरी छ ।
पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन्।

प्रकाशित : चैत्र ९, २०७४ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्