कमरेडको हिन्दुस्तान यात्रा

सिउँडी
विमल निभा

काठमाडौँ — नेपालका प्रधानमन्त्री सरकारी कुर्सीमा सवार हुनासाथ सबभन्दा पहिले हिन्दुस्तानको यात्रा किन गर्ने गर्छन्, यो विचारणीय छ । मेरो विचारमा यसको एकभन्दा बेसी कारण हुनसक्छ ।

एक, छिमेकी मुलुक हिन्दुस्तान निकटस्थ मुलुक भएकोले कुनै खास बन्दोबस्तीको आवश्यकता हुँदैन । (यसो ख्यास्स गयो, अनि सरसर्ती ‘दिल्ली दर्शन’ गरेर आयो) । र अर्काे कारणाचाहिँं के हो भने कतै हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूहरू फगत हिन्दुस्तान यात्राकै निम्ति त प्रधानमन्त्री हुने गर्दैनन् ?

वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली यही अघोषित चलन बमोजिम छिमेकी मुलुक हिन्दुस्तानको यात्रामा सदलबल जाने भएका छन् । सम्भवत: यस्तो यात्रानीतिको थालनी प्राइमिनिस्टर जंगबहादुर राणाको बेलायत यात्राबाट भएको हो । यहाँनेर एउटा जायज प्रश्न तेर्सिन सक्छ–

Yamaha

जंगबहादुरको बेलायत यात्रा कसरी हिन्दुस्तान यात्रा भयो ? यसको सांगोपांग नालीबेली बुझ्न इतिहासमा जानुपर्ने हुन्छ । त्यसबखत छिमेकी मुलुक हिन्दुस्तानमा हिन्दुस्तानी नभएर बेलायती राज कायम थियो । त्यसैले हिन्दुस्तान एक प्रकारले बेलायत हुनगयो । अब हिन्दुस्तान बेलायत भयो भने बेलायत पनि स्वत: हिन्दुस्तान हुने भएन ? यही गाँठी कारणले म तत्कालीन प्राइमिनिस्टर जंगबहादुर राणाको बेलायत यात्रालाई सहजतापूर्वक हिन्दुस्तानको यात्रा पनि भन्ने गर्छु । दुवै महारानी भिक्टोरियाद्वारा डाइरेक्ट शाषित मुलुकहरूमा के अन्तर छ ? अत: बेलायत या हिन्दुस्तान (अथवा हिन्दुस्तान या बेलायत) जे नामले पुकारे पनि हुन्छ ।

त्यसबेलादेखि याने तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि यो हिन्दुस्तान यात्रा हालसम्म पनि अटुट नै रहेको छ । मेरो भन्नु के हो भने हाम्रो प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली शीघ्र हिन्दुस्तानको राजकीय यात्रामा जाँदैछन् । यसको अनौपचारिक जनाउ कमरेड ओली स्वयंले एक पुस्तकको लोकार्पण समारोहमा दिएका हुन् । यस प्रकार एकैचोटी दुई लोकार्पण सम्पन्न हुनगयो । एक, लेखकद्वय अन्जान शाक्य र माधवजी श्रेष्ठद्वारा संयुक्त रूपले लिखित ‘नेपाल, चाइना रिलेसन्स न्यु एभिन्युज एन्ड पोसिबिलिटिज’ नामक अंग्रेजी पुस्तकको लोकार्पण र दुई, प्रधानमन्त्री कमरेड ओलीको छिमेकी मुलुक हिन्दुस्तान यात्राको जानकारीमूलक कुराको लोकार्पण ।

यसको अर्थ के हो भने प्रधानमन्त्री ओलीको हिन्दुस्तान यात्राको भव्य तयारी प्रधानमन्त्री निवास, बालुवाटारको कुनै गोप्य कक्षमा भइसकेको छ । अब त्यहाँ उनका अन्तरंग सल्लाहकारहरूले यस सम्बन्धमा के र कस्तो खाले सल्लाह दिए, यो स्पष्ट छैन । सायद त्यही पुरानै कोसी, गण्डकी र महाकाली मार्का परामर्श प्रदान गरे कि ? यसको द्वितीयपटक प्रधानमन्त्री भएका कमरेड ओलीलाई कुनै खास खाँचो नै थिए । के उनी छिमेकी मुलुक हिन्दुस्तानसँगको ‘महाकाली सन्धि’को वाचाल साक्षी होइनन् र ? याद गर्नाेस्, उनको ‘एक अर्ब र एक खर्ब फाइदा’वाला बहुचर्चित डाइलग ! जे होस्, यसपालिको हिन्दुस्तान यात्रामा ‘अर्ब र खर्ब’मा केही अंकको बढोत्तरी भएमा कमरेड ओलीको हिन्दुस्तान यात्रालाई असफल मान्नुपर्ने हुनै कारण छैन ।

कमरेड प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको एक पुरानो शुभेच्छुक भएको नाताले यो कवि विमल निभा पनि उनको हिन्दुस्तान यात्राको शुभ अवसरमा एकाध सल्लाह दिन तम्सिएको छ ।

१. यो वर्षातको मौसम नभए पनि एकथान छाता बोकेर जानु उत्तम हुनेछ । कुनै सामान्य छाता नभएर राष्ट्रिय छाता । (साँच्चिकै राष्ट्रिय नि !) अहिले हिन्दुस्तानको राजधानी नयाँदिल्लीमा थरी–थरीका गर्मी ह्वात्तै बढेकोले पनि आफ्नो नेपाली छाता छुटाउन मिल्दैन है कमरेड!

२. केही महिना अघिसम्म हिन्दुस्तानको गुजरात राज्यमा ‘सुंगुरे रोग’ (स्वाइनफ्लु) निकै बढेको थियो । अहिले त्यसको स्थान हिन्दुस्तानव्यापी पीतवर्णी रोगले लिएको छ । यो ‘कमलपित्त’ रोगमा आँखामात्र नभएर सम्पूर्ण शरीर नै पहेँलिने गर्छ । (मनदेखि आत्मासम्म) । त्यसैले हिन्दुस्तानी प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग कर्‍याप्प हात मिलाउँदा अलिकति होश गर्नास् है !

३. हिन्दुस्तानी प्रधानमन्त्री मोदीसँग प्राइभेट वातचित हुँदा यो सोध्न नबिर्सनोस्– हामीमाथि बलात् लगाइएको त्यो नाकाबन्दीको ‘न’ सकर्म हो कि अकर्म मोदीजी ? यद्यपि यो कुनै मैत्रीपूर्ण प्रश्न हुने छैन । तर दुई मुलुक बीचको सौहार्दताको व्याकरण कसले बिगारेको हो ? यति सोध्नु त हाम्रो हक हो । कुन्नि, प्रधानमन्त्री कमरेड ओलीले मेरो सल्लाहमा ध्यान दिनेछन् अथवा दिने छैनन्!

४. हिन्दुस्तान यात्रामा हवाइजहाजबाट माथि–माथि आकाश मार्गमा उडेर गए पनि त्यहाँबाट फर्कंदाचाहिंँ पानीजहाजको प्रयोग गर्नुहोला नि! मेरो तात्पर्य विलकुलै आफ्नै ‘पानी’जहाजसँग हो । यसै पनि तपाई बरोबर ‘हाम्रा पानीजहाज’ भन्ने गर्नुहुन्छ । अब हेरौं, कमरेडको यो हिन्दुस्तान यात्राको तमाम ‘वास्तविकता’
कस्तो भएर प्रकट हुनेछ!

अन्त्यमा,
केही समयअघि मानवरूपी रोबोट सोफियाको नेपाल यात्रा भएको थियो । अहिले नेपालका प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको छिमेकी मुलुक हिन्दुस्तानको यात्रा हुने भएको छ । यद्यपि दुवै यात्रा तुलनीय होइनन् । मेरो भन्नु कति (अथवा यति) मात्र हो भने कमरेड प्रधानमन्त्री ओलीको हिन्दुस्तान यात्रा सफल होस्, जय नेपाल ।

प्रकाशित : चैत्र १७, २०७४ ०८:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असन्तुष्ट कांग्रेसी

सिउँडी
विमल निभा

काठमाडौँ — उनी सन्तुष्ट प्रकारका कांग्रेसी होइनन् । त्यसैले सदैव असन्तुष्टात्मक रहन्छन् । यसो ता कहिलेकाहीं यस विपरीत सन्तुष्ट पनि देखिन्छन् । तर यसको कारण पनि पुरै असन्तुष्टि नै हो ।

यो कसरी भने– हेर, म कति असन्तुष्ट छु– भनेर उनी सन्तुष्ट हुने गर्छन् । मेरै जिल्लाका हुन् । र मसग बराबर भेटघाट भइरहन्छ । हिजो पनि भयो । उनी आफ्नो स्थायी मुद्रामा थिए । अर्थात् असन्तुष्ट । तर असन्तुष्टिको मात्रा भने सदाभन्दा केही बेसी थियो ।


‘जयनेपाल नेताजी ।’


‘जयनेपाल ।’


‘निकै असन्तुष्ट देखिनुहुन्छ नि ?’ म उनको असन्तुष्टिमा विचरण गरिरहेको थिएँ ।


उनले आश्चर्यजनक रूपमा कुनै प्रतिवाद नगरेर स्वीकारको बोलीमा भने, ‘हो, तपाईले सही भन्नुभयो । यता केही दिनदेखि म धेरै नै
असन्तुष्ट छु ।’


‘किन नेताजी ?’


‘हेर्नाेस्, हुनैपर्‍यो नि ! आफ्नो स्वभाव नै यस्तो छ । के गर्ने ? तपाईको अनुमान बेठिक होइन ।’


‘हो र नेताजी ?’ मैले जोड दिएर भनँें ।


‘वास्तवमा म अभ्यास गरिरहेको छु, हेरु, म कति असन्तुष्ट हुनसक्छु ? असन्तोषको मेरो क्षमता कति छ ? के म असन्तुष्टिको एउटा रकेर्ड कायम गर्न सक्छु ?’ एकछिन चुप लागेर भने, ‘म आफ्नो असन्तुष्टिको एक प्रकारले आत्मपरीक्षण गर्न चाहन्छु । यो जरुरी छ । धेरै दिनसम्म असन्तुष्ट नरहे मन कस्तो–कस्तो हुन्छ † यसले असन्तुष्टिमा खिया पनि लाग्न सक्छ । त्यसैले म असन्तुष्टि बढाउन प्रयास गरिरहेको छु । यसले फाइदा के हुन्छ भने असन्तुष्टि जुन छ, त्यो पुरै मेन्टेन भइरहन्छ । यसमा सचेत छु ।’ उनी लामो जवाफ दिएर चुप लागे ।


‘तपाईको तमाम असन्तुष्टिको कारण यही हो त नेताजी ?’ मैले तुरुन्तै सोधिहालेंँ ।


‘हेर्नाेस्, जहाँसम्म कारणको कुरो छ, यो परिस्थितिमा निर्भर गर्छ ।’ उनले निधार खुम्च्याउँदै भने, ‘कहिले म यो मुलुकको समस्याहरूलाई लिएर असन्तुष्ट रहने गर्छु भने कहिले यसकारण असन्तुष्ट हुन्छु कि... कुनै समस्या नै छैन । कुनै समस्या नै नभएको कस्तो समस्या हो भने... हेर्नाेस्, मेरो भनाइको मतलव के हो भने असन्तुष्टिको कारण जे पनि हुनसक्छ ।’ अन्त्यमा अनुहारलाई गम्भीर पारेर भने, ‘धेरैजसो म राष्ट्रिय कारणले नै असन्तुष्ट रहने गर्छु ।’ र फेरि थकित भावमा चुप लागे ।


‘तपाई एक राष्ट्रिय हैसियतको व्यक्तित्व भएकोले सानोतिनो कुरामा असन्तुष्ट रहन पनि सुहाएन नेताजी ।’ मैले उनको कुरामा सही थापेंँ ।
‘होइन, होइन, मलाई त्यस्तो नठान्नोस् । कहिलेकाहीं म सानोतिनो कुरामा पनि असन्तुष्ट रहने गर्छु ।’ अलिकति सोचमा गएर भने, ‘एक पटक मेरो असन्तुष्टिको कारण के थियो भने कान्छी श्रीमतीसँग मेरो ठूलो मतभेद भयो । हेर्नाेस्, ऊ रेखा थापाको सिनेमा हेर्न चाहन्थी । तर म भने कुनै मारकाट भएको हिन्दी सिनेमा हेर्न चाहन्थेंँ । यो तीव्र सैद्धान्तिक विवादले झन्डै बाटोमै पिटापिट हुने खतरा उत्पन्न भएको थियो ।’


‘तपाईहरूका पार्टीमा पनि यही स्थिति रहेको छ । अर्थात् मारकाट भएको हिन्दी सिनेमाको जस्तो । होइन त नेताजी ?’ मैले उनको संवादको बीचमा छिरेर विस्तारै भनेंँ ।


‘तपाईले उचित मूल्यांकन गर्नुभयो । हाम्रो पार्टीभित्र र बाहिर– लात, जुत्ता, गाली आदिको रचनात्मक उपयोग भइरहेको छ । ठूला नेताहरू यही स्थितिमा छन्, अहिले । सबै एकअर्काका लंगौटी खोल्नमा मजैले लागेका छन् ।’ केही बेर अड्किएर भने, ‘यसले राम्रै हुन्छ । पार्टीभित्रको यथार्थ दृश्य छर्लंग हुन्छ । हेर्नाेस्, कम्युनिष्टहरू द्वन्द्वको कुरा गर्छन् । तर ओरिजन द्वन्द्वात्मक भौतिकवादी हामी कांग्रेसीहरू नै हौं । होइन त ?’
‘हो, नेताजी ।’ मैले भनँें, ‘त्यसो भए, असन्तुष्टिका लागि तपाईसँग विषयको अभाव रहने भएन । कुनै एक विषय लिएर सजिलैसित असन्तुष्ट रहन सकिन्छ । अब कुन विषय लिनुहुन्छ ?’


‘के–के विषय छन् ?’ उनले एकाएक मसँग नै प्रश्न गरे ।


‘यही पार्टीको नराम्रो हार, भीषण गुटबाजी, शंकाको वातावरण, खुट्टा तानातान, परस्पर दोषारोपण, फोहोर गालीगलौज, कुटिल दाउपेच, छिर्की हानाहान, पहलमानी उठापटक इत्यादि ।’


मैले केही तात्तातो कुरा अघि सारेर भनँें, ‘के यिनीहरूमध्ये कुनै एउटा गतिलो असन्तुष्टिका लागि पर्याप्त छैन त नेताजी ?’


उनी मलाई ध्यानपूर्वक सुनिरहेका थिए । र बीच–बीचमा उनको टाउको पनि हल्लिरहेको थियो । कुन्नि, मेरो समर्थनमा अथवा विरोधमा !जे भए पनि आखिरीमा गम्भीर भएर भने उनले, ‘तपाईको कुरो सोचनीय नै छ । तर व्यवहारमा ल्याउन सहज छैन । हेर्नाेस्, एउटाको विषयमा असन्तुष्ट भए दोस्रोलाई मन नपर्ने स्थिति छ । अब मैले सभापतिज्यू र अर्काे वरिष्ठ नेतामा कसको विषयलाई प्राथमिकता दिएर असन्तुष्ट हुने ? यस्तोमा असन्तुष्ट नभएर सन्तुष्ट नै हुनुपर्ने हो कि ? बडो फसाद छ । तर म एक परम असन्तुष्ट कांग्रेसी भएकोले यसरी कसरी सन्तुष्ट हुनसक्छु ? मैले असन्तुष्ट त हुनैपर्छ ।

त्यसैले आजभोलि म त्यसै–त्यसै असन्तुष्ट रहने गर्छु । मलाई असन्तुष्ट हुने कुनै विषय नै चाहिँदैन । हेर्नाेस्, कुनै पनि विषय नभएर पनि असन्तुष्ट रहन सकिन्छ । म यो दुनियाँलाई प्रमाणित गरेर देखाइदिन्छु । वास्तवमा म कुनै मामुली खालको असन्तुष्ट होइन । एक सफल प्रकारको असन्तुष्टलाई कुनै विषय नै किन चाहियो र ? तर सबै असन्तुष्टिका लागि विषयको माग गर्छन् । तपाई पनि यही भनिरहनुभएको छ । त्यसैले म तपाईसँग असन्तुष्ट छु ।’


उनको कांग्रेसी मार्का असन्तुष्टि मतिर नै सोझिएकोले म झस्किएँ । र एक छिनपछि सोचेंँ– यहाँबाट हिँड्नु नै अत्युत्तम हुनेछ । त्यसकारण परम असन्तुष्ट कांग्रेसी नेताजीसँग विदावारी भई म अघि बढेंँ ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT