कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो राष्ट्रिय पञ्चायतमै बहुदल माग्थे

विरोध खतिवडा

काठमाडौँ — नेपाली कम्युनिस्ट आन्दोलनका अथक योद्धा एवं जनप्रिय नेता जागृत भेटवाल हामीबाट बिदा हुनुभएको छ । उहाँ चितवन र म मकवानपुर छिमेकी जिल्लाको भए पनि हाम्रो चिनजान काठमाडौंमा अनेरास्ववियुको राजनीतिबाट भएको थियो ।

जो राष्ट्रिय पञ्चायतमै बहुदल माग्थे

विद्यार्थी राजनीतिसँगै उहाँ पत्रकारितामा पनि संलग्न हुनुहुन्थ्यो । २०३६ सालको आन्दोलनको समयमा उहाँ ‘प्रकाश’ साप्ताहिकमा संलग्न हुनुहुन्थ्यो । त्यसबेला देखिकै उहाँसँंगको सामिप्यता उहाँको जीवनकाल पर्यन्त रहिरह्यो ।

पञ्चायती शासनकालमा हामी भूमिगत राजनीतिमा थियौं । २०४३ सालमा पार्टीले जनपक्षीय उम्मेदवारको रूपमा उठाएर पञ्चायतमा हस्तक्षेप गर्ने नीति लियो । त्यही नीति अन्तर्गत उहाँ चितवनबाट र म मकवानपुरबाट उम्मेदवार बन्यौं । मकवानपुरमा म र रूपचन्द्र विस्ट र चितवनमा भेटवालजी नेकपा संयुक्तका भीमबहादुर श्रेष्ठसँग मिलेर चुनावमा उठेका थियौं । त्यसबेला पार्टीले ३२ उम्मेदवार विभिन्न स्थानबाट उठाएको थियो । हाम्रो प्रतिस्पर्धा पुराना पञ्चहरूसँंग थियो । गुणराज पाठक भेटवालजीका प्रमुख प्रतिद्वन्द्वी थिए । मेरा प्रमुख प्रतिद्वन्द्वी कमल थापा थिए ।

त्यो बेला उनी राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष भएकाले उनलाई ‘मण्डले’ भनिन्थ्यो । गणतन्त्र आइसक्दा समेत राजतन्त्रको वकालत गर्ने खुंखार मण्डलेसँंग म पञ्चायतमा चुनाव लडेको थिएँ । उनले कब्जा गरेरै चुनाव जिते, मलाई हराइयो । भेटवालजीले भने चितवनबाट जित्नुभयो । पार्टीको तर्फबाट जनपक्षीय उम्मेदवार बनेकामध्ये भेटवाल, झापाका द्रोण आचार्य, काठमाडौंका पद्यरत्न तुलाधर, इलामका नोबल केबी राई र कास्कीका सोमनाथ प्यासीले चुनाव जित्नुभयो । हामीसँंग गठबन्धन गर्नेमध्ये चितवनका भीमबहादुर श्रेष्ठ, मकवानपुरका रूपचन्द्र विष्टले र परशुराम खापुङले पनि जित्नुभयो ।

हाम्रो तर्फबाट जित्ने पाँच जनाले राष्ट्रिय पञ्चायतमा पुगेर मसिनो ढंगले पार्टीको पक्षमा काम गर्नुभयो । त्यो बेला खालि लुकेर सेल्टरमा बसेर संगठन गर्नुपथ्र्यो । तर जनपक्षीय उम्मेदवारका रूपमा उहाँहरूले जितेपछि पार्टी विस्तारमा त्यसले ठूलो सहयोग गर्‍यो । २०४३ को राष्ट्रिय पञ्चायत चुनाव र स्थानीय चुनावमा उम्मेदवारहरू खडा भएपछि पार्टीको गुणात्मक विकास भयो । हामीले पञ्चायतको उम्मेदवारका नाममा सिधै सभा गर्न पायौं । चुनावमा उठेका उम्मेदवारलाई प्रतिबन्ध लगाउन मिल्दैनथ्यो । त्यसैले चुनावी सभाहरूमा ठाडै बोल्न पाइयो । बहुदलका पक्षमा भाषण गर्ने अवसर मिल्यो । तिनै सभामा सहभागी हुनआएका व्यक्तिहरूले बहुदलका पक्षमा ताली पड्काउने, सिठ्ठी बजाउने गरेको देखिन्थ्यो । अनि त्यस्ता व्यक्तिहरूसंँग पछि सम्पर्क गरेर हामी संगठन विस्तार गथ्र्यौं । जनपक्षीय उम्मेदवार बनेपछि जिते पनि हारे पनि हाम्रा समर्थक बढ्दै गए ।

यसै क्रममा राष्ट्रिय पञ्चायतभित्र भेटवालजीहरूको भूमिका उल्लेख्य हँुदै थियो । पञ्चायत सदस्यको हैसियतमा विकास निर्माण लगायतका विषय स्वाभाविक नै थिए । तर भेटवालजीले भने राजनीतिक आवाज उठाउने थलोको रूपमा प्रयोग गर्नुभयो । उहाँले पञ्चायतको विरोध गर्दै बहुदलीय व्यवस्थाको पक्षमा राष्ट्रिय पञ्चायतममा स्पष्ट धारणा राख्नुभयो । उहाँले पञ्चायतलाई चुनौती दिएपछि पञ्चायतइतर विचार राख्ने तत्कालीन मिडियाहरूले त्यसको व्यापक प्रचार गरे । साप्ताहिक विमर्श लगायतका पत्रिकाहरूले राम्रो स्थान दिए । हाम्रो तर्फबाट गएका पाँचजना मध्ये सबैभन्दा प्रस्ट ढंगले भेटवालजीले चर्कोसँग आवाज उठाउनुहुन्थ्यो । पद्यमरत्न तुलाधरले घुमाएर कुरा गर्नुहुन्थ्यो ।

भेटवालजीमाथि पक्रने, जेल हाल्ने, निलम्बन गर्ने लगायतका हर्कत पनि भए । तर उहाँले पञ्चायत विरोधी कुरा गर्दा पद खुस्किन्छ कि, जेल हाल्छ कि, दु:ख देला कि भन्ने पर्वाह गर्नुभएन । राष्ट्रिय पञ्चायतको पाँचै वर्ष बहुदलको पक्षमा लडेर बस्नुभयो ।

पञ्चायतको खुलमखुल्ला विरोध गर्दा धेरै धाकधम्की र प्रलोभनहरू पनि आउँथे । उहाँलाई पनि केही धम्की र धेरै लालचका कुराहरू आए । राजा र सेना पक्षका मान्छेहरूले लोभलालच देखाउँथे । किन जोखिम मोल्नुहुन्छ भन्दै धम्क्याउँथे । ‘दरबारसँंग भेट्नुहोस्, राजा खराब होइबक्सन्न’ राजासँंग जोड्ने खालका प्रयास पनि भए । तर उहाँ त्यस्तो कुनै प्रलोभनमा पर्नुभएन । आफ्नो निष्ठा नछोडी बस्नुभयो ।

२०४८ को चुनावपछि २०५६ सम्म हामी संसदमा सँंगै भयौं । अहिलेसम्मका माननीयमध्ये जनताको कामका लागि अलिकति पनि थकाइ र झन्झट नमानी २४ घन्टा काम गर्ने सीमित व्यक्तिहरूमा उहाँ पर्नुहुन्छ । २०५६ को चुनावमा भने उहाँ पराजित हुनुभयो । पराजित भए पनि निर्वाचितहरूभन्दा बढी उहाँ खट्नुभयो । पछिल्लो समय अस्पतालमा भर्ना हुनु अघिसम्म पनि उहाँ नियमित राजनीतिक काममा संलग्न हुुनुहुन्थ्यो ।

सांसदमा उहाँको राम्रो भूमिका थियो । २०४८ देखि नै हामी लेखा समितिमा पनि रह्यौं । २०५६ को आसपासमा उहाँ समितिको सभापति पनि हुनुभयो । । प्रतिक्षलाई सभापति दिने क्रममा उहाँले छोटो समय त्यो भूमिका पाउनुभएको थियो । त्यतिबेला लेखा समिति सभापतिको प्रभावकारी भूमिका हुन्थ्यो, सरकारलाई नियन्त्रण गर्ने बलियो हतियार थियो त्यो । ठूलठूला भ्रष्टाचारका काण्डहरू लेखा समितिले बाहिर ल्याएको थियो । लेखाको काम देखेर अन्य समितिहरू रिस गर्थे । लेखाले काम गर्ने भएकाले पत्रकारहरू पनि त्यही समितिमा झुम्मिन्थे । अन्य समिति बैठकको मतलव हँुदैनथ्यो । त्यही कारण पत्रकारहरूलाई समितिमा बन्द गर्नुपर्छ भन्ने कुरा उठ्यो । केही समय बन्द गर्ने प्रयास पनि भयो । तर त्यसको हामीले विरोध गर्‍यौं । सभापति भएको बेलामा उहाँले जनसरोकारका कुरा बाहिर आउन दिनुपर्छ भन्दै समितिमा पत्रकारहरूको प्रवेशलाई निरन्तरता दिनुपर्छ भन्ने अडान लिनुभयो । र पछि खुल्ला भयो ।

जनताका काममा उहाँ अत्यन्तै खट्नुहुन्थ्यो । उहाँले राम्रो काम गरेकैले स्विस सरकारले उहाँकै विश्वासमा चितवनमा अर्बौंका परियोजना सञ्चालन गर्‍यो । २०५१ मा आएको बाढीले सौराहा, लोथर क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसमा बाँध बाँध्ने, सिंचाइ गर्ने, पुल निर्माण गर्ने लगायतमा काममा स्विस सरकारले उहाँकै विश्वासमा परियोजनाहरू सञ्चालन गर्‍यो ।

उहाँ अत्यन्त दयालु पनि हुुनुहुन्थ्यो । पञ्चायत कालमा मुलुकभरबाट बिरामी भएर राजधानी आउने पार्टी निकट व्यक्तिहरू उहाँकामा पुग्थे । उनीहरूलाई आफ्नै घरमा राखेर उपचार गराउने, आर्थिक अवस्था कमजोर भएकालाई सकेसम्म सहयोग जुटाइदिने काम गर्नुहुन्थ्यो । कुनै–कुनै बेला त १५/२० जनासम्म बिरामी पनि उहाँका घरमा हुन्थे । घरको बरन्डामा पनि सुतिरहेका हुन्थे । बहुदल आएपछि भने अन्य नेताहरू पनि भएकाले उहाँलाई अलिक सहज भयो । तैपनि चितवनबाट आएका बिरामीलाई चाहिँ अस्पतालमै पुगेर भेट्ने, सकेको सहयोग गर्ने गरिराख्नुभयो ।

उहाँ भूगिगतकालदेखि नै पार्टीको संगठन निर्माणमा लाग्नुभयो । राष्ट्रिय पञ्चायत सदस्य भएपछि पनि भूमिगत नेताहरूलाई सेल्टर दिने, माननीयको व्यानर प्रयोग गरेर भूमिगतलाई बोकेर हिँड्ने गर्नुभयो । पार्टीभित्र उहाँ केन्द्रीय लेखा आयोगको दुई कार्यकाल सदस्यसम्म बन्नुभयो । २०५४ को पार्टी विभाजनमा उहाँ विचलित हुनुभएन । दबाबका बाबजुद पनि पार्टीको मूलधारमै बसेर काम गर्नुभयो ।

पछिल्ला कालखण्डमा भने उहाँले पार्टीले अलि वास्ता नगरेको जस्तो महसुस गर्नुभयो । २०६४, ०७० र हालैको तीनवटै चुनावमा उहाँले सांसद हुने मन गर्नुभएको थियो । उहाँ प्रोस्टेट क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । डाक्टरले २ वर्षसम्म जानसक्ने भनेको थियो, तर उहाँ उच्च मनोबल भएको व्यक्ति भएकाले नौ वर्षसम्म थप बाँच्नुभयो । उहाँ बिरामीसमेत भएकाले उहाँको उपचारमा ठूलो रकम लाथ्यो । धेरै खर्च पनि गर्नुभयो । सरकारबाट केही थोरै सहयोग भयो । तर सांसद नै भएको भए राज्यले नै उहाँको उपचारमा वैधानिक रूपमा सहयोग गर्नसक्ने थियो । यसैका लागि पनि सजिलो हुन्छ भनेर उहाँलाई सांसद बनाउन हामीले पनि पहल गर्‍यौं । तर ६०१ जनाको संसद हँुदा र समानुपातिकबाट धेरैलाई सांसद बनाउँदा उहाँ जत्तिको योगदान भएको व्यक्तिलाई समेटिइएन । २०७० को चुनावमा त उहाँले चुनावमा लड्ने निकै पहल गर्नुभयो । तर पार्टीले उठाउन तयार भएन । यो चाहिँ उहाँको हकमा अलिक खड्किने विषय हो ।

उहाँ आशिर्वाद होइन, आन्दोलनबाट उठेको नेता हुनुहुन्थ्यो । २०३६ पछि सबै आन्दोलनका मोर्चामा उहाँ सधैं अग्रपंक्तिमै रहनुभयो । उहाँलाई २०४६ मा आजीवन कारावास हुनेसम्मको मुद्दा लाग्यो । तर डराउनु भएन, थाक्नु भएन । पार्टीभित्र अनावश्यक पद र पहुँचको घमन्ड देखाउनु भएन । पार्टीमा अतिरिक्त शक्तिको अभ्यास पनि गर्नु भएन । एमाले पार्टीभित्र वामदेव गौतम पहिलेदेखि नै शक्तिशाली हुुनुहुन्छ । पारिवारिक रूपमा भेटवाल गौतमका सम्धी हुनुहुन्छ । त्यो नातालाई उहाँले कतै प्रयोग गर्नु भएन । त्यसका कारण अतिरिक्त फाइदा लिनु भएन । फाइदा लिन खोजेको भए वामदेवजी चाहँदा उहाँ पछिल्लो कालखण्डमा सांसद हुनुहुन्थ्यो होला ।

नेताहरूको चरित्र, खानपान, संगतसँंग जोडिएका धेरै नराम्रा विषय बाहिर आउने गर्छन् । कतिपय नेताहरूको कमजोरी पनि छ । तर चरित्र, खानपान, संगतसंँग जोडिएका कुनै कमजोरी उहाँमा देखिएन । आर्थिक विषयमा उहाँ सधैं सफा नै रहनुभयो । इमानदार भयो भने मान्छे मरेर पनि अमर हुन्छ । कैयौं जनप्रतिनिधि, नेताहरूहरू आउँछन्, जान्छन् । खासै उल्लेख्य भूमिका निर्वाह नगरेका कारण जनताको विस्मृतिमा पुग्छन् । तर भेटवालजीले सधैं स्मृतिमा रहने जननेताको रूपमा अमरत्व प्राप्त गर्नुभएको छ । राजनीतिक सहयोद्धाप्रति मेरो हार्दिक श्रद्धाञ्जली ।

सांसद खतिवडासँग दुर्गा खनालले गरेको कुराकानीमा आधारित

प्रकाशित : चैत्र २४, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?