कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समृद्धिको सपना र हाम्रा बुद्धिजीवी

सरकारको नेतृत्व गर्नेहरू बुद्धिजीवी वर्गबाट आफ्नो नामको भजन सुन्न चाहन्छन् र बहुसंख्यक बुद्धिजीवीले पनि राजनीतिक नेतृत्वको चाहनाअनुसार काम गरिदिन्छन् ।

काठमाडौँ — पहिलो संविधानसभा निर्वाचनपछिको समय थियो । कुनै एकेडेमिक कार्यक्रमको शून्य समयमा राजनीतिक विषयमा छलफल चलिरहेको थियो । छलफलको केन्द्रमा निर्वाचनबाट पहिलो पार्टी बनेको माओवादी थियो ।

समृद्धिको सपना र हाम्रा बुद्धिजीवी

‘हामी नै त हौं, परिवर्तनको संवाहक’ भन्दै एक व्यक्ति धाराप्रवाह बोलिरहेका थिए । उनको वरिपरि सानोतिनो भिड थियो । उनी पटक–पटक भन्दै थिए, ‘हामी बुद्धिजीवीको कामै यस्तो ।’


उनको कुरा– त्यतिखेर नेपालको कम्युनिष्ट आन्दोलन सेलाइसकेको थियो । एमाले फोहोरी संसदीय राजनीतिमा भासिइसकेको थियो । मोहनविक्रमहरूको क्रान्ति पनि गफमा मात्रै थियो । माओवादी पनि रनभुल्ल थियो । सोभियत संघको पतनपछि कम्युनिष्टहरू के गरौं, के गरौं को असामञ्जस्यमा थिए । अब यसरी भएन भनेर मैले कमरेड प्रचण्डसँग छलफल गरेँ । उनी त्यतिखेर प्रचण्ड भैसकेका थिएनन्, हामी कमरेड विश्वास भन्थ्यौं ।


‘यसरी भएन कमरेड, अब सशस्त्र युद्ध गर्नुपर्छ,’ मैले भनेँ । प्रचण्ड अलि हच्किए । उनीहरू सशस्त्र युद्धका लागि परिस्थिति परिपक्व भएको छैन भन्थे, यो मोहनविक्रम स्कुलिङको प्रभाव थियो । मैले सशस्त्र संघर्ष सुरु गरिहाल्नुपर्छ, परिस्थिति आफैं परिपक्व हुँदै जान्छ भन्नेमा जोड दिएँ ।


यसरी मेरै सल्लाहमा माओवादीले सशस्त्र संघर्ष सुरु गर्‍यो । हुन त म त्यतिखेर सरकारी कर्मचारी थिएँ, तर देखावटी मात्र । भित्रभित्र म पार्टीको लागि काम गरिरहेको थिएँ । दस वर्ष युद्ध भयो, धेरैको ज्यान गयो । अब भएन भनेर मैले फेरि इन्डियामा रहेका प्रचण्डसँग कुरा गरेंँ । ल कमरेड यसरी भएन, अब शान्तिपूर्ण संघर्षमा जानुपर्छ भनेर भनेँ । नारायणकाजीहरू पनि त्यही लाइनमा थिए । बल्ल उनीहरू सात दलसँग मिलेर आए र ६२/६३ को आन्दोलन भयो । वास्तवमा भन्ने हो भने अन्तरिम सरकार, संविधानसभाको चुनाव यो सबै सल्लाह मैले दिएको हो प्रचण्ड, बाबुरामलाई । बुद्धिजीवीको कामै यस्तो ।


उनले कुरा टुङ्ग्याए । त्यत्रो सशस्त्र संघर्ष हाँकेका, तिलस्मी भनिएका प्रचण्ड र बौद्धिक नेता भनेर चिनिएका बाबुराम दुवैका ‘बाउ’ पो रहेछन् यी त, म पुरै तिलमिलाएँ ।


केही दिनपछि उनीसँग फेरि भेट भयो । एकजना पत्रकारले उनलाई सरकारले राजदूत सिफारिस गरेकामा बधाई भने । ती पत्रकारले फेरि थपे, ‘तपाईलाई राजदूत बनाएर पार्टीले ठिक गरेन ।’ उनले नराम्ररी मुख बिगारे, अनुहार रातो भयो । पत्रकारले थपे, ‘तपाई त यतिखेर देशलाई चाहिने मान्छे, सरकारले कहाँ राजदूत बनाएर थन्क्याइदियो । मान्नुहुन्छ भने राजदूत छाडेर यही देशकै लागि केही गर्नुपर्छ हजुरले ।’ यति भनेर पत्रकार हिँडे । पत्रकार गएपछि फोहोरी शब्दसँगै उनले भने, ‘यो फटाहा पत्रकार बाबुराम गुटको मान्छे हो ।’


अहिले उनको कार्यकाल सकिइसकेको छ । उनको कार्यकालमा पनि अरू अधिकांशको जस्तै कुनै उल्लेख्य उपलब्धि हुन सकेन । यो बीचमा एकाध पटक भेट पनि भयो । सधंैजसो भन्थे, ‘हामी त बुद्धिजीवी मान्छे । देशबारे सोच्नैपर्‍यो’ । अहिले पनि उनी कुनै नियुक्तिका लागि लिगलिगे दौडमा व्यस्त छन् ।


त्यस्तै मैले चिनेका त्रिभुवन विश्वविद्यालयका प्रोफेसरले राजनीतिक नियुक्ति पाएका थिए । म बधाई दिन गएँ । ‘मलाई त आउन मनै थिएन, मन्त्रीले नै साह्रै कर गरेर जिम्मेवारी लिएको,’ उनले भने । म कामको खोजीमा थिएँ । ठूलो पदमा पुगेका चिनजानका प्रोफेसर, कतै काम पो मिलाइदिन्छन् कि भनेर भेट्न गइरहन्थेँ । अफिसमा उनी कि को कुन गुटको भन्ने किसिमको गफ हुन्थ्यो, कि कुनै गैससको काममा व्यस्त हुन्थे ।


त्यो समय देशमा संघीयताको बहस उत्कर्षमा थियो । उनी नेपाल सरकारका लागि वित्तीय संघीयताबारे अध्ययन गर्दै रहेछन् । त्यसको प्रतिवेदन हेर्ने मौका जुर्‍यो । प्रतिवेदनमा संघीयतामा गएका अरू देशको नाम उल्लेख गरिए पनि एउटा अफ्रिकी देशका नाम धेरै ठाउँमा उल्लेख थियो । त्यो अफ्रिकी देश र नेपालबीच धेरै समानता रहेछ कि भनेर गुगल गरेँ ।


प्रोफेसरले त गुगलमा प्राप्त डकुमेन्ट उल्था गरेर राखिदिएका रहेछन्, झन्डै ६० प्रतिशत त जस्ताको तस्तै, त्यो पनि कुनै सन्दर्भ स्रोतबिना । त्यसो त यस्तो काम गर्ने उनी ‘प्लस’ एकमात्र हुन् । संघीयता कार्यान्वयनको यो चरणमा उनको प्रतिवेदन सरकारले अध्ययन गर्‍यो–गरेन, थाहा छैन । तर आजभोलि तिनै प्रोफेसर भन्छन्, ‘विज्ञहरूको विज्ञता सदुपयोग गर्नुपर्‍यो नि राष्ट्रले । रिसर्चको महत्त्व नै बुझ्दैन यो सरकार, अनि कसरी हुन्छ त देशको विकास ?’


यी केही नेपाली बुद्धिजीवीका पात्र र प्रवृत्ति दुवै हुन् ।


परिचय वा चिनारीका आधारमा भन्ने हो भने हाम्रोमा प्राज्ञ र बुद्धिजीवी अन्तरघुलित जस्तै भएका छन् । भूमिकाका आधारमा भन्ने हो भने अधिकांशमा गणेश प्रवृत्ति देखिन्छ, जो अध्ययन, अनुसन्धानलाई छाडेर शक्तिकेन्द्र प्रदक्षिणामा समय खर्चिएका हुन्छन् । कुनै नेता वा पार्टीको भजनमण्डलीमा सामेल हुनु र राजनीतिक नियुक्ति, राजदूत वा त्योभन्दा माथिको लाभको पद हासिल गर्नु उनीहरूको लक्ष्य देखिन्छ । अर्कोतर्फ बौद्धिक वर्गको निर्माणमा सबैभन्दा बढी लगानी सरकारको हुन्छ भने यो वर्गको क्षमता र कामको सबैभन्दा ठूलो उपभोक्ता पनि सरकार नै हुनुपर्ने हो । तर सरकारको नेतृत्व गर्नेहरू यो वर्गबाट पनि आफ्नो नामको भजन सुन्न चाहन्छन् र बहुसंख्यक बुद्धिजीवीले पनि राजनीतिक नेतृत्वको चाहना अनुसार नै काम गरिदिन्छन् ।


भनिन्छ, हाम्रो देशमा जब कुनै समस्या आउँछ, त्यसको समाधान खोज्न एकथरी बुद्धिजीवी शास्त्र पल्टाउन थाल्छन् रे भने अर्काथरी बुद्धिजीवी माक्र्स, लेनिन र माओका पुस्तक पल्टाउन थाल्छन् रे । जब दुवैतिर समस्याको समाधान भेटिँदैन, तब पहिलेका शासकले के गरेका थिए भनेर सम्झिने प्रयास गर्छन् र त्यसै अनुसार समाधान खोज्ने गर्छन् । त्यसैले त शासकको व्यवहार पञ्चायती व्यवस्था हँुदै अहिलेसम्म पनि एकै किसिमको देखिन्छ । यसमा सल्लाहकार वा विज्ञका रूपमा रहने बुद्धिजीवीको भूमिका के त ?


पहिलो कुरा, समस्या समाजमा हुन्छ, तर समाज नै नपढी पुस्तकमा मात्र समाधान खोजेपछि नपाइनु स्वाभाविक हो । अर्को कुरा नेपालमा राजनीति गर्ने अधिकांश नेता सबै विषयका विज्ञ हुने गर्छन् । लिगलिगे दौडमा सफल भएर विज्ञ वा सल्लाहकारका रूपमा नियुक्त भएकाहरूको भूमिका त ती नेताको अगाडि ङिच्च दात देखाउँदै ‘ख्वामित हजुरको म त दास पो हँु’ मुद्रामा उभिनु मात्र हो ।


यसको अर्को कारण पनि छ । एउटा त हाम्रो शिक्षा कमलप्रकाश मल्लले भनेजस्तै ‘रोड टु नोह्वेर’ जस्तो छ । एकातर्फ शिक्षा कर्मकाण्डीय मात्र छ भने अर्कोतर्फ शिक्षा पनि आयातित मात्र गुणस्तरीय हुन्छ भन्ने सामाजिक मनोविज्ञान व्याप्त छ । त्यस्तै कथित बुद्धिजीवीदेखि शासकहरूसम्म पञ्चायतकालदेखि अहिलेसम्म उस्तै छन् । कि पात्र उही, कि प्रवृत्ति उही ।


पछिल्लो पटक सडकमा असरल्ल भएको राष्ट्रपतिको सवारीको विद्रुप रूप त्यसकै प्रमाण नै त हो । सिंहदरबार र शीतल निवासमा मात्र होइन, बुढानीलकण्ठ, बालकोट, खुमलटार लगायतका अन्य साना–ठूला दरबारसम्म राणाकालीन चाकरी प्रथाका विविध रूप देख्न पाइन्छ ।


र अन्त्यमा, नेपालका सन्दर्भमा समृद्धिको बहस उठिरहने विषय हो । तर समृद्धि भने मृगतृष्णा बन्दै आएको छ । विकास कस्तो, कसका लागि र कसरी भन्ने विषय प्रस्ट नभएकाले नै विकासले गति लिन नसकेको भनिन्छ । सायद यस्तोमा नै प्राज्ञ तथा बुद्धिजीवीको भूमिका हुन्छ । विश्व स्तरमा प्रतिस्पर्धा गर्नसक्ने सोच, भिजन भएका प्राज्ञ तथा बुद्धिजीवी नेपालमा नभएका होइनन् । तर उनीहरू विकृत बन्दै गइरहेको राजनीतिको मुखपत्र बन्न अस्वीकार गर्छन् ।


राजनीतिक दलका नेताहरूको भजन नगाउनेहरूलाई तिनै दलका सरकारले पनि अस्वीकार गर्छ । हाम्रो शिक्षा, सरकार, राजनीतिक दलहरू र शक्तिकेन्द्रको वरिपरि घुमिरहने गणेश प्रवृत्तिका कथित बुद्धिजीवीकै कारण देशको समृद्धिको कथा पनि रोड टु नोह्वेर बनिरहेको छ ।
[email protected]

प्रकाशित : चैत्र २८, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?