गर्मीका औषधि

हामी सबैको भान्छामा कागती, अदुवा र अमला पाइए पनि यसको राम्रोसँंग प्रयोग गर्न सकिएको छैन वा जानिएको छैन ।
डा. अरुणा उप्रेती

काठमाडौँ — सानो छँदा अक्षय तृतीयामा सातु र सर्वत खान ठुलीआमा, सानीआमा, फुपू, काकीहरूकहाँ जान्थ्यौं । सातु र सर्वतले पेट भरिएपछि भातै खाइँदैनथ्यो । त्यसबेला थाहै थिएन, हामीले त अति स्वस्थकर सातु र भिटामिनले भरिपूर्ण कागतीको सर्वत पो खाँदा रहेछौं ।

अहिले समय बदलिएको छ । कुनै स्वास्थ्यकर्मीले ‘तपाईलाई भिटामिन सीको कमी भएको छ, चक्की खानुस्’ भन्यो भने कसैले पनि ‘हाम्रो भान्छा वा बारीमा पाइने फलफूल र खानेकुराबाट भिटामिन सी पाइँदैन र ?’ भन्ने प्रश्न गर्दैन । सबै शारीरिक समस्याका लागि चक्की खानैपर्छ भन्ने हामी ठान्छौं । हामीले बिर्सन्छौं कि यस्ता चक्की पनि वनस्पतिबाटै बनाइन्छन् ।


मलाई याद छ, गिँजाबाट रगत निस्कँदा हजुुरआमा कागती–पानी खानुहुन्थ्यो । अमलाको सानो–सानो टुक्रा चुसिरहनुहुन्थ्यो । हजुरआमाको भान्छामा अमला सधैं हुन्थ्यो । त्यो बेला अमला बारीमा पाइन्थ्यो । अमला खाएर पानी पिए रगत बढ्छ भन्ने गरिन्थ्यो । अमला खाएपछि पानी पिउँदा गुलियो हुने भएकाले हामी खान्थ्यांै पनि । बजारमा किन्दा पनि १० पैसाको २, ३ वटा अमला पाइन्थ्यो । अमला खाँदा भिटामिन सी पाइन्छ र यसले रोगसँंग लड्ने शक्ति बढाउँछ भन्ने वैज्ञानिक ज्ञान नभए पनि स्वास्थ्य राम्रो पार्छ भन्नेचाहिँ बज्यैलाई थाहा रहेछ । बज्यै भन्नुहुन्थ्यो, ‘कागती, अदुवा र अमला भएको घरमा रोग पस्न पाउँदैन ।’

Yamaha


अहिले हामी सबैको भान्छामा कागती, अदुवा र अमला पाइए पनि यसको राम्रोसँंग प्रयोग गर्नचाहिँ सकिएको छैन वा जानिएको छैन । गर्मी लाग्यो, अब सबैले मानव स्वास्थ्यलाई खराब पार्ने, मुटुको रोग लगाउने, मोटो पार्ने चिसो पेय पदार्थ वा बजारमा राखिएको फलफूलको बिग्रेको रस खान सुरु गर्छन् । साना–साना बालबालिकालाई पनि माया गरेर यस्ता वस्तु दिन्छन् । आमाबुबालाई थाहा हुँदैन कि उनीहरूले यस्तो पेय पदार्थ दिँदा महंँगो तर बालबालिकालाई ‘मन्दविष’ दिइरहेका छन् । यस्ता मातापितालाई म भन्छु– अब गर्मी लागेको छ, साना नानीलाई साँच्ची नै माया गर्नुहुन्छ भने कागतीको सर्वत बनाएर, सातुसंँग खान दिनुस्, पुदिनाको अचार दिनुस्, अमला खान दिनुस् ।


‘बट्टामा राखेको फलफूलको रसभन्दा जाबो कागतीको रस र अमला पनि के राम्रो पौष्टिक हुन्छ होला र ?’ भन्ने कति जनालाई लाग्न सक्छ । सहरमा बसेकाहरू पैसाले सहजै किन्न सकिने, हेर्दाखेरी राम्रो लाग्ने चट्ट प्याकेटमा राखेको फलफूलको रसले त वास्तवमै गर्मीमा तागत दिन्छ भन्ने ठान्छन् । तर उनीहरूलाई फलफूलको रसमा ८० प्रतिशत त चिनी नै हुन्छ भन्ने थाहा हुँदैन । चिनीको झोलले शरीरमा कसरी फाइदा गर्छ ?


अस्वस्थ र महँगो चिसो पेय पदार्थको सट्टा गर्मीमा कागती–पानीको सर्वत र अलिकता सखर वा चिनी, नुन र कालो मरिच हालेर खानुपर्छ भन्ने कुरा अक्षय तृतीयाले सिकाएको छ, तर त्यो सिकाइलाई बेवास्ता गरिएको छ । कागती र अमला पौष्टिकताले भरिपूर्ण फलफूल हुन् । यसबाट पेय पदार्थ बनाउन सकिन्छ । अचार र दालमा हाल्न सकिन्छ, नुनसंँग चुस्न सकिन्छ । यसले लामो यात्रामा जाँदा वाकवाकी कम गर्छ ।


कागतीको बोक्रालाई सानो–सानो टुक्रा पारेर, सिसीमा नुनसँग मिसाएर वा भिनेगरमा भिजाइराखेर घाममा राख्दा केही दिनपछि अचारजस्तै खान सकिन्छ । कागतीको बोक्रामा केही मात्रामा क्याल्सियम, पोटासियम र रेशादार पदार्थ पनि हुन्छ । रेशादार पदार्थको भोजनले कब्जियत गर्न दिँदैन । ‘पौष्टिकताले भरिएको कागती गर्मीमा सर्वत बनाएर पिउन उत्तम हुन्छ र जाडोमा तातो पानीमा महसँंग मिसाएर खाँदा रोगसंँग लडने शक्ति पनि बढ्छ,’ बज्यै भन्नुहुन्थ्यो ।


अक्षय तृतीयाले सिकाएको कागतीको महत्त्व बुझेर वर्षैभरि प्रयोग गरे भिटामिन सीको चक्की खान जरुरत पर्दैन । तर त्यही कागतीको रस ‘हटलेमन’ वा ‘लेमन टी’ भनेर ठूला होटलमा दुई सय रुपैयाँमा एक गिलास खाँदाचाहिँ हामी गर्व महसुस गर्छांै । १० रुपैयाँमा कागती किनेर बनाउन सकिने तर घरको लेमन टी र कागती सर्वतलाई चाहिँ बेवास्ता गर्छांै । घरमा पाहुनालाई चिसो पेय पदार्थको सट्टा कागतीको चिया दिन सुरु गर्दा पहिले केही असजिलो लाग्न सक्छ । तर मानिसले आफ्नो स्वास्थ्य राम्रो पार्न सस्तो कागती नै उत्तम हुन्छ भन्ने बुझ्छन्, अनि विस्तारै सहज लाग्न थाल्छ ।


वैद्य पसलमा पाइने त्रिफलाको एउटा महत्त्वपूर्ण तत्त्व अमला हो । त्रिफला कब्जियत कम गर्नका लागि काम लाग्छ । कतिजनाले त्रिफला भिजाएर पनि प्रयोग गर्छन् । त्रिफलाले शरीरको रोग प्रतिरोध शक्ति बढाउँछ । धेरैले सुनेको च्यावनप्राशको एक महत्त्वपूर्ण तत्त्व पनि अमला हो । अमला र कागती दुबैमा रहेको भिटामिन सी नष्ट नहोस् भनेर चाहिँ विचार गर्नैपर्छ । धेरै तातोले भिटामिन सी नष्ट गर्छ । त्यसैले लेमन टी बनाउँदा, चिया बनाएर गिलासमा हालेर मात्र कागती निचोर्नु उत्तम हुन्छ । अमलालाई पनि सकेसम्म धेरै नपकाएर नै खानु वेश हुन्छ । सजिलो उम्रिने र पाइने पुदिना (बाबरी) पनि एक उत्तम औषधी हो । ‘पुदिना हरा’ किनेर पेटको गडबडी ठिक पार्नेहरूले बारीको पुदिना किन प्रयोग नगर्ने ? धनियाँ र पुदिना पिसेर अचार बनाउँदा स्वास्थ्य र स्वाद दुवै पाइन्छ । गर्मीमा पुदिनाको चिया खान सकिन्छ । सहजै तरिकाले पाइने र गर्मीमा शीतलता दिने वस्तु अक्षय तृतीयाको दिन सुरु गरेर वर्षैभरि प्रयोग गरौं ।

प्रकाशित : वैशाख ५, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

पुर्ख्यौली इलमको क्षतिपूर्ति

सबैजसो परम्परागत पेसा अपहरण भएका दमाई र कामी समुदाय क्षतिपूर्तिको हकदार हुन् ।
रिबन मंग्राती

काठमाडौँ — ‘एनौले, छोरोलाई पढाउँछस् ? दरबारमा दाखिला गर्दिऊँ ?’ जर्साबले घोडा माथिबाटै सोधे । मेरो जिजुबाको उत्तर थियो, ‘सरकार, यल्ले पढेर के गरोस् ? बरु आफ्नु इलम जाने भोकै मर्दैन कि हजुर †’ छेउमै टुलुटुलु हेर्दै भोल्टा तुन्दै गरेका ७–८ वर्षका मेरा हजुरबालाई ‘पढ्छस् त ?’ भनेर कसैले सोधेन ।

काठमाडौँमा राणाहरूको कृपाले ‘दाम माफिया’ मा जुत्ता पसल थालेका मेरा जिजुबा पनि सामाजिक कलंक (स्टिग्मा) का सिकार भए । यस्तै कलंकको प्रभाववश दरबार स्कुलदेखि सिंहदरबारसम्म दलितहरूको बाटो छेकियो । त्यसको मूल कारण हो, पुर्खादेखि थाम्दै ल्याइएको सीप आउँदो पुस्ताको काँधमा बिसाउने चाहना । विडम्बना, आज पनातिहरूसम्म आइपुग्दा यी काँध शिथिल भएका छन् । र तिनले आफ्नो भन्दै आएको इलम अपहरणमा परेको छ ।


यस प्रसङ्गमा एकातिर परम्परादेखि जुत्ताको पेसा गर्ने सार्की–मिजार समुदायको ऐतिहासिक पृष्ठभूमि छुटाउन मिल्दैन । अर्काेतिर तिनका पेसा कतातिर, किन र कसरी जाँदैछन् भन्ने विषयमा बहुआयामिक विश्लेषण गर्नुपर्ने हुन्छ । म स्कुल छँदा करिब ४० कामदारले अटेसमटेस हुने हाम्रो जुत्ता कारखानामा आज ४ जना पनि देख्न पाइँदैन । यसरी परम्परागत जुत्ता पेसा ओह्रालो लाग्नुमा परम्परागत कार्यशैली, सस्तो मूल्यका विदेशी जुत्ताको अतिक्रमण, प्रभावकारी सरकारी नीतिको अभाव, प्रविधिको कमीसँगै कच्चा पदार्थको अभाव छँदैछ । त्यसमा नयाँ पुस्तामा पुस्तैनी पेसाप्रतिको बढ्दो उदासीनता चुनौती बनेको छ । उनीहरू १०–१५ हजार रूपैयाँका लागि खाडीको ५० डिग्रीमा पसिना बगाउँदैछन्, तर बाबुबाजेको पेसालाई अँगाल्न तयार छैनन् ।


अर्थतन्त्रको नीति अनुसार सामाजिक आवश्यकता पूर्तिका निम्ति हरेक मानिस कुनै न कुनै किसिमको पेसा वा उद्यममा लाग्नुपर्ने हुन्छ । तर छालाको काम गर्ने समूहलाई सार्की र चमारमात्रै होइन, अछूत भनी वर्गीकृत गरिएको दस्तावेज पाइन्छ । जुत्ता छुन पनि नखोज्ने ब्राह्मणवादी मानसिकताले ग्रस्त मानिस यो पेसा र पेसाकर्मीलाई हीन ठान्छन् । छालाका वस्तु उत्पादन थालिएदेखि नै यो पेसालाई सार्की समुदायले धानेको देखिन्छ । यस अर्थमा नेपाली अर्थतन्त्रमा उनीहरूको उल्लेखनीय योगदान छ ।


एक सार्कीको निम्ति आफ्नो पेसाको महत्त्व कतिसम्म छ भने त्यो पेसा उकालो लागेकोमा ऊ र उसका परिवारका निम्ति धेरै बाटा खुल्छन् । राम्रो कमाइले परिवारको आर्थिक पाटो बलियो बनाउँछ, शिक्षा र स्वास्थ्य सबल हुन्छ र पुख्र्यौली पेसाको आधुनिकीकरण सम्भव हुन्छ । र शिक्षित भावी सन्ततिले राज्यको नीति निर्माण तहसम्म आफूलाई स्थापित गर्न सक्छ । आर्थिक क्षमता र सामाजिक प्रतिष्ठाबीच अन्योन्याश्रित सम्बध हुनेछ । त्यसैले समृद्ध जुत्ता व्यवसायले एक दलितलाई समाजमा शिर ठाडो पारी हिँड्न सक्ने बनाउँदै सामाजिक विभेद न्युन गर्नमा समेत सघाउँछ । यसरी कुनै पनि पेसा आय–व्ययमा मात्र सीमित नभई शैक्षिक, सांस्कृतिक र राजनीतिक आयामसँग पनि जोडिएको हुन्छ ।


जुत्ता सिलाउने गैरदलित
२०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि नेपाललाई पुँजीवादी विश्वव्यापीकरणको लहरले छोयो, त्यहीँबाट जातीय पहिचानका पेसाले पकड गुमाउँदै गए । निजीकरणसँगै गैर–दलितमाझ जुत्ता व्यवसाय बलियो सम्भावना बोकेको लगानीको क्षेत्रका रूपमा स्थापित भयो । २०४७ मा बाँसबारी छाला जुत्ता कारखाना छिमेकीको आर्थिक उपनिवेशको सिकार भयो । त्यसपछि जुत्ता क्षेत्र गोजीमा पुँजी हुनेहरूको दाइँ गर्ने थलोमा फेरियो । व्यापारमा जोखिम मोल्न सक्नुपर्छ, तर न्युन सामाजिक र आर्थिक पुँजी भएको दलितसँग जोखिम मोल्ने हिम्मत हुँदैन । त्यसैले दलितहरू व्यावसायिक रूपमा माथि उठ्न सकेनन् ।


गैरदलित जुत्ता व्यवसायीको संगठन ‘फुटवयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल’को २०७१/७२ को रिपोर्ट अनुसार नेपालमा १,५०१ जुत्ता तथा चप्पल उत्पादक र मझौला र ठूला गरी २२१ उद्योग छन् । यसमा परम्परागत छाला उद्योग र पेसाकर्मीलाई समेटिएको छ कि छैन, प्रश्न उठ्छ । त्यस संगठनको दाबी अनुसार त्यसकै १०० सदस्य कम्पनीले नेपालमा वार्षिक रूपमा उत्पादन हुने कुल जुत्तामध्ये ७० प्रतिशत ओगट्छन् । त्यस दाबीलाई स्वीकार्दा ३० प्रतिशतमात्रै पुख्र्यौली पेसा अँगाल्नेहरूले उत्पादन गर्ने रहेछन् । सो संघमा दर्ता नभएका गैरदलित उत्पादकले पनि केही भाग त ओगट्ने होलान् । नेपाल जुत्तामा ६० प्रतिशत आत्मनिर्भर रहेको जिकिर गरिरहेकै बेला पुख्र्यौली पेसा गर्नेहरूको पलायन बढ्दो छ । यी तथ्य र तर्कले भन्दैछन्, सार्की समुदायको पुख्र्यौली पेसा अब गैरदलितको पोल्टामा गइसक्यो !

गैरदलित जुत्ता व्यवसायीले करिब ७० हजारलाई रोजगार दिएका छन्, भारतबाट झिकाइएका बाहेक अधिकांश कालीगढ सार्की समुदायकै छन् । यसरी औद्योगिक सम्बन्धको कोणबाट हेर्दा पनि शक्तिमा गैरदलित छन्, जसको परम्परागत पेसा जुत्ता हैन । परिचालित हुनेमा तिनै सार्की समुदायका छन्, जसलाई इतिहासले जुत्ता उत्पादनको ठेक्का दिएको थियो । शक्तिमा रहेका गैरदलितहरूको दलितप्रतिको व्यवहार पनि स्वार्थबाट निर्देशित देखिन्छ । तिनै सार्की दाजुभाइसँग सीप, कला र तरिका नचोरेसम्म कुममा कुम जोडी ‘हामी एक हौँ’ भनी हिँड्ने अनि आफ्नो स्वार्थ पुरा भएपछि तिनै सार्की दाजुभाइलाई तल्लो स्तरको संज्ञा दिने गर्छन् । यस्तै व्यवहार देखेर पुख्र्यौली पेसा गर्नेले २०६६ सालमा सगोलबाट छुट्टिएर ‘नेपाल छाला जुत्ता उत्पादक संघ’ बनाएर पेसाको जगेर्ना गर्ने जमर्को गरेका छन् ।

अपहरणको क्षतिपूर्ति
‘अछूतको काम’ भनेर अमर्यादित बिल्ला लगाइएको जुत्ता उत्पादन पेसालाई प्राचीन कालदेखि काँधमा बोकेर आएको सार्की समुदायको हविगत ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै भएको छ । पुख्र्याैली जुत्ता पेसाकर्मीको दुर्दशा त एक प्रतिनिधि घटनामात्र हो, दमाई र कामी समुदायका सबैजसो परम्परागत पेसा अपहरण भएका छन् । समाजमा जुत्ताको कामले मर्यादा नपाउन्जेल सार्की समुदायले विभेद सहँदै यो पेसालाई जोगाइराखे । जतिबेला यो व्यवसायको राम्रो दिन सुरु भयो, त्यस बेलासम्ममा यो पेसा उनीहरूको हातबाट फुत्किसकेको थियो । आफूलाई उपल्ला जात मान्नेहरूले समृद्धिको सम्भावना देख्ने बित्तिकै यसको लगाम हत्याएका हुन् । त्यसैले पुख्र्यौली पेसामा लागेका समुदाय क्षतिपूर्तिको हकदार छ ।


अन्तर्राष्ट्रिय जगतमा क्षतिपूर्तिको अभ्यास देखिन्छ । ब्रिटिस साम्राज्यले इतिहासमा आफ्ना औपनिवेशिक राष्ट्रलाई क्षतिपूर्तिस्वरूप आर्थिक सहयोग गरेका उदाहरण छन् । अमेरिकामा अफ्रिकी मूलका अमेरिकीलाई ४ सय वर्षसम्म दास बनाइएकामा क्षतिपूर्ति दिनुपर्छ भन्दै ‘रापारेसन मुभमेन्ट’ भएको देखिन्छ । यस्तो क्षतिपूर्तिको मोडल नेपालका पुख्र्याैली पेसाबाट हात धुनुपरेका समुदायका समस्यालाई सम्बोधन गर्ने नौलो प्रयोग हुनसक्छ । गैरदलित उद्यमीले राज्यलाई तिर्ने करबाट परम्परागत रूपमा जुत्ता पेसामा लागेकाहरूका लागि विशेष योजना बनाउन जरुरी छ र यस समुदायको सामाजिक सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ । यो पेसालाई मर्यादित बनाउन र जीविकोपार्जनको बलियो आधार बनाउन आधुनिकीकरणको ठोस योजना पनि चाहिन्छ । पुँजीवादी समाजमा जसले जुनसुकै काम गर्न पाउने अधिकार छ । तर राज्यले पहिलेदेखि नै ‘तेरो काम जुत्ता सिउनु हो, तँ अछूत होस्’ भन्दै जिम्मेवारी र पहिचान तोकिदिएको पृष्ठभूमिमा आफ्नो पहिचान गुमाउने संघारमा पुर्‍याइएका समुदायलाई क्षतिपूर्तिको प्रत्याभूति दिलाउने कर्तव्य सरकारकै थाप्लोमा छ । खियाले जाममा परेर थन्किएका दमाई दाइहरूका मेसिन चलाउने र कामी दाइहरूका चिसिएका आरन तताउने व्यवस्था गर्ने जिम्मेवारी पनि राज्यले लिनुपर्छ ।
rmagrat2012@gmail.com

प्रकाशित : वैशाख ५, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT