कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीजीमा महिला मुद्दा

उषा थपलिया

काठमाडौँ — नेपाल र भारतबीच प्रगाढ र निकटतम सम्बन्ध रहेको दुवै देशका आधिकारिक व्यक्तिहरूले प्राय: दोहोर्‍याइरहन्छन् । यो सम्बन्धलाई अथ्र्याउन अरू उपमा पनि जोडिने गरेका छन् । दुई देशबीच कायम ‘रोटीबेटीको सम्बन्ध’ दुवै पक्षबाट अरूभन्दा बढी प्रयोग हुने शब्दावली पर्छ ।

ईपीजीमा महिला मुद्दा

सीमा जोडिएका बासिन्दा बीचको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक समानतालाई निकटतम सम्बन्धको आधार–स्तम्भ मान्ने गरिएको छ । यसै आधारमा दुई देशका नागरिकबीच हुने गरेको वैवाहिक सम्बन्धले अन्तरदेशीय भावनात्मक सम्बन्ध बढाउन टेवा पुर्‍याएको विश्लेषणका आधारमा ‘रोटी’संँग ‘बेटी’ पनि जोडिन थालेको हो । लगभग १८ सय ५० किलोमिटर खुला सिमानाले द्विदेशीय नागरिक बीचको अन्तरघुलनलाई अझ सहज बनाएको टिप्पणी यस क्रममा बढी उल्लेखनीय मानिन्छ । तर ‘रोटी’सँंगै जोडिएको ‘बेटी’ सम्बन्धलाई जति सकारात्मक ढंगबाट मात्र व्याख्या गरिन्छ, त्यति नै पूर्ण सकारात्मक अवस्था व्यावहारिक तहमा पाइन्न ।

वैवाहिक सम्बन्धसंँगै निम्तिने कतिपय नकारात्मक पक्षहरूका कारण दुई देशका सम्प्रदायबीच उत्पन्न तिक्त सम्बन्ध बेला–बेला उजागर भैरहने गरेको छ । सुमधुर र भावनात्मक नाता जोड्ने वैवाहिक सम्बन्ध गम्भीर फौजदारी अपराधमा परिणत हुने गरेको दृष्टान्त पनि यसबाट अलग छैन । दहेज प्रथाका कारण नेपालका तराई भेगकै महिला अवर्णनीय शारीरिक तथा मानसिक हिंसा खेप्न बाध्य छन् । यस क्रममा ज्यानै गुमाउन विवश महिलाको संख्या पनि घट्नसकेको छैन । वैवाहिक सम्बन्ध कायम गरेर भारतलाई कर्मभूमि बनाएका नेपाली महिलाका दर्द झन् धेरै छन् । तर नेपाल र भारतबीच चर्चा र बहस गर्ने सयौं ‘गम्भीर सवाल’का अगाडि महिलाका यी समस्याले स्थान पाउने स्थिति विलकुलै देखिन्न र भइरहेको पनि त्यही छ । महिला हिंसाका अनेक विधि र तरिकाको आयात–निर्यात दुवै देशका लागि दु:खद स्थिति हो । हत्या, अपहरण, बन्धकी, बलात्कार, प्रज्वलनशील पदार्थको प्रयोग आदिबाट पुर्‍याइने कष्टजस्ता जघन्य अपराधमा नेपालको दक्षिणी भूभाग र भारतको साइनो देखिन्छ । महिला हत्या, हिंसाका अपराधीलाई अपराध कर्म गर्न जति सजिलो छ, दुई देशबीच खुला सिमानाका कारण अपराधपछि बेपत्ता हुन पनि त्यति नै सजिलो अवस्था छ । नेपालमा गम्भीर अपराध गरी भारत पस्ने र भारतमा अपराध गरी नेपाल पस्ने सहज स्थितिले अपराधीलाई पक्रन र मुद्दा अघि बढाउन समस्या रहेको देखिँदै आएको छ ।

विभिन्न प्रयोजनका लागि ठूलो संख्यामा नेपाली चेलीबेटी भारततर्फ बिक्री भैरहेको यथार्थ द्विदेशीय सम्बन्धको एक कुरूप पक्ष हो । यो समस्या समाधानका लागि विभिन्न सामाजिक संघ–संस्था क्रियाशील रहे पनि वर्षेनि नेपालबाट भारत बेचिने चेलीबेटीको तथ्यांक घट्नसकेको देखिँदैन । अहिले पनि हरेक वर्ष ५ देखि ७ हजार नेपाली बालिका/किशोरी/युवती भारत बेचिने गरेको आंँकडामा पाइन्छ । तीमध्ये सबैभन्दा बढी अर्थात १० देखि २० लाख युवती यौन व्यवसायका लागि भारतका विभिन्न कोठीमा बन्धक बनाइएको प्रतिवेदनहरूमा भेटिन्छ । जवान र स्वस्थ रहिन्जेल भोगविलासको साधन बनाइने ती युवती एचआईभी संक्रमितको बिल्ला भिरेपछि भने वेदना, कुण्ठा, हतास र निराशाजन्य अवस्थामा नेपाल फर्काइने गरेका छन् । त्यसपछि ठूलो संख्याका नेपाली बालिका र किशोरी ज्यान जोखिममा रहने भारतीय सर्कस पेसामा जबर्जस्ती संलग्न गराइएको तथ्य भेटिन्छ । यस बाहेक अहिले सौन्दर्यको विश्वव्यापी मार्केटमा विभिन्न प्लाष्टिक सर्जरीका लागि आवश्यक ‘स्किन’ आपूर्तिमा धेरैवटा भारतीय कम्पनीको दबदबा रहेको खुलेको छ । स्किनका लागि भारतीय कम्पनीहरूको प्राथमिकतामा नेपाली युवती पर्ने गरेको धेरैवटा अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् ।

नेपाली युवतीलाई भारतबाटै साउदी अरब, मलेसिया, हङकङ, रूस, पाकिस्तान, युएई तथा अन्य खाडी मुलुक पठाउन नेपाली तथा भारतीय एजेन्टहरू सक्रिय रहँदै आएको तथ्यप्रति दुवै देशका सरोकारवाला अनभिज्ञ छैनन् । महिलालाई रोजगार अनुमति नभएको मुलुकमा अवैधानिक ढंगबाट पठाउँदा नेपाली युवतीले भोग्नुपरेका हन्डरको फेहरिस्त निकै लामो छ, अझ कतिपयको अवस्था अज्ञात देखिन्छ । मानव तस्करी लगायतका अपराध नियन्त्रणका लागि नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठक हुँदै आए पनि समस्या समाधानका लागि ती बैठक प्रभावकारी हुनसकेको पाइँदैन ।

यी बाहेक नेपाल र भारतबीच ठूला सवालका कारण पर्ने असरबाट पनि सबैभन्दा धेरै नेपाली महिला पीडित हुने गरेका छन् । भारतीय नाकाबन्दीको असरबाट समग्र नेपाली प्रताडित भए पनि महिलाले भोगेको कष्ट पुरुषको तुलनामा निक्कै गम्भीर थियो । ग्यास आउँछ कि भन्दै सडकमा लामबद्ध सिलिन्डरलाई बिरामी कुरेभन्दा चर्को गरी कुर्ने महिला नै थिए । त्यस्तै भारतले बनाएको उच्च बाँधका कारण नेपालको तराई क्षेत्र हरेक वर्ष डुबानग्रस्त हुन्छ । डुबानबाट हुने गरेको मानवीय र भौतिक क्षतिले धेरै समयसम्म ती क्षेत्रलाई तहसनहस बनाउँछ । यसबाट निम्तिने पीडाबाट समेत मूल रूपमा महिला नै पीडित भएको स्पष्ट देखिन्छ । अधिकांश युवा वैदेशिक रोजगारीमा रहेका कारण तराई मधेसका धेरै घरपरिवारको दायित्व महिलामाथि केन्द्रित छ । अनायास आउने बाढीका कारण वृद्धवृद्धा, बालबालिका, पशुचौपाया, अन्नबाली सबैको ध्यान पुर्‍याउनुपर्ने अभिभारा केवल महिलाको टाउकोमा थुप्रिन्छ । एकल ज्यान बचाउनसमेत धौधौ पर्ने अवस्थामा सबैको देखभाल चानचुने होइन । बाढीका बेला गर्भवती, सुत्केरी तथा नवजात शिशुको समस्या झन् चोटिलो बन्ने गर्छ ।

नेपाल र भारतबीच विद्यमान ठूला भनिएका समस्यासमेत कैयौं बहस, छलफलपछि पनि समस्याकै रूपमा रहिरहेका छन् । महिला सवाल त अहिलेसम्म बहसको विषय पनि बन्नसकेको छैन । दुवै देशले समाधानका लागि तत्काल कदम चाल्नुपर्ने धेरै अन्तरदेशीय समस्या महिला सवाल अन्तर्गत जेलिएका छन् । नेपाली महिला यसबाट बढी पीडित भैरहेकाले विषय–वस्तुको उठान नेपालकै जिम्मेवारीको कुरा हो । तर नेपालले न उच्चस्तरीय भ्रमणको सिलसिलामा, न मन्त्रीस्तरीय बैठकका क्रममा, नत कूटनीतिक तहबाटै महिला समस्यालाई अहिलेसम्म उठाएको देखिन्छ । भारतसंँग जोडिएको नेपाली महिलाका सबै खाले समस्या निराकरणका लागि नेपाल–भारत बीचका सन्धि पुनरावलोकन गर्न गठित ईपीजी सरहकै संयन्त्र आवश्यक देखिन्छ । दुवै देशका विषयविज्ञ समूहको अध्ययन, अनुसन्धानबाट निस्कने आधिकारिक तथ्यका आधारमा तयार प्रतिवेदनले देखाएका समस्या समाधानका लागि दुवै पक्ष कटिबद्ध भए दुईदेशीय सम्बन्धबीच रहेका महिला सवालका नकारात्मक पक्ष निराकरण हुने बाटो खुल्नेछ ।

प्रकाशित : वैशाख ७, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?