कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियामा नेपाली विद्यार्थी : बुझेर आउँदा राम्रो

नारायण खड्का

अष्ट्रेलिया — मैले यो लेख लेखिरहँदा नेपालबाट आफ्ना छोराछोरी अष्ट्रेलिया पठाउन कति बाआमा कन्सल्टेन्सी धाइरहनु भएको हुँदो हो । अझ कति भाईबहिनीहरु अष्ट्रेलियाको भिषा लागेको खुशीमा साथीभाईलाई पार्टी दिने योजना बनाइरहेका हुँदा हुन् ।

अष्ट्रेलियामा नेपाली विद्यार्थी : बुझेर आउँदा राम्रो

झन अर्कोतिर केहिदिन पहिले कान्तिपुरमा छापिएको ‘अष्ट्रेलियामा नेपाली बिद्यार्थी बढे’ भन्ने समाचार पढेर त अष्ट्रेलिया आउन लागेका भाईवहिनीहरु र पठाउन लागेका अभिभावकहरुलाई झन उत्साह थपेको हुँदो हो ।


हो, अष्ट्रेलियामा बिदेशी बिद्यार्थीहरु गतवर्षको भन्दा मनग्गै बढेका छन्, अझ भनौ समग्र बिदेशी बिद्यार्थीहरुको संख्यामा नेपाली तेस्रो नम्बरमा छन् । झन त्यसमा त नेपाली बिद्यार्थीहरुले रेकर्ड तोडेरै ५७ प्रतिशतभन्दा बढीले बृद्धि भएका छन् । यो एकदमै खुशीको कुरा हो किनकी अष्ट्रेलियामा नीति नियम र कानुनमा चलेको सरकारमात्र छैन् राम्रो अध्ययन गर्नेलाई भविश्य पनि उज्यालो छ । तर, नेपालबाट आफ्ना नानीहरुलाई पठाउनु पहिला अभिभावकहरुले अष्ट्रेलियाको अध्ययन गर्न भने आवश्यक बनेको छ किनकी अष्ट्रेलिया आएर काम नपाएका भाईवहिनीहरु पनि पहिलेको तुलनामा बढेका छन् ।

अष्ट्रेलिया भन्ने बित्तिकै बिद्यार्थीहरु मात्र नभएर अभिभावकहरु पनि धेरै उत्साहित देखिन्छन् र यो स्वभाविक पनि होला । तर अष्ट्रेलिया आएपछि के काम गर्ने, कसरी काम गर्ने, कसलाई सम्पर्क गर्ने र कुन कुन क्षेत्रमा काम पाईन्छ र आफु त्यो काम गर्न योग्य छु वा छैन भनेर सामान्य जानकारी र ज्ञान लिएर आउन अत्यन्तै आवश्यक भइसकेको छ । कमसेकम अष्ट्रेलियाको राजधानी सिड्नी हैन क्यानबेरा हो, नेपाली दुतावास क्यानबेरामा छ, अवैतनिक वाणिज्यदुतावास, वाणिज्यदुतहरु हरेक राज्यमा छन् र आवश्यक परेको समयमा सम्पर्क गर्न सकिन्छ भन्ने जस्ता अति सामान्य जानकारी राख्न आवश्यक छ ।

अष्ट्रेलियामा आउने भाईवहिनीहरुलाई पहिलो र मुख्य समस्या नै कामको हो । आफ्नो योग्यता सीप र क्षमताको काम गर्न सक्षम भएर आउनुपर्छ भन्न खोजेको अर्थ पनि त्यही हो । अहिले कामको अभावमा जस्तो सामान्य पनि काम गर्छु भन्ने भाइवहिनीहरु प्रशस्तै भेटिन्छन् । कामकै सिलसिलामा ट्रेनिङको बहानामा एक भारतीय नागरिकले नेपाली बहिनीलाई दुर्व्यवहार गरेको घटना ताजै छ ।


विदेशी बिद्यार्थीहरु अष्ट्रेलियाको लागि तेस्रो ठुलो आर्थिक स्रोत हो । यसले फलाम र कोलपछि यहाँको अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्‍याउछ । यस्तो ब्यवसायलाई प्रोत्साहित गर्नु कुनैपनि देशको लागि सामान्य हो । हुनत, अष्ट्रेलियाले पनि बिद्यार्थीहरुको हकहितका लागि कानुनी रुपले उपलब्ध सबै सेवा सुविधा र सुरक्षा प्रदान गरिरहेको छ । यद्यपि, आफुले आफ्नो योग्यतालाई नेपालमै विस्तार गरेर र यहाँ आइसकेपछि आफुले के गर्न सक्छु भनेर निर्क्यौल भएर आउन भने जरुरी छ ।


यहाँको सरकारले बिद्यार्थीहरुलाई दुई साताको ४० घण्टा काम गर्ने कानुनी अधिकार दिएको छ र कलेज बिदाको समयमा सकेजति काम गर्न पाईन्छ । बिद्यार्थीहरुलाई यो ४० घण्टाले अष्ट्रेलियामा बस्न र खान सहज किसिमले पुग्छ भने केही बचत पनि हुनसक्छ तर यहाँका कलेज र विश्वबिद्यालयहरुले लिने एक सेमेस्टर (सामान्यतया ६ महिना) को ८ लाखदेखि १२ लाखसम्म लिने शुल्क बुझाउन भने नपुग्न सक्छ । त्यसैले नेपालबाट आउनुअघि नै यहाँ आएपछि के गर्ने र कसरी आफु सक्षम हुने भनेर योजना बनाउन महत्वपुर्ण छ । जसतर्फ नेपालबाट आउने भाइवहिनीहरुले र अभिभावकहरुले सोच्न आवश्यक छ ।

अष्ट्रेलियामा नेपाली बिद्यार्थीको संख्या बढ्नु अवश्य खुशीको कुरा हो । किनकी यसले नेपाली कला संस्कृतिलाई अझ विस्तारित रुपमा फैलाउन मद्दत पुर्‍याउँछ । यद्यपि कला संस्कृतिको प्रबर्द्धन गरेर मात्र २ देखि ३ बर्षसम्मको कडा परिवेशलाई थेग्न सहज नहुन सक्छ । नेपालबाट फोटोमा र भिडियोमा देखिने स्वर्गजस्तो शहरमात्र छैन अष्ट्रेलिया, यसभित्र पनि धेरै संघर्षका पाटाहरु लुकेर बसेका छन् ।

पछिल्लो समयमा त नेपाली बिद्यार्थीहरुमा मानसिक रोगको समस्या समेत बढ्दै गएको मानसिक रोग बिज्ञहरु बताइरहेका छन् । आत्महत्याका घटनाहरु पनि छिटफुट रुपमा सुनिने गरेका छन् । नेपालमा बाआमाको काख छोडेर एक्लै सात समुन्दपारीको देशमा संघर्ष गर्न सहज छैन भन्ने मानसिकता बनाएर आएको खण्डमा मात्र सहज जीवनयापन गर्न सकिन्छ भनेर बुझ्न जरुरी छ । अर्कोतिर अभिभावकहरुले पनि आफ्ना छोराछोरीले त्यहाँ गएपछि के गर्न सक्छन् र कसरी सहज जीवनयापन गर्न सकिन्छ भनेर बुझाउन आवश्यक छ ।


अष्ट्रेलियामा आर्थिक र सामाजिक रुपले सफल बनेका धेरै नेपालीहरु छन् । तर उनीहरुको संघर्षको पाटो पनि त्यतिकै कष्टपुर्ण छ । अष्ट्रेलिया आउनुअघि त्यसरी नै आएर यहाँ संघर्ष गरिसकेकाहरुसँग सरसल्लाह लिएर आउँदा राम्रो हुन्छ । किनकी उनीहरुले अष्ट्रेलियाको दुख जति बुझेका हुन्छन् त्यति बुझ्न भर्खर आउन लागेका भाईवहिनीहरुलाई बर्षौ लाग्न सक्छ ।


प्रकाशित : वैशाख १०, २०७५ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?