पूर्वीय अध्यात्म र पश्चिमा विज्ञान एकअर्काका परिपुरक  

बीर बहादुर बोहरा

काठमाडौँ — म अध्ययनरत अलाबामा ए एण्ड एम विश्वविद्यालयको भौतिकशास्त्र विभागले विगत २० वर्षदेखि निरन्तर विज्ञान (भौतिकशास्त्र, जीवशास्त्र र रसायनशास्त्र) मा नोवेल बिजेता मूर्धन्य वैज्ञानिकहरुसंग अन्तर्क्रिया र व्याख्यानको आयोजना गर्दै आएको छ ।

यसरी यति लामो समय लगातार नोवेल व्याख्यानको आयोजना गर्ने सम्भवतः यो एक मात्र विश्वविद्यालय हो । यस दौरान विख्यात रसायनशास्त्री वाल्टर कोहनदेखि प्रख्यात जीवशास्त्री ज्याक डव्लु स्वजटकसम्मले आफ्ना गहकिला प्रस्तुति पस्किसकेका छन् । आयोजक संकायको पिएचडी शोधार्थीको हैसियतले मलाई यी व्याख्यानहरुमा भाग लिने संयोग जुरेको थियो ।

Yamaha

बिहानी सत्रमा हुने बौद्धिक अन्तर्क्रियाका क्रममा, अध्यात्म सम्बन्धि तिनको धारणा सम्बन्धि राखेको जिज्ञासामा प्राय सबै वैज्ञानिकहरुले आफूहरु नास्तिक भएको बताएका थिए । कुनै समय थियो, जव विज्ञानको विकास अहिलेको आयतनमा भएको थिएन, मानिसहरु प्राय आध्यात्मिक थिए । तर आजको मानिसको एक हिस्सा आफूलाई आस्तिक भन्न रुचाउछन् भने अर्को हिस्सा नास्तिक कहलिन चाहन्छन् । यी दुवै प्रवृत्ति आफैमा अपूर्ण छन् । विगत २०० वर्षमा विज्ञानले आमूल फड्को मारेर तरक्की प्रदर्शन गरेको छ भने विज्ञानको चरम विकासले निम्त्याएको बिशाद र डिप्रेसनले ग्रस्त पश्चिमा समाजसमेत पूर्वीय ध्यान र अध्यात्मप्रति आकर्षित भइरहेको छ । यसै परिप्रेक्षमा, के वैज्ञानिक हुनु नास्तिक हुनु हो ? विज्ञान र अध्यात्म नितान्त फरक विषय हुन् वा तिनमा सामिप्यता पनि छ ? यसै सेरोफेरोमा यो आलेख केन्द्रित हुने छ ।

पृथ्वीका दुई गोलार्ध पूर्व (एसिया) र पश्चिम (यूरोप, अमेरिका) मध्ये पूर्वमा अध्यात्मको र पश्चिममा विज्ञानको विकास भएको छ । यो विकास अकारण छैन । यसको पछाडी मानव मष्तिस्क र यसको प्रयोगको भूमिका महत्वपूर्ण छ ।

सन् १९७२ मा पहिलो पटक वैज्ञानिक अर्नेष्टिनले पूर्वीय गोलार्धका मानिसहरुमा दायाँ मष्तिस्क र पश्चिमा मानिसहरुमा वायाँ मष्तिस्क सक्रिय रहेको कुरा औल्याएका थिए । ज्ञात रहोस्, दायाँ मष्तिस्कले अध्यात्म, कल्पना, श्रृजनशिलता, अन्तरज्ञान र संगीत जस्ता होलिष्टिक (समग्रता) अवधारणामा काम गर्छ भने वायाँ मष्तिस्कले तर्क, गणित, भाषा जस्ता विश्लेषणात्मक काममा प्रयोजन हुन्छ । यो विषय लामो समयसम्म कसैको प्राथमिकतामा परेन । परन्तु हालसालै अमेरीका, जापान र क्यानाडामा एक साथ गरिएको र न्यूरोसाइकोलोजियामा प्रकाशित अनुसन्धानमूलक आलेखले अर्नेष्टिनको उक्त दलील पुष्टि गरिदिएको छ ।

अनुसन्धाताहरुले एसियामा जन्मेर १५ बर्षसम्म एसियामै हुर्केका, जसमा एक जना नेपाली पनि थिए, र अमेरीका वा क्यानाडामा जन्मेका र त्यही हुर्केका विद्यार्थीहरुको अर्को समूहमाथी शोध गरेका थिए । उक्त शोधको निष्कर्ष अनुसार पूर्वीय (एसिया) विद्यार्थीहरुमा दायाँ मष्तिस्क र पश्चिमा (अमेरीकी र क्यानेडेली) विद्यार्थीहरुमा वायाँ मष्तिस्क बढी क्रियाशिल रहेको प्रष्ट देखियो । शोधकर्ताहरुले यसो हुनु पछाडिको कारण भाषा पद्धती (विशेषत चाइनिज भाषा, जो दायाँ मष्तिस्कको सक्रियताका लागि सहयोगी मानिएको छ) र सामान्य साँस्कृतिक पक्ष मात्रलाई औल्याएर फितलो निष्कर्ष निकालेका छन् भने पूर्वीय ध्यान र अध्यात्म तथा पश्चिमा विज्ञानको देनलाई नजरअन्दाज गरेका छन् । यस तथ्यले पश्चिमा विश्वमा विज्ञान र पूर्वमा अध्यात्मको विकास किन भयो भन्ने प्रश्नको उत्तर दिन्छ ।

यसरी पृथ्वीको एउटा गोलार्धमा विज्ञान र अर्कोमा अध्यात्मको मात्र भएको एकाङ्गी विकासले निम्त्याएको दुर्दशा माथि विमर्श गर्नु भन्दा पहिले विज्ञान र अध्यात्ममा निहित समानता र भिन्नता माथि मनन गरौं ।

पूर्वीय रहस्यवादको सर्वाधिक महत्वपूर्ण सार समग्र पदार्थ, जीवात्मा र घटनाहरुको अन्तर सम्बन्ध र तिनको एकत्वको बोध गर्नु हो । हिन्दुहरुले संसारलाई ब्रम्हकै विस्तारको रुपमा व्याख्या गर्छन् । यसैलाई बौद्धमार्गमा तथाता वा धर्मकाया भनिन्छ । बौद्ध र हिन्दु परम्परामा संसारको विस्तारको कारण माया हो । लाउत्जुले त्यही अन्तिम सत्यलाई ताओ भन्छन् ।

आधुनिक विज्ञानमा एटोमिक र सबएटोमिक कणहरुको संरचनामा एकरुपता भएको कुरा प्रमाणित सत्य हो । विज्ञान जगतमा बहुचर्चित कोपेनहेगन सम्मेलनले भौतिक प्रणालीलाई अवलोकनकर्ता वा प्रणाली र अवलोकित प्रणालीमा विभाजित गर्छ । भौतिकशास्त्रको नियम अनुसार अवलोकित प्रणाली र अवलोकन कर्तालाई अनन्त दुरीमा छुट्टयाएर मात्रै अवलोकित प्रणालीबारे एकिन जानकारी लिन सकिन्छ । फेरी कुनै दुई प्रणाली वा कणहरुलाई अनन्त दुरीमा छुट्टयाउने कुरो असम्भव छ । त्यसैले क्वान्टम् भौतिकीले द्रष्टा र दृश्य छुट्टयाउने कुरा पूर्णतया इन्कार गर्छ । यहीनेर पूर्वीय रहस्यवाद र आधुनिक विज्ञानको मिलन बिन्दु देखा पर्दछ । उपनिषद्ले विज्ञान भन्दा एक कदम अघि बढेर गहिरो ध्यानको अवस्थामा द्रष्टा र दृश्य विलय भएर एक हुन्छन् भनेको छ । बौद्ध दर्शनले आन्तरिक र बाह्य जगत केवल एउटै अस्तित्वको दुई पाटा भएको ठान्छ । जहाँ सम्पूर्ण वलको धागोहरु र घटनाहरु नछुट्टिने गरी अन्तहीन जालेमा जेलिएका छन् ।

झट्ट हेर्दा प्रकृतिमा विपरित जस्ता लाग्ने सबै अवयवहरु केवल एकै प्रकृतिका दुई ध्रुब मात्र हुन भन्ने स्विकारोक्ति पूर्वीय अध्यात्मको अर्को बुझाई हो । असल र खराब, सुख र दुख, आनन्द र पीडा फरक प्रकृतिका निरपेक्ष अनुभव होइनन्, बरु एउटै अस्तित्वका दुईटा पाटा हुन् । श्री कृष्णले गीतामा जगतको द्वतवाद भन्दा पर शाश्वत सत्यलाई जान भन्नुको निहितार्थ पनि यही हो । बौद्धिक र आध्यात्मिक द्वतवाद भन्दा पर अद्वतवाद लाई नै बौद्ध दर्शनमा पनि निरपेक्ष सत्य मानिन्छ । त्यसैले बुद्धले मध्य मार्गलाई आफ्नो दर्शनको अभिन्न अंग बनाए । ताओ धर्ममा विपरित प्रकृतिलाई यिन र याङ भनिन्छ । जसको जोड ताइची हो । समग्रमा दृश्यमा विपरित देखिने प्रकृति वास्तवमा एक अर्कामा अन्तरसम्बन्धित तथा अन्तरघुलित छन् भन्ने निष्कर्ष नै पूर्वीय रहस्यवादको सहस्योद्घाटन हो ।

बल र पदार्थ, कण र तरङ्ग तथा अस्तित्व र शुन्यता शास्त्रीय भौतिकीमा विपरित कुराहरु थिए । किन्तु क्वान्टम् भौतिकीले यी विपरित प्रतित हुने भौतिक घटनाहरुलाई एउटै कुराको फरक रुप मान्छ । उदाहरणका लागि कण र तरङ्गलाई लिन सकिन्छ । आधुनिक विज्ञानले एउटै बस्तुले परिस्थिति अनुसार कहिले कण त कहिले तरङ्गको गुण देखाउने कुरा सिद्ध नै गरेको छ । वैज्ञानिक निल्स बोहरको कम्प्लिमेन्टरी सिद्धान्तले बस्तुको कणपरक र तरङ्गपरक गुणलाई पूरक मानेको छ । कण र तरङ्गको बेग्ला बेग्लै व्याख्या आशिंक सत्य हुन जान्छ भने दुवै मिलाउदा मात्र अस्तित्वको पूर्ण सत्य प्रकट हुन्छ । पूर्वीय रहस्यवाद र पश्चिमी विज्ञान बीचको यो गजवको समानतालाई निल्स बोहरले स्विकारेका थिए ।

समय र स्थान पूर्वीय अध्यात्म र पश्चिमा विज्ञान दुबैतिर गहिरो चासो र रहस्यको विषय हो । समय र स्थानको घेरा भित्रै सम्पूर्ण जगतको अस्तित्व रहेकाले यसो भएको हो ।

स्थान विशेषको ज्यामिति र समय पूर्वीय अध्यात्ममा निरपेक्ष बिषय होइनन् । ध्यानको गहिराइमा साधक समय र स्थान भन्दा पर रमण गर्छ । त्यसकारण समय र स्थान भन्दा पर शाश्वत सत्यलाई जान्नु नै पूर्वीय रहस्यवादको ध्येय हो । पूर्वका खोजीहरुको समय र स्थान सम्बन्धि यो अवधारणा आइन्सिटीनको ‘सापेक्षतावादको सिद्धान्त' पछि आधुनिक विज्ञानले पनि एकहद सम्म मानेको छ । सापेक्षतावादको सिद्धान्त अनुसार स्पेस र टाइम शास्त्रीय भौतिकीमा जस्तो निरपेक्ष होइनन्, सापेक्ष कुरा हुन् । द्रष्टाको आफ्नो नितान्त निजी अनुभवमा समय र स्थानको बोध र सत्यता फरक फरक हुन्छन् ।

आधुनिक विज्ञानका यि पछिल्ला निष्कर्षले पूर्वीय आध्यात्मिक अनुभवसँग समिपता देखाएका छन् ।

यति हुदाँहुदै पनि विज्ञान बाह्य जगतको ज्ञान हो भने अध्यात्म अन्तरजगतको अनुभव हो । यी एक अर्काका बैरी होइनन् बरु पूरक हुन् । दुबैको एकसाथ स्विकारोक्तिको अभावले मानव जातिको हित गर्दैन । जुन कुरो पूर्व र पश्चिमले पछिल्लो कालखण्डमा महशुस पनि गरेको छ ।

हालसालै भएको एक अध्ययनले विज्ञानमा नाबेल विजेता वैज्ञानिकहरुको झन्डै ५० प्रतिशत हिस्सा अमेरिकी वैज्ञानिकहरुको पोल्टामा परेको देखिन्छ भने यसको बाँकी ठूलो हिस्सा यूरोपेली देशहरुले पाएका छन् । जापान बाहेक एसियाका नोबेल बिजेताको संख्या न्यून छ । यि तथ्यले के कुराको प्रमाण दिन्छ भने भौतिक वैभवको विकास र उपभोग दुवै पश्चिमा दुनियाँमा भयो र हुँदैछ । तर मानिसलाई बाह्य सुविधाले मात्र नपुग्दो रहेछ । पश्चिमा समाजमा विद्यमान बिषाद र आन्तरिक अशान्तिले यसको संकेत गर्छ ।

बाहिरबाट हेर्दा बैभवको शिखरमा रहेझै भान भएपनि पश्चिमा जीवन भित्रबाट दुखी छ । सामाजिक अविश्वास, डिप्रेशन र नैराश्यताले स-साना निर्दोष स्कूले बालबालिका माथि अन्धाधुन्द गोली प्रहारदेखि बढ्दो आत्महत्याले पश्चिमी समाज आक्रान्त छ । सबभन्दा बिकसित भनिएको अमेरिका बढि आत्महत्या गर्ने देशको सूचीमा तीसौं नम्बरमा त्यसै परेको होइन ।

अमेरिकामा हरेक १२.८ मिनेटमा एक जनाले आत्महत्या गर्छ । आत्महत्या अमेरिकामा मृत्युको दशौं ठूलो कारण हो । त्यस्तै अर्को अमेरीकी राष्ट्र क्यानाडामा पनि मृत्युको नवौं ठूलो कारण आत्महत्या नै हो । दक्षिण कोरीया, जापान, नर्वे र फ्रान्स जस्ता अति विकसित देशहरु समेत सर्वाधिक आत्महत्या गर्ने देशहरुको सूचीमा क्रमशः दोस्रो, सत्रौ, सैतिसौं र सतचालिसौं स्थनमा पर्नुले विकासले मात्र मानिसको जीवनमा खुशी नल्याउने कुरा प्रष्ट हुन्छ ।

विज्ञानको एकाङ्गी विकासले निम्त्याएको अर्को कुरा डिप्रेसन हो । संसारकै उच्च आय भएका १० देशको डिप्रेसन दर पनि उच्च रहेको छ । जहाँ जीवनको कुनै न कुनै मोडमा १४.६ प्रतिशत जनसंख्या कडा डिप्रेसनको शिकार हुने गरेका छन् । अमेरिकाकै कुरा गर्ने हो भने अध्ययन गरिएका दश उच्च आय भएका देशहरु मध्ये डिप्रेसन दरमा उच्च अर्थात १९.२ प्रतिशत जनसंख्या पीडित छन् । सबैभन्दा उच्च डिप्रेसन पीडित हुने देशको सूचीमा फ्रान्सले सबैलाई उछिनेको छ ।

बलात्कारका घटना पनि अबिकसित भन्दा बिकसित देशमा बढ्दो छ । अमेरिका, क्यानाडा, स्विडेन, बेलायतजस्ता अति विकसित देशमा बलात्कार अत्यधिक हुने गरेको छ । पछिल्लो रिपोर्ट अनुसार यूरोपमा हरेक ३ महिलामा एकले बलात्कार वा शारिरीक हमला खेपेको तथ्याङ्कले देखाएको छ । युरोपका अति बिकसित देश डेनमार्क र फिनल्यान्डमा क्रमशः ५२ र ४७ प्रतिशत महिला माथि बलात्कार वा यौनजन्य हिंसा हुने गरेको छ । बढ्ता बलात्कार हुने देशको सूचीमा अमेरिका तेस्रो नम्बरमा छ । जर्ज म्याजन यूनिभर्सिटीको अध्ययन अनुसार अमेरिकामा हरेक ३ महिलामा १ जना बलात्कारको शिकार हुने गरेको बताइएको छ । त्यस्तै १९.३ प्रतिशत महिला र २ प्रतिशत पुरुष जीवन कालमा बलात्कार हुने गरेका छन् ।

यि तथ्याङ्कहरुबाट के निर्क्यौल निकाल्न सकिन्छ भने भौतिक विकास र बाह्य सुख सुविधाले मात्र मानिसलाई चाहिने वास्तविक आनन्द दिन सक्दैन । बरु बेचैनी, अपराध, निराशा र शान्ति खल्बल्याइ दिदो रहेछ । डिप्रेसन, आत्महत्या, र बलात्कार जस्ता जघन्य अपराध अति बिकसित भनिएका देशमा अत्यधिक हुनुले बाह्य बिकासले मात्र अमनचयनको ग्यारेन्टी नहुने कुरा पुष्टी गर्छ ।

मान्छेलाई समाज, सामाजिक भावना, आपसी सहयोग, निस्वर्थ प्रेम र अध्यात्म नभई नहुने कुरा हुन् । आधुनिक प्रविधिले यि सबैबाट मानिसलाई टाढा बनाइदिएको छ । मेसिनको प्रयोगले काममा छिटो छरितो त गरेको छ तर त्यो संगै मानिसको समाजसंगको सम्बन्धलाई पनि पातलो पारेको छ । बाँकी रहेको समय पनि आईफोन, ट्याब्लेट, कम्यूटर जस्ता उपकरणको उपयोग वा दुरुपयोगमा बिताइ दिने प्रवृत्तिले मान्छेलाई अझ एक्लो पारेको हो । संयुक्त परिवारको पुरानो ढाँचा लगभग समाप्त भैसकेकाले एकल महिला वा पुरुषले मात्र बच्चा हुर्काउने, आर्थिक निर्भरता नभएकाले स–सानो बिषयमै डिभोर्स गर्ने प्रवृतिले समाज तहसनहस पारेको हो । समस्या यति विकराल छ कि विधि र कानूनले चलेका देश भएकाले मात्र परिस्थिति आजका दिनसम्म धानिएको छ ।

यसको विपरित पूर्वमा केवल अध्यात्मिक उन्नयन मात्र भयो । आधुनिक विज्ञानलाई आत्मसाथ गर्न नसक्दा भित्रबाट तुलनात्मक रुपमा शान्त देखिए पनि भौतिक विपन्नताको भासमा फस्न पुग्यौं हामी ।

पूर्वले लगभग पृथ्वीका सबै धर्मलाई जन्म दियो । गीता, उपनिषद जस्ता अमूल्य धर्म ग्रन्थ मात्र दिएन, तन्त्र, योग, ध्यान जस्ता जीवनोपयोगी र प्रमाणिक साधनाका विधि समेत आविष्कार भए यहाँ । यि सवै प्रयासले आन्तरिक सुखको प्रत्याभूति गराउन सफल भएपनि मानिस बाहिरबाट भने विपन्न हुन पुग्यो । हिन्दु, बौद्ध, शिख, मुस्लिम, ताओलगायतका प्रमुख धर्महरु जन्मिएका छन् पूर्वमा । पूर्वमा बुद्ध पूरुषहरु एक पछि अर्को जन्मे । जसमा हामी गौरवान्वित हुने ठाउँ छ । तर भोको पेटले आत्मिक शान्ति भन्दा पहिले भोजन माग्दो रहेछ । यसै कुरोको बोधले होला ओशो रजनिशले अध्यात्मसँगै विज्ञानलाई पनि उत्तिकै महत्वका साथ स्विकारेका छन् ।

आशो भन्दा पहिलेका सबै धर्म गुरुहरु संसार विरोधी भएकाले सिद्ध पुरुषहरुले संसार छोडेर जंगलमा बस्ने प्रवृति बन्यो । परिणामतः समाजको भौतिक विकास हुनै पाएन । भिक्षाटन गरी जीविकोपार्जन गर्ने भएकाले अध्यात्मिक खोजमा लागेको मानिसलाई संसारको विकासमा चासो हुने कुरै भएन । ओशो मात्र यस्ता गुरु हुन् जसले अध्यात्मलाई नयाँ आयाम प्रदान गरे । परम्परागत भगौडा अध्यात्मको विपरित उनले नवसन्यासको धारणा अगाडी सारे । जस अनुसार आम मानिस संसारमा घर परिवारको बीचमै रही अध्यात्मिक यात्रा पनि अगाडी बढाउने र संसारिक क्रियाकलापमा पनि सहभागी भइ भौतिक उन्नयनमा टेवा पुर्याओस् ।

पछिल्लो समयमा पुर्वले विज्ञानको अभाव महसुस गरेको छ भने पश्चिममा पनि पूर्वीय अध्यात्मिक चिन्तनप्रति आकर्षण पैदा हुँदै गएको छ । यूरोप र अमेरीकी मूलुकहरुमा योग र ध्यानको व्यापक प्रचार र विस्तार हुँदै छ । त्यस्तै पूर्वीय मूलुकहरुले पनि आफुलाई आर्थिक तथा भौतिक विकासको बाटोतिर डोर्याउदै लगेका छन् ।

वैज्ञानिक आइन्सटाइनले भनेका छन्, विज्ञान विनाको धर्मले पूर्व लङ्गडो र धर्म विनाको विज्ञानले पश्चिम अन्धो । मानव जीवनको समग्र हितार्थ विज्ञान र अध्यात्मको सम्यक स्किारोक्ति आजको आवश्यकता हो । जहाँ भित्रबाट शान्ति र बाहिरबाट सम्पन्नताको फूल एकसाथ फूलोस ।

Email: Panoroma_125@yahoo.com or bbohara@bulldogs.aamu.edu

–लेखक अलाबामा यूनिभसिर्टी, हन्ट्सभिल, अलाबा, अमेरिकामा सोधकर्मी छन् ।

प्रकाशित : वैशाख २५, २०७५ १३:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन जाबालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७४ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन राई (सुमन जावा) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

‘लिब्जु–भुम्जु’ वर्ष २४, अंक–१, पूर्णाङ्क–६९, २०७४ (किरात येले संवत् ३७९६/सन् २०१७) मा प्रकाशित ‘आ: कावा’ (मेरो साथी) शीर्षक कविता छनोट भएको हो । यस कविताले किराँती वाम्बुले समाजको सामाजिक जनजीवन, परम्परागत मूल्यमान्यता, चालचलन, विकास निर्माणले समाजलाई पारेको प्रभाव, गाउँघरमा बिताएका वाल्यस्मृति, हितैषी र उनको मृत्यु, धामीझाँक्री परम्परा, पढाइलेखाइ चलनलाई कलात्मक र आलंकारिक ढंगले अभिव्यक्त गरिएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ उँबु रिनुवाल गाउँमा २०४७ साउन १३ मा जन्मिएका कवि राई १३ वर्षको उमेरदेखि कविता र कथा विधामा कलम चलाउँदै आएका छन् ।

मातृभाषा संरक्षण अभियानमा जुटेका स्रष्टाहरूका निम्ति नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा २०५५ सालमा यो पुरस्कार स्थापना गरेका हुन् । क्याम्पाराईले आफ्नो सिर्जना गीत, साहित्यबाट हासिल गर्नु भएको पारिश्रमिक तथा पुरस्कारबाट ‘लिब्जुभुम्जु पुरस्कार’ प्रदान गरिदैआएको छ । नगदसहित सम्मान प्रमाणपत्र रहेको उक्त पुरस्कार आगामी मंसिर २० गते हुने ‘२०औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समारोहमा प्रदान गरिने छ ।

यो पुरस्कारबाट हालसम्म कविहरु विरही विमल, शुभचन्द्र राई ‘सुवास’, रजन सुबुकु, दुर्गा बैरागी राई, प्रमोद दीनदु:खी राई, प्रकाशहरि क्याम्पाराई, बिद्रोही साहिला, भुवन गुर्भा राई ‘आँसु’ र शुभराज राई (काजी), धिरेन्द्र रुम्दाली, विर्जमान राई, कुम्भराज राई, रामकुमार राई (आङ्गुस), झरना वाम्बुले राई, अन्चल जाबा राई, अप्सन क्याम्पाराईले प्राप्त गरेका छन् ।

प्रकाशित : वैशाख २५, २०७५ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT